• बुधबार २-४-२०७९/Wednesday 05-18-2022
विचार

मेयर ज्यु तपाईंको ग्रिन एजेण्डा के हो ?

कोभिडको दुईवर्षे बन्दाबन्दीले निसासिएको म । चिडियाखानामा थुनिएको पक्षी सरह । लकडाउन खुल्नसाथ आफ्नो प्यारो स्वदेश भ्रमणका लागि उडिहालेँ । यस दुई महिने यात्रामा मैले सँगालेका अनुभव र संघारमै आउँदै गरेको स्थानीय चुनाव ३० वैशाख २०७९ को सन्दर्भलाई पारेर केही लेख्न उचित ठानेँ र, यो यात्रा संस्मरण कोर्दै छु । जसमा पर्यावरणलाई राजनीतिसँग मिसाएर केही नयाँ विचार पस्किने जमर्को गरेको छु । पर्या लेखन अथवा भनौं इको राइटिङसँग जोडीएर आउने बिभिन्न धारहरु मध्ये पर्या–राजनीति (इको-पोलिटिक) एक नयाँ धारको लेखन हो ।  

 

मलाई लाग्छ एक राजनीतिज्ञमा पर्यावरणीय चेतना आयो भने  मात्रै उसले पर्यावरण संरक्षण तथा सुधारका नीति तर्जुमा गरेर कार्यान्वयनमा ल्याउन सक्छ । उसले  जनता र प्रकृतिको सरक्षण सुधार र बिकासको पाटोमा नयाँ अध्याय थप्न सक्छ र नयाँ चिन्तनको बिकास हुनेछ । यसै बिषयमा नेपाली राजनीतिको केन्द्रमा अहिलेसम्म  बहस नगरिएको अथवा महत्वका साथ नराखिएको बिषयमाथि आफ्नो अनूभुति राखीरहेछु ।   

 

यो पटकको चुनावी ऐजेन्डाहरुमा सबै जसो दलहरुहरुले बाताबररणीय उजेन्डा आफ्नो घोषणापत्रमा समावेश गरेका छन् तर चुनाब जित्ने  खेलोफड्को जस्तो मात्र । मलाई लाग्छ यो स्थानीय चुनावमा आम मतदाताले खह्रोरुपमा नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्ष लगायत सबै उम्मेदवारलाई ‘तिम्रा ग्रिन एजेण्डा के छन्  ? ’ भनी प्रश्न गर्नुपर्ने देखिन्छ। जनताको सरोकोर राख्ने त्यस्ता धेरै बिषयबस्तु मध्ये  पार्यावरण सरक्षण प्रमुख  बिषय हो । जनताको सेवा गर्छु भनी उठेका ती उम्मेदवारका वातावरण संरक्षण र सम्वद्र्धन प्रति के कस्ता प्रतिवद्धता छन्, जनतालाई अवगत हुन जरुरी छ । यो किन  र के का लागि जरुरी छ  भने मैले अहिले नेपालमा जे-जस्ता वातावरणीय समस्या देखेर र भोगेर फर्कें, ती अति नै कहालीलाग्दा थिए ।

 

बिश्व सामु हेरिटेज शहर भनिएर चिनिएका काठमाण्डौको सडकका किनारहरुमा धुलो फोहोरको थुप्रो भेटिनु। सडकमा ढल फुटेर त्यहिमाथि टेक्दै हतारमा आफ्ना काममा हिडीरहेका यात्रीहरु भेटिनु। बागमती बिष्णमतिमा ढल, प्लाष्टीकका झोला मिसिएको लेदो भेटिनु ।खाना नपाएर गाईहरुले कागजका कार्टन चपाइरहेको  दुश्यहरु देखिनु। लगातार बजाइने गाडिका हर्न र खाल्डाखुल्डि सडकको कारण घन्द्रयाङ घुन्द्रुङका ध्वनि सुनिनु ।यी आम दृश्यहरुले  मेरा आँखा बिझाएका थिए, मेरो नाक थुन्ने गराएका थिए, मेरा कर्ण छेदन भएका थिए ।

 

म काठमाडौँबाट चितवन, बुटवल, भैरहवा, पाल्पा, गुल्मी, बाग्लुङ हुँदै पोखरा डुलेँ । अनि काठमाडौँबाट हवाईमार्ग हुँदै विराटनगर र विराटनगरबाट सडकमार्ग हुँदै इटरी, धरन, दमक, उर्लाबारी, काकडभिट्टा पुगेँ । अनि भद्रपुरबाट हवाईमार्ग हँदै काठमाडौँ फर्कें । यी यात्रामा सामाजिक तथा आर्थिक विकासका कार्यहरू देखेँ । राजनीतिक परिवर्तनका कुराहरू पनि अनुभव गरेँ । तर यस लेखमा ती विषयवस्तु समेट्ने मेरो आसय नभएकाले यहाँ मैले साक्षात् देखेभोगेका पर्यावरणीय समस्यालाई मात्रै समेट्दैछु । र तिनलाई आँउदो स्थानीय तह निर्वाचनमा कसरी सम्वोधन गरिनु पर्छ भन्ने बिषयमा म केन्द्रित रहनेछु ।

 

फागुनको अन्त्यदेखि लाग्दो वैशाखसम्म मेरो भ्रमणको अवधि थियो । यस अवधिभरि एक थोपा वर्षा भएन । यति लामो खडेरीका कारण  जलवायु परिवर्तन नै हो । खडेरी पनि नेपालमा विद्यमान धुवाँ धुलो उत्सर्जनको एक प्राकृतिक कारण हो । तर यसलाई केही हदसम्म कृत्रिम तरिकाले नियन्त्रण गर्न सकिन्छ, निर्माणाधिन सडक तथा बिल्डिङ साइटमा पानी छ्यापेर।  विराटनगरबाट इटहरी जाने क्रममा म चढेको गाडीको ड्राइभरले भनेका थिए, ‘हिजो यहाँका जनताले सडक अवरोध गरेका थिए सर । जाममा ३ घण्टा परियो नि ।‘ मैले कौतुहलका साथ ‘किन  ?’ भनि सोधें । हो रहेछ, सडक निर्माण गर्ने कन्ट्र्याक्टरले पानी नछ्यापेपछि दायाँ बायाँका पसले र घरलाई धुलोले पर्न गएको असरले । जुनजुन स्थानमा म पुगेँ हावा, नदीनाला र जमीन अति प्रदूषित अवस्थामा पाएँ । काठमाण्डौ भन्दा टाढाका शहरहरु भैरवहा, इटहरी, धरान,बिराटनगर, वुटवल, पोखरा, उर्लाबारी सबै प्लाष्टीक तथा निर्माण जन्य प्रदुषणले भरिएका ।

 

हावाको कुरा गर्नुपर्दा मानवउत्सर्जित धुलो र धुवाँले वायुमण्डललाई चौबीसै घन्टा लपेटेको देखेँ । यसका प्रमुख कारण यातायातका साधन धुलौटे बाटोमा गुडाउनाले, पिच गरिएका बाटो पनि मर्मतसम्हार नगरिनाले, घर तथा बाटोघाटो निर्माणका लागि जथाभावी डम्प गरिएका गिट्टी, बालुवा, माटो, ढुङ्गाले र इट्टाभट्टा तथा सिमेन्टजस्ता उद्योगधन्दाबाट उत्सर्जित धुवाँले । चितवनदेखि बुटवल लाग्दा राजमार्ग स्तर उन्नतिका लागि डोजर र एस्काभेटरले खनेर उदाङ्गै छोडिएको रहेछ । बाँझो खेतलाई जोतेर छोडेजस्तै  यसले साना साना बोटबिरुवालाई सासै फेर्न अप्ठ्यारो भैरहेको  । ट्राफिक चाप अत्यधिक , चैतमासको गर्मी उत्तिकै ।  धन्न म चढेको यातायातको साधन एयर कन्डिसन जडित थियो । गर्मी  त्यति भएन। भित्र तीनजना थियौँ ड्राइभरसँग । कोभिडले गर्दा हामी तीनैजनाले मास्कले मुख छोपेका थियौँ । यो फोक्सोले घन्टौँ भएको थियो फ्रेस अक्सिजन लिन नपाएको । जुन कार्वन डाइअक्साइड फाल्दै थिएँ त्यसैलाई पुनः तान्दै थिएँ  । सिसाको झ्यालबाट बाहिर धुलोको कुहिरिमण्डलले केही देख्न सकिने अवस्था थिएन । लाग्थ्यो, धुलोको आँधी चलिरहेछ । बुटवल पुग्दासम्मै धुलोले छोडेन । बिचरा दायाँ बायाँका घर र सालका रुखहरू यीनको अवस्थालाई देखेर म भित्र एककिसिमको हतास उत्पन्न भयो। 

 

उक्त खण्डको यात्रामा दर्जनौ कल्भर्ट र पुलहरू पनि अर्ध सम्पन्न अवस्थामा पल्टिरहेका देखिन्थे । आउँदो असार साउनको मनसुनले ती सबै संरचना बगाएर लगिदिने प्रबल सम्भावना थियो  । धुलोमा PM2.5 र PM10 भनिने वैज्ञानिक नाम गरिएका सूक्ष्म कणहरू हुन्छन् । तिनले फोक्सोलाइ पुर्‍याउने असर विकराल हुन्छ । प्रदूषित हावाबाट वर्षेनी हजारौँ मानिस मृत्युको मुखमा पुगेका हुन्छन् ।  यस्ता निर्माण परियोजनालाई यात्रुलाई सास्ती नहुने तरिकाले व्यवस्थापन गर्न सकिन्थ्यो– ससाना ५–६ कि.मी.का सेक्सनमा विभाजन गरेर । एउटा सेक्सनको निर्माण पूर्ण सम्पन्न गरेर मात्रै अर्को सेक्सनमा काम सुरु गरेर । अनि धुलोलाई उड्न नदिन निरन्तर रूपमा पानी छ्यापेर ।

 

त्यसपछिका दिनहरुमा पाल्पा हुँदै गुल्मी र बाग्लुङको यात्रामा झनै अर्को भयानक पर्यावरणीय क्षय देखेँ, डोजरले पाखापखेरा खनेर बनाइएका कच्ची सडकहरू । बढीघाट खोलाको तिरैतिर र बेँसीदेखि पहाडको छातीमा नागबेली आकारमा उक्लँदै गरेका ती धुलाम्मे धर्साहरू । खोलामा बडेमानका पुलहरू बनाउदा बनाउदै बीचमै छोडीएका अवस्थामा रहेकाहरु। अपर्याप्तजस्ता लाग्ने खोलाको पिँध र पुलबीचको दुरी र पर्खालले नछेकिएका पुलका दुवै किनारका पिलरहरु । कमसल देखिने इन्जिनियरिङ ।  मनमनै सोचे गत वर्षको मनसुनदेखि आजसम्म अधिराज्यभरि हजारौँ त्यस्ता सडकहरू इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण गरिएका छन् होला र सधै असार मसान्तमा हतार हतारमा हुने बिकास र छिटफुट देखिने मौसमी कास्टीङहरु। त्यस्तै भद्रपुर–काठमाडौँ र पोखरा–काठमाडौँको हवाई यात्रामा तलको भूभाग पकाएको चाउचाउलाई पातलो गरी छितरेको अवस्थाको जस्तै देखेँ । यद्यपि तुवाँलोले गर्दा त्यति क्लियर देखिने थिएन । मलाई लाग्छ, यस्तोखाले डोजरे विकासका कारणले आउने दिनहरुमा ‘मेलम्ची विपत्ती’  जस्तै दर्जनौँ सङ्ख्यामा  विपत्ती भोग्नुपर्ने छ । अनि मैले प्रचण्डको अनुहार सम्झीए ।

 

काठमाडौं-चितवनको यात्रामा त्रिशुली छेउछाउका वनका रुखहरू खैरैखैरा मात्रै देखिन्थे । तिनका पातमा गएर बसेको धुलोको बाक्लो तहले प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) प्रक्रियामा बाधा पुर्‍याउला भनेर अनुमान सहजै गर्न सकिन्थ्यो । यस्तो भयो भने, सूर्यको प्रकाश ग्रहण गर्न असमर्थ बनी आफ्नो खाना (ग्लुकोज) बनाउन नसक्ने र दीर्घकालमा रुख विरुवा नै मरेर जाने सम्भावना हुन सक्छ ।

 

के शहरबजार के गाउँ, जता पनि फोहोरमैला । नेपाल उहिले म रहदा जस्तो रहेनछ। अघिल्लोपटक म आउँदा रत्नपार्क, डिल्लीबजार, टुँडिखेल, बागबजारमा दुईचार दिनसम्म नउठाइएका फोहोरका डुङडुङ गन्हाउने थुप्राहरू देखिन्थे । अहिले पनि त्यस्तै देखेँ । बागबजारको पीके क्याम्पस अगाडिको फोहोरको थुप्रोले शहरीमन्त्री रामकुमारी झाक्रीलाई जिस्काईरहे झै लाग्यो । 

 

बाङ्गा टेलिफोन र बिजुलीका पोल अनि तिनै पोलमा टाँसिएका राजनैतिक तथा व्यापारिक विज्ञापनका पोष्टर, अझ ती टेलिफोनका पोलमा जोगीका लट्टाजस्ता देखिने गुजुल्टी परेका टेलिफोनका तार, अनि एउटा पोलदेखि अर्को पोलमा टाँगिएका तुलहरू  देख्दा  मलाई हाम्रो ठुला ठुला राजनैतिक दलहरुको अवस्था  जस्तै कता कता आभाष भयो ।

 

पाल्पा पुग्दा बतासे डाँडाको सल्लाघारीमा फोहोर डम्प गरिएको र पुतपुत जलाइएको दृष्यले मलाई दुखित तुल्यायो ।रिसाइकल गर्न सकिने फोहरलाई रिसाइकलिङ, गाडेर कुहाउन सकिनेलाई कुहाएर र सड्नगल्न नसक्नेलाई लेन्डफिल्डमा लगी गाडेर उचित विसर्जन गर्न सकिन्थ्यो । हरियो सल्लाघारिमा लगेर किन जलाउनु परेको होला ? ! फोहोरमैलालाई व्यवस्थापन गर्न स्थानीय सरकारको ‘सार्वजनिक जग्गा’ छैन भन्ने सधैँ निउ हुन्छ । सडक, एयरपोर्ट इत्यादि बनाउन जनताको जग्गा हडप्न हुने सरकारले ल्याण्डफिल्ड निर्माण गर्न पनि जग्गा खरिद गर्न सक्थ्यो ।

 

शहरबजारमा जाँड खाने भट्टी र होटेल, सपिङ गर्ने ठूलाठूला सपिङ महल, पार्टी प्यालेसहरु छन् । तर छैनन् टहलिने हरिया फूलबारी र पार्कहरू । छैनन् व्यायाम, हिँडडुल गर्ने खुल्ला चौरहरू। यसका लागि पनि जमीन नै छैन भनी वडाअध्यक्ष र मेयरहरूको गुनासो सुन्नुपर्छ । माथि उल्लेख गरेजस्तै सरकारले खाली जग्गा किनेर कम्तिमा प्रत्येक वडामा यस्ता संरचना निर्माण गरिदिनुपर्छ ।

 

व्यबस्थीत शहर र सफा बातावरणको निम्ति उद्योगधन्दा, रेष्टुरेन्ट, होटेलबाट निस्कने फोहोर पानी र दिशा पिसाबको खुल्ला ढल अर्को खतरनाक वातावरणीय समस्याको रूपमा पाएँ । ती खुल्ला ढल लामखुट्टेका लागि सुविधा सम्पन्न वासस्थान सावित हुन्छन् र तिनैले हो मलेरिया र झाडापखालाजस्ता महामारी निम्त्याउने। किन यहाँका राजनैतिक दल सामाजिक अभियान्ता र सरोकोरवालाहरुको चासो यतातिर नगएको होला रु  मनमनै घोत्लीए ।

 

काठमाडौंमा छँदा मलाई त्यहाँका होटेल रेस्टुरेन्टका चिल्ला शौचालय मलाई प्रयोग गर्न कस्तो कस्तो लागेर आउँथ्यो, मैले गरेको शौच आखिरमा बाग्मतीमा सिधै गएर मिसिने त हो भनेर । हुनुपर्ने के हो भने सर्वप्रथम फोहोर पानी ढलका सञ्जालमार्फत प्रशोधन केन्द्रमा पुर्‍याइनुपर्छ अनि मात्र प्रशोधित तरल पदार्थ खोलानालामा विसर्जन गरिनुपर्छ । यसरी विसर्जन गरिएका फोहोरले न दुर्गन्ध उत्सर्जन गर्छन् न ती ग्रहण गर्ने वातावरणमा नकारात्मक असर पर्छ ।

 

आम मानिसहरुको मुखबाट मान्छेले जहाँ पायो त्यहीँ फोहोर मिल्काउँछन् भनेको मात्रै सुनेँ  तर आफ्नो दायीत्व के हो भन्ने मनन गरेको त्यति अनुभूति गरिन। योजना कानुन र एैन अनि नियमहरुहरु त एउटा माध्यम मात्र हो, आखिरमा जनता आफै सचेत हुन जरुरी छ । स्थानीय निकाय गैरजिम्मेवार हुदाँ फोहोर व्यवस्थापनका उचित संरचना नभएको कारण समग्र काठमाण्डौबासीको स्वस्थ्य अत्यन्तै जोखिममा परेको देखे । बनेको कानुन र नियम कार्यनयन नहुदा, जनतालाई सुविधा सहजै उपलब्ध नगराइदिँदा फाल्ने नै भए फोहोरमैला जताततै । यसर्थ सरकारको जिम्मेवारी हो फोहोर ब्यावस्थापनका उचित संम्रचना स्थापना गिरिदिने, अनि मात्र दोस्रो प्राथमिकतामा पर्छ सर्वसाधारणले फोहोरमैला नगर्नका लागि निभाउनुपर्ने दायित्व ।

 

यसर्थ यो पटक हरेक मतदाताहरुले हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेलाई मतदान गरेर आफ्नो मत र लोकतन्त्रले प्रदान गरेको आफ्नो हक र अधिकारको सहीरुपमा सदुपयोग गर्नुहोस । नेपालको सविधानले हरेक नागरिकलाई जान्न र सुन्न पाउने हकको प्रत्यभूत गरेको छ । आम नागरिकलाई स्वच्छ अप्रदूषित वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । त्यसकारण यो स्थानीय चुनावमा ती हरेक उमेदवारलाई तपाईका गाउँ तथा शहरमा स्वच्छ वातावरण कायम राख्ने ग्रिन ऐजेन्डा के छन् त ? भनेर प्रश्न राख्न नर्बिसनुहोस । तपाईले जितेपछि माथि उल्लेख गरेका वातावरणीय समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ रु भनि प्रश्न गर्नुहोस । अनि उत्तर पाएपछि मात्रै आफ्नो अमूल्य मत खसाल्नुहोस  । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार