• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

श्रीलङ्काले भोगिरहेको आर्थिक सङ्कट

दक्षिण एशियाका ८ वटै राष्ट्रहरूले विगत २ वर्षभन्दा बढी समयसम्म कोभिड–१९ को समस्याले गर्दा विभिन्न प्रकारका सङ्कटहरू भोगिरहेका छन्। यी ८ राष्ट्रहरू मध्ये पनि अफगानिस्तानलाई गत वर्ष संयुक्त राज्य अमेरिकाले २० वर्षसम्मकोसुरक्षा, राजनैतिक र आर्थिक विकासको दृष्टिले पूर्ण संरक्षण दिइरहेको अवस्थामा बीचैमा छोडेर फर्केपछि तालिवानको हातमा पुनः यो मुलुक पुगेर पुरानो लयमा नै फर्के पछि आधुनिकीकरण तर्फ लम्कन शुरु भएको यो मुलुक निक्कै ठूलो समस्यामा जकडिएको छ र पुनः आदिम युगमा फर्कने स्थितिमा पुगेको छ । तर आज आएर अफगानिस्तान भन्दा पनि दुखी मुलुक भने श्रीलङ्का हुन पुगेको छ ।

 

हजारौँ वर्ष लामो सभ्यता बोकेको तथा हिन्द महासागरमा वङ्गालको खाडी र अरव सागरको बीचमा अवस्थित यो टापु राष्ट्र क्षेत्रफलको हिसाबले नेपालको आधा भन्दा पनि सानो छ तर उसको अर्थतन्त्रको आकार भने नेपालको भन्दा ३ गुणा ठूलो छ । ७० प्रतिशत वौद्ध धर्मावलम्बी भएको र सिंहालीहरूको वाहुल्य (७४ प्रतिशत) रहेको यो मुलुकमा २ करोड २५ लाख मानिसको बसोवास छ भने तिनको प्रति व्यक्ति आय करिव ३,८३० अमेरिकी डलर छ । टापु राष्ट्र भएकोले अन्य दक्षिण एशियाली मुलुकहरू भन्दा फरक आर्थिक र सामाजिक तथा सांस्कृतिक परिवेश बोकेको यो मुलुक परापूर्वकालदेखि नै समृद्ध थियो । त्यसैले रामायणमा पनि लङ्कालाई विशेष स्थान दिइएको थियो र लङ्कापति रावणलाई विद्धान राजाको रूपमा लिइएको थियो भने भारतवर्षका महान् सम्राट अशोकले पनि आफ्ना छोराकै नेतृत्वमा त्यहाँ वौद्ध धर्मको प्रचार गर्न विशाल टोली पठाएका थिए । 

 

कालान्तरमा यो टापु राष्ट्रलामो समयसम्म सिलोनको नामलेपालैपिलो पोर्चुगीज, डच र वृटिश साम्राज्यको अधिनमा बस्न वाध्य भयो । ती राष्ट्रहरूले श्रीलङ्काको प्राकृतिक स्रोत तथा साधनको चरम शोषण गरेको भएता पनि त्यही क्रममा त्यहाँका हराभरा समथर तथा पहाडी क्षेत्रमा सडक र रेल सञ्जालको विकास भयो भने पानी जहाज मार्पmत यो राष्ट्र विश्वका विभिन्न भुभागसँग जोडिन पुग्यो । त्यहाँ रवडदेखि चिया र कफीसम्मको खेती व्यापक रूपमा गरिन थालियो ।  आजपनि विश्व चिया बजारमा सिलोन टी भनेर चिनिने त्यहाँको प्रख्यात चिया दिल्माह तथा अन्य व्राण्डसहित उपस्थित छ ।  वृटिश साम्राज्यले नै भारतवर्ष र श्रीलङ्का जस्ता उपनिवेशहरूमा आधुनिक शासकीय र प्रशासकीय कलाको जग बसाई दिएको हो । वृटिश साम्राज्यबाट सन् १९४८ को फेब्रुअरी ४ का दिन स्वतन्त्र भएपश्चात् मिश्रित अर्थ व्यवस्थाका साथ अघि बढेको यो मुलुक सन् १९८० को दशकदेखि नव–उदारवाद तिर ढल्कँदै गएर पछि ९० को दशकबाट त त्यहाँको अर्थतन्त्रलाई पुरै उदारीकरण र नीजिकरण गरिन शुरु भयो भने विदेशी लगानीको आगमनसँगै त्यहाँका व्यापार व्यवसायले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा होमिन वाध्य हुनुप¥यो र उनिहरूले राज्यबाट पाएका कैयन् प्रकारका कर छुट र सुविधाबाट पनि वञ्चित हुन प¥यो । यसरी मुलुकमा वेरोजगारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या पनि सालिन्दा लाखौँ कट्न थाल्यो । करिव ७० प्रतिशत बासिन्दा गाउँमा बस्ने यो मुलुकमा कृषि नै प्रमुख व्यवसाय हो भने २५ प्रतिशत भन्द बढी श्रम शक्ति पनि कृषिजन्य पेशामा नै कार्यरत छ । तर केही वर्षदेखि रासायनिक मल प्रयोग गर्न सरकारले बन्देज लगाएपछि भने त्यहाँको कृषिको उर्वर शक्ति ज्यादै कम हुन गई कृषि उपजको निर्यातको त कुरै छोडौँ मुलुकभित्रको माग पनि पुरा गर्न नसक्ने भएर विदेशबाट ठूलो परिमाणमा खाद्यान्न र अन्य कृषि उपज आयात गर्नुपर्ने स्थिति आयो ।

 

स्वतन्त्र राष्ट्रको रूपमा उभिन थालेदेखि नै जातीय भेदभाव र भैँझगडा बढ्दै गएको हो श्रीलङ्कामा तर त्यहाँका सरकारहरू त्यस्ता द्वन्द्वहरूलाई न्यूनिकरण गर्न पनि सक्षम नै भएका थिए । सन् १९७० को दशकदेखि तश्रीलङ्कालाई फ्रि–पोर्टको अवधारणा मुताविक अघि बढाउने सोच त्यहाँका शासकहरूले बनाएका भएता पनि सन् १९८३ देखि २००९ सम्म २६ वर्ष लामो तामिल टाइगरको जातीय हिंसापूर्ण द्वन्द्वमा फँस्न पुगेको यो मुलुकले त्यो अवधिमा त्यस्ता रचनात्मक विकास कार्य केही पनि गर्न सकेन । आखिर अर्को ज्यादै सानो टापु मुलुक सिंगापुरले यो क्षेत्रको ट्रान्जिट प्वाइन्ट तथा फ्रि–पोर्टको रूपमा दीर्घकालीन जरा गाढ्न सफल भयो र आज उ विकसित राष्ट्रको हैसियतमा पुगिसकेको छ। सरकार र तामिल टाइगर बीचको हिंशापूर्ण गृहयुद्धबाट मुक्त भएपछि भने श्रीलङ्का अर्थतन्त्रको सुधारमा लाग्यो ।त्यही बेलादेखि पुनर्निर्माण र विकासको नाममा विदेशी ऋण लिने क्रममा पनि निक्कै वृद्धि भयो । व्यक्तिगत वा संस्थागत रूपमा होस् वा राज्यको तहमा होस् ऋणलाई मानवजातीले निक्कै सहज तवरले मुफतमा आएको आम्दानीको रूपमा लिन्छन् । यसको साँवा र व्याज पनि तिर्दै जानु पर्छ भन्ने कुरालाई थाँती राखेर ऋणको रकमको गलत ठाउँ र कार्यमा उपयोग गर्नाले र भ्रष्टाचार र अन्य दुरुपयोग बढ्दै जानाले भने नियमित रूपमा ऋण चुक्ता गर्न पनि अर्को ऋण लिनु पर्ने वाध्यता पर्न जान्छ र यस्तो नराम्रो चलनले व्यापकता नै पाएको छ जताततै । यस्तै गलत प्रवृत्तिले गर्दा कैयन् व्यक्ति, संस्था र खासगरी अति कम विकसित र विकासशील मुलुकहरू विगतमा पनि धरासायी भएका घटनाहरू सुन्नमा आएका थिए ।  हाल चीनसँग श्रीलङ्काले लिएको ऋणको कारण उ धरासायी भएको प्रचार बढी गरिए पनि उसले चीनबाट लिएको ऋण हालको कूल ५१ अर्ब डलरको विदेशी ऋणको करिव १० प्रतिशत मात्र हुन जान्छ । श्रीलङ्कामा चीन, जापान र भारतको गरी कूल ऋणको २२ प्रतिशत यानी क्रमशः १०, १० र २ प्रतिशत छ । अन्तर्राष्ट्रिय संस्थाहरू तथा विभिन्न मुलुकहरूबाट ऋण लिँदा उनिहरूका अनेक शर्त र उनिहरूले दर्शाएका नीतिहरूको पालना गर्न ऋण खाने मुलुकहरू वाध्य हुन जान्छन् । त्यसैले ऋण लिने राष्ट्रको आर्थिक स्वतन्त्रता पनि घट्दै जान्छ । आज श्रीलङ्काले हालको लागि आफ्ना सम्पूर्ण वैदेशिक ऋणहरु तिर्न नसक्ने घोषण गरिसकेको छ भने ऋण प्रवाह गर्ने राष्ट्र र संस्थाहरूलाई उसले यो समस्या बारे विशेष रूपले विचार गरिदिन अनुरोध पनि गरेको छ । उसको यो असहज परिस्थितिमा भारतले विगत जनवरी देखि आजसम्म विभिन्न अत्यावश्यक वस्तुहरू विदेशबाट आयात गर्न २.४ अर्ब डलरको क्रेडिट लाइन उपलब्ध गराएको थियो भने भारतीय परराष्ट्रमन्त्रीको हालैको श्रीलङ्का भ्रमण ताका उसले पुनः १.५ अर्ब डलर उपलब्ध गराउन अनुरोध गरेको छ। त्यस्तै उसले चीनसँग पनि २.५ अर्ब डलरको क्रेडिट लाइन उपलब्ध गराउन अनुरोध गरेको छ । श्रीलङुकाले यस्तै अनुरोध अन्य मुलुक तथा संस्थाहरूसँग  पनि गरेको छ। अतिकम विकसित वा विकासोन्मुख राष्ट्रलाई ऋण प्रवाह गर्दा दातृ राष्ट्र र संस्थाले पनि सबै प्रकारका जोखिमहरूलाई मध्यनजर गरेर मात्र अति आवश्यकीय ऋण मात्र प्रदान गर्नु जरुरी देखिन्छ, किनकी प्रायजसो यस्ता वर्गमा पर्ने मुलुकका सरकारहरूको मनस्थिति पनि किशोरवयका युवाहरूको जस्तै चञ्चल र अल्प–दृष्टि भएको हुन्छ ।

 

कोभिड–१९ को कारण विगत २ वर्ष भन्दा बढी समयदेखि पर्यटकको आगमन ह्वात्तै घटेपछि श्रीलङ्काले यो क्षेत्रबाट वर्षेनी आर्जन गर्ने गरेको ४ अर्ब अमेरिकी डलर भन्दा बढी रकम घटेर हाल एकाध करोड डलरमा झर्न पुगेको छ । वास्तवमा पर्यटन क्षेत्रमा कोभिडले पारेको असरले पुरै दक्षिण एशिया र अधिक पर्यटकआकर्षित गर्ने दक्षिण–पुर्वी एशियाका थाइल्याण्ड जस्ता मुलुक र विश्वभरका सबैजसो मुलुक नै नराम्ररी प्रभावित भएका छन् । 

 

दक्षिण एशियाका अन्य मुलुकहरू जस्तै श्रीलङ्काको पनि निर्यातबाट प्राप्त हुने आयमा यो कोभिड अवधिमा ज्यादै कमी आयो । विश्वभरको लकडाउनले गर्दा यातायात र व्यापार तथा व्यवसायहरू ठप्प भएको बेला निर्यात गर्ने वस्तुको उत्पादन पनि कच्चा पदार्थ, पुँजी, उर्जा र मानव संसाधनको अभावले गर्दा करिव करिव ठप्प हुन गयो । श्रीलङ्काले विश्व बजारमा निर्यात गर्ने मुख्य उत्पादनहरूमा चिया÷कफी र महिलाहरूका भित्री वस्त्रहरू पर्दछन् । ती वाहेक यो मुलुकले अन्य तयारी पोशाक, कच्चा रवड तथा यसबाट बनेका सामग्री, मेसीनरी तथा औजारहरू, माछा तथा फलफुल, तरकारी र ड्राईफ्रुट र मसलाको पनि निर्यात गर्दछ ।  श्रीलङ्काले आफ्नो उत्पादनको करिव ३५ प्रतिशत निर्यात युरोपमा गर्छ भने २९ प्रतिशत एशियाली मुलुकहरूमा र २८ प्रतिशत उत्तरी अमेरिकामा र केही प्रतिशत अफ्रिका, ल्याटिन अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड तथा अन्य मुलुकमा गर्छ । सन् २०१९ मा श्रीलङ्काले निर्यातबाट करिव १२ अर्ब डलर आर्जन गरेकोमा सन् २०२० र २०२१ मा यो आम्दानी घटेर साँढे १० अर्ब डलरमा पुग्यो र यो घट्ने क्रम बढेरहाल निक्कै भिरालो ओरालो तिर झरिरहेको छ ।यसरी सन् २०२० सम्म श्रीलङ्काको निर्यात कूल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत हुन आउँथ्यो भने हाल आएर यो निक्कै घटेको छ र निर्यातबाट आर्जन हुने विदेशी मुद्राको परिमाण पनि ज्यादै नै घटेको छ ।

 

कोभिड–१९ को कारण श्रीलङ्कामा विप्रेषणबाट हुने गरेको विशाल आयमा पनि ठूलो गिरावट आएको छ । अघिल्ला वर्षहरूको दाँजोमा सन् २०२१ को डिसेम्बरमा विप्रेषण ६० प्रतिशतले घट्न गयो भने यसमा सुधार हुन पनि अभैm सकेको छैन । गत ४ फेब्रुअरीका दिनश्रीलङ्काली राष्ट्रपतिले मुलुकको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आफ्नो भाषणमा वैदेशिक रोजगारीमा रहेका सबै प्रकारका कामदार र उच्च व्यवसायिक व्यक्तिहरूलाई मुलुकमा विदेशी मुद्राको यस्तो हाहाकारको अवस्थामा केही मद्दत गर्न मुलुकमा विप्रेषण पठाउन अनुरोध गरेका थिए । कोभिडको महामारी अघि श्रीलङ्कामा वर्षेनी करिव ७ अर्ब डलरको हाराहारीमा विप्रेषण भित्रिने गरेको थियो तर आज आएर त्यस्तो रकमको आगमनमा पनि ज्यादै कमी हुन थालेको छ। 

 

कोभिड–१९ को मारमा परिरहेकै बेला युक्रेन र रूसको लडाईँले गर्दा अन्य मुलुकहरूमा जस्तै श्रीलङ्कामा पनि जनजीवन प्रभावित हुन पुगेको छ । मुलुकमा विदेशी मुद्राको ठूलो अभाव रहेको तथा निर्यातमा पनि ठूलो कमी आएको यो बेला श्रीलङ्काले सँधै आयात गर्ने इन्धनको साथ साथै दैनिक उपभोग्य वस्तुहरू जस्तै नुन, चिनी, दुध, बच्चाको खाना, फलफुल, गेडागुडी, औषधी, चिकित्सकीय औजार, औद्योगिक कच्चा पदार्थ, खनिज, मेसिनरी तथा औजार, लत्ता–कपडा, मोटरगाडी, डुङ्गा, पानीजहाज तथा हवाइजहाज, इलेक्ट्रोनिक सामान, हात–हतियार, गरगहना तथा अन्य विलासी सामान आदि केही पनि आयात गर्न सकेको छैन। 

 

सरकार चलाउने र नीति निर्माण गर्ने निकायहरूको अस्तव्यस्तता र मुलुकमा व्याप्त चरम भ्रष्टाचारले गर्दा हालको सरकारले माथि उल्लेखित मध्ये धेरै फजुलका वस्तुहरूको आयातमा रोक लगाउने भने पनि यस्तो अवस्थामा समेत फजुलका वस्तुहरूको आयातमा कमी ल्याउन पूर्ण रूपले सकेको छैन । जसले गर्दा मुलुकसँग रहेको ज्यादै कम विदेशी मुद्राको सञ्चिती पनि ह्वात्तै घटेर सरकारी ढुकुटी रित्तो नै हुन पुगेको छ ।इन्धनको अभावले यातायात ठप्प भएर अति आवश्यक वस्तुहरूको मूल्यमा अनियन्त्रित तवरले वृद्धि हुनुका साथै आवत–जावतमा मात्र वाधा पुगेको होइन कि विद्युत उत्पादनमा पनि ठूलो कमी आएर दैनिक निक्कै लामो समयसम्मको लोडसेडिङ हुने गरेको छ । यसबाट त्यसै रूग्ण भएका उद्योगधन्दालाई झनै हम्मे परेको छ भने वेरोजगारी झनै बढेको छ।

 

यी सब कारणहरूले गर्दा श्रीलङ्कामा मुद्रास्फिति गत फेब्रुअरीको १७.५ प्रतिशतको चरमसिमालाई समेत नाघेर केही दिनदेखि २१.५ प्रतिशत अङ्कमा पुगिसकेको छ भने अमेरिकी डलरसँगको श्रीलङ्काली मुद्राको अवमुल्यन हुँदा हुँदा आजको दिनको विनिमय दर एक अमेरिकी डलर बराबर ३५२.६४ श्रीलङ्कन रुपियाँ भईसकेको छ । यस्तो अवस्थाले गर्दा चामल, दुध, चिनी, रोटी जस्ता अति आवश्यक खाद्य पदार्थको मूल्य आकासिएको छ भने आयात गर्ने क्षमता पनि नभएकोले यी वस्तुका साथै इन्धन र अन्य आवश्यक वस्तुको पनि चरम अभाव हुन थालेको छ । यसरी खाद्यान्नको मूल्यमा विगतको १२ महिनाको तुलनामा झण्डै २९.५ प्रतिशतले वृद्धि भएको छ।

 

श्रीलङ्कामा आएको आर्थिक संकटको मुख्य कारक तत्व मध्ये विदेशी मुद्राको चरम अभाव एक हो भने यसैको कारणले द्रुत गति (ग्यालपिङ स्पिड) मा बढिरहेको मुद्रास्फिति पनि प्रमुख कारक तत्व हो । मुलुकलाई आवश्यक पर्ने खाद्य पदार्थ, औषधी तथा निर्यात हुने वस्तुमा चाहिने कच्चा पदार्थ र इन्धनको आयात समेत गर्न नसकिरहेको अवस्थामा मुलुुकको विकास कार्यको निम्ति भनेर लिएको विदेशी ऋणको साँवा र व्याज समेत तिर्न सक्ने अवस्थामा आज श्रीलङ्का छैन। आजको बढ्दो मुद्रास्फितिको अवस्थामा श्रीलङ्काको ऋणको वास्तविक मूल्य झनै बढी हुन गएको छ। श्रीलङ्कामा गृहयुद्ध सकिए पश्चात् विकास कार्यको निम्ति भनेर विभिन्न अन्तर्राष्ट्रिय निकायहरूबाट लिन थालिएको वैदेशिक ऋणले आज विकराल रूप लिइसकेको छ भने सो ऋणको किस्ता र व्याज तिर्ने रकम पनि उसँग अहिले छैन । ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्नाले व्यक्ति वा संस्था त टाट पल्टने अवस्थामा पुग्दछ भने एउटा राष्ट्रले कुनै ठोस र उत्पादक योजना विना नै ऋण लिएर खर्च गर्दा मुलुकको आर्थिक स्थिति अस्तव्यस्त नहुने त कुरै छैन । त्यस्तै जनताको सामु लोकप्रिय बन्न त्यहाँको सरकारले कुनै ठोस योजना र हिसाब विना नै त्यहाँको विद्यमान कर प्रणलीमा संशोधन गरेर भ्याट तथा अन्य करको दरलाई हचुवाको भरमा घटाएकाले पनि आन्तरिक राजस्व ह्वात्तै घट्न गयो ।  त्यस्तै उदारवादको नाममा मुलुक भित्रका उद्योग–धन्दा र व्यवसाय नै चौपट हुने गरी विकसित राष्ट्रहरूको लहै लहैमा लाग्नु पनि अति कम विकसित र विकासोन्मुख राष्ट्रहरूको लागि घातक सिद्ध हुन जान्छ । स्वयम् विकसित राष्ट्रहरूले पनि आज अनेक टिकडम अपनाएर विदेशी सामान आफ्नो मुलुकमा आउनबाट रोक्न खोज्दै छन् । अमेरिकाले सन् ८० को दशकमा जापानलाई र हाल चीनलाई अनेक आरोप सहित गिराउन खोजेको सैद्धान्तिक भिन्नताले गर्दा मात्र नभई उनको उत्पादनले आफ्नो मुलुक नै ढाक्न लाग्यो र केही वर्षमा नै तिनले विकासमा उछिन्छन् भनेर नै हो । हेर्दै जाऔँ, एकाध दशकमा भारत पनि अमेरिकाको नजरमा आजको चीन जस्तो नै हुनेछ । किनकी चीन पछि आजको विश्वमा सबै क्षेत्रमा ठूलो फड्को मार्ने देश भारत नै हुँदैछ।

 

श्रीलङ्का जस्तो प्राकृतिक स्रोत, साधन, प्रविधि र शिक्षा तथा प्रशासनिक र वौद्धिक क्षेत्रमा समेत नेपाल जस्ता मुलुक भन्दा निक्कै अग्र स्थानमा भएकोर उसको भौगोलिक अवस्थिति पनि निक्कै सामरिक क्षेत्रमा रहेको मुलुकको अर्थतन्त्र त आज यसरी धरासायी हुन पुग्यो भने उ भन्दा निक्कै कमजोर र नाजुक राष्ट्र माल्दिभ्स, नेपाल र भूटानले आर्थिक विकासको कार्यमा निक्कै चनाखो भएर अघि बढ्नु पर्दछ तथा श्रीलङ्काको आजको अवस्थाबाट धेरै कुरा सिक्नु जरुरी छ । श्रीलङ्काको आजको अवस्थामा नेपाल पुगेमा हाम्रो मुलुकलाई पुनः उठ्न निक्कै गाह्रो पर्न जानेछ। तर हामी भन्दा निक्कै अनुभवी र अघि बढीसकेको श्रीलङ्काको लागि यो असहज अवस्था एउटा पाठ मात्र हुन जानेछ। आफुले गरेका चरम गल्तीहरूलाई अब नदोहोर्‍याउने प्रतिवद्धता जनाउँदै यो विशेष पाठको सहाराले उ निकट भविश्यमा नै यो क्षेत्रको एक ज्यादै सफल राष्ट्र भएर पुनः चम्कने छ भन्ने कुरामा कुनै शंका छैन । 


(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार