• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
विचार

सहिदहरूको सम्झना

शुक्रराज जोशी ‘शास्त्री’ – जन्मः वि.सं. १९५१, सहादतः वि.सं. १९९७ माघ १० गते (उमेर ४६ वर्ष)
 

दशरथ चन्द – जन्मः वि.सं. १९६०, सहादतः वि.सं. १९९७ माघ १५ गते (उमेर ३७ वर्ष)
 

धर्मभक्त माथेमा – जन्मः वि.सं. १९६५, सहादतः वि.सं. १९९७ माघ १३ गते (उमेर ३२ वर्ष) 
 

गंगालाल श्रेष्ठ – जन्मः वि.सं. १९७६, सहादतः वि.सं. १९९७ माघ १५ गते (उमेर २१ वर्ष) ।

 

यी चार असाधारण व्यक्तिहरूले मुलुकमा प्रजातन्त्र, जनतामा सार्भभौमसत्ता र अधिकारको निम्ति लड्ने क्रममा वि.सं. १९९७ सालको माघ १० देखि १५ गतेभित्र हाँसी हाँसी आफ्नो जिउ–ज्यानको बलिदान गरेर सहादत प्राप्त गरेका थिए ।  त्यस्तै ब्राह्मण भएकाले मात्र मृत्युदण्डबाट जिउँदा सहिद टंकप्रसाद आचार्य र रामहरि शर्माको ज्यान बचेको थियो र उनिहरू सर्वश्व हरणसहित कठोर कारावासमा त्यसपछिका १० वर्ष बस्न वाध्य भएका थिए । अर्का योद्धा गणेशमान सिंह राणाको दरवारका उच्च अधिकारीका छोरा–नाती नभएका भए उनले पनि मृत्युवरण गर्नुपर्ने अवस्था आउँदैनथ्यो भन्न सकिन्न । किनकी उनको र गंगालालको तथाकथित अपराध एकै प्रकारको थियो । चार सहिदहरूको सहादतको १० वर्ष पछि मुलुकमा प्रजातन्त्र त आयो तर आज राणाशासनको पतन पश्चात प्रजातन्त्र प्राप्त भएको ७१ वर्ष पुगिसक्दा पनि जनताले सच्चा प्रजातन्त्र र समृद्धिको कुनै आभास पाउन सकेका छैनन् । त्यसैले पनि यहाँ प्रश्न उठ्छ कि के वीर सहिदहरूले कल्पना गरेको प्रजातन्त्र यही हो त? के उनीहरूले आजको यस्तै अस्तव्यस्तताको निम्ति आफ्नो ज्यानको बलिदान दिएका हुन् त?के एक पटक आउने उनीहरूको जीवन त्यसै खेर गएको हो त ? यी सब प्रश्न अनुत्तरित नै छन् र यस्तै अवस्था कायम भएमा नयाँ पिँढीहरूले हाम्रा वीर सहिदहरूलाई चिन्दै नचिन्ने पो हुन् कि भन्ने भय पो जाग्न थालेको छ, किनकी असनको भिडमा हामीले आफन्तलाई समेत नचिनेको जस्तै वर्षेनी घोषणा हुने सयौँ सहिदहरूको भिडमा यी चार निडर, देशभक्त र प्रजातन्त्रलाई माया गर्ने राष्ट्रिय सहिदहरू ओझेलमा पर्दै गएका छन् ।  विभिन्न समयमा सहिद भएका सबैले उचित सम्मान त पाउनु पर्छ नै तर यी चार राष्ट्रिय सहिदहरूलाई ओझेलमा पारेर होइन ।

 

वर्षको एक दिन वा एक हप्ता भाषणवाजी र माल्यार्पण कार्यक्रमहरू मात्र सञ्चालन गरेर सहिदको सम्मान गरेको ठहरिँदैन । सहिदको सम्झना पल पलमा भईरहनुपर्छ । कुनै पनि नयाँ कार्य गर्दा सहिदलाई सम्झेर र पुजेर गर्नुपर्छ । तर यहाँ ठीक उल्टो, सहिदको सम्झना आउने अधिकांश कुराहरूको निर्माण र जोहो समेत उनैका परिवार वा जनता आपैmले गरिदिनु पर्छ । सहिद दशरथ चन्दका भतिजहरूले उनको भागमा परेको बैतडीस्थित बास्कोटको जमिन र पुरानो घरमा विश्राम गृह र संग्रहालयका साथै उनको एउटा आधा कदको शालिक बनाइदिएका छन् । हाल आएरसो घरको सम्बद्र्धनमा त्यहाँको स्थानीय निकायले केही सहयोग गर्न थालेको छ । त्यस्तै सहिद धर्मभक्त माथेमाकी छोरी रेणुदेवी र परिवारका सदस्यले ललितपुरस्थित नख्खुमा उनको नाममा विद्यालय स्थापना गरेर अनाथ र विपन्न वर्गका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेका छन् भने सहिद शुक्रराजको नाममा उनको परिवारले काठमाडौँको अद्वैतमार्गमा सहिदशुक्र माध्यमिक विद्यालय स्थापना गरेको पनि धेरै अवधि भइसक्यो । कलिला गंगालालको सहादतबाट निक्कै बिलापमा परेका उनका माहिला भाइ पुष्पलालले नेपाली जनताको भलो होस् भनेर कम्युनिष्ट पार्टीको जग हाल्ने काम गरे । विभिन्न समयकासरकारहरूले पनि बेला बेलामा सहिदहरूको नाममा विभिन्न संरचनाहरूको नामाकरण गरेका भने पक्कै हो । दशरथ रंगशाला, सहिद शुक्रराज सरुवारोग केन्द्र, सहिद गंगालाल मुटुरोग अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आदिलाई हामी उदाहरणको रुपमा लिन सक्दछौँ । तर सहिदको सपना साकार बनाउन राष्ट्रले सबै क्षेत्रमा विशाल उन्नति हुने कार्य गर्नु जरुरी छ, जनताले सुख पाउनु जरुरी छ, समृद्धिको आभाष हुनु जरुरी छ र मुलुकको अस्तित्व जोगिएर रहनु जरुरी छ । आजको अवस्था हेर्दा यी कुनै पनि कुराले लामो समयसम्म निरन्तरता पाउने अवस्था देखिँदैन र नेपाली जनताले आफ्नो मातृभूमि नै गुमाउनु पर्ने हो कि भन्ने भयले सबैलाई तर्साउन थालिसकेको छ । 

 

नेपालमा प्रजातन्त्र ल्याउन २००७ सालमा राजा, राणा र राजनीतिक पार्टीहरूको भेला भारतीय सरकारको रोहवरमा भयो । राजा त्रिभुवनले नेपाल प्रजापरिषदसँग र २००७ सालमा प्रजातन्त्रवादीहरूसँग मिलेर राणाशासनको अन्त्यको निम्ति आफ्नो गद्दी नै बाजी राखेका हुन् । त्यसैले पनि राजा त्रिभुवनलाई नेपाली इतिहासमा विशेष स्थान मिलेको हो र उनको शालिक पनि सायद यसै कारणले गर्दा सहिदगेटमा सहिदहरूको शालिक भन्दा माथि राखिएको होला तर यसो भयो भन्दैमा सो स्थलको उपहास गरेर सहिद श्रद्धाञ्जली स्थल नै अधिकांश जनताले नदेखेको र थाहा नपाएको अर्को एक कुनामा लगेर स्थापना गर्नु त्यति शोभनीय भएन । दक्षिण एशियाकै कुरा गर्दा सबै जसा मुलुकहरूमा सहिदलाई इश्वरसरी पुजिन्छ र उनीहरुको सम्झना गर्ने पवित्र स्थललाई भव्यताका साथ सिँगारेर राखिएको हुन्छ ।

 

राणाशासकहरू राजाहरूका नातेदार भएकाले राजाहरूलाई राणाहरूमाथि दयाको भाव जाग्नु स्वभाविकै हो, त्यसैले उनीहरूले राणामा निहित शासन आफ्नो पोल्टोमा पार्न मात्र चाहेका थिए । त्यस्तै भारतका धेरै रजौटाहरू पनि राजा र राणाहरूका नातेदार भएकाले र ती रजौटाहरूको भारतीय राजनीतिमा बलियो पकड भएकाले पनि उनीहरूको पनि राणाशासकहरू माथि कृपा–दृष्टि परेको हुन सक्छ । तर त्यस्ता निरङ्कुश, अत्याचारी, क्रुर र वीर सहिदहरूलाई मृत्युदण्ड दिने राणाशासकहरूलाई कुनै कानुनी कार्वाही नै नगरी छोड्नु र उल्टै मोहनशमशेरलाई प्रजातान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बनाइनु नै २००७ सालको क्रान्तिको सबैभन्दा ठूलो कमजोरी हुन गयो । त्यो ठूलो कसुरको दोषीतत्कालीन राजा र राजनैतिक पार्टी तथा नेताहरू सबै नै हुन् । २००७ सालको क्रान्तिताका जुद्धशमशेर भारतको देहरादुनमा थिए । तिनलाई र त्यतिबेला सहिदहरूलाई मृत्युदण्ड दिने निर्णय गर्ने भारदार र उच्च अधिकारीहरू तथा स्वयम् कुटपिट र गाली–गलौज गरेर तथा गोली चलाएर र फाँसी दिएर सहिदहरूलाई निर्ममताका साथ मार्ने नरशमशेर जस्ता नरभक्षीलाई गिरफ्तार गरेर कानुनी कार्वाही गरी मृत्युदण्डसम्मको सजाय दिनु पर्दथ्यो त्यतिबेला । यही कुरामा हाम्रा राजनीतिज्ञहरू चुकेकाले आजसम्म पनि हाम्रो प्रशासन तथा शासन प्रणालीको सम्पूर्ण क्षेत्रमा चरम सामन्तवाद र गैरजिम्मेवारीपना तथा जवाफदेहीताविहिन अवस्था मडारिने मौका पायो र सबैक्षेत्रमा आजसम्म पनि चलखेल हुने परिपाटी नै बस्न गयो। 

 

१९९७ साल माघ ६ गते सिंहदरवारको फुटबल मैदानमा राजा त्रिभुवन, युवराज महेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरुलाई समेत बोलाएर गरिएको विशेष भेलामा प्रधानमन्त्री जुद्घशम्शेरले “किराले हिरासमेत बिगार्न खोज्ने” भनेर खासगरी शुक्रराज शास्त्रीलाई तथानाम गाली गरेका थिए । उनको इशारा राजा पनि यी क्रान्तिकारीहरुबाट बहकिएको भन्ने थियो । सोही दिन शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनाइयो भने व्राह्मण भएकै कारण मृत्युदण्डबाट बचेका टंकप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटे मुडेर सर्वस्वहरण सहित जन्मकैदको पैmसला भयो र अन्य धेरैलाई जन्मकैद, लामो कैद तथा डाँडा कटाउने पैmसला भयो । यसको लगत्तै राणा शासकहरुले रातीको समयमा माघ ९ गते शुक्रराज शास्त्रीलाई टेकुमा र ११ गते धर्मभक्त माथेमालाई सिफलमा फाँसी दिएर मारे भने १४ गते राती दशरथ चन्द र गंगालालश्रेष्ठलाई शोभाभगवतीमा गोली हानेर मारे ।

 

१०४ वर्ष सम्म जति नै दबाएर राखिएको भएपनि जङ्गबहादुर देखि मोहनशम्शेरसम्मले राजालाई अगाडी नै कहिल्यै गाली बेइज्जती गरेका थिएनन्, तर जुद्घले भने धेरै चोटी राजा त्रिभुवनलाई दरवारका भारदार र अन्य कर्मचारीहरुको अगाडी गाली गरेको र झाँटेका कुराहरु इतिहासका पुस्तकहरुमा उल्लेखित छन् । 

 

विक्रम सम्वत् १९९० साल अघि पनि काठमाडौँका कैदखानाहरुमा राणाशासनको विरोध गर्ने धेरै जनालाई थुनामा राखिएको थियो। १९७७ सालमा “मकैको खेती” नामक व्यङ्ग्यात्मक राजनैतिक कृति लेखेको अभियोगमा कृष्णलाल अधिकारी कैदमा परी त्यहीँ मरे भने “प्रचण्ड गोर्खा” भन्ने समूहका सदस्यहरु खड्गमान सिंह, मैनाबहादुर, खण्डमान सिंह बस्न्यात र रङ्गनाथ शर्मालाई १९८८ सालमा गोलघरमा जन्मकैद गरेर राखिएको थियो । राणा परिवार भित्रका कठोर कैद सजाय पाउने व्यक्ति सायद भद्रशम्शेर मात्र होलान्, जसलाई थुन्न भनेर काठमाडौँको केन्द्रिय कारागारमा उनैको नामबाट भद्रगोलघर नै बनाइएको थियो, जुन अझसम्म पनि छँदैछ ।नेपाल प्रजापरिषद्लाई कलकत्तामा लिथोग्राफ (डुप्लिकेटिङ) मेसिन किनिदिने व्यक्ति महेन्द्र विक्रम शाह नाताले जुद्धशमशेरका ज्वाईँ पर्थे । त्यसैले उनी यो मुद्दामा नमुछिउन् भनेर उनलाई बचाउन जुद्धशमशेरले भरमग्दुर प्रयत्न गरेका थिए ।पछि उनी सुवर्णशमशेरको प्रजातान्त्रिक काङ्ग्रेसका नेता भएका थिए ।

 

क्रुर शासक जुद्धशमशेरको अगाडि घुँडा टेकेर रूँदै माफी मागेका भए चारै जना सहिदले आफ्नो ज्यान माफी पाउने सम्भावना निक्कै प्रवल थियो । तर उनीहरूले माफी माग्ने कायर काम भन्दा देश र जनताको निम्ति मृत्युवरण गर्नु नै उचित ठाने । सिंहदरबारभित्र सहिदहरूलाई मृत्युदण्डको सजाय सुनाउने क्रममा जुद्धशमशेरले गंगालालतिर हेरेर ‘त्यो मान्छे भड्काउने नाइके शुक्रराजको लहै लहैमा लागेर बिग्रेको यो कलिलो केटोले माफी माग्छ भने यसलाई माफी गरिदिन्छु, तर यी सबैको नाइके यो शुक्रराजलाई चाहिँ सबैभन्दा पहिले झुन्डाउनु पर्छ’ भन्दा गंगालालले त्यहाँ उपस्थित राजा त्रिभुवनदेखि सबै भारदार र कैदमा परेका अन्य क्रान्तिकारीहरूको अगाडि कुर्लिएर ‘मेरो चिन्ता नगर्, तिमीहरूसँग माफी माग्नु भन्दा मुलुक र जनताको निम्ति हाँसी हाँसी मृत्युवरण गर्नु नै उत्तम सम्झन्छु’ भनेका थिए । जुद्धको गाली र धम्कीको बावजुद पनि शुक्रराज निडर भएर शिर ठाडो पारेर उभिइरहेका थिए भनेर रामहरि शर्माले वयान गरेका छन् । दशरथ चन्द र गंगालाललाई विष्णुमति र भाचाखुसीको दोभान (शोभाभगवतीको मन्दिर बाहिर) गोली ठोकेर मार्नु भन्दा पहिले अन्तिम इच्छा सोध्दा दशरथ चन्दले ‘नेपालबाट राणाशासनको अन्त्य भएको र नेपाली जनताले प्रजातन्त्रको आभास गर्न पाएको हेर्ने इच्छा छ’ भनेका थिए ।गोली खाँदा पनि दशरथ चन्दले ‘राणाशाही मुर्दावाद’ भनेका थिए रे । नरशमशेरले उनको खुट्टा, तिघ्रा र पेटमा गोली हानेर तड्पाएर छातीमा बन्दुक दाग्दा गगालालले ‘सक्छस् भने एउटै गोली हानेर मार्’ भनेर चिच्चाएका थिए रे । इतिहासकार प्रमोदशमशेर राणाले एक आलेखमा लेखे अनुसार उनकी फुपू यानी रुद्रशमशेरकी छोरी जुलियानासँग दशरथ चन्दको मायापिरती बसेको थियो तर क्षयरोगका कारण उनको निधन १९९६ मा पाल्लामा भएको थियो । दशरथ चन्दले सहादतको बेलामा पनि तिनै प्रियतमाले चिनोको रूपमा दिएको खास्टो ओढेका थिए रे र सो घटनाको एकदिन अघि कारागारमा सफा गर्न आउने महिला राममाया पोडेनीलाई ‘राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूका निम्ति रुने आफन्तहरू धेरै छन् तर मेरा निम्ति रुने यस संसारमा कोही छैन । मलाई मारेपछि तिमी रोइदेउ है’ भनेका थिए रे । 

 

राणाशासकहरूले पचली, टेकुमा फाँसी दिएर मृत्युदण्ड दिनु भन्दा केही समय अघि शुक्रराज शास्त्रीले शरीर पोछेर सुद्ध भई सुकिलो धोती फेरेका थिए र आफुले लगाइरहेको नाडी घडी ‘अब मलाई यो घडीको के काम र ?’ भनेर कारागारमा कैद सजाय भोगिरहेका एक जना दलित कैदीलाई दिएका थिए भन्ने कुरा उनका नाती आनन्दराज जोशीले एउटा छापामा लेखेका थिए । त्यस्तै फाँसी दिनु भन्दा केही छिन अघि उनले फाँसी दिने डोरीमा हेर्दै ‘जुद्धशमशेर ! म मर्दिनँ । मेरो आत्मा अमर छ । यो नश्वर देह मातृभूमिको सेवाका निम्ति अर्पण गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो ।’ भनेका थिए भनेर अर्का जिउँदा सहिद रामहरि शर्माले एक संस्मरणमा लेखेका छन् । दुनियादारलाई राणाशासनको विरोधमा लाग्ने प्रेरणा नमिलोस् र उनीहरू सँधै त्रासमा बाँचिरहुन् भनेर शुक्रराजको मृत शरीरलाई दिनभर झुन्डाएर नै राखिएको थियो ।

 

शुक्रराज शास्त्रीका पिता माधवराज जोशी एक प्रकाण्ड विद्वान थिए र चन्द्रशमशेरको पालामा यानी १९६२ साल तिरै “आर्यसमाज” मार्पmत जनचेतनामुलक सन्देशहरू दिन थालेका थिए र उनी मुर्तिपुजाका विरोधी, जातपातका विरोधी र शिक्षाको विकासमा जोड दिने व्यक्ति भएकाले त्यतिबेलाका राणाशासक र वडागुरुज्यु समेतले उनलाई निक्कै कुटपिटका साथ कारावास चलान गरेका थिए। उनैको पदचापमा हिँडेका शुक्रराज पनि वनारसदेखि देहरादुन र सिकन्दरावादको गुरुकुलमा बसेर शास्त्रीसम्मको अध्ययन पुरा गर्नुका साथै अङ्ग्रेजीमा पनि निपुण भएर कलिलै उमेरमा इलाहावादको दयानन्द आर्य समाजी विद्यालयमा प्रधानाध्यापक समेत भएका र ‘स्वर्गको दरवार’तथा अन्य कृतिपनि लेखेका उनले महात्मा गान्धी र सुभासचन्द्र बोसबाट प्रभावित भएर उनीहरूसँग पनि भेटेकाले तथा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति समेत गठन गरेकाले उनी काठमाडौँ आएको केही समय पश्चात नै उनी नजरबन्दमा राखिएका थिए। पण्डित मुरलीधरको असनमा हुने पुराणवाचनमा नजरबन्द तोडेर प्रवचन दिन जाँदा जनताको हक-अधिकार, बालविवाह, बहुविवाह तथा अन्य कुरिती र राणाशासनको विरोध गरेपछि उनलाई १९९५ मा पक्रेर थुनामा राखिएका थियो ।

 

पहलवानीमा भारतको कलकत्तामा निक्कै नाम कमाएका सहिद धर्मभक्त माथेमा राजा त्रिभुवनलाई कुस्ती सिकाउँथे भने उनकै हत्यारा नरशमशेरका पनि पहलवानीका गुरु थिए।उनको र दशरथ चन्दको भारतमा अध्ययनको समयदेखि नै दोस्ती थियो र उनीहरु दुवैजना भारतको अङ्ग्रेज विरोधी आन्दोलनर रूसको कम्युनिष्ट क्रान्तिबाट निक्कै प्रभावित भएका थिए । टंकप्रसाद आचार्यको पनि यस्तै विचारधारा भएकोले उनको दशरथ चन्दसँग भेट भएपछि बनेको दोस्तानाकै कारण उनी धर्मभक्तसँग पनि नजिक हुन पुगेका थिए। धर्मभक्तकै घरमा नेपाल प्रजापरिषद्को जन्मसमेत भएको थियो । उनलाई पहलवान भएकै कारण फाँसी दिन पनि कठीन भएकोले नरशमशेरले छुरीले मुख र गालामा घोपेर निक्कै कुटपिट गरेर मारेपछि उनको मृत शरीरलाई सिफलमा एक रुखमा झुन्डाएको कुराको त्यतिबेला निक्कै चर्चा भएको थियो।

 

भारतमा त्यहाँका तीन राष्ट्रिय सहिदहरूलाई निक्कै नै पुजिने गरिन्छ । भगत सिंह, राजगुरु र सुखदेवले वृटिश भारतको दिल्लीस्थित केन्द्रियसभा हलमा बम विस्फोट गराएको अभियोगमा वृटिश सरकारले उनीहरूलाई मृत्युदण्ड दियो । त्यसपछि पनि विभिन्न घटनामा आजसम्म धेरै मानिसहरूले सहादत पाएका छन् । जस्तै आफ्नो मातृभूमिको लागि लड्ने धेरै योद्धाहरू सहिद भएका छन् । तर भारत सरकारले माथि उल्लेखित तीन सहिदलाई राष्ट्रिय सहिदको रूपमा पुज्नेगर्दछ र अन्य सहिदले पनि सोही अनुरुप मान–सम्मान पाउने गरेका छन् ।

 

राणाशासकहरूको क्रुर अन्यायका कारण सहिद भएका नेपालका चार सहिदहरूलाई मृत्युपश्चात अन्तिम संस्कार गर्न समेत नजिकका नातेदार र आफन्तहरूमा डर पैदा भएकाले अधिकांश सहिदका मृत शरीर बुझ्नसमेत हिच्किचाहट भएको थियो । दशरथ चन्दको शवलाई उनकी माइज्युले बुझेर अन्तिम संस्कार गराएकी थिइन् भने गंगालालको शव बुझ्न गुठीयारहरूसमेत डराएर नआएकोले उनका पिता भक्तलाल, भाई पुष्पलाल, तथा पिताका केही साथीहरूले अन्तिम संस्कार गरेका थिए । शुक्रराजका विद्वान पिता माधवराज जोशीले उनको सहादतस्थल पचली, टेकुमा गएर ‘स्याबास छोरा तिमी धन्यको रहेछौ, तिमीले आमाबाउको मात्र नभई देशकै गौरव बढायौ’ भनेर उनको झुन्डीइरहेको शवमा अभिवादन गरेका थिए रे ।

 

ब्राह्मण भएकै कारण मृत्युदण्डबाट बचेका दुई क्रान्तिकारी मध्येका टंकप्रसाद आचार्य पनि निक्कै नै खरा र निडर व्यक्ति थिए । नेपाल प्रजापरिषद्का प्रख्यात चार पर्चाहरू उनैले आफ्नै हस्ताक्षरमा लेखेका थिए भने छपाईको लागि ल्याइएको लिथोग्राफिक मेसिन पनि भन्सारको आँखा छलेर उनैले भिमफेदीको बाटोबाट काठमाडौँ ल्याएका थिए । लौहपुरुष गणेशमान सिंहले आफ्नो आत्मवृत्तान्त “मेरो कथाका पानाहरु” मा लेखे अनुसार त्यतिबेला उनिहरुको बयान प्रत्येक दिन सिँहदरवारको छतमा घाम ताप्दै लिने गरिएको रहेछ। गणेशमान तथा कैयन् आरोपीहरु राणा अधिकारीहरुसँग निक्कै डराउने भएकाले वयानको लागि बोलाउँदा पनि उनिहरुलाई हेपेर पुष–माघको जाडोमा सिंहदरवारको छतमा छापिएका चिसा तेलिया ईटमा नै बस्न लगाइने गरिएको रहेछ भने निडर तथा खरा मिजासका टंकप्रसाद आचार्यलाई बोलाएपछि उनलाई बस्न कम्बल ओछ्याइदिने गरिँदो रहेछ। गणेशमानले राणाहरुको त्यो व्यवहारलाई “विरोचित सम्मान” भनेका छन् ।

 

यसरी आफ्नो मातृभूमी, स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हक–अधिकारको निम्ति लड्दा लड्दै मृत्युवरण गरेको मानिस सहिद कहलिन्छ । सहिद त्यस्तो बहादुर व्यक्ति हो, जसले हार–गुहार गरेर आफ्नो ज्यान बचाउन सक्ने स्थितिमा समेत रौँ बराबर पनि नडगेर आफ्नो प्राणको आहुती दिन्छ । राणाशासनको अन्त, प्रजातन्त्रको प्राप्ति, जनताको अधिकार र मुलुकको विकास र समृद्धिका लागि नेपालमा पहिलो पटक नेपाल प्रजापरिषद नामको राजनैतिक पार्टीको स्थापना गरेका तिन व्यक्तिहरु दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ तथा नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज शास्त्रीले वि.सं. १९९७को माघ महिनामा मृत्युदण्डको सजाय भोगेर सहिद भए भने सोही पार्टीका संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य र सचिव रामहरी शर्मा जस्ता अग्रज तथा निडर नेताहरु ब्राह्मण भएका कारणले नै राणा शाषकहरुले ब्रह्महत्याको डरले गर्दा उनिहरुलाई मृत्युदण्ड दिन हिच्किचाएर चारपाटे मुडीकन आजिवन कठोर कारावासमा पठाएका थिए ।

 

यस्ता वीरहरुको गाथा र त्याग निकै छिटो बिर्सेप्रजातन्त्रको आगमन पछिका नेताहरुले, जो धेरैजसा त्यही प्रजापरिषदबाट वा त्यसको प्रभावबाट नै राजनीतिमालागेका थिए । पछि पछि त नेपालको सबैभन्दा पहिलो राजनैतिक पार्टी कुन हो भनेर सोध्दा पनि धेरैले नेपाल प्रजापरिषदको नाम लिन छाडे भने सो पार्टीको स्थापनामा अहम् भूमिका खेलेका नेता टंकप्रसाद आचार्यलाई समेत बिर्सँदै गए । नेपालका प्रधानमन्त्री समेत भएका तथा छिमेकी र अन्य विदेशी राष्ट्रसँग नेपालको सम्बन्ध बढाउन निक्कै अहम् भूमिका खेलेका, पञ्चायती कालमा कहिल्यै कुनै पदमा नबसेका, आफ्ना अकुत सम्पत्ति हरण हुँदा पनि फिर्ता नमागेका र सदैव प्रजातन्त्रको निम्ति अडिग रहेका खरा नेता टंकप्रसाद आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समेत पशुपतिनाथ आर्यघाटमा ५०–६० जना परिवारजन र नजिकका अनुयायी तथा शुभचिन्तकहरुको मात्र सहभागिता हुनुलेहाम्रा नेतृत्व पंक्तिका व्यक्तिहरू आफ्ना पथ–प्रदर्शक तथा इतिहास रच्ने अग्रजहरुको समेत मान राख्न नसक्ने कतिसम्मका गैरजिम्मेवार, स्वार्थी र निर्लज्ज प्राणी रहेछन् भन्ने कुरालाई सावित गर्‍यो । तिनै नेताहरू पञ्चायतीकालमा टंकप्रसाद आचार्यकै घरमा आफुलाई सुरक्षित ठानेर विभिन्न राजनैतिक भेलाहरू राख्ने गर्दथे ।

 

विगतका गल्तीहरूलाई सच्याएर राम्रो कामको थालनी जहिलेदेखि गरेपनि त्यो राम्रो काममा गनिन्छ । त्यसैले आजदेखि नै हामीले हाम्रा महान् सहिदहरूको बलिदानको कदर गरेर उनीहरूको सपना साकार बनाउने कार्यतिर उन्मुख भयौँ भने यही नै सहिदहरू प्रतिको सच्चा सम्मान हुन जान्छ भने मुलुकले पनि समृद्ध नेपाल बन्ने अवसर पाउने छ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार