• सोमबार ३-२०-२०७९/Monday 07-04-2022
मनोरञ्जन

मेरो सांगितिक यात्रा – भाग २

मेरा पिताजी २०३५ सालमा पाकिस्तानको निम्ति नेपाली राजदूत भएपछि हामी सपरिवार उहाँसँग पाकिस्तानको राजधानी इस्लामावाद गयौँ । त्यतिबेला सामाजिक सञ्जालको त कुरै छोडौँ, आज जस्तो आम–सञ्चारको नै राम्रो विकास भई नसकेकोले हामीसँग नेपाली संगीतका जे जति पनि रेकर्ड र क्यासेटहरू पाकिस्तानमा उपलब्ध थिए, तिनै मार्फत सिमित गीतहरू सुनेर बस्नु पर्दथ्यो । नेपाली रेडियो पनि ज्यादै मधुरो सुनिने र त्यो पनि यदा कदा मात्र टिप्न सक्थे त्यतिबेलाका रेडियोहरूले । वास्तवमा रेडियो सेटको कमजोरी भन्दा पनि नेपाली रेडियोको फ्रिक्वेन्सी कमजोर भएकोले त्यस्तो भएको थियो । त्यसैले कहिले काहीँ नेपालबाट कोही पाकिस्तान जान लागेको रहेछ भने वा हाम्रा पिताजी नेपालमा कामको सिलसिलामा जाँदा नयाँ नेपाली गीतहरूका साथै वर्षौँमा एकाध बन्ने नेपाली सिनेमा र मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य आदिका अडियो डायलगहरू भएका क्यासेटहरू ल्याएर सुन्थ्यौँ हामी । हिन्दी गीतका रेकर्ड र क्यासेटहरू पिताजीको आग्रहमा त्यहाँ स्थित भारतीय राजदूतले भारतबाट पनि मगाई दिन्थे । इस्लामावादस्थित क्यानाडेली राजदूतावासमा त्यतिबेला प्रथम सचिवको रूपमा काम गर्ने एकजना रब वेल्स नामका व्यक्तिले दार्जिलिङकी नेपाली मूलकी महिला मेरीसँग बिहे गरेकाले ती मेरीदिदीले नेपाल, भारत र हङकङमा खरिद गरेर ल्याएका नेपाली गीतका रेकर्डहरू हाम्रा लागि निक्कै बहुमूल्य सामग्री हुने गर्दथे । त्यहि बेला हो मैले हङकङको ‘द हिमालयन ब्याण्ड’का प्रख्यात नेपाली गीतहरू सुन्न पाएको र ती गीतहरू गाउन थालेको ।रब वेल्स पनि ज्यादै रमाइला मानिस थिए । श्रीमतीसँग सिकेको टुटे फुटेको नेपाली भाषामा उनी हामीसँग निक्कै हौसिएर कुरा गर्थे र उनले नेपालीसँग बिहे गरेको र आफ्नो नाम पनि ‘रब’ भएकोले आफ्नो छोराको नाम ‘रवी’ राखेका थिए । रवी वेल्स ।

 

पाकिस्तानको राजधानी इस्लामावादको ‘इस्लामावाद कलेज फर ब्वाइज’माकक्षा ८–१० मा अध्ययनरत छँदा त्यहीँका सहपाठी एकजना वङ्गाली साथि मुनव्वर हुसेन, अर्का वङ्गलादेशको रङ्गामटी भन्ने उत्तर–पुर्वी भारतसँग जोडिएको विकट पहाडी क्षेत्रको चक्मा जनजातीका राजाका छोरा राजकुमार इन्द्रशीश राय र ममिलेर बनाइएको ‘किम्स ब्याण्ड’बाट हामीले धेरै गीतहरू गाएका थियौँ र केही पाकिस्तानी र अङ्ग्रेजी पप शैलीका गाना आफ्नै शव्द र संगीतमा बनाएका थियौँ । सो ब्याण्डमा मुनव्वर ड्रम्समा, इन्द्रशीश गीतारमा र म मुख्य गायनमा हुन्थ्यौँ र हाम्रो समूह हाम्रो कलेज र अन्य कलेजहरूमा समेत प्रख्यात थियो । रावलपिण्डीमा आयोजित अन्तर–विद्यालय संगीत प्रतियोगितामा हाम्रो ब्याण्डले दोश्रो पुरस्कार समेत हात पार्न सफल भएको थियो । इन्द्रशीशसँग मैले गीतारको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको धेरै अध्ययन गर्ने मौका पाएको थिएँ र म काम चलाउ गीतारवादक नै भइसकेको थिएँ । त्यस्तै बेलातिर एकचोटी भारतको अमृतसर जाने अवसर मिलेको बेला मैले एउटा गीतार किनेर पाकिस्तानमा लगेको थिएँ ।धेरै कोशिशको वावजुद पनि उनीहरूसँग हाल सम्पर्क हुन सकेको छैन ।

 

मेरो स्कूले विद्यार्थीकालमा नै विश्व प्रख्यात गायकहरू एल्भिस प्रेस्ले र बब मार्लीको कलिलो उमेरमा नै दुखद निधन भएको थियो । उनीहरूको ख्याती मृत्यु पश्चात झनै बढेको थियो । त्यस्तै त्यतिबेला बिटल्स, इगल्स, रोलिङ स्टोन्स, साइमन एण्ड गार्पmन्कल, बिजिज, अब्बा, कार्पेन्टर्स, बब मार्ली एण्ड द वेलर्स, एल्भिस प्रेस्ले, रड स्टेवार्ट, फिल कोलिन्स, डायर स्ट्रेट्स, ज्याक्सन ब्रदर्स, ओस्मण्ड्स, युटोपिया, ओलिभिया न्युटन जोह्न, बब डिलान, निल यङ्ग, केन्नी रोजर्स, विद्दु, ह्वीट्नी ह्युस्टन, स्टिभी वन्डर, लायोनेल रिची आदिका अङ्ग्रेजी गीतहरू ज्यादै प्रख्यात थिए र हाम्रा प्रिय पनि थिए । हामी यस्ता कलाकारका गीतहरूको अभ्यास गर्दथ्यौँ र ती गीतका शव्द र गीतारका कर्डहरू खुबै मेहनतका साथ संकलन गर्दथ्यौँ ।

 

पुर्वीय संगीतमा पाकिस्तानको आफ्नै विशेष पहिचान छ । त्यहाँ खासगरी लाहोर र रावलपिण्डीमा विभिन्न खान्दानी घरानाका सयौँ उस्तादहरूबाट शिक्षा प्राप्त गरेका निक्कै ख्याती प्राप्त गायक–गायिकाहरू छन् । पूर्वीय संगीतको विधामा शास्त्रिय गायन, गजल, सुफी गायन, कौवाली तथा लोक गायनमा पाकिस्तानी कलाकारहरूको विशेष स्थान छ । भारत त झन् पुवीृय संगीतको केन्द्र नै भयो । तर भारतमा सिनेमाका गीतहरूको आधिपत्य अति नै धेरै रहेकोले त्यहाँका सांगीतिक घरानाहरूको चर्चा संगीतकै ज्ञाता र पारखीहरू वाहेक अन्यमा कमै छ । दक्षिण एशियामा उर्दू र हिन्दी भाषा अधिकांश मानिसहरूले बुझ्ने र बोल्न सक्ने भाषा भएकाले पनि पुर्वीय संगीतका मुख्य थलो यी दुई देश हुन गएका हुन् । हुनत वङ्गलादेश, श्रीलङ्का र नेपालमा पनि पुर्वीय संगीतका प्रकाण्ड विद्वानहरूको संख्या बाक्लै छ । वङ्गाली गीत र संगीतले पनि पुर्वीय संगीत जगतमा विशेष स्थान ओगट्न सफल भएको छ ।  पाकिस्तानमा छँदा आलम्गिर, मोहम्मद अली, सुहैल राना, रोविन घोष, नाजिया हसन र उनका भाई जोहेव हसन आदिका पप गीतहरू सुन्न र अभ्यास गर्न ज्यादै रमाइलो हुन्थ्यो । त्यतिबेला पाकिस्तानमा पप र पश्चिमा संगीतको केन्द्र कराची थियो । 

 

हामीले देखेको विश्वमा पुर्वीय र पाश्चात्य संगीत गरी संगीतका दुइवटा हाँगा मात्र भएको जस्तो भान भए पनि विशाल जनसंख्या भएको चिनिया, इन्डो–चाइना र जापान–कोरियन पेनिन्सुला तथा मङ्गोलिया र तिव्वतमा आफ्नै मौलिक संगीतको वर्चश्व छ । त्यस्तै अफ्रिकामा पनि आफ्नै मौलिक संगीत र वाद्ययन्त्रहरू छन् र मध्यपूर्वको संगीतमा पनि गहिराई र मिठास ज्यादै नै धेरै पाइन्छ । त्यस्तै युरोपबाट नजिक मध्य एशियाली मुलुकहरूको संगीत पनि निक्कै राम्रो हुन्छ । न्युजिल्याण्डका माओरी तथा अष्ट्रेलियन एबोरिजिनल, अमेरिकी रेड इन्डियन, माया, एज्टेक, इन्का वा अफ्रिकी आदिवासी सबैका आआफ्ना प्रकारका सुरिला संगीत हुन्छन् । आदिम युगमा संगीतकै माध्यमबाट सन्देशहरु पठाउने, औषधीमुलो गर्ने, हर्ष, विस्मात, खतरा र युद्धको संकेत दिने  काम समेत हुन्थ्यो भने नेपालमा अभैmपनि कटुवाल प्रथा बाँकी नै छ । नेपाल एक बहुजाती र भाषी भएको तथा विशाल संस्कृति बोकेको धनी मुलुक भएकोले यहाँ पनि विभिन्न भेगमा बसोवास गर्ने विविध जातीका आआफ्नै सांगीतिक माहोल छन् । नेपाली लोक संगीतको ज्ञाता बन्न पनि त्यति सहज छैन । यो विधामा धेरै अनुसन्धान भइसकेको भएता पनि अझ धेरै काम हुन बाँकी नै छ । समग्रमा भन्नु पर्दा विश्वका कुनाकाप्चामा मानव सभ्यताको साथ साथै संगीतको पनि विकास भएको छ र संगीत मात्र विश्वमा एउटा यस्तो भाषा हो, जुन भाषा विश्वका सबै खाले जात, धर्म र परिवेशका मानिसहरूले बुझ्दछन् र आनन्द लिन सक्दछन्,यानी विश्वको जुनसुकै कुनामा गएपनि संगीतको भाषा एउटै हुन्छ । संसारका जहाँका मानिसका पनि दुई हात, दुई खुट्टा भएभैmँ संगीतमा पनि सात मुख्य सुर हुन्छन् र तीनै सुर भित्र बसेर आजसम्ममा अनगिन्ती धुनहरू बनेका छन् भने सबै एक–अर्काबाट भिन्न छन् । त्यसैले संगीत रुपी महासागरमा मानिस जति धेरै पौडन्छ र गहिराइमा जान्छ, त्यति विशाल अनन्तमा डुब्न पुग्दछ ।

 

पाकिस्तानमा संगीतका घराना र शास्त्रिय संगीत सिकाउने ठूला गुरू तथा पुराना विद्यालयहरू हुनुका साथै त्यहाँको सरकारले लोक संगीतको विकासको लागि मुलुकको कुना काप्चामा पनि ‘फोक हेरिटेज सेन्टर’हरूको स्थापना गरेर लोप हुन लागेका लोक संगीत र भाकाहरूको रेकर्ड गर्नुका साथै स्थानीय वाद्यवादनका साधन र लोक संगीतको सम्वद्र्धन गर्ने गरेको छ । यसरी नै मुलुकको मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा भारत, चीन लगायत धेरै देशहरू लागी परेका छन् । विकसित मुलुकहरू त यो कार्यमा निक्कै अगाडि छन् । मेरो पिता काम विशेषले पाकिस्तानबाट नेपाल आउँदा रेडियो नेपालमा गएर पाकिस्तानी गजल, फिल्मी र लोक गीतका क्यासेटहरू उपहार दिने गर्नुहुन्थ्यो । त्यतिबेला तिनै उपहारका गीतहरू रेडियो नेपालले नियमित प्रसारण गरेपछि आम नेपाली संगीतप्रेमीहरूलाई पाकिस्तानी संगीतको राम्रो परिचय भएको हो । पछि २०४० सालको दशकमा मेरा पिताजीको समेत पहलमा मेहदी हसन र गुलाम अली जस्ता महान् हस्तीहरू पटक पटक नेपाल भ्रमणमा आएका थिए र हाम्रो निवासमा आएर पनि रात्रीभोजका साथै संगीतको मज्जा दिलाउँदथे ।  

 

हामी पाकिस्तानमा छँदा नै २०३६ सालतिर नेपाल प्रज्ञाप्रतिष्ठानको एक सांस्कृतिक टोली साहित्यकार विजय मल्लको नेतृत्वमा पाकिस्तान आएको थियो । सो टोलीमा दिपक जङ्गम, जयनन्द लामा, गोपालनाथ योगी लगायत कैयन् गायक तथा वाद्यवादक सामेल थिए भने वसन्त श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठ र नृत्यका अन्य हस्तीहरू पनि थिए र उनिहरूले रावलपिण्डी, लाहोर र कराचीमा आफ्ना कार्यक्रम प्रस्तुत गर्दा निक्कै लोकप्रिय बन्न पुगेका थिए । पाकिस्तानी छापाहरूमा धेरै दिनसम्म उनिहरू बारेका खवरहरू छापिएका थिए।

 

पाकिस्तानको टेलिभिजनमा विभिन्न प्रकारका सांगितिक कार्यक्रमहरूको प्रस्तुती दिनहुँजसो हेर्न पाइन्थ्यो । त्यहाँको राष्ट्रप्रेमका गीतहरू, गजल, कौवाली, शुफी संगीत, लोक गीत, हल्का फुल्का समसामयीक गीत, शास्त्रिय गीत तथा संगीत, पप गीत तथा वाद्यवादनका कार्यक्रम र फिल्मी गीत सबै नै ज्यादै राम्रा हुन्छन् । त्यस्तै पस्तु, पञ्जावी, बलुची, सिन्धी र काश्मिरी गीतहरू पनि निक्कै राम्रा हुन्छन् भलै हामी तिनका शव्द बुझ्दैनौँ । हामी बसेको इस्लामावादस्थित नेपाली राजदूतको निवासको केही घर पर एकजना मुजिव सिद्दिकी नामका फ्रेट फर्वार्डिङ कम्पनीका धनाढ्य व्यवसायी बसोवास गर्दथे । उनी केही वौद्धिक गुण पनि भएका व्यक्ति भएकाले घरमा पाकिस्तानका विभिन्न वौद्धिक तथा साहित्यिक व्यक्तित्वहरूका साथै मेरा पिताजी तथा वङ्गलादेश, श्रीलङ्का आदिका राजदूतहरूलाई पनि रात्रिभोजमा बोलाइरहन्थे । उनको घरमा सांगीतिक महेफिलका कार्यक्रमहरू भइरहन्थे र त्यस्ता कार्यक्रममा पाकिस्तान सरकारका उच्च पदस्थ अधिकारीहरूका साथै भारत, चीन र विभिन्न पश्चिमा र अरव मुलुकका राजदूत तथा उच्च पदाधिकारीहरू पनि सामेल हुन्थे । म पनि सांगीतिक कार्यक्रम हुँदा त्यहाँ जाने गर्दथेँ । त्यति नै बेला मैले पुर्वीय संगीतका विभिन्न पाटाहरू र वाद्यवादनका साधनहरू बारे अझ धेरै जानकारी हासिल गर्ने मौका पाएको थिएँ ।  हाम्रो घरकै बगलमा फ्रान्सेली सांस्कृतिक केन्द्र थियो । त्यहाँकी एकजना पाकिस्तानी शिक्षिकासँग मेरो चिनाजानी थियो र उनका दाजु डा. नाजिर कमाल हाम्रा दाजुहरूको इस्लामावाद विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक थिए । उनैले मेरो संगीतपट्टिको लगावलाई बुझेकोले त्यहाँ हुने फ्रेन्चहरूका प्रत्यक्ष सांगीतिक कार्यक्रम वा संगीत सम्बन्धि डकुमेन्ट्रीहरू हेर्न मलाई बोलाई रहन्थिन् । त्यहाँका एकजना क्रिश्चियन धर्मावलम्वी निम्न कर्मचारीका छोराहरू अलेक्जेण्डर र डेनियल पनि मेरा मित्र भएका थिए । उनिहरूले गर्मीको याममा सो केन्द्र लामो समयको निम्ति बन्द हुँदा पनि मलाई बोलाएर विभिन्न खाले फ्रेन्च सिनेमा तथा संगीतका डकुमेन्ट्रीहरू देखाउँथे । 

 

सन् १९४७ मा भारत र पाकिस्तान दुई भिन्दा भिन्दै मुलुकमा बाँडिँदा पञ्जाव पनि दुई हिस्सामा बाँडियो । मुसलमानहरू बसोवास गर्ने क्षेत्र पाकिस्तानमा गाभियो भने सिख र हिन्दूको बाहुल्यता भएको ठाउँ भारतमा पर्न गयो । क्षेत्रफलको हिसाबले पाकिस्तानतिरको पञ्जाब ठूलो छ । कृषिको हिसाबले पाकिस्तान र भारत दुवै मुलुकको मुटु यिनै पञ्जाव प्रान्त नै हुन् । पञ्जावी भाषा दुवै देशमा एउटै हुने भएपनि बटवारा पछि धार्मिक र सांस्कृतिक मान्यता फरक हुँदै गएकोले भारत वा पाकिस्तानमा बनेका कैयन् गीतका बोलहरू एकापसमा अपाच्य हुने गर्दछन् भने माया–प्रेमका गीतहरू भने जता बनेका भएपनि दुवैतिर उत्तिनै लोकप्रिय हुन्छन् ।

 

पाकिस्तानमा कक्षा दशसम्मको पढाई सकेर त्यहाँको सेकेन्डरी स्कूल सर्टिफिकेट (एस.एस.सी.)को परीक्षामाउच्च श्रेणीमा उत्तिर्ण भएर म नेपाल फर्केँ भने मेरा मातापिता र दाजुहरू उतै अर्को दुई वर्षसम्म बसे । मैले नेपालमा आएपछि सि.बि. क्षेत्रीसँग करिव १ वर्ष गीतार वादन तथा पश्चिमा संगीतको भाषालिपी ‘स्टाफ नोटेशन’ सिक्ने मौका पाएँ ।  त्यस्तै पुर्वीय संगीतको भात्खण्डे लिपी भने विभिन्न पुस्तकहरू मार्पmत आपैm सिकेँ । घर अगाडिका बालसखा विपुल जोशी र उनका दाजुहरूसँग बसेर गीतको अभ्यास गर्ने कार्य पनि फेरी जारी भयो भने हाम्रो घर निर नै बस्ने बासुदेव मुनालसँग पनि साँझ बिहान भेटेर लोक गीत सिक्ने काम शुरू भयो ।  उनका भाई सहदेव कोइराला जो हाल अमेरिकामा छन्, उनी पनि मेरा साथि हुन् र हामी मिलेर रेडियो नेपालमा कैयन् लोक गीत गाएका थियौँ । अर्का बालसखा नरेन्द्र ‘प्यासी’ र म संगीतको साधनामा निक्कै तन मनका साथ लागेका थियौँ र ४–५ घण्टासम्म हामी दिनहुँ संगीत साधना गर्दथ्यौँ । हामी दुई मिलेर धेरै गीतहरूमा संगीत भरेका थियौँ भने विभिन्न कलेजहरूमा हुने स्वागत समारोह र काठमाडौैँका हलहरूमा हुने सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउन पनि हामीलाई बोलाइन्थ्यो । पछि म आफ्नो शिक्षा मुताविकको व्यवसायमा लाग्दै गएँ भने नरेन्द्र संगीतमा नै जीवनभर लागेर हाल एक ख्यातीप्राप्त गायक बन्न सफल भएका छन् ।

 

यस्तै बेलातिर मैले मादक पदार्थको सेवन गर्न पनि सिकेँ । त्यतिबेला नेपालमा कलाकार भएपछि रक्सी खानै पर्ने जस्तो फेसन नै थियो । बासुदेव मुनाल, सत्यनारायण राजभण्डारी, केवल सुव्वा, राम थापा, मदन परियार आदिको संगतले म एकातिर संगीतमा पारङ्गत हुँदै गएँ भने अर्को तर्पm म कलिलै उमेरमा ज्यादै जँड्याहा हुँदै गएँ । पाकिस्तानमा हाम्रो निवासमा एउटा कोठा भरी पाहुनाहरूलाई खुवाउन राखेका विश्वका धेरै थरीका प्रख्यात रक्सी, वाइन र वियरहरू हुन्थे तर त्यहाँ हुँदा मैले कहिल्यै पनि ती पेय पदार्थहरू सेवन गरिन । नेपाल आएपछि एकैपटक ज्यादै निम्न कोटीको रक्सीको आदतमा पर्न गएँ । त्यतिबेला परेको त्यो आदतले मलाई झण्डै दुई दशक भन्दा बढी समय सम्म पछ्याई रह्यो । पछि पछि सभ्य भएर सामाजिक मर्यादा राख्दै पिउन पनि सिकेँ तर मेरो जिन्दगीको निक्कै महत्वपूर्ण हिस्सा मैले रक्सीको सेवनमा नै बिताएकोले आज आएर यस्तो महत्वपूर्ण र एकचोटी पाइने जीवन र जोवन मैले त्यसै खेर फालेछु भनेर मलाई ज्यादै थक थक लागेर आउँछ । ज्यादै निम्न कोटीदेखि उच्चतम कोटीका सबै खाले मदिरा पिएर मैले धेरै धन पनि खेर फालेँ । मदिरा पिलाएर बनिने साथिहरू मध्ये एकाधलाई छोडेर सबै जना पिउन पाउन्जेल मात्र साथि हुँदा रहेछन् र पछि उनैले पिठ पछाडि कुरा काट्दै र जँड्याहा भन्दै हिँड्दा रहेछन् । यस्ता धेरै अनुभवहरू बटुलियो । धन्य आजसम्म स्वस्थ भएर नै बाँच्न सकिएछ । हुनत मैले कलिलै उमेरदेखि विभिन्न रचनात्मक कार्यहरूको थालनी गरेको र आफ्ना पिता विभिन्न उच्च ओहदामा छँदा पनि कहिल्यै उहाँलाई जागीरको निमित्त सिफारिस गर्न नभनेको, कलेजका सबै तहका परीक्षाहरू ठीक समयमा नै उत्तिर्ण गरेको, कलिलो उमेरमा नै लेखनमा सक्रिय हुनाका साथै अङ्ग्रेजी पत्रिकाको सम्पादन र प्रकाशन समेत गरेको, बहुदलीय प्रजातन्त्रको निम्ति जेलसमेत बसेर आन्दोलनमा भाग लिएको, मानव अधिकार र निर्वाचन पर्यवेक्षणमा सक्रिय भूमिका खेलेको र विभिन्न विकासे आयोजनाहरू र एक प्रतिष्ठित बैङ्कमा पनि उच्च तहमा रहेर काम गरेको भएता पनि यो रक्सीको नराम्रो आदतले मेरा यी सब रचनात्मक कार्यहरूलाई अझ गुणस्तरिय रूपमा अघि बढाउन वास्तवमै ठूलो वाधा पु¥याएको थियो ।

 

भन्नु नै पर्दा नेपालमा रक्सी र चुरोटकै नराम्रो आदतका कारण निक्कै राम्रा कलाकारहरूले अकालमा ज्यान गुमाउनु परेको छ । नारायण गोपाल, गोपाल योञ्जन, हुतराज, हरिभक्त कटुवाल, वासु शशी, भवानी घिमिरे, हेम हमाल, अरुणा लामा, राम थापा, पाण्डव सुनुवार, सत्यनारायण राजभण्डारी, मदन परियार, केवल सुव्वा, गोविन्द कटवाल, कृष्णविक्रम थापा, अरुण थापा, खेमराज गुरुङ, निशान भट्टराई आदि रक्सी कै कारण दिवङ्गत भए भने महाकवी लक्ष्मीप्रसाद देवकोटा, कवी मविवि शाह, रत्नशमशेर थापा आदि जस्ता महान् श्रष्टाहरूको अधिक धुमपानका कारण उत्पन्न विभिन्न जटिलताका कारण असामयिक देहावसान हुन पुग्यो । कैयन् रक्सी र चुरोट प्रेमी श्रष्टा र विशिष्ट कलाकारहरू भने पछिल्लो समयमा यस्ता नराम्रा आदतहरू त्यागेर वा कम गरेर स्वस्थकर जीवनयापन गर्न थालेकाले उनिहरूले गीत–संगीत क्षेत्रमा अभैm पनि योगदान गरिरहन सकेका छन् । भक्तराज आचार्यकै कुरा गर्दा उनको रक्सीकै आदतका कारण ठूलो दुर्घटनाबाट बाँच्न सफल भएको भएता पनि उनको यस पुनर्जन्ममा उनी अब सदाका लागि गीत गाउन नसक्ने गरी बाँचिरहेका छन् । एउटा जल्दो बल्दो गायक तथा संगीतकारलाई गाउन नपाएर बाँच्न मात्र पाउँदा कस्तो प्रकारको पिडा हुन्छ होला, त्यो हामी अलिकति मात्र महसुस गर्न सक्छौँ । हिजो आजका नयाँ पिँढीका गीत–संगीतका कलाकारहरूमा भने मद्यपानको आदत केही कम भएको हो कि जस्तो महसुस हुन थालेको छ । आज मनोरञ्जनका धेरै साधन भएका र संगीतको साधना गर्न आवश्यक सामग्रीको उपलब्धता र संगीतमा अवसर पनि धेरै भएकोले यस्तो भएको हो की !

 

त्यतिबेला हामी रेडियो नेपालका कर्मचारी नभए पनि कलेज नलागेको समय पारेर दिनहुँ जसो त्यहाँ गएर विभिन्न कलाकारका गीतहरू रेकर्डिङ हुँदा वाद्यवादनका साधन बजाएर मद्दत गर्ने गर्दथ्यौँ । म खासगरी गीतार, भाइब्रोफोन र किबोर्ड बजाउने गर्दथेँ भने नरेन्द्र तबला, कङ्गो आदिमा माहिर थिए । एउटा गीतको रेकर्ड हुँदा वाद्यवादन गरेको १०–१५ रुपैयाँ आउँथ्यो, जुन रकम हामी दुई तीन महिनामा एक चोटी एक मुष्ट लिने गर्दथ्यौँ । त्यति नै बेला राम थापा, पाण्डव सुनुवार, गणेश परियार, मदन परियार, केवल सुव्वा, सूर्य थुलुङ, राजु अग्रवाल, शुभबहादुर सुनाम, शिशिर क्षेत्री, सत्यनारायण राजभण्डारी, मधु क्षेत्री, उदितनारायण झा, दिव्य खालिङ, मदनसिंह नेपाली आदि लगायत धेरै जना संगीतका स्रस्टाहरूसँग चिनाजानी गर्ने र संगीत सिक्ने मौका पनि पाइयो ।

 

.... बाँकी अर्को अङ्कमा ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार