• बुधबार २-४-२०७९/Wednesday 05-18-2022
विचार

काशी, बनारस वा वाराणसी

हाल वाराणसी भनेर चिनिने विश्वकै प्राचिन सभ्यता फस्टाएको प्रमुख शहरको धेरै पछि सम्मको पुरानो नाम काशी थियो । लामो समयसम्म काशी, त्यसपछि बनारस र पछिल्लो समयमा वाराणसी नामले ज्यादा चिनिने गरेको यो भारतीय शहर विश्व कै निक्कै पुराना जीवन्त शहरहरू मध्ये मानिन्छ । गङ्गा नदीका दुई सहायक–नदीहरू वरुण र आशीको बिचमा रहेकाले यो शहरलाई‘वाराणसी’ नामाकरण गरिएको भन्ने कथन छ । परापुर्वकालदेखि काशी हिन्दुहरूको एक महत्वपुर्ण तिर्थस्थलको रूपमा रहेको छ । जीवनको अन्तमा गङ्गाजीको किनारमा स्थित बनारसका घाटहरूमा त्यहाँको पवित्र जल मुखमा हालेर देहत्याग गर्न पाए स्वर्गको बास मिल्ने र मुक्ति पाउने तथा पुनर्जन्मको लागि पनि योग्य हुने विश्वास हिन्दु धर्मावलम्वीहरूमा पाईन्छ।

 

काशीमा सबैभन्दा पहिले आर्यहरू आएर गङ्गाजीको किनारमा बसोवास गरेको मानिन्छ र करिव ४,००० वर्ष पहिले देखि आर्य धर्म, दर्शन र सभ्यताको प्रमुख थलो नै काशी रहेको देखिन्छ । आर्य सभ्यता देखि नै धर्म, संस्कृति, शिक्षा, कला, राजनीति र कुटनीति तथा अनेक प्रकारका ज्ञानको भण्डारको रूपमा नाम कमाएको यो निक्कै पुरानो शहरले आजसम्म पनि आफ्नो वर्चश्व कायमै राखेको छ । वैष्णववाद, शैववाद र जैनवाद, वौद्ध धर्म तथा करिव ८३४ वर्ष अघिदेखि इस्लाम धर्म समेतको केन्द्र भएर रहेको यो शहरमा सबै किसिमका धार्मिक विचारहरूले ठाउँ पाएकाले नै यहाँ थरि थरिका मठ मन्दिर, गुम्बा, विहार, विद्यापिठ, मस्जिद र मद्रासाहरू बनेका र सञ्चालन भइरहेका छन् । बनारसले विभिन्न खालका सांस्कृतिक त्रृmयाकलापहरूको विकासमा विशेष भूमिका खेलेकोले पनि यो शहरलाई भारत कै सांस्कृतिक राजधानीको रुपमा हेरिन्छ ।

 

शताव्दीयौँ देखि ज्ञानको भण्डारको रुपमा रहेको यो शहरले योगा, आयुर्वेद, आध्यात्मवाद, रहस्यवाद, संस्कृत र हिन्दी भाषा तथा शिक्षाको क्षेत्रमा निक्कै नै नाम कमाएको छ । जैन धर्मका २४ मध्ये २३औँ तिथाङ्कर (धर्म प्रचारक) पाश्र्वनाथको जन्म ईशापुर्व १,००० तिर राजा अश्वशेन र रानी भामादेवीको कोखबाट काशीमा नै भएको थियो । ३० वर्षको उमेरमा आफ्ना सम्पूर्ण राजर्षी सोखसयल, धनदौलत र सम्बन्धहरू त्यागेर उनले एक सन्यासी बनेर अधिकांश समय ध्यानमग्न भएर ‘जैनसङ्घ’को प्रतिपादन गरेका थिए । १०० वर्षसम्म बाँचेका उनले जैन धर्मको विकासमा ठूलो योगदान गरेका थिए ।

 

त्यस्तै ईशापुर्व २०० तिर गोनार्ध (हालको भोपाल क्षेत्र)मा जन्मेका योगासुत्र र आयुर्वेदका जन्मदाता तथा प्रशिक्षकमहर्षि पतञ्जलीको समेत बनारससँग गहिरो सम्बन्ध थियो र पछि उनी र उनको परिवार काशीमा नै बसोवास गर्न थालेका थिए । महर्षी पतन्जली विद्वान महर्षी पाणिनीका चेला थिए । 

 

ईशापुर्व ५२८ मा गौतम बुद्घले बोधगयामा बुद्धत्व प्राप्त गरेपछि तत्कालीन काशी राज्यको राजधानी वाराणसीबाट १० किलोमिटर पश्चिममा रहेको सारनाथमा गएर जम्मा ५ जना व्यक्तिहरूलाई भेला गराएर पहिलो चोटी आफ्नो ज्ञानको प्रवचन दिए । उनले आफ्नो प्रवचनमा ती शिष्यहरूलाई मध्यमार्गमा लाग्ने सुझाव दिए । जस अन्र्तगत सन्यासीले सधैँ चरम बाटाहरू त्यागेर मध्यमार्गमा चल्ने अभ्यास गर्नुपर्दछ र उसले सेवा र सुविधारूपी आनन्दबाट सदा टाढा रहनुका साथै आत्मसम्मानका साथ उच्च मनोवलमा रहेर कार्य सम्पादन गर्नुपर्छ भन्दै ‘धर्मचक्र’को प्रतिपादन गरेका थिए । सारनाथको प्रवचन पश्चात बुद्धले राजगृह, कोशलाको राजधानी सारावस्ती हुँदै लुम्बिनीको कपिलवस्तु तथा अन्य ठाउँमा पनि प्रवचन दिएर थुप्रै शिष्यहरू बनाए । उनकी रानी यशोधरा र छोरा राहुलसमेत उनका शिष्य हुन पुगे । प्रवचनकै सिलसिलामा उनी काशी (बनारस) पनि गएर त्यहाँ पनि धेरै शिष्य बनाएका थिए । सारनाथका तिनै ५ प्रथम अनुयायीबाट शुरु भएको बौद्ध धर्मका अनुयायीको संख्या आज विश्वभर ५२ करोड भन्दा बढी पुगेको छ र यो संख्या विश्वको कुल जनसंख्याको करिव ७ प्रतिशतको हाराहारी हुन जान्छ ।

 

ईशापुर्व ३०४ मा पाटलीपुत्र (हालको पटना क्षेत्र)मा जन्मेका सम्राट अशोकले आफ्नो शासनकाल (ईशापुर्व २६८–२३२) मा राज्य विस्तार गर्ने क्रमसँगै निक्कै धेरै रक्तपातपुर्ण कदमहरू चाल्नु परेकाले कालान्तरमा बौद्घधर्म अपनाए । उनकोे शासनकालमा मौर्य वंशको राज्य अधिकांश भारतीय उपमहाद्विपमा पैmलिएको थियो । उनी सम्राट चन्द्रगुप्त मौर्यका नाती थिए र उनको मृत्यु ईशापुर्व २३२ मा भएको थियो । आफुले बौद्धधर्म अपनाए पछि सम्राट अशोकले भारतवर्षका कैयन् ठाउँहरूमा वौद्ध स्तुपा तथा विहारहरू बनाउन लगाए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित स्तम्भ (अशोक स्तम्भ) पनि उनैले बनाउन लगाएका थिए । त्यस्तै उनैको तदारुकतामा सारनाथमा बुद्धले पहिलो प्रवचन दिएको ठाउँमा कमलको पूmलमा ठडिएको अतिनै कलात्मक स्तम्भको निर्माण भयो भने बनारसमा ईशापुर्व २४९ मा प्रसिद्ध धमेक स्तुपाको निर्माण भएको थियो, जुन स्मारकहरू आजसम्म पनि यस क्षेत्रको गौरवको रूपमा विराजमान छन् र त्यहाँ वर्षेनी लाखौँ भक्तजन तथा पर्यटकहरू जाने गर्दछन् । सम्राट अशोकका छोराछोरीले पनि बौद्धधर्मको प्रचारका लागि भारतवर्षका विभिन्न ठाउँहरू लगायत श्रीलङ्का र नेपालको पनि भ्रमण गरेका थिए । उनीसँगै नेपाल आएकी उनकी छोरी चारुमती मौर्यले काठमाडौँको चावहिलमा एक स्तुपा निर्माण गराएकी थिइन् र आज पनि यो स्तुपा चारुमती विहारको नामले निक्कै प्रसिद्ध छ । उनले काठमाडौँ कै देवपाल क्षेत्रीय नामका एक युवकसँग विवाह गरेकी थिइन् र अन्य केही स्तुपाहरूको पनि निर्माण गराउनुका साथै बौद्धधर्मको प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

 

नेपालकै कुरा गर्दा पनि यहाँ सन् २५० तिर आफ्नो थातथलो यानी उत्तरी भारतको वाराणसीबाट ३१५ किलोमिटर हालको उत्तरी भारतमा पर्ने बैशालीलाई अजातशत्रुले ध्वस्त पारिदिएपछि भागेर नेपाल पसेर पछि सन् ३०० मा लिच्छवी राजा जयदेवको नेतृत्वमा शासन शुरु गरेर करिव ६३० वर्षसम्म नेपालमा आफ्नो बलियो र ऐतिहासिक उपस्थिति जनाउन सफल भएको थियो । जयदेव प्रथम, मानदेव, अङ्शुवर्मा, जयदेव द्वितिय आदि लिच्छवी वंशका प्रख्यात राजाहरू थिए । र उनीहरूको दरवारमा आधिकारिक भाषा संस्कृत नै थियो। यसो हुनुमा उनीहरूको थातथलो बैशाली वाराणसी र पटना तथा नेपालको जनकपुरको वरपर नै पर्ने भएर पनि हुन सक्छ ।  लिच्छवी शासकहरूको उत्तरी भारत र वाराणसीसँग गहिरो सम्बन्ध थियो । मल्लकालमावाराणसी र उत्तरी भारतबाट झा, मिश्र आदि थरका मैथिल व्राह्मण पुरोहितहरू नेपालको दरवारमा भित्रिन थालेका हुन् । मल्ल वंशको उदय पश्चात लिच्छवी शाषकवर्ग वाराणसी तिरै पलायन भएको मानिएको छ । सिमरौनगढ (हाल बारा)का राजा नान्यदेवको पालामा यानी ११औँ शताब्दिमा मैथिल व्राह्मणहरूको आगमन निक्कै बढेर गयो । पछि त्यहाँका अन्तिम राजा हरिसिंहदेव कर्णाडको शासनकालमा भारतका तुग्लक वंशका समशुद्धिन र उनका सेनामेनाले वंगाललाई परास्त गरेर दिल्ली फर्कँदै गर्दा बाटोमा पर्ने सिमरौनगढमा पनि हमला गरेर त्यहाँको धर्म र संस्कृति तहस नहस पारे पछि उनको आक्रमण थेग्न नसकेर राजा हरिसिंहदेव र उनका साथ धेरै मानिस तलेजुको मुर्ति सहित साथमा लिएर नेपाल खाल्डो भित्रिएका थिए र शुरुमा भक्तपुरमा आएर बसेका थिए । मल्ल राजाहरूको दरवारमा त मैथिल संस्कृतिले ठूलै प्रभाव पारेको थियो । भारतको कर्णाटकलाई आफ्नो थातथलो मान्ने कर्णाड वंशका राजा हरिसिंहदेवको नेपाल आगमन र भादगाउँका राजासँग उनकी नातिनीको विवाह पनि भएपछि त सिमरौनगढको साथै कर्णाटकको संस्कृतिको प्रभाव पनि नेपालमा पर्न थाल्यो ।

 

सन् ११९४ मा सुल्तान कुतुबुद्धिन ऐवकको शासनकालमा भारतवर्षका धेरै राज्यहरूलाई गाभेर उनले विशाल साम्राज्य खडा गरे । तत्कालीन टर्कीस साम्राज्यमा दास–दासीको परिवारमा जन्मिएका उनलाई दासको रूपमा कैयन् धनाढ्यहरूले किन्ने र बेच्ने गरेपश्चात उनी घुरका सुल्तान मोहम्मदका दास हुन पुगे । सुल्तान मोहम्मदले राजपुत राजा पृथ्वीराज चौहानलाई सन् ११९२ मा परास्त गरेपछि क्रमशः अफगानिस्तानदेखि सिन्ध हुँदै भारतवर्षको ठूलो हिस्सा उनको साम्राज्यभित्र पर्न गएको थियो । पछि निःसन्तान सुल्तान मोहम्मदले आफ्नो विशाल राज्य मध्येको ठूलो भागको शासक यिनै कुतुबुद्धिनलाई बनाइदिएका थिए । दास भएर आएका भएता पनि कुतुबुद्धिन ऐवकको वौद्विक तिक्ष्णता र वीरताबाट सुल्तान मोहम्मद निक्कै प्रभावित भएका थिए । यिनै कुतुबुद्धिन ऐवकले आफ्ना शासनकालमा आफ्नो राज्यलाई अझ विशाल बनाउँदै लगे र चरम क्रुरताको परिचय दिँदै यस क्षेत्रका अधिकांश मठ, मन्दिर, गुम्बा, विहार, मूर्ति तथा स्तम्भहरू तोडफोड गर्न लगाए । काशी क्षेत्रमा नै अवस्थित वौद्ध सभ्यताको केन्द्र सारनाथ त पुरै ध्वस्त र खाली भएर एक जङ्गली झाडीमा परिणत हुन पुग्यो भने वाराणसीका कैयन् मठ–मन्दिरहरू समेत ध्वस्त हुन पुगे र कैयन् हिन्दू र बौद्ध आस्थाका केन्द्रहरूको ठाउँमा विशाल मस्जिदहरू खडा गरिए र जबर्जस्ती इस्लाम धर्म मान्न वाध्य बनाइएका नयाँ मुसलमानहरूका धार्मिक स्थल बन्न पुगे ।  त्यसैले एकै थातथलो र उस्तै धर्म र आस्थामा विश्वास गर्ने मानिसहरू मुसलमानसाम्राज्यको बेलामा विभाजित हुन पुगे र सन् १९४७ को भारत राज्यको बटवारा (भागवण्डा) पश्चात् पनि भारतमा उनिहरू बीचको विवाद र भैmँझगडा आजसम्म पनि कायमै छ । पछि खासगरी अङ्ग्रेजहरूको शासनकालमा यिनै हिन्दू र मुसलमानहरू भित्र पनि उत्पीडनमा परेका जातजातीहरूलाई इशायी पादरीहरूले क्रिश्चियन धर्म अँगाल्ने प्रेरणा दिएर यस भेगका मानवजाती पुनः अर्को वर्गमा पनि विभाजित हुन पुगे । आज २१औँ शताव्दीमा पनि विशेषतः क्रिश्चियन धर्म पैmलाउन पश्चिमा विकसित राष्टहरू नै विभिन्न विकासे नारा सहित विपन्न वर्गलाई विभिन्न प्रलोभन दिँदै धर्म परिवर्तनका क्रियाकलापमा सत्रृmय रूपले लागेका छन् । तर आजको वैज्ञानिक युगमा यो सबको औचित्य के छ त भन्ने कुरा भने अनुत्तरित नै छ ।  

 

सन् १३०० मा प्रयागराज (अल्लाहाबाद) मा जन्मेका सुप्रसिद्ध वैश्णवी कवि तथा सामाजिक अभियन्ता  सन्त रामानन्दलाई रामानन्दी सम्प्रदायका प्रवद्र्धकको रूपमा पनि चिनिन्छ । उनको सम्पूर्ण जीवन काशीमा नै बित्यो । जातपात र लैङ्गीक विभेदका विरोधी तथा भक्ति आन्दोलनका प्रवद्र्धक रामानन्दका चेलाहरूमा प्रख्यात सन्त कविहरू कवीर, रविदास, भगत पिपा आदि पर्दथे र यिनले पनि आफ्नो ज्ञान काशीमा नै हासिल गरेका थिए तथा मुसलमानहरूको प्रताडनाको बावजुद हिन्दू धर्म, संस्कृति र संस्कारको रक्षाको निम्ति महान् कार्य गरेका थिए । 

 

काशीमा नै सन् १३९८ मा जन्मेका सुविख्यात दार्शनिक,रहस्यवादी कवि तथा सन्त कवीर दासले आफ्ना कविता र प्रवचन मार्पmत हिन्दू र इस्लाम धर्ममा भएका गलत चलन र व्यवहारहरू माथि प्रश्न उठाएका थिए । धर्ममा हुने गरेका गलत व्याख्या र चलन माथि उनले उठाएका प्रश्नहरू कै कारण धार्मिक कट्टरपन्थीहरूका धम्कीहरूको सामना उनले जिवनभर गर्नु परेको थियो । तर उनले त्यतिबेला प्रवाह गरेका विचारहरूले आजसम्म पनि सार्थकता पाई नै रहेका छन् । अहम्लाई त्यागेर सत्यको बाटोमा लाग्न कवीर सधैँसल्लाह दिन्थे ।

 

सन् १५३२ मा भारतको उत्तर प्रदेशको काशगञ्ज जिल्लाको सोरोनमा जन्मिएका भगवान रामका भक्त तुलसीदासले आफ्नो सम्पूर्ण जीवन काशी र अयोध्यामा बिताए । सन् १६२३ मा ९० वर्षको उमेरमा दिवङ्गत भएका उनले संस्कृत र अवधी भाषामा कला, संस्कृति र समाज बारे कैयन् कृतिहरू लेखेका थिए तर उनको ‘रामचरितमानस’ले सबैभन्दा बढी प्रसिद्धी पाएको थियो । उनैले काशीमा हनुमान स्तुतिको लागि प्रसिद्ध ‘संकटमोचन मन्दिर’ बनाउन लगाएका थिए । तुल्सीदासले नै काशीमा रामलीलाको प्रदर्शन शुरु गरेका थिए, जुन अझसम्म पनि हिन्दू समाजमा निक्कै प्रचलित छ ।

 

हिन्दु र वौद्घमार्गीहरू प्रति क्रुरतम व्यवहार गर्ने अधिकांश तुघलक र मुगल वंशका शासकहरूमध्ये पनि सोह्रौँ शताव्दीमा अकवर जस्ता उदार वादशाहको शासनको कारण केही समय काशी लगायतका महत्वपुर्ण ठाउँहरूले केही राहतको सास फेर्नपाए । तर १७औँ शताव्दीमा अर्का क्रुर शासक औरङ्ग्जेवले फेरी विध्वङ्श मच्चाएर मुसलमान वाहेकका अन्य धर्मावलम्वीहरूलाई टिकेर बस्न निक्कै मुश्किल बनाइदिए ।विगतमा जे भएको भएता पनि हाल आएर राजनैतिक तहमा इतिहासलाई कोट्याएर मन्दिर र मस्जिद बनाउने र भत्काउने क्रम पनि जारी नै छ र यो कतई ठीक कार्य होइन । सन् १९९१ मा बनारसको बाबरी मस्जिद भएको ठाउँमा पहिले राम मन्दिर भएको भन्दै ठूलो धनजनको क्षति बीच भारतीय जनता पार्टीको पहलमा प्रख्यात बाबरी मस्जिद भत्काएर हालै त्यो ठाउँमा पुनः राम मन्दिर बनाउने काम भइरहेको छ भने वाराणसीमा पुनः अन्य मस्जिदहरूलाई पनि विवादमा धकेलिएको छ । हालै वाराणसीस्थित भव्य ज्ञानभी मस्जिद पनि विवादको घेरामा आएको छ । तर सो मस्जिदका सञ्चालक धर्मगुरूहरूले भने हिन्दूहरूको माग पुरा गर्न र हिंसा र झगडा नभड्कोस् भनेर सोही क्षेत्रको खाली ठाउँमा मन्दिर बनाउन जमीन उपलब्ध गराउने प्रतिवद्धाता पनि जाहेर गरेका छन् ।

 

पश्चिमी हिमालयबाट बग्न शुरु भएर २,५१० किलोमिटरको बहाव पश्चात वंगालको खाडीमा गएर विसर्जन हुने गङ्गा नदीलाई सनातन धर्ममा निक्कै महत्व र श्रद्धाका साथ हेरिएको छ । यस गङ्गाजीमा स्नान गर्नाले वा यहाँको जल घरमा राखेर पुजा गरेमा सबै किसिमका पापहरूको मोचन हुने तथा मृत्यु पश्चात स्वर्गमा वास हुने धार्मिक विश्वास छ । नेपाल हुँदै भारततर्पm बग्ने सम्पूर्ण नदीहरू तथा भारतको यमुना, ब्रह्मपुत्र तथा वङ्गलादेशको मेघ्ना नदी पनि गङ्गामा नै मिसिन्छन्् । यही गङ्गा नदी वङ्गालको खाडीमा मिसिनु पुर्व पद्मा नदीको नामले चिनिन्छ र यसबाट एउटा शाखा हुग्ली नदिको नामले छुट्टिएर कलकत्ता हुँदै वङ्गालको खाडीमै गएर मिसिन्छ ।  तर आजको तिव्र तथा विना ठोस योजना र अनियन्त्रित विकासका कारण गङ्गा नदीमा प्रदुषण निक्कै नै बढेको छ । गङ्गाजी (गङ्गा नदी)को किनारमा ४,००० वर्ष पहिले शुरु भएको आर्य सभ्यता र वाराणसीको महिमा कै कारण काशी यो पुरै क्षेत्रको सभ्यताको केन्द्र विन्दु हुन पुगेको हो ।

 

आधुनिक कालखण्डमा पनि बनारसमा निक्कै ख्यातिप्राप्त व्यक्तिहरूको जन्म भयो तथा विभिन्न विषयका कैयन् प्रख्यात व्यक्तित्वहरूले बनारसमा नै शिक्षा–दिक्षा पाएर समाजको सेवा गर्ने र इतिहासमा नाम राख्ने काम गर्न पाए । प्रख्यात साहित्यकार भारतेन्दु हरिशचन्द्र (सन् १८५०–१८८५), साहित्यकार जयशङ्कर प्रसाद (१८८९–१९३७),सुविख्यात उर्दू र हिन्दीका लेखक, साहित्यकार तथा उपन्यासकार मुन्सी प्रेम चन्द (१८८०–१९३६), राजनीतिज्ञहरु कमलापति त्रिपाठी (१९०५–१९९०), राजनारायण (१९१७–१९८६), शहनाईका वादशाह उस्ताद विश्मिल्लाह खान (१९१४–२००६), विख्यात सितार वादक पण्डित रविशङ्कर (१९२०–२०१२), शास्त्रीय सङ्गीतकार तथा गायिकाहरू सिद्धेश्वरी देवी (१९०८–१९७७), गिरिजादेवी (१९२९–२०१७), शास्त्रीय नृत्याङ्गना सितारा देवी (१९२०–२०१४), सिने अभिनेता तथा निर्माता सुजित कुमार (१९३४–२०१०), बाँसुरीवादक पण्डित हरिप्रसाद चौरासिया (१९३८), वरिष्ठ वातावणविद तथा गङ्गा नदी सफाई आन्दोलनका अभियन्ता वीरभद्र मिश्र (१९३८–२०१३) आदि पनि वाराणसीमा नै जन्मेका थिए । 

 

परापुर्वकाल देखि नै काशीले उद्योग, वाणिज्य क्षेत्रमा महत्वपुर्ण स्थान हासिल गरेको थियो । यहाँ उत्पादन हुने सुन र चाँदीका गहना, मलमल तथा रेशमका कपडातथा हस्तीहाडका वस्तुहरू, अत्तरर अन्य कलाकारिताका वस्तुहरूको गुणस्तर निक्कै उच्च हुन्थ्यो ।आज पनि बनारसी साडी र विभिन्न प्रकारका मिठाईहरूको लागि वाराणसीले विश्वभर नै ख्याती कमाएको छ । 

 

१२औँ शताव्दीदेखि झण्डै ३०० वर्षसम्म मुसलमान शासकहरूले वाराणसीका धार्मिक र सांस्कृतिक धरोहरहरूलाई तहस नहस पारे । सन् १,७०७ मा मुगल वादशाह औरङ्गजेवको मृत्यु भएपछि मुगल साम्राज्य निक्कै कमजोर हुँदै गयो । बनारस पनि तत्पश्चातएक स्वतन्त्र राज्यको रुपमा विकसित भयो र त्यहाँ नारायण वंशका राजाहरूले शासन गर्न थाले। भारतमा वृटिश राज शुरु भएपछि सन् १९१० मा यो भारतको एक प्रान्तको रुपमा गाभियो । पछि भारत स्वतन्त्र भए पश्चात भने वाराणसी उत्तर प्रदेशको एउटा महत्वपुर्णजिल्ला हुन गयो । हाल करिव ४० लाख जनसंख्या भएको यो शहर भारतको एक प्रमुख धार्मिक, पर्यटकीय र शैक्षिक स्थल हो ।

 

वाराणसीमा अवस्थित धार्मिक तथा सांस्कृतिक स्थलहरू, शिक्षा, साहित्य र राजनीतिमा वाराणसीको योगदान, नेपालको काशी, बनारस वा वाराणसीसँगको विभिन्न पाटाको सम्बन्ध आदि बारे आउँदा केही अङ्कहरूमा हामी कुरा गरौँला ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार