• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

ज्येष्ठ नागरिकहरुका लागि आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रम

काठमाडौं। एजिङ नेपालले निरक्षर ज्येष्ठ नागरिक लक्षित ज्येष्ठ नागरिकहरुका लागि नयाँ ‘आधारभूत तथा प्रविधिमूलक शिक्षा’ कार्यक्रमको उद्घाटन सम्पन्न गरेको छ ।  चन्द्रागिरि नगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष घनश्याम लुइटेलले कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

उद्घाटन समाहरोहमा बोल्दै अध्यक्ष लुइटेलले वडाको तर्फबाट र आफनो व्यक्तिगत तर्फबाट कार्यक्रमलाई भरपुर सहयोग गर्ने बताए । आफनो वडामा उक्त कार्यक्रम सञ्चालन हुन लागेकोमा आफु ज्यादै हर्षित भएको उनको भनाई थियो । एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम, चन्द्रागिरि नगरपालिका वडा नम्वर १५ का पुर्व वडा अध्यक्ष उत्तम बहादुर राउत, प्राध्यापक डाक्टर मुकेश कुमार चालिसे तथा बुढ्यौली साहित्य समाज चन्द्रागिरिका अध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ को सहभागिता रहेको कार्यक्रमको सभापतित्व उज्यालो सामुदायिक सिकाइ केन्दका अध्यक्ष मुरारी महतले गरेका थिए। 

 

निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका ज्येष्ठ नागरिकको जीवन सहज बनाउने उद्देश्यले यो कार्यक्रम सन् २०१६ देखि सञ्चालन गर्दै आएको र यसले राम्रो नतिजा पनि दिएको एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले जानकारी दिए। यो हाम्रो नवौँ कार्यक्रम रहेको र सबै कार्यक्रमहरुलाई स्थानीय तहबाट निरन्तरताको लागि सहयोग मिलेको पनि उनले बताए ।

 

स्थानीय ‘उज्यालो सामुदायिक सिकाइ केन्द्र’ सँगको सहकार्यमा सञ्चालित शैक्षिक कार्यक्रम तिनथानामा रहेको मुनाल क्लबमा सञ्चालन भइरहेको छ । शनिबार र अन्य सार्वजनिक बिदा बाहेक सातामा ६ दिन सञ्चालन हुने कक्षामा उक्त क्षेत्रका ६० वर्ष उमेर नाघेका ३० निरक्षर ज्येष्ठ नागरिकको सहभागीता रहेको छ । यो निःशुल्क कार्यक्रम हो, सहभागी ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण शैक्षिक सामग्री पनि कार्यक्रमले नै दिनेछ ।

 

एक वर्षसम्म सञ्चालन हुने यस कक्षाबाट साधारण लेखपढ गर्न, आर्थिक हिसाब गर्न, मोबाइल तथा टेलिफोन, कम्प्युटर, इन्डक्सन चुल्हो जस्ता विद्युतीय उपकरण प्रयोग गर्न, सडकमा राखिएका ट्राफिक संकेत बुझ्न तथा होडिङ बोर्ड पढ्न सक्ने बनाउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार