• सोमबार ३-२०-२०७९/Monday 07-04-2022
विचार

पाका मानिसबारे भ्रम नपालौ !

संसारभरी नै ज्येष्ठ नागरिक वा पाका मानिसहरू भन्ने बित्तिकै लौरो टेकेर हिँड्न लागेका भने जस्तो चित्र सबैका आँखा अगाडी नाच्छ होला ! त्यतिमात्र कहाँ हो र ? रोगी, लुरा, कुप्रा, कपाल फुलेका वा खुईलेका, चाउरी परेका, छाला मुजा परेका, जे पनि बिर्सने, ठमठम नभएर लर्‍याङलुरुङ गरी हिँडने महिला पुरुषको आकृती परम्परागत रुपमा वर्णन गरिएको पाइन्छ । यस्तो प्रायः सबै विकशीत वा विकासोन्मुख भनिएका देशका समुदाय, जातजाति र बर्णका मानिसहरू बिच उस्तैउस्तै चित्रण भेटिन्छ । तर वास्तवमा यो एक किसिमको पहिलेदेखि चलिआएको उमेरद्रोही हेपाई मात्र हो । धेरै त्यस्ता भनाईहरू अहिलेको बिज्ञान सम्मत एक्काईसौँ शताव्दिको समाजमा गलत सावित भएका छन् । पाका मानिसको सुक्ष्म अध्ययन गरी लेखिएका लेख छाप्ने बुढ्यौली शास्त्रका बैज्ञानिक पत्रिकाका लेखहरूको आंकडा र सूचना जम्मा गर्दा देखिन्छ कि परम्परागत सोचाई भन्दा फरक स्वस्थ्य जीवन पाका मानिसहरूले बिताइरहेका तथ्यहरू प्रशस्त छन् ।

 

याल विश्वविद्यालयका जनस्वास्थ्य र मनोबिज्ञान विभागका प्राध्यापक डा.बेक्का लेभीको निचोड हृदयङ्गम गर्नु आवश्यक छ । उनका अनुसार पाको उमेरमा उमेरिँदै जाँदा आफुलाई कामनकाजको, असहाय, मूल्यबिहीन, म्याद गुज्रेको आदि ठान्ने नकारात्मक सोचाई नै पाका मानिसको स्वास्थ्य बिगार्ने सत्रु हो । यस्तो सोचाई उमेरदार वयस्क र उमेरिएर पाको भएका कसैले सोच्नै हुन्न । यसले त पाका मानिसको दीर्घजीवनमा असर गरेर चाँडै क्षिण बनाउँछ । त्यस्ता पुराना भनाई र सोचाईको सट्टा सकारात्मक नयाँ तरिकाले सोच्न र बोल्न लगाउनुपर्छ । पाका मानिसको प्रशङ्गमा यसो भनौँ न– ज्ञान, अनुभवले भरिएको, आत्मविश्वासी, अडानमा बस्ने, धर्यवान, सन्तोषी, जीवन्त सोच भएको, पाको मानिस, भर गर्न सकिने, असल अभिभावक, आदी । यसरी पाका मानिसको इज्जत गर्दा सकारात्मक भावना पलाएर, उहाँहरूको उत्साह र जाँगर थपिएर औशत दशकौँ आयु बढेको पाइएको छ । त्यसरी परम्परागत मनगढन्ते भनाईको सट्टा हुनसक्ने वास्तविकतामा तुलना गरेर हेर्दा नकारात्मक हटाई सकारात्मक व्यवहारले कसैको पनि स्वास्थ्य र निको आनन्दमा ठूलो प्रभाव रहेको देखिन्छ ।

 

पाको उमेरमा हुन्छ भन्ने भ्रमपूर्ण कुराहरू


१. मेरो त बँश र बँशाणु नै त्यस्तै :
वास्तविकता : आफ्नो स्वास्थ्य, रुपरङ, ज्ञानगुन र आचरण सबै बँशानुगत हुन्छ, त्यसैले आयु पनि त्यस्तै होला भनेर अनुमान गर्ने गरिन्छ । तर ‘दिर्घ जीवन छोटो मरण’का लेखक डा. रोजेर लण्ड्री भन्छन ७०प्रतिशत जति त तपाईँ कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ त्यसैमा सबै भर पर्छ । स्वस्थ्यबर्धक ठिक्क खानपान, थकाई मर्नेगरीको मस्त सुताई, धुमपानरहीत स्वभाव, मदिरापान बिरलै र दैनिक उपयुक्त व्यायाम नै हो राम्रो जीवनको मूलमन्त्र । तपाईँका सम्पूर्ण स्वस्थ्य जीवनको बुटी र दीर्घजीवनको रहस्य त्यही हो । बिचरा बँशाणु र बँशको निर्णय त त्यस्ता आचरणको पछि चुपचाप आउने हो । आफ्नो पवित्र र गौरबपूर्ण बँशलाई धिक्कार्ने होईन बरु त्यसको उन्नतिकालागि गर्नुपर्ने माथिका स्वास्थ्य सम्वन्धी आफ्नो कर्तव्य पुरा गरौँ । हेर्नोस् त चार बीसको उमेरमा पनि कति झरझराउँदो सरिर बन्दो रहेछ ? आफु अनुशासित भएपछि आफ्ना ज्ञानेन्द्रीय नाक, कान, आँखा लगायत कति तेजिला र दाँत बलिया हुन्छन ? तपाईँमात्र होइन तपाईँको उमेर भएका र अझै पाका मानिस पनि कति भेटिन्छन ? सँसारै राम्रो र आनन्दको देखिन्छ र सबै मानिस कति स्नेहील भेटिन्छन् ।

 

२. उमेर खानु भनेको कमजोर र रुगरुगाउँदो हुनु हो :
वास्तविकता : चलायमान बस्तु वा सरिर चलायमान नै हुन खोज्छ । अन्तरराष्ट्रिय रुपमा नै विभिन्न सरकारी र गैरसरकारी स्वास्थ्य सँस्थाहरूले उमेरिदै जाँदा कसरी स्वस्थ्य र तन्दरुस्त रहने भनी पाका मानिसका लागि धेरै उपाय र तरिकाको सूचिनै बनाई प्रसारित गरेका छन । त्यसमध्ये, सामान्य देखिने व्यायाम–दैनिक हिँडडुल, जीउ तन्काउने अभ्यास, करेसाबारी र बगैँचाको कामले मात्र पनि पाका मानिसको माँसपेसी बलियो बनाईराख्न मद्दतगर्न सक्छ । यत्तीले पनि अरट्ठो जोर्नी खुकुलो र लचकदार बनाउन सक्छ र हाडको घनत्व बढाएर बलियो बनाउन सक्छ । राम्रो व्यायामले त पाको उमेरमा बढने उच्च रक्तचापको समस्या घटाउँछ भने चिन्ता, तनाव र मानसिक लघुताभासका लक्षण हटाउन सहयोगी बन्छ । बरु उमेरीदा र आफ्नो कुनै नछुटेको रोग छ भने सम्बन्धित चिकित्सकलाई नियमित गर्नसकिने व्यायामका बारेमा सल्लाह लिनु फाईदाजनक हुन्छ । उमेर बढिहुँदैमा नियमित क्रियाकलापलेगर्दा कमजोर र सिथिल सरिर हुन्छभन्ने सर्बथा ठिक होईन । हामी हाम्रै नियमित प्रयाशले आफ्नो स्वास्थ्य कामलाग्दो, तन्दरुस्त र बलियो बनाईरहन सक्छौँ ।

 

३. उमेरिदा बिर्सने त हुन्छ नै :
वास्तविकता : मानिसले कुनै कुरा धेरै समय नदोहोरीँदा बिर्सनु स्वभाविक हो । उमेर बढदै जाँदा पहिलेका घतलाग्दा कुरा सम्झिए पनि सामान्य गतिविधि र नामनामेसी विर्सन सकिन्छ। कतिपय अत्यन्त मनपराएका बस्तु र मानिसका नामसमेत लामो समयपछि हाम्रो मस्तिष्कको भँडारबाट लुप्त हुन सक्छ । उमेरीँदै जाँदा पाका मानिसले देखाउने प्रतिक्रिया र समस्या समाधानको क्षमतामा पनि ह्रास आउन सक्छ । तर पुरै बिर्सने वा बिस्मृति नै हुन्छ पाका मानिसलाई भन्नु साँचो होईन । अमेरिकी एल्जाइमर सँस्थाका अनुसार ६५ देखि ७४ वर्ष उमेर समुहका तिन प्रतिशत मानिसमा मात्र सामान्य किसिमको बिर्सने एल्जहाईमर पाईएको छ । अरुहरूमा देखिएको लक्षण, सम्झने नसम्झने बानी सामान्यतया सबै स्वस्थ्य मानिसमा हुने गुण नै हो, आत्तिने वा दिक्क मान्नुपर्ने खालको होइन । उमेर र स्वास्थ्यका कारण बिर्सने मानसिक कारण र चरित्रलाई पाका मानिसले सन्तुलित खानपान, सक्रियतामा बृध्दि, सम्झने सुत्र प्रयोग र सिक्ने सम्झने प्रयासले अद्यावधिक गर्न सकिन्छ । कुनै मान्छेबारे बिर्सिए त्यसको रुपरङ, उसँग भएको घटना, उस्को बासस्थान, पेशा वा उसको सम्झनुपर्ने अनौठो गुण सम्झने, बिस्तारै उसँगको पहिलाको भेट वा घटना सम्झनामा आउँछ अनि नाम सम्झन सकिहालिन्छ ।

 

४. उमेर पाको भएपछि सिक्ने क्षमता प्रायः रोकिन्छ :
वास्तविकता : हार्वाड चिकित्सा विद्यालयको अनुसन्धानपछिको भनाई तपाइँ हामीले पाको उमेरमा जतासुकै भनिने कुराभन्दा अलि फरक छ । उमेरिदै जाँदा मानिसको सिक्ने तरिका फरकपर्दै जान्छ । छिटोछिटो सिक्ने गति द्रुतता पाका मानिसमा घटन सक्छ । तर अरु जीवभन्दा मानिसहरूका मस्तिष्क क्षमता नै उच्चभएकाले जीवनभर सिक्ने क्षमतामा कुनै कमी आएको हुँदैन । अझ थप, पाका मानिसका मस्तिष्कका स्नायुहरू यस्तो उमेरमा बढि हाँगाहाल्ने भएर बढि सङ्ख्यामा बिकसित हुन्छन् । यसरी बढेर मस्तिष्कका कुनाकुनाका नसाहरूसँग पनि सम्पर्कभई सकृय हुन्छन् । यसैको कारणले पाका मानिसहरू विविध र जटिल सूचना र सम्बन्धको गाँठो पत्तालगाउन सक्छन र खासखास विश्वव्यापी समस्याको निक्र्योल सजिलै बुझ्छन । त्यसैले त, हरेक सँघ सँस्थामा पाका मानिसलाई सल्लाहकार राखिएको हुन्छ र जटिल समस्याको समाधानमा वयस्कहरू यस्तै पाका मानिसको अनुभव र ज्ञानबाट लाभान्वित भएका हुन्छन ।

 

५. आखिर जीवन एकाङ्गी र एक्लोपनमा सिध्दिने हो :
वास्तविकता : जीवनका उतार–चढावमा मानिसका सम्बन्ध, नातागोता र इष्टमित्र परिस्थिति अनुसार छुटने, हराउने र हटने पनि हुनसक्छ । बालककाल, किशोर अवस्था र वयस्क उमेरमा शिक्षा, तह, विषय अनुसार साथी भएजस्तै कमाई–धमाई गर्दा फरक खालका साथी र ईष्टमित्र बन्न सक्छन । आफ्नै आवश्यक्ता र कारणले रैथाने ठाउँ छोडेर फरक ठाउँमा जिविकोपार्जन गरी रमाएको पनि हुनसक्छ । अनि साथी सङ्गाती बदलिएका हुन सक्छन । प्रवासी नेपालीको नाता सम्बन्ध, चालचलन र सङ्गाती हेर्नोस न, हामी रैथानेको भन्दा फरक र अरुसँग नै छैन र सम्बन्ध ? साथीभाई बन्ने भनेको उमेर र चहाना अनुसार हो, उमेरले वा स्वस्थ्य अवस्थाले छेक्दैन । आफु जस्तै साथी जत्ति पाईहालिन्छ, खोज्नुपर्‍यो र रोज्नुपर्‍यो, बस् । तपाईँ जहाँ हुनुहुन्छ त्यसैको वरपर यसो आँखा लागाउनुहोस् आफैँ जस्ता भेटिहालिन्छ, अनि सम्पर्क नियमित बनाउनुहोस् । अहा! त्यसपछि तपाईँको एक्लोपन बेपत्ता हुन्छ। आफ्ना कोही नभए अथवा भएर पनि आश्रम वा पाका मानिस बस्ने आवास तिर बस्नुहुन्छ भने यो कोठा त्यो कोठा सबैतिर आफु जस्तै भेटिन्छन, थाल्नोस् दोस्ती गर्न । केहि दिनमा लाग्ने छ सँसार यहीँ वरपर छ, सबैका भोगाई र कुराकानी उस्तै । हेर्नोसत्, स्वर्ग भनेर तेल भिसामा दौडीएको अमेरिका र अष्ट्रेलिया तिरका पाका मानिस बस्ने सँस्थामा बसेका मानिस घरमा बसेका भन्दा सुखि, खुसी र आनन्दमा रहेको पाईएको छ । करिब ६९ प्रतिशत त्यस्ता ठाउँमा आफुजस्तै उमेर समुहमा बस्ने पाका मानिस बढि गतिशिल, चलायमान र सामाजिक भलाईमा अझै कामगर्न उत्सुक पाईयो । अब भन्नोस् त के पाको उमेरमा पनि जीवन एक्लो र उराठलाग्दो हुँदो रहेछ त ?

 

६. पाका मानिस एकलकाँटे हुन चाहन्छन :
वास्तविकता : मानिस सामाजिक प्राणी हो । प्राकृतिक स्वभावले नै समुहमा बस्न रुचाउँछ । हो, अनुभव र ज्ञानको आधारमा पाको हुँदै गएपछि पहिला भन्दा अझबढि अर्थपूर्ण र फलदायी सम्बन्ध विकासगर्न चाहान्छ । मिल्दो आचरण र सोचाई छ भने पद, धन दौलत र शिक्षा आर्जन फरक स्तरको भएपनि घनिष्ठता झन बढछ । ज्ञान र अनुभवले खारिएका पाका मानिस तपाइँहामी वरपरभए प्राज्ञिक बहसमा प्रतिस्पर्धा, समस्याको समाधानका उपायहरू पत्तालगाई सल्टाउन मद्दतगर्ने र भावना साटफेरमा एक असल अभिभावक प्राप्त हुन्छ । उनीहरूका गुणको कदर गरे कहाँ एकलकाँटे हुन्छन् र ? कति चाँडै मायालु बनेर चित्त दुखाउलान भनि वयस्कसँगै सहमतिमा आईहाल्छन नी । पाका मानिस बरु आफु सहन्छन तर आफुभन्दा सानालाई कहिल्यै दुखः दिन्नन् । बरु वयस्कले समुहमा टिक्न आफ्नो उमेरजन्य जोश, व्यक्तिवाद, घमण्ड, मपाइँपन, बजारबादी सोच र बोलीको छुद्रपन नियन्त्रण गरेको राम्रो हुन्छ ।

 

७. मोहमाया छाडेर वानप्रस्थ गर्नु पाका मानिस उमेरीनु हो : 
वास्तविकता : एक अनुसन्धान सँस्थाको रिपोर्ट अनुसार भर्खर सेवा निबृत्त ६५ वर्ष उमेरका सबैजसो पाका मानिस ईन्टरनेट प्रयोग गर्छन भने धेरै उमेर पुगेका पाका मानिस पनि सिकेर भएपनि करिब ६७ प्रतिशतले इन्टरनेट प्रयोग गरेर मोबाइल वा कम्प्युटर चलाएको देखिन्छ । अझ भर्खर पाका मानिस हुने खुटकिलो टेक्दै गरेका त लाखौँको सङ्ख्यामा नयाँ-नयाँ प्रविधि र भाषा सिक्ने र देशाटन गर्न व्यस्त पाईन्छन । तिनीहरूका उमेर समुहका मध्ये धेरै त अनुकुल भए सामाजिक काममा सशुल्क वा निशुल्क काम गरिरहेको पो भेटिन्छन । भन्नोस् त उमेरिदै जाँदा मानिसलाई मानिसकै समुह कहाँ त्याग्न मनलाग्छ र ? अझ बढि झ्याम्मिन र आफ्नो ज्ञान र अनुभवको सम्मान खोज्न पो मनलाग्छ सबैलाई, होइन र ?

 

८. यौनजन्य कुरामा पाका मानिस चाख राख्दैनन् :
वास्तविकता : सन २०१७ मा अमेरीकी प्रान्त मिचिगनको राष्ट्रिय जनमतमा स्वस्थ्य पाका मानिसका ५० देखि ८० वर्ष उमेर भित्रकाले यौन सम्पर्क र आफ्ना जीवन साथीसँगको यौन जीवनमा बहुत चासो सहित सन्तुष्ट रहेको जनाएका थिए । उनीहरू जोडा समुहमा यौन आवस्यक जैविक प्रक्रिया र मानसिक सन्तोषको विषय भएको भन्थे । तिनीहरू मध्ये ७६ प्रतिशतले त यौन जीवनको प्रेम, सम्बेग र रुमानी भावना अभिव्यक्तिको उत्तम उपाए भनेका थिए । त्यसमध्ये ४० प्रतिशत त अति पाको उमेरमा पनि यौनक्रियामा सक्रिय रहेको खुशी साथ भन्दै थिए। नेपालमा नै पनि बढि उमेरका पाका पुरुष महिला पनि सक्रिय यौनान्द लिइरहेका पाइन्छन् । संस्कार र संस्कृतिको कारण अदब राखेर, अलि विषयगत लजालु भएर, धकमाने र खुलेर कुरा गर्न हिचकिचाउँछन । तर परेवा र ढुकुरका जोडी जस्तो उखानको पछिल्तिर सुखद यौनजीवन पनि छ नि, होईन र ? पाका मानिसका दोहोरी गित नेपालमा प्रसस्त सुनिन्छ, कति रहर लाग्दो व्यङ्ग्य र छेड हान्दै विपरित लिङ्गलाई आकर्षित गर्छन । दोहोरीमै मन बसेर घरबार गर्ने पनि कति छन, होइन र ? त्यस्तै विभिन्न उमेर भएका पाका मानिसले घर धान्न मात्र होईन सुखद यौन तथा जीवनका सुखदुखका साथी भनेर साठी वर्षपछि पनि विवाह गरेका कैयौँ घटना नेपालमा सुन्न र पढन पाइन्छ। के हामी नेपाली यौनजन्य कुरामा कम छौँ र ? हामी अचेल काशीबास र बनबास जाने कुरा रामायणका कुरा भनी श्रवण मात्र गर्छौ है ।


अन्तरराष्ट्रिय रुपमा पाका मानिसका विषयमा काम गरिरहेका जर्नल अफ जेरेण्टोलाजी, याल विश्वविद्यालय, अल्जहाईमर सङ्गठन, हार्वाड मेडिकल स्कूल, माथेर लाइफवेज इन्स्टिच्युट अफ एजिङ्ग, युनिभर्सिटी अफ मिचिगन, एजिङ्ग नेपाल आदी सबै संस्थाहरू एक आवाजमा पाका मानिसको सबल पक्षमा बोलिरहेका छन् । के अझै हामीमा भ्रम रहला र, पाका मानिसहरू हाम्रो समाजका मात्र होइन विश्वव्यापी मानव सभ्यता, विकास र समाजका अमुल्य अङ्ग भनेर ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार