• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

जोखिम बढाउँदै ‘रिसाइकल’सिम

काठमाडौं । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपाल बाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उहाँ अहिले तनावमा हुनुहुन्छ । 

 

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उहाँको गुनासो छ। दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ ।

 

काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफँैले पहुँच पाउनुभएन । एक वर्षसम्म रिचार्ज नगरेपछि उक्त नम्बर अरूलाई नै बिक्री भएको उहाँले त्यतिबेला थाहा पाउनुभयो । आफ्नो पहिलेको फेसबुक प्रयोग गर्न वन टाइम पासवर्ड (ओटीपी) का लागि गरेको प्रयास असफल भएपछि मात्र उहाँले यो थाहा पाउनुभयो । 

 

काठमाडौँकै अतुलराज पाण्डेले एनसेलको सिम प्रयोग गरेर खोलेको ईसेवा एकाउन्टमा पनि उहाँको पहुँच छैन । आफ्नो सिमकार्ड अरूले नै प्रयोग गरेको थाहा पाएपछि तत्कालै उहाँले बैङ्कमा सम्पर्क गरेर उक्त नम्बरसँग खातालिङ्क नगरिदिन आग्रह गर्नुभयो तर ई-सेवामा आफूले राखेका व्यक्तिगत विवरणमा अहिले पनि अरू कसैले पहुँच पु¥याउँछ कि भन्ने डर उहाँलाई अझै छ । 

 

एक वर्षसम्म निष्क्रिय सिमकार्ड रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा निम्तिएका जोखिमका उदाहरण हुन् यी । दूरसञ्चार सेवाप्रदायकहरूले सिमकार्ड रिसाइकल गरेर बिक्री गर्दा अहिले हजारौँ प्रयोगकर्ता त्यसको जोखिममा छन् । त्यतिमात्र हैन रिसाइकल गरेर प्रयोगमा ल्याइएका सिमकार्ड खरिद गर्नेले पनि उत्तिकै हैरानी खेप्नु परेको छ । पहिलेकै व्यक्तिका नाममा बैङ्कले पठाउने जन्मदिनको शुभकामनासहितका एसएमएस, आफन्तका फोन र विभिन्न किसिमका सन्देशले नयाँ प्रयोगकर्ताले पनि अनावश्यक झन्झट बेहोर्नु परेको छ । 

 

व्यक्तिगत गोपनीयतासँग सम्बन्धित अति संवेदनशील सूचनासँग सजिलै पहुँच पु¥याइदिने माध्यम बनेको छ, नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नीति । छ महिनासम्म प्रयोगमा नआएका सिमकार्ड निष्क्रिय बनाउन सकिने र त्यसलाई एक वर्षपछि सेवाप्रदायकले ‘रिसाइकल’ गरेर बिक्री गर्न पाउने प्राधिकरणको नीतिको नकारात्मक असर यतिबेला प्रयोगकर्ताले बेहोरिरहनु परेको छ । गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार