• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु

मेरो जे थियो

ठिक थियो

गोबरले लिपेको घर आँगन

नर्कटले बारेको खेतबारी

सानो आँगन, फुलबारी, अनि खेतबारी

एउटा सानो सुन्दर परिवार

आफैँले बुनेको कपडा

आफैँले उमारेको धान

आफ्नै बारीको तरकारी

आफ्नै खेतको छेउबाट बगेको कुलो

सुख -दुःख, घाम-छायाँ

पहाड – मधेश, प्रीति-माया

एक रात मेलामा नाचेको रमाइलो

घर पुग्ने बेलाको उकालो पछि

पीपलको चौतारीमा

लगाएको कपडाको फेरले

पुछेको पसिना ओभाएको मुखमा

हिमालको चिसो हावाले हम्किँदा

त्यो सुस्ताएको आनन्द

ती सब कहाँ गए ?

म ती दिनहरू सम्झदै छु

जब पुसको बिहानीमा झुल्केको घाम

आज जत्तिको छेक्न डराउँथे

न्यानो पाउने विश्वासमा

मैले आज जत्तिको कठ्याङ्ग्रिनु परेको थिएन

मेरो चार किल्ला मिच्दैछन्

मेरो आफ्नै कुलाको पानीमा हात हाल्न

अरूलाई सोध्नुपर्ने भएको छ

घरको ढोकाको चुकुल नलाग्ने भएको छ

झ्यालका डन्डीहरू खिइएर भाँचिएका छन्

छाना चुहिने भएको छ

घरको गाह्रो चर्किएर पीपल उम्रिदा

ह्वाङ्ह्वाङ्‌ती हुने डर भएको छ

मेरा बच्चाहरू आफ्नै आँगनमा

खेल्न डराउने भैसके

अरूहरू उफ्रिन्छन्, कुद्छन्

हकार्दछन्, डकार्दछन्

म आफ्नै आँगनमा पराइजस्तो भइसकें

अब त लाग्छ आफ्नै मुलुकमा

म बहादुर हुँदै गइरहेको छु

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार