• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

‘एक्सन’ मा धरानका नवनिर्वाचित मेयर हर्क

इटहरी । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

 

सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।

 

यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आफू धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।

 

मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् ।

 

बुधबार खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई निर्देशनसमेत दिए । ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो,’ साम्पाङले भने ।

 

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्नेसमेत बताए । उनले भने, ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्टा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु ।’विकेक ‘विवश’ रेग्मी/  राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार