• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

हामीलाई एकै नापो काम लाग्दैन है !

पाका मानिसहरूलाई प्राय एकै मेसो ‘ज्येष्ठ नागरिक’ भनिदियो टण्टै साफ भने जस्तो गर्छन् । नियमानुसार उमेर पुगेका सबै महिला पुरुषलाई एकै समुहमा राख्नु र एकै व्यवहार गर्नु अवैज्ञानिक हुन्छ । उनीहरूलाई उमेरको मापदण्डले भनेपनि शारीरिक क्षमता, मानसिक अवस्था, शैक्षिक ज्ञान र पारिवारिक आर्थिक स्तर अनुसार व्यवहार गरिनुपर्छ । अझ, कुनै सेवा व्यवसायमा लागेर निवृत्तिभरण पाउने र नपाउने तथा आजिवन घरकाजमा नै रहेका बीचमा पनि वर्गिकरण गर्नु राम्रो हुन्छ । नेपालमा त विभिन्न सेवा व्यवसायमा अवकास दिईने फरकफरक उमेर छ । त्यस्तै, निबृत्तिभरण पाउने नपाउने पनि संस्था हेरेर सेवा अवधि जोडेर फरक-फरक छ । सरकारको अहिलेसम्मको उर्दी चैँ ६० वर्षदेखि ज्येष्ठ नागरिकको पगरी पाईने तर ज्येष्ठ नागरिक भत्ताको व्यवस्था भने ७० वर्ष देखि रहेको छ । यो भत्ता पाएपनि ज्येष्ठ नागरिकको केहि आवश्यकता मात्र पुराहुने देखिन्छ । परम्परागत रुपमा भूत मन्साउन गरिने एक चिम्टी पहेँला अक्षेता जस्तो त्यस्तो भत्ता पाउन त केहीले कति धामा गर्नुपर्छ अन्य सुविधाको कुरै नगरौँ र पाउँदै नपाउनेको के कुरा ?


१. श्रम गर्न सक्नेः 
क) शारिरीक र मानसिक अवस्था सामान्य रहेका र उमेर पुगेका महिला र पुरुष त सरकारी गैरसरकारी सेवाबाट निवृत्त भएपनि अन्य ठाउँमा काम गरिरहेका प्रसस्त पाईन्छन् । सेना प्रहरीका थुप्रै मानिस अहिले अवकास पछि विभिन्न सरकारी गैरसरकारी सेवाका सुरक्षाकर्मी भएर काम गरिरहेका भेटिन्छन् । विदेशी मुलुकहरूमा पनि कमाई र ईज्जत आर्जन गरेकै छन् । प्राविधिक समुहका पनि विभिन्न परामर्शदाता संस्थामा योग्यता र अनुभवका आधारमा विज्ञ वा सेवाप्रदायक भई काम गरेको पाईन्छन् । आर्थिक प्रशासन र बैकिङ्ग तिरका विभिन्न अर्थ कारोबार, व्यापारिक संस्थान वा सहकारी संस्थामा योग्यताका आधारमा काममा लागेकै छन् । कतिपय शारिरीक रुपमा सक्षमहरू आफ्नै बचत कमाईलाई सदुपयोग गरेर तथा ऋणसापटी लिएर बन्द व्यापार वा कारोबारमा लागेका छन् । सामान्य हेर्दा शारिरीक तन्दुरुस्ती भए चार बिससम्म मज्जाले काम गरीरहेका वा सघाईरहेका पाईन्छन् ।


अहिलेको नेपालमा पुरुषहरू बढि घरबाहिर भ्याईरहेछन् भने महिलाहरू अलि अगाडीको उमेरमा नै घर भित्रको काममा व्यस्त हुन थाल्छन् । राजनीति र समाजसेवामा चासो भएका भने महिला र पुरुष दुबै उस्तैउस्तै बाहिर पनि सक्रृय पाईन्छन् । यसरी काममा लागेका पाका मानिसहरूको आय आर्जनको स्थिति वृद्ध भत्ता भनिने अक्षता भन्दा कम तोकिएको भत्ता पाउनै पर्छ । अहिलेको आय आर्जनबाट नै वृद्ध भत्ता भन्दा बढि आम्दानी हुन्छ भने अन्य आय भएसम्म त्यो भत्ता नलिने घोषणा पाका मानिसले जानकारी दिनुपर्छ । त्यसो गर्दा पाका मानिसको स्वावलम्बी हुने आत्मबल बढद्छ भने अरु नितान्त न्यून आर्थिक अवस्थामा रहेकालाई थप रकम उपलब्ध गराउन सरकारले योजना बनाउन सक्छ । ईमान्दारीताको त्यो हद सेवाप्रदायक र सेवाग्राही दुबैमा हुनु चाहीँ पर्दछ ।


विज्ञान प्रविधि क्षेत्रका नियमानुसार अवकास प्राप्त पाका मानिसहरूलाई सम्बन्धित शैक्षिक प्रविधिक सँस्थाहरूमा ज्ञान र सिपको पुस्तान्तरण गर्न आगन्तुक निरिक्षक वा निर्देशक पद दिएर सेवा लिन सकिन्छ । पाका मानिसको स्वास्थ्य स्थिति र संस्थाको आवश्यकता अनुसार नियमित र आवधिक सेवा लिएमा सेवाप्रदायक र सेवाग्राही दुर्बलाई फाईदा हुन्छ । आर्थिक प्रशासनिक क्षेत्रमा पनि यस्तो व्यवस्थाले हाम्रो आर्थिक र प्रशासनिक सेवा चुस्तदुरुस्त भई अपचलन रहित भई जनहितकारी नै बन्छ । कृषि र बन क्षेत्रमा पाका स्थानिय मानिसलाई पनि संयोजन गरेर हाम्रो परम्परागत कृषी क्षेत्रमा उन्नत रैथाने तरिका विकासगर्न मद्दत पुग्छ । बनको रैथाने प्रजातिको ज्ञानलाई उन्नत ढङ्गबाट बृहत उत्पादकत्वमा परिमार्जनगरी विकास गरे वातावरण मात्र होईन राष्ट्रिय आयमा समेत थप योगदान हुन्छ । हाम्रो समाजका विभिन्न विधाका पाका मानिसको ज्ञान सिपलाई उपयोग गर्ने राष्ट्रिय योजनाको स्वेतपत्र सरकारले जारीगर्नुपर्छ र कार्यान्वयनमा अघि बढेको देखाउनु आजको माग हो ।


ख) पहिला नियमित सेवामा नरहेका र कुनै प्रकारको लाभका काममा नलागी घरकाजमा रहेका महिला र पुरुषलाई अर्को श्रेणीमा राख्नु पर्दछ। अझै श्रमगर्दै रहेका भएपनि असङ्गठित यस्ता पाका मानिसलाई जे जस्तो सिप वा अनुभव छ त्यही आधारमा मिलन केन्द्र बनाई लगत राखिनु पर्छ । त्यसै आधारमा स्थानिय तहमा गरिने विकास र निर्माण प्रक्रियामा आयमूलक काममा आवधिक लगाईनु पर्छ । अहिले यस बर्गका मानिस छिटपुट आय आर्जनमा संलग्न रहेपनि घरकाजमा समय बित्ने पाका मानिसलाई थोरै भएपनि मासिक नगद सहयोग हुनुपर्छ । औषधिमूलो र सामाजिक अड्कोपड्कोमा पाका मानिसले त्यस्तो रकम उपभोग गर्न पाउँदा धेरै भरथेग हुन्छ । उनीहरूलाई सकेसम्म त्यस्ता भत्ता घरघरमा गएर व्यक्तिलाई नै पु¥याउने व्यवस्था भए व्यवहारीक हुन्छ । कहिँ कतै निरक्षर पाका मानिसको पाउने भत्ता एकमुष्ठ लिन जाँदा आफन्तले ठगेका घटना रोक्न समेत यस्तो व्यवस्थाले कामगर्न सक्छ । रकम बोकी जाने सेवाप्रदायक पनि ईमान्दरी बहनगर्ने हुनुपर्छ भने उसले रकम लिएर बितरण गर्न जाँदा पाका मानिसबारे सम्पूर्ण जानकारी सरकारलाई अद्यावधिक गर्ने मौका पनि मिल्दछ ।

 

२. कम श्रमगर्न सक्नेः
क) पहिला आयमूलक सेवामा रहँदानै वा सेवानिबृत्त भएपछि अङ्गभङ्ग भएकालाई यस श्रेणीमा राख्न सकिन्छ । यस्तो समुहमा मुख्यगरी सारिरीक श्रमगर्ने पाका नागरिकलाई राख्नु पर्छ । बिमा संस्थाहरूले अख्तियार गरेको प्रकारजस्तै अङ्गभङ्ग भएकाको अवस्था अनुसार पाका मानिसको पनि श्रेणी विभाजन गरेर काम गर्नुपर्छ । भत्ताको निर्धारणगर्दाअमुक परिवारको समग्र आर्थिक अवस्था हेरेर यस्ता श्रेणीकालाई दिईने भत्ता फरकफरक हुनुपर्छ । हो, कसैले स्वईच्छाले भएको अवस्था स्विकारगर्दै स्वावलम्बी भएर र पारिवारीक सक्षमताले त्यस्तो भत्ता नलिने पनि हुनसक्छ ।सरिरको कुनै एक भाग अङ्गभङ्ग भएर आफ्नो वा अरु संस्थामा सलग्न भई थुप्रैले जीविकोपार्जन गरेको पाईन्छन् । आफुलाई अपाङ्गताको हिनताबोध नगरी काम गरीरहेका र अपाङ्ग भत्तासमेत नलिने कैयौँ श्रमजीवि पाका मानिस भेटिन्छन् । हामीले त्यस्ताको बिचार र व्यवहारलाई प्रचारगरी स्वावलम्बनको गुणगान गर्न चुक्न हुन्न । तर सिप र विज्ञताको आधारमा सामान्य भरथेगले सेवा लिन उपयुक्त पात्रलाई भने संघ संस्थाले लिनुपर्ने सरकारी योजना हुनैपर्छ । विभिन्न कारणले भत्ता दिन आवश्यकलाई भने जानकारी सङ्कलन गरी यथोचित बितरण गर्नु पर्छ ।


ख) शारिरिक हिसाबले हातगोडामा समस्याभएर धेरै हिँडडुल गर्न नसक्ने र आँखा कानका समस्या भएका बौध्दिक श्रमजीविहरूलाई पनि विविध वर्गिकरण गर्न सकिन्छ । उनीहरुको बौध्दिक क्षमता र ज्ञानअनुसार ईच्छुकहरूलाई विद्यालय, शैक्षिक सँस्था, प्राज्ञिक सँस्थान, तालिमकेन्द्र, विदेश कामदार पठाउने सँस्था र अन्यसिकाई सिकाउने सँस्थानहरूमा ल्याईपुर्‍याईको व्यवस्था गरेर काममा लगाउन सकिन्छ । यसरी व्यक्तिको ज्ञानको कदर हुने र निजको आयआर्जन भएर समाजमा अझै उत्पादनशिल भएकोले पाका मननिसलाई ढाडस मिल्ने हुन्छ । बेरोजगारी समस्या हल भएर पाका मानिसहरू स्वाबलम्बी हुन्छन् र परिवारको आर्थिक स्रोतको अभिन्न अङ्गको रुपमा रहन्छन् । विशेष योग्यता भएकाहरूलाई त यस्तो व्यवस्था गर्नैपर्छ । त्यो विशेष ज्ञानको उपयोग समाजले निरन्तर गर्न पाउँछ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि मिल्छ । निबृत्तिभरण पाउनेहरूले निशुल्क वा सशुल्क सेवागर्ने व्यवस्था गरिनुपर्छ भने नपाउनेलाई सशुल्क सेवा गराउनुपर्छ । त्यस्तो काममा लागेकालाई सामाजिक ईज्जत प्रदानगर्ने कार्यक्रम पनि आयोजनागर्नु सरोकारवालाको दायीत्व हुनुपर्छ । 


३. श्रम गर्न नसक्ने
मानसिक वा शारिरिक श्रम गर्न नसक्ने पाका मानिसहरूलाई पनि दुई श्रेणीमा राख्न सकिन्छ ।

क) कुनै प्रतिकृया देखाउन सक्ने पाका मानिसलाई उस्को क्षमता अनुसार सरल र सहज काममा उपयोगी बनाउन सकिन्छ । कतिपय ठाउँमा मानिसको उपस्थितिले नै काम गर्छ, त्यस्तो ठाउँमा हिँडडुलगर्न नसक्ने, धेरै क्षमता नभएको मानिस काम लाग्छ । कुर्ने, सामान्य जानकारी दिने र सरल कामगर्न वा छुट्टयाउन सक्ने भएमा त्यस्तै सरल कामको रेखदेख वा अनुगमन गर्ने काममा राखिनुपर्छ । त्यसबाट हुने आम्दानीले उनीहरुका आवस्यक्ता पूर्तिहुन सक्छ । उनिहरूलाई परिवार र समाजको बोझ होईन अभिन्न व्यक्तित्वको रुपमा स्थापित गराउन मद्दत पुग्छ । यस्तो हुनसकेमा त्यस्ता पाका मानिसको बाँकि जीवन आत्मविश्वासपूर्ण र परनिर्भर नभई सुखमय बन्छ । यस सन्दर्भमा मानिसले विभिन्न मनोरञ्जन, काम र खेलका लागि बन्य जन्तुलाई तालिम दिएको उदाहरण नै मनग्य छ । अमुक प्राणीले अर्थ नबुझे पनि सिकाएको गर्छ, आफ्नो अर्को चिन्छ र अनुकुल प्रतिकुल छुट्टयाउँछ । सामान्य प्रतिकृया देखाउन सक्ने पाका मानिसले त्यस्तोगर्न अवस्य सक्छ । यसरी विभिन्न क्रियाकलापमा पाका मानिसलाई सँलग्न गराएर उनीहरूको आत्मबल समाजले बढाउनै पर्छ ।


ख) कुनै पनि प्रकारको प्रतिक्रिया नै देखाउन नसक्ने नसा र मष्तिस्कको समस्या भएका अथवा सामान्य सरिरको क्रियाकलाप गर्न समेत गाहारो हुने पाका मानिसहरू मात्र पूर्णरुपले अरुको रेखदेख र सरकारी सुविधाका पात्र हुन्छन् । जन्मजात वा पछि आएर त्यस्तो अवस्थामा पुगेका पाका मानिसहरूको सम्पूर्ण जिम्मा परिवारले लिनैपर्छ । पारिवारिक आर्थिक अवस्था न्युन छ वा हकवाला नभएका पाका मानिसलाई भने सुखपूर्वक बाँच्नपाउने मानिसको अधिकारको सम्पूर्ण प्रत्याभूति सरकारले गर्नै पर्छ । मानव समाजमा मानव प्रजातिकै अभिन्न अङ्ग पाका मानिसलाई वाँचुन्जेल सुख र आनन्दले बाँच्न कसैले अप्ठ्यारो पार्नु वा रोक्नु हुँदैहुन्न । 

 

अन्त्यमा,
नेपालमा बेलाबेला प्रजातन्त्रको नाममा चुनावको हावाहुरी मण्डारीरहेकोहुन्छ । उम्मेदवार र प्रचारकको हल्लाले सबैलाई विविध प्रभाव पारेको हुन्छ । सन २०१९ को प्रक्षेपण अनुसार नेपालमा १,७७,३३,७२३ उमेर पुगेका मतदाता रहेका छन् । त्यसमध्ये सरकारी अकर्मण्यता र आधारभूत आवस्यक्ताका उद्योग व्यवशायको निर्माण नगरिदिएका कारण आफ्नो जीविकोपार्जन र परिवारको भरण पोषणका लागि ६० लाखभन्दा बढि वयस्कहरू बाहिरी देशमा श्रमबेच्न गएका छन् । त्यसरी जाने पक्कै पाका मानिस होईनन् भने बाँकी १,१७,३३,७२७ उमेरपुगेका मानिस नेपालमा छन् । अहिले पनि ६० वर्ष माथिका करिब २५,२१,००० रहेको तथ्याङ्क मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ ।


कूल जनसङ्ख्याको ५ भागको एक भाग भनेको ठूलो मात्रा हो कुनैपनि देशकालागि । हाम्रा तालुकवाला के गर्छन त ति पाका मानिसको हितमा ? जाबो सामान्य स्थानिय चुनावमा पाका मानिस भनि आफैँले भनेकाहरूका लागि भोट हाल्न प्राथमिकतामा राखि अलग लाईन वा सहज वातावरण त बनाएनन् । कति ठाउँमा उत्साहित भएर आफन्तसँग सहयोग लिएर मतदान केन्द्रमा गएका पाका मानिसलाई आफन्तकै सहयोगमा ईच्छा गरेको चिन्हमा मतमाछापलगाएर खसाल्न त दिएनन् । मतदाताको त्यत्रो भागलाई त्यस किसिमको व्यवहारगर्न मिल्छ भन्या ? कैयौँ मतदाताको दृष्टि कमजोर होला, कतिको हात स्थिर नहोला, कति मतदान केन्द्रको अड्बाङ्गे व्यवस्थापनमा कता जाने र के गर्ने भन्ने भेउ पाउन्नन् । अनि कम्तीमा आफन्तको सहयोग लिनु परेन ? कि निर्वाचन व्यवस्थापनले पाका मानिसलाई चुनाव बहिष्कारगर्न हौस्याएको हो ?आजका पाकामानिस बढी सङ्ख्याका सिप, ज्ञान, अनुभवयुक्त र आदरणीय हुन । उनिहरूबारे व्यवहारीक जिम्बेवारी बहनगर्न परेन भन्या ? देखाउने र सुनाउने होईन, गरिने हितका काम अघि बढाउन परेन ? नत्र रैथाने पिँढीसाँढेका दिन ओरालो लागेको बुझे हुन्छ, अब धेरै दिन छैन, समयले त्यस्ता सबैलाई चैते हुरीले उखेलिएको रुख बनाउला, बुध्दि नपु¥याई बुर्कुसी मार्न खोजे ।


पाका मानिसले आफुले सक्रृयभई कामगर्दा बढी उमेरमा र अशक्तहुँदा कामलाग्छ भनि बचत गरेर राखेका नगद जिन्सीको आम्दानीमा बैँकिङ्ग कारोवार वा आउने व्याजमा आयकर नलगाऔँ । त्यस्ता बचत रकम कुनै अर्थोपार्जन वा सरकारी परियोजनामा लगानीगर्न चाहेमा पाका मानिसलाई सहुलियत र सहज पारियोस् । त्यस्ताबाट हुने आयमा पनि सकेसम्म कर नलिईयोस् र लिनैपरे अति सामान्यमात्र लागु गरियोस् । कुनै कुनै परियोजना वा व्यापार व्यवसाय त पाका मानिसका सँयोजनमा खोल्न र चलाउन समेत सरकारले सहयोग गर्नु उत्साहजनक हुन्छ । सकेसम्म क्रियाशिल हुनसक्ने पाका मानिसलाई क्रियाशील पारौँ र स्वावलम्बी बनाऔँ । गर्न सक्नेले थप काम गर्न र थप आय आर्जनगर्न प्रोत्साहित गरौँ । सरकारले हरेक आर्थिक कारोबार र आम्दानीमा करकट्टा गरेर जनता आक्रान्त छन् । पाका मानिसको क्रियाशिलतामा हुने आयआर्जनमा चैँ विवेकीभएर सरकारले कर पुराछुट वा अतिन्यून गरी प्रोत्साहित गर्नैपर्छ ।


यसरीबहुसङ्ख्यक पाका मानिस निस्कृय नबसेर आफ्नो मात्र होईन परिवार र समाजकै सहयोगी भएर बाँच्न सक्छन । अनि आफ्ना अग्रज, मायालाग्दा र आदरणीय मान्यजनलाई बाटोमा छोड्ने दुष्कर्म र पैसाको तुजुकमा ‘आधुनिक पाटी’ बृध्दाश्रममा फ्याँक्ने हिम्मत कुनै परिवारले नगर्लान । सरकारले सामाजिक सुरक्षा भनेर दिनुपर्ने आवस्यक भत्ता पाउनुपर्नेलाई घरघरमा भेटेर भूक्तानी गर्ने चाँजो मिलाऔँ । अचेल हरेक पालिकामा भएका वडावडामा रहेका कार्यालयको एक कर्मचारीले अद्यावधिक जानकारी आवस्यक्ता अनुसार आवधिक सङ्कलन सहित मासिक रकम भूक्तान गरीयोस् । त्यस प्रक्रियाबाट पाका मानिसहरूको स्वास्थ्य अवस्था, पारिवारीक अवस्था, पछिल्लो जानकारी समेत जम्मा भई सरकारलाई देशव्यापी जनगणनाको श्रम, खर्च र समय पनि बचत हुन्छ । सत्यतथ्य जम्मा हुने त्यस्ता कार्यले पाका मानिसको ज्ञान र श्रमको सदुपयोग हुन्छ भने सहयोग प्राप्तगर्दा हुनसक्ने बेईमानी र अपचलन पनि रोकिन्छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार