• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

चरित्रमा पस्ने आ–आफनै तरिका हुन्छ : विपिन कार्की

काठमाडौ । अभिनेता विपिन कार्कीले चलचित्रमा अभिनय गर्न चाहानेले थिएटर तीर नअल्मलिन बताए । उनले आफ्नै अनुभव प्रस्तुत गर्दै थिएटर र चलचित्र फरक माध्यम भएकाले चलचित्रमा अभिनय गर्न चाहानेले चलचित्रकै माध्यम समात्नुपर्ने सुझाव दिएका छन् । 

 

‘हामीलाई पनि सुरुमा यी दुई विधामा गतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर दुवैमा व्यापक भिन्नता रहेछ । अहिले  छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ’ अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँग अन्तक्र्रिया गर्दै कार्कीले यस्तो धारणा राखेका थिए । 

 

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका कार्कीले ‘आचार्य’ चलचित्रमा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका हुन। चलचित्र ‘लुट’ मा पनि सानो भूमिकामा देखिएका उनले ‘छड्के’ मा विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । तर अलि पछि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’ मा गरेको भष्मे डनको भूमिकाले भने कार्कीलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेका थिए। विद्यार्थीसँगको कुराकानीमा उहाँले आफूले गर्ने चरित्रको तयारीदेखि चलचित्रमा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए । 

 

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा उनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आ–आफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’ उनले चलचित्रमा आफनो अभिनयलाई यात्रा बनाउनका लागि जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए ।

 

दुई घण्टा लामो अन्तक्र्रियामा गुरुकुलका दिनदेखि अहिलेका दिनसम्मको चर्चा गरेका कार्कीले चलचित्रमा सफल हुन साना–साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिनुपर्ने बताए । ‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो । तर सौगात मल्ल चलचित्रमा रमाएको देखेपछि मलाई पनि चलचित्रमा जान्छु भन्ने भयो। चलचित्रमा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ । मेरो तपाईँहरुलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’उनले विद्यार्थीलाई भने । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार