• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

मदनमणिमाड्साब र मेरा पिता

वि.सं. २०७६ साल श्रावण २० गते, जनैपुर्णिमा। एकाबिहानै नेपालका एक होनहार पत्रकार र साहित्यकारको निधन भएको खवर प्राप्त हुन्छ। मेरा पिताजी स्व. गोविन्दप्रसाद लोहनीका अनन्य मित्र तथा काठमाडौँको डिल्लीबजार, कालिकास्थानमा नै केही दुरीको फरकमा हाम्रो र उहाँको घर पर्ने भएकोले पनि टोलवासीका राम्रा–नराम्रा सबै खाले खवर प्राप्त भइहाल्ने। बिहानको खाना खान तयार हुनुभएका मेरा पिताजीलाई मदनमणि दीक्षित अंकल लामो समयदेखि बिरामी हुन थाल्नु भएको कुराबाट भूमिका बनाउँदै उहाँको निधनको कुरा सुनाउने प्रयत्न गरेँ। पिताजीले ‘उनी मभन्दा पनि चार–पाँच वर्ष जेठा तर मेरा निक्कै मन मिल्ने साथी हुन् र ज्यादै अध्ययनशील र विद्धान छन्। हामी नब्बेको हाराहारीमा पुगिसकेका साथीहरू पनि अब कति जना नै बाँकी छौँ र । अब पालै पालो धमाधम अघि पछि गर्दै हामीले बिदा लिने बेला भइसक्यो बाबु’ भन्नुभयो। यति सुने पछि मनमा केही नरमाइलो महसुस भएपनि मैले आँट गरेरै त्यो दिन एकाबिहानै उहाँको निधन भएको कुरा बताएँ । केही बेर टोलाउनु भएका मेरा पिताजीले ‘मदनमणि म भन्दा जेठा भएपनि हामी बनारसदेखिका साथी थियौँ । उनका भाई महेशमणि त मेरा सहपाठी र राजनीतिमा पनि सँगै लागेका साथी थिए। सानै देखि मदनमणि भद्र, कम बोल्ने र राम्रो लुगा लगाएर चिट्ट परेर हिँड्नु पर्ने मानिस थिए। बनारस हिन्दू विश्वविद्यालयमा उनी म भन्दा अलिक सिनियर थिए। पछि नेपाल आएर उनले केही समय आफ्नै पुर्खौली थलो वीरगञ्जको त्रिजुद्ध हाइस्कूलमा अध्यापन र हेडमास्टरी गरे र सबैका ‘माड्साब’ पनि भए, पत्रकारितामा सक्रिय रूपले लागे, फोटोग्राफीमा पनि निक्कै सौखिन थिए र विस्तारै साहित्यमा राम्रो उन्नती गरे। मेरा निक्कै नजिकका घनिष्ट मित्र थिए।’ उहाँले आफुले घर बाहिर निस्कन छोडेको केही समय भइसकेकोले मदनमणि दीक्षितको घरमा गएर उहाँको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नको निम्ति मलाई आग्रह गर्नुभयो ।

 

उहाँको निधनकै दिन मैले पशुपतिनाथको आर्यघाटमा गएर उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेँ र केही दिन पछि उहाँका चार छोरा मध्ये सायद माहिला छोराको भैँसेपाटीस्थित घरमा गएर पनि उहाँहरूसँग केही बेर भलाकुसारी गरेर मेरा पिताजीको सन्देश सुनाइ दिएँ । त्यहाँ उपस्थित एकजना भलाद्मीले के टिप्पणी गर्नुभयो भने डिल्लीबजार–कालिकास्थान–ज्ञानेश्वर क्षेत्रकै अति नै विद्धत र अध्ययनशील दुई नक्षत्रहरू मध्येका माड्साबको देहावसान भयो र अब गोविन्दसर मात्र बाँकी रहनु भयो। हुन पनि कुनैबेला डिल्लीबजार एउटा यस्तो ठाउँ रहेछ जहाँ नेपालका एकसाएक वुद्धिजीवी, राजनीतिज्ञ, साहित्यकार, खेलाडी, गीत–संगीतकार आदि जन्मेका रहेछन् र जहाँ काठमाडौँ मात्र होइन पुरै देशबाट आउने यस्ता वौद्धिक वर्गहरूको भेला हुने गर्दोरहेछ । मदनमणि दीक्षित र गोविन्दप्रसाद लोहनीका अलावा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, दीपकेश्वरशर्मा लोहनी, श्यामदास वैश्णव, भीमनिधि तिवारी, मित्रनाथ देवकोटा, फणिन्द्रप्रसाद लोहनी, कीर्तिनिधि विष्ट, लक्ष्मण लोहनी, रत्नप्रसाद लोहनी, चिदाम्वरप्रसाद (सी.पी.) लोहनी, वेदप्रसाद लोहनी, त्रैलोक्यनाथ उप्रेती, पुष्करनाथ उप्रेती, डिल्लीराज उप्रेती, यादवप्रसाद पन्त, कृष्णप्रसाद पन्थ, खगेन्द्रबहादुर बस्नेत, आनन्ददेव भट्ट, अरविन्दनाथ रिमाल, मणिराज शर्मा, दीपराज शर्मा, डी.पी. भण्डारी, मदनदेव भट्टराई, अंगुरबाबा जोशी, प्रभा बस्नेत, भद्राकुमारी घले, चन्द्रराज शर्मा, हरिप्रसाद रिमाल तथा अन्य दर्जनौँ विद्धत वर्गहरूको बासस्थान हो यो। पछिल्लो पिँढीमा पनि ठाकुरनाथ पन्त, लोकबहादुर श्रेष्ठ, भिमदेव भट्ट, पुष्कर लोहनी, हेमाङ्ग दीक्षित, वसन्त लोहनी, मोहन लोहनी, प्रेमकृष्ण पाठक, श्रीधर लोहनी, शम्भु लोहनी, विश्वम्भर चंचल, रमेश खकुरेल, हरिहरदेव पन्त, राघवध्वज पन्त, हरिध्वज पन्त, पार्थिवेश्वर तिमिल्सिना, कल्याण रिमाल, बिजु रिमाल, तारादेवी, रूबी जोशी, यादव खरेल, अच्युत खरेल, विनोदमणि दीक्षित, आमोदमणि दीक्षित, गिरिशप्रसाद पन्त, यज्ञनिधि दाहाल, दीर्घराज प्रसाईँ, नरेन्द्रराज प्रसाईँ, इन्दिरा प्रसाईँ, मधुनिधि तिवारी, भोला जोशी, रविराज पन्त, मदन भट्टराई, विप्लव प्रतिक, दिपक खरेल, भुवन पाठक आदि जस्ता सयौँ वौद्धिक व्यक्तित्वहरूको वासस्थान पनि यही हो । श्रद्धेय अरविन्दनाथ रिमालसँग एकपटक कुरा गर्दा उहाँले भन्नुभएको एउटा कुरा सँधै याद आइरहन्छ । २०१० सालको दशकमा एउटा आह्वान गुञ्जिरहन्थ्यो रे– ‘ह्वाट डिल्लीबजार थिङ्क्स् टुडे, द रेस्ट अफ द कन्ट्री थिङ्क्स् टुमरो !’ भनेर ।

 

वि.सं. १९७९ साल फागुन ६ गते काठमाडौँको गैह्रिधाराको प्रख्यात दीक्षित परिवारमा जन्मनुभएका मदनमणि दीक्षितको पुर्खौली थलो भने वीरगञ्ज हो । उहाँका हजुरबुवा काशीनाथ आचार्य दीक्षित राणाशासनको बेला एक महत्वपूर्ण भारदान नै थिए । काठमाडौँमा बाहेक वीरगञ्जमार भारतको बनारसमा पनि उहाँहरूको ठूलै घर थियो । भारत र नेपाल आवत जावत गर्ने काठमाडौँका शुशिक्षित परिवारका धेरै नेपालीहरू वीरगञ्जको उहाँहरूको घरमा बरोबर बास बस्ने गर्दथे । त्यसो हुनुमा त्यतिबेला वीरगञ्जमा हालको जस्तो राम्रो होटेलको व्यवस्था नहुनु र त्यहाँबाट काठमाडौँ जाने कुरा पनि त्यति सजिलो नभएकोले एकाध रात वीरगञ्जमा बास बसेर अमलेखगञ्जसम्म छोटागजी रेल र त्यहाँबाट भिमफेदीसम्म बस–लहरीमा सवार भएपछि तत्पश्चात हिँडेर उकालो चढ्नुको विकल्प थिएन । भारतबाट नेपालको सिमा पस्न भन्दा पनि कठीन कुरा राणाशासनको समयमा भिमफेदीबाट काठमाडौँसम्म जाने थियो । उपत्यका जाने पर्मिट लिएर सम्पूर्ण सामान भन्सारमा जचाएर अनेक प्रश्नको जवाफ दिएर त्यहाँका अधिकारीहरूलाई विश्वासमा पार्न सकेपछि मात्र त्यहाँबाट अगाडिको यात्रा शुरु गर्न पाइन्थ्यो । जिउँदा शहिद टंकप्रसाद आचार्यले नेपाल प्रजापरिषदको पर्चा छाप्न भनेर टुक्रा टुक्रा पारेर स्टेन्सिल मेसिन त्यही नाकाबाट काठमाडौँ छिराएको र विभिन्न खालका राजनैतिक दस्तावेज र पुस्तकहरू पनि त्यो बाटोबाट नै राजधानी भित्रिने भएकोले त्यहाँको भन्सारमा निक्कै कडाईका साथ चेकिङ हुने गर्दथ्यो ।   

 

मदनमणि दीक्षित र भाई महेशमणि दीक्षितको वाल्ककाल र अधिकांश शिक्षादीक्षा भारतको बनारसमा नै भएको थियो भने कान्छा भाई सायद नेपालमा नै बस्दथे। बनारसमा त्यतिबेला सयौँ नेपाली विद्यार्थीहरू अध्ययनरत थिए र धार्मिक तथा राजनैतिक हिसाबले पनि धेरै नेपालीहरू त्यहाँ बसोवास गर्दथे । कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा लगायत शैलेन्द्रकुमार उपाध्याय, यादवप्रसाद पन्त, मेरा पिता गोविन्दप्रसाद लोहनी, देवेन्द्रराज उपाध्याय, सरोज कोइराला, तुलसी गिरी, राधाप्रसाद घिमिरे, नगेन्द्रप्रसाद रिजाल आदि बनारस हिन्दू विश्वविद्यालय र बनारसका अन्य शिक्षण संस्थाहरूमा अध्ययनरत थिए । मेरा पिताजी पनि बालककालमा नै बनारसमा अध्ययनको निम्ति लगिनुभएकोले उहाँहरूकोभेटघाट सानै उमेर देखि हुन थालेको होे ।

 

केही समय अघि मेरो भेट मदनमणि दीक्षित अंकलका छोरा बिनोदमणि दीक्षितसँग भएको थियो, उहाँकै कालिकास्थानको घरमा। उहाँले त्यतिबेला उहाँका पिताको बारेमा धेरै कुराहरू सुनाउनु भएको थियो। मदनमणि दीक्षित बनारस हिन्दू विश्वविद्यालयको दर्शनशास्त्रको पहिलो ब्याचको विद्यार्थी हुनुहुँदो रहेछ। भारतका दोस्रो राष्ट्रपति समेत हुनुभएका डा. सर्वपल्ली राधाकृष्णन् त्यतिबेला सो विश्वविद्यालयका उपकुलपति र दर्शनशास्त्रका प्राध्यापकसमेत हुनुहुन्थ्यो। उहाँको कक्षाका विद्यार्थीहरू मध्ये मदनमणि दीक्षित निकै आशा लाग्दा छात्र हुनुभएकाले डा. राधाकृष्णनले उहाँलाई निक्कै मन पराउनु हुन्थ्यो रे। पछि विद्यावारिधीको लागि पनि उहाँको गाइड डा. राधाकृष्णन नै रहनु भएको रहेछ । तर घरायसी कारणले गर्दा उहाँले विद्यावारिधी अधुरै छोडेर नेपाल फर्कनु परेको थियो । 

 

मदनमणि दीक्षित युवावस्थादेखि नै फोटोग्राफीमा सौखिन र कुशल मान्छे । बिनोद दीक्षितकै अनुसार एकचोटी उहाँले आफ्ना प्राध्यापक डा. राधाकृष्णनको फोटो खिचेर उहाँलाई दिनुभएको रहेछ। राधाकृष्णनलाई उक्त फोटो ज्यादै मन परेर उहाँले आफु उपराष्ट्रपति भएको बेला सोही फोटो विभिन्न प्रयोजनका लागि प्रयोग गर्नुभएको रहेछ। नेपाल आएर नयाँसडकको प्युखामा बस्दा मदनमणि दीक्षितले एउटा फोटो स्टुडियो पनि खोल्नुु भएको कुरा मैले मेरा पिताजीबाट सुनेको थिएँ। मेरा पिताजीले आफ्नो फोटो पनि त्यतिबेला उहाँलाई नै खिचाउने र अन्य साथीहरूलाई पनि उहाँ कहाँ नै फोटो खिचाउन अनुरोध गर्नु हुन्थ्यो रे। मदनमणि दीक्षितको निवासको पढ्ने कोठामा उहाँ आपैmले अटोमोडमा क्यामेरालाई मिलाएर खिचेको उहाँको आफ्नै फोटो टाँगिएको हुन्थ्यो। जुंगा र दाह्री सहितको कालो फ्रेम भएको पावर चश्मा लगाएको र पश्चिमा भेषभुषामा सजिएर चुरोट हातमा लिइरहेको त्यो फोटो ज्यादै नै आकर्षक देखिन्थ्यो । मैले उहाँसँग एकचोटी सो फोटोको बारेमा सोध्दा उहाँले मुस्कुराउँदै पत्रकारिताकै सिलसिलामा जेल परेर छुटेपछि आफैले खिचेको सो फोटो उहाँ आफैलाई पनि निक्कै मन परेको कुरा बताउनु भएको थियो ।

 

मदनमणि दीक्षितका भाई महेशमणि दीक्षित, मेरा पिताजी गोविन्दप्रसाद लोहनी र देवेन्द्रराज उपाध्याय आदिएकै उमेरका भएकाले उहाँहरू बीच प्रगाढ मित्रता थियो । त्यतिबेलाका विद्यार्थीहरूमा अध्ययन र लेखनमा विशेष लगाव हुने भएकाले उहाँहरू विभिन्न पुस्तकालयहरूमा गएर खाली समयमा पुस्तकहरू पढ्ने र सो बारे छलफल गर्ने गर्नुहुन्थ्यो । खासगरी माक्र्सवादी, समाजवादी, साहित्य र दर्शन तथा विज्ञान र प्रविधिका पुस्तकहरू र त्यतिबेला बनारसमा हुने सो बारेका विभिन्न नेता तथा विद्धानहरूका भाषण र प्रवचनहरू सुनेपछि उहाँहरू एकापसमा ज्ञानको आदान प्रदान गर्नु हुँदोरहेछ । वास्तवमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यहरु पनि उहाँहरुका कुरा र संगतबाट प्रेरित भएर नै विस्तारै माक्र्सवादतिर आकर्षित हुँदै सो बारेका पुस्तकहरू पढ्न थाल्नु भएको हो भन्ने कुरा मलाई मेरा पिताजी र माड्साब स्वयम्ले पनि भन्नु भएको थियो र पछि पुष्पलालले वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना पनि यिनै साथिहरूको मद्दतले गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीको परिकल्पना तथा संगठनको स्वरुप तयार गर्न, जग बसाल्न र भारतमा र नेपालमा यो पार्टीको स्थापना हुन लागेको बारे जानकारी दिन र विद्यार्थीहरूलाई यो पार्टीतिर आकर्षित गर्न पुष्पलाल श्रेष्ठ, शैलेन्द्रकुमार उपाध्याय, मनमोहन अधिकारी, डा. केशरजङ्ग रायमाझी, गोविन्दप्रसाद लोहनी, मदनमणि दीक्षित, महेशमणि दीक्षित, डी.पी. अधिकारी, तुलसीलाल अमात्य, शम्भुलाल श्रेष्ठ आदिलेठूलो योगदान गरेका थिए । तर उहाँहरू भन्दा पछिका पुस्ताका धेरै दिग्गज भनाउँदा कम्युनिष्ट तथा विचारकहरूले कम्युनिष्ट पार्टीको इतिहासलाई नै आफुहरूलाई सुहाउँदो प्रकारले लेखन र बेला बेलामा पुर्नलेखन तथा व्याख्या गर्ने गर्नुभएको छ । नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा विद्यावारिधी गर्ने केही महा–विद्धानहरूले नेपाली कम्युनिष्ट आन्दोलनका शुरुवाती कालमा ठूलो योगदान गरेका व्यक्तिहरूलाई नचिनेको अभिनय गर्ने गरेका छन् । तर के त्यस्ता व्यक्तिहरूलाई ओझेलमा पारेर इतिहास बङ्ग्याउँदैमा भइसकेका कुराहरूलाई सदाका निम्ति मेट्न सकिएला त ?खैर ।  

 

नेपालमा वामपन्थी विचारधारा बारेको पहिलो नेपाली पुस्तक लेखेर माक्र्सवाद फैलाउने सुत्रधार मेरा पिताजी गोविन्दप्रसाद लोहनी हुनुहुन्थ्यो। दोस्रो विश्वयुद्ध ताका रूसका शिर्षस्त नेताहरूले आफुहरूले सो युद्ध सामन्तवादको विरुद्धमा लडिरहेकोले विश्वका सबै सर्वहारा विचारधारालाई मान्नेहरूले सामन्तवाद विरुद्ध लड्ने समय आइसकेको कुरा बताएका थिए। त्यति नै बेला भारतमा पनि साम्यवादी विचारधारा राख्ने विभिन्न नेताहरूले माक्र्सवादको प्रचार गरिरहेका थिए। भारतका प्रख्यात समाजवादी नेताहरूको संगतले त्यतिबेला मदनमणि दीक्षित लगायत उहाँका धेरै साथीहरूलाई प्रगतिशील विद्यार्थी संगठनमाआवद्ध हुन प्रेरणा मिलेको थियो। यस्तै समयतिर वनारसमा माक्र्सवादमा विश्वास राख्ने वौद्धिक मित्रहरू मिलेर प्रगतिशील प्रकाशन मण्डलको समेत स्थापना भएको थियो। सो समूहले निक्कै समयसम्म बनारसबाट प्रगतिशील साहित्य र पत्रपत्रिकाको प्रकाशन गर्‍यो । मेरा पिताजी गोविन्दप्रसाद लोहनीका नेतृत्वको भोक, यो हो सोवियत रूस, चीनी जनसङ्घर्षको इतिहास आदि प्रख्यात पुस्तकहरू पनि प्रगतिशील प्रकाशन मण्डलले नै छापेको हो। ती पुस्तकहरू निक्कै समयसम्म नेपाल कम्युनिष्ट पार्टीका पाठ्यपुस्तक बनेर रहे । 

 

कालान्तरमा माड्साब मदनमणि दीक्षित रूसी ढाँचाको कम्युनिष्ट प्रणालीबाट ज्यादा प्रभावित हुनुभयो भने मेरा पिताजीले चिनी कम्युनिष्ट प्रणालीलाई अंगाल्नु भयो । विचारमा ठूलै भिन्नता हुन शुरु भएता पनि उहाँहरूको मित्रतामा यसले कुनै असर पारेन । मेरा पिताजीको सन् १९७८ सालफेब्रुवरी ४ कै डायरीको कुरा गरौँ । त्यतिबेला चीनका तत्कालिन उपप्रधानमन्त्री तेङग सियाओ पिङ नेपालको भ्रमणमा थिए । आफ्नो त्यो दिनको डायरीमा मेरा पिताजीले लेख्नु भएको थियो कि, ‘खाना खाएर विश्राम पश्चात समीक्षा पढेँ । यी रूसी पिठ्ठुहरुको माइन्डको आफ्नै जगत छ । यिनले प्रत्येक कुरा रूसको हितको दृष्टिबाट हेर्छन् । त्यसैले चीनको प्रत्येक कुराको हँस्सी उडाउँछन् र रूसको प्रत्येक कुरामा वुद्घिमानी मात्रै देख्छन्, भारी समाजवादी कदमका रूपमा मात्रै देख्छन् ।’ राजनीतिक विचारधाराको हिसाबले उहाँहरूमा यस्तो प्रकारको दुरी भए पनि उहाँहरू एकापसमा एकदिन पनि भेट नगरी बस्न सक्नु हुँदैनथ्यो ।

 

मदनमणि दीक्षितद्वारा सम्पादित साप्ताहिक छापा ‘समीक्षा’ले एकताका ठूलो ख्याती पाएको थियो। पञ्चायती कालमा यो छापा पढ्न रुचाउने पाठकहरू धेरै थिए। उहाँको घर कालिकास्थानमा यसको छपाईको निम्ति एउटा प्रेस पनि सञ्चालित थियो । मेरा पिताजीले नियमित रूपमा यो पत्रिकामा लेखहरू छपाउनु हुन्थ्यो भने उहाँहरूको मित्रता यतिसम्म गहिरो थियो कि मदनमणि अंकलले कुनै महत्वपूर्ण अङ्क प्रकाशित गर्नुभन्दा पहिले मेरा पिताजीलाई बोलाएर त्यसको प्रुफ देखाएर केही थपघट गर्नु पर्ने छ की भनेर सल्लाह समेत लिनु हुन्थ्यो अरे । उहाँहरू गफिन थालेपछि दिन ढलेर रात परेको पनि थाहा पाउनु हुँदैनथ्यो । चुरोट र हल्का मदिरापानमा पनि दुबैजना निक्कै झुमेर आनन्द लिने गर्नुहुन्थ्यो। मेरा पिताजीले बेला बेलामा भिडियोमा सिनेमा हेर्न मदनमणि दीक्षित, देवेन्द्रराज उपाध्याय, कृष्णमान श्रेष्ठ, रामचन्द्र महर्जन, रविन्द्र अर्याल, रविन्द्रनाथ रिमाल, इश्वरीचन्द्र शर्मा आदिलाई घरमा बोलाइ रहनु हुन्थ्यो। एक पटक सन् १९८४ तिर भारतीय फिल्म निर्देशक बासु चटर्जीद्वारा निर्देशित बुढ्यौलीमा पुगेका मानिसहरूमा आधारित हाँस्यप्रदान मनोवैज्ञानिक चलचित्र ‘सौकिन’ हेरेपछि माड्साब र मेरा पिताजीले पटक पटक आफ्ना उमेर समूहका विद्वत वर्गहरूलाई बोलाएर त्यो सिनेमाको धेरै शोहरू देखाउनु भयो। अशोक कुमार, उत्पल दत्त, ए.के. हङ्गल, रती अग्नीहोत्री र मिथुन चक्रवर्ती अभिनीत सो चलचित्रमा बुढ्यौलीमा पनि मानिसमा यौवनको चस्को कसरी बसिरहेको हुन्छ भन्ने सन्देश निक्कै रमाइलो पारामा दिइएको थियो ।

 

वि.सं. २०२० र २०३० को दशकमा उत्तम कुँवरद्वारा सम्पादित साहित्यिक पत्रिका ‘रूप–रेखा’को आफ्नै प्रतिष्ठा थियो । यसमा लेख छपाउने व्यक्तिहरू पनि लर्तरा लेखक हुँदैनथे। मदनमणि दीक्षितले वि.सं. २०१९ सालतिर देखि नै यो पत्रिकामा साहित्यिक रचनाहरूछपाउने गर्नुभएको हो । उहाँको साप्ताहिक ‘समीक्षा’ भने २०१६ सालतिर देखि प्रकाशन हुन थालेको हो । पञ्चायत कालमा उहाँका सम्पादकीय वा लेख तथा अन्य व्यक्तिका लेखका कारण समीक्षा वारम्वार बन्द हुने र खुल्ने क्रम जारी रह्यो । यसै सिलसिलामा उहाँ जेलसमेत चलान गरिनु भयो ।

 

मदनमणि दीक्षितले आफ्नो लामो जीवनमा करिव ४५ वटा निक्कै चर्चित पुस्तकहरू प्रकाशन गर्नुभयो। उहाँद्वारा लिखित ‘माधवी’ले २०३९ सालमा मदन पुरस्कार पायो। ‘माधवी’, ‘हिन्दूसंस्कृतिको परिशीलन’ र ‘ऋग्वैदिक नारी चरित्र’ देखि ‘मेरो देश मेरो संसार’, ‘मेरी नीलिमा’, ‘मेरी माता’ आदि जस्ता गहन साहित्यिक कृतिहरू उहाँले निक्कै मेहनतका साथ लेख्नुभएको थियो । सानै उमेरमा अक्षरारम्भ गर्नुभएका माड्साबले स्नातकोत्तरसम्म बनारसमा नै पढ्नु भएपछि पत्रकारिता र साहित्यमा लाग्दा जिन्दगीभर नै लेखपढमा नै बिताउनु भयो । उहाँकै शव्दमा उहाँले आफ्नो जीवनकालमा सवा–करोड जति शव्दहरू लेखेर विभिन्न प्रकाशित र अप्रकाशित कृतिहरू तयार गर्नुभएको थियो रे । एउटा पुस्तक सकेर प्रकाशनको अवस्थासम्म पु¥याउन उहाँलाई निक्कै धेरै समय लाग्दथ्यो। किनकी उहाँ आफ्ना कृतिहरूमा पाठकले कुनै किसिमका भाषिक वा सैद्धान्तिक त्रुटिहरू फेला पार्न नसकुन् र त्यो एक उत्कृष्ठ कृतिहरूको कोटीमा परोस् भन्ने कुरामा विशेष ध्यान दिनुहुन्थ्यो । ‘मेरी नीलिमा’ नामक उहाँको उपन्यास लेखनमा पनि वर्षौँ वर्ष लागेको थियो ।केही वर्ष अघिमात्र प्रकाशन भएको उहाँको संस्मरण पुस्तक ‘मेरी माता’मा उहाँले त्यतिबेलाको नेपालको अवस्था, रुढिवाद, कुरीति, शोषण, चरम गरिवी, महिला हिंशा र पुरुषहरूको ज्यादतीको पराकाष्ठाबारे निक्कै खुल्ला रूपमा वर्णन गर्नुभएको छ ।

 

करिव दश वर्ष पहिले म काम गर्ने त्यतिबेलाको एक वाणिज्य बैङ्कको डिल्लीबजार शाखा (विजय स्मारक विद्यालयको हातामा) को उद्घाटन गर्न मैले मदनमणि दीक्षितको नाम सिफारिस गरे मुताविक म उहाँलाई सोको लागि अनुरोध गर्न उहाँको कालिकास्थानस्थित घरमा गएको थिएँ । कोठा पुरै पुस्तक र कागजले भरीएको र एक छेउमा पलेटी मारेर अध्ययन र लेखन गर्न सकिने ठूलो भुईँ टेबुल राखेर उहाँ पलेटी कसेर अध्ययनमा मग्न हुनुहुन्थ्यो । निक्कै बेर उहाँसँग भलाकुसारी भयो र पछि उहाँकै हातबाट सो शाखाको उद्घाटन भयो । केही वर्ष अघि मेरो कृति ‘विचार र अनुभरुति’को प्रकाशन पश्चात मेरा पिताजीले ‘यो पुस्तक राम्रो भएको छ, मदनमणिजीलाई पनि आपैm भेटेर दिनु । खुशी हुन्छन् उनी’ भन्नु भए अनुसार मैले उहाँको निवासमा गएर मेरो पुस्तक दिएको थिएँ। उहाँले सर्सती सो पुस्तकको विषय सूची हेरेर ‘मलाई एकाध हप्ता पछि भेट्न आउनु, म पुस्तक बारे मेरो विचार भनौँला है बाबु’ भन्नुभयो। पछि म उहाँकहाँ जाँदा उहाँले प्रसन्न मुद्रामा बुबा जस्तै लेखन क्षेत्रमा लागेको र प्रस्तुती पनि सरल र राम्रो शैलीको भएकोमा मलाई खुशी लागेको छ। आफ्ना विचार लेख्दा यसरी नै सरल भाषामा, सबैले बुझ्ने गरी लेख्नुपर्छ। यसैगरी मेहनत गर्नु। मैले ‘माधवी’मा निक्कै धेरै संस्कृतका शव्दहरू प्रयोग गरेकोले ज्यादै कम वौद्धिक व्यक्तिहरूले मात्र बुझ्न सके । त्यसैले यसलाई सरल भाषामा पुनः छपाउने बारे सोच्दैछु’ भन्नु भएको थियो। उहाँका कैयन् लेख तथा रचनाहरू अप्रकाशित होलान्, घरमा कति पुस्तक र महत्वपूर्ण दस्तावेजहरू उहाँको संकलनमा होलान् । तीनको सम्वद्र्धन हुनु ज्यादै जरुरी छ । मेरा पिताजीको स्मृतिग्रन्थको तयारीको क्रममा मैले दर्जनौँ विद्धत वर्गहरूको घरमा गएर उहाँहरूसँग कुरा गर्ने मौका पाएँ । निक्कै कम व्यक्तिका सन्तान मात्रै आफ्ना माता–पिता जस्ता अध्ययनशील तथा ज्ञानका सामग्रीको सम्वद्र्धन गर्न सक्ने किसिमका पाएँ मैले। कैयन्का सन्तान विदेशीएका, अन्य अरू नै पेशामा लागेका र नयाँ पिँढीलाई अग्रजले गरेको ज्ञानको विशाल भण्डारणको कुनै महत्व हुँदैन रहेछ।

 

विद्यार्थी कालदेखि वृद्धावस्थासम्म नै मदनमणि दीक्षितले ज्यादै सरल र अध्ययनशील जीवन व्यतित गर्नुभयो। निक्कै भलाद्मी र मृदुभाषी हुनुहुन्थ्यो उहाँ। तर त्यत्तिकै खरो पनि हुनुहुन्थ्यो। विभिन्न स्रस्टाहरूका कृतिहरूको अध्ययन गरेपछि त्यसमा भएका त्रुटिहरू उहाँ सबैको अगाडि सर्सर्ती सुनाइदिनु हुन्थ्यो । केहि कुरा पनि उहाँ लुकाउन सक्नु हुन्नथ्यो । उहाँलाई अध्ययन, चिन्तन–मननमा लाग्न निक्कै सहज भएको सायद एक शुशिल, भद्र, निष्कपट र शालिन नारी उहाँको जीवनसंगिनीको रूपमा उहाँले पाउनु भएको भएर पनि होला।  

 

मेरा पिताजी र मदनमणि अंकलको एउटा अतिनै अनौठो स्वभाव के पनि थियो भने उहाँहरू आफ्ना छोरा–छोरीलाई साथिकै व्यवहार गर्नुहुन्थ्यो। बुवाहरूसँग बसेर हामी छोराहरूलाई मदिरापान गर्ने र विभिन्न सम्वेदनशील विषयमा छलफल र वहस गर्ने समेत छुट थियो । यस्तो स्वतन्त्रताले गर्दा पनि हामी दुवैको परिवारमा बाउबाजेले आर्जेको वौद्धिक संस्कार नयाँ पिँढीमा सार्न सहज भएको होला । उहाँहरूकै संगत र प्रेरणाले आज हामी दुवै परिवारका सदस्यहरू इमान्दारीतामा अडिग हुनुका साथै अध्ययन र लेखनमा लागि रहेका छौँ ।

 

जीवनभर समाजवादी दर्शनलाई अँगाल्नु भएका मेरा पिताजी र मदनमणि अंकल सँधै स्वतन्त्र वुद्धिजिवी र चिन्तक नै भएर बस्न रूचाउनु भयो र आफ्ना जीवनका अन्तिम क्षणसम्म पनि गहन अध्ययन र विचारमा डुबेर नै बसिरहनुभयो। मृत्युलाई उहाँहरू एक सहज घटनाको रूपमा लिनु हुन्थ्यो भने आफुहरू यत्तिका दीर्घजीवी भएकोमा आश्चर्य पनि प्रकट गर्नुहुन्थ्यो । धन कमाउन र राजनीति गर्न वा ख्याती कमाउन समेत कहिल्यै आशक्ति नदेखाउनु भएका उहाँहरू वास्तवमा नेपालका उदाहरणीय उच्च वौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । यसै लेख मार्फत म मेरा पिता समानका  मदनमणि दीक्षितको शत वार्षिकी भव्यताका साथ सम्पन्न होस् र उहाँलाई राष्ट्रले सदा सम्मानपूर्वक स्मरण गरिरहोस् भन्ने कामना गर्दछु ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार