• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रवास

गैरआवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रतिवद्धता जनाएका छन् । विहीबार गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारी सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

उनले गैर आवासीय संघले गैर आवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आएकाले सरकारले सबै पक्षसँग समन्वय गरी सम्बोधन गरिने आश्वासन दिए । प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आह्वानसमेत गरे ।

 

उनले भने, ‘नेपाल मातृभूमि भएको र संसारभरी छरिएर रहेका नागरिकलाई मातृ भूमिप्रतिको दायित्व निर्वाह गर्न र डलर खाता खोलेर तथा वचत पत्र किनेर फाइदा उठाउन अपील गर्दछु । गैर आवासीय नेपाली संघको जाहेज मागप्रति सरकार संवेदनशील छ । गैरआवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि लिएर लगानी संरक्षणप्रति सरकारले आवश्यक सहजीकरण गर्नेछ ।’

 

उनले थपे, ‘गैरआवासीय नेपालीहरुको नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्ने आग्रह गर्दै आउनुभएको छ । यो विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधनगर्ने कुरा यहाँहरुलाई आश्वस्त गराउन चाहन्छु । गैर आवासायी नेपालीहरुले आफूसँग भएको सीप, पुँजी अनुभव नेपालको विकासमा लगाउन आह्वान गर्दछु । नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाइछाडौं ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार