• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

घरकै खानाबाट पनि सर्न सक्छ हैजा

काठमाडौँ । उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ । 

 

बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भन्नुभयो, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।” 

 

अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गर्नुभयो । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताउनुभयो ।

 

उहाँले हैजाको समस्या यसैगरी बढ्दै गएमा आगामी दिनमा सघन उपचार कक्ष नपाउने अवस्था हुनसक्ने बताउँदै मानिसको व्यवहार, खानपान तथा पानी पिउँदा सजग हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ताजा र सुरक्षित खानेकुरा मात्र खानुपर्ने भन्दै हैजा घरबाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने बताउनुभयो । 

 

हाल टेकु अस्पतालमा १३ जना झाडापखालाका बिरामी भर्ना भएका छन् भने तीमध्ये पाँच जना आईसीयूमा उपचाररत छन् । एक साताअघि हैजा पुष्टि भएका बागबजारका दुई दिदीबहिनीको अझै डिस्चार्ज हुन बाँकी छ ।

 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौँमा हैजा फैलनुमा धेरै दिनसम्म फोहोर व्यवस्थापन नहुनु पनि कारण रहेको बताउनुभयो । उहाँले चमेना गृह, रेस्टुरेन्ट वा कार्यालयजस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको हुनसक्ने भन्दै विशेषतः पानीमा जीवाणु मिसिएको हुनसक्ने बताउनुभयो । गोरखापत्र/सरोज ढुङ्गेल 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार