• शुक्रबार १०-१४-२०७८/Friday 01-28-2022
विचार

पार्टी अधिवेशनको चहलपहल

प्रजातान्त्रिक परिपाटी भएका मुलुकहरूमा त्यहाँ रहेका राजनीतिक पार्टीहरूको आवधिक महाधिवेशन हुनु निकै राम्रो कुरा हो । त्यसमाथि पनि पार्टी भित्रको नेतृत्वको चयन र विगतमा भएका कामहरूको लेखाजोखा गरेर भविष्यमा पार्टीले लिनु पर्ने रणनीति बारे छलफल र निर्णय गर्नु अति नै प्रजातान्त्रिक तौर तरिका हुन् । यसरी नियमित र सामुहिक रूपमा पार्टी अधिवेशन गर्नाले पार्टी भित्र एकता, अनुशासन र संगठन विस्तारमा पनि ठूलो मद्दत पुग्न जान्छ र जनतामा पनि आफुले रूचाएको पार्टी माथिको आस्था बढ्न जान्छ। पञ्चायतकालमा प्रतिवन्धित पार्टीहरूले निकै मुश्किल परिस्थितिको सामना गरेर पार्टी अधिवेशन र सभा–भेलाहरू गर्नु पर्दथ्यो वा कैयन् पार्टीहरूले अधिवेशन बोलाउन समेत सक्ने अवस्था थिएन। अधिवेशन गरे पनि त्यतिबेला पार्टीहरूले पदाधिकारीहरूको निर्वाचन खासै नगर्ने भएकोले आफ्नै पार्टी भित्र निर्वाचन नगर्ने पार्टीले प्रजातन्त्रको कुरा गरे भनेर आलोचना पनि खेप्नु पर्दथ्यो बेला बखतमा ।

 

हाल केही समयदेखि नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका महाधिवेशनहरू एक पछि अर्को गर्दै चलिरहेका छन्। हालै नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन चितवनमा सम्पन्न भयो। निकै भव्य रूपमा सम्पन्न भएको सो महाधिवेशनको तारिफका साथै विरोध समेत भएको थियो। तारिफ यस अर्थमा कि भर्खरैमात्र फुटको सङ्घारबाट गुज्रिएकोे पार्टीले आफ्नो महाधिवेशन भव्य तवरमा सम्पन्न गरेर पार्टी भित्रको एकता र प्रजातन्त्रको एक उदाहरण पेश गर्नुका साथै इलेक्ट्रोनिक भोटिङ प्रणालीको समेत शुरुवात गर्‍यो भनेर । अर्कोतर्फ पैसाको विशाल खोलो बगाएर साजसज्जा र मानव सागर जम्मा गरेकोमा आम जनतालाई निकै ठूलो आश्चर्य समेत लागेको छ एउटा राजनीतिक पार्टीसँग यस्ता फजुल खर्च गर्न कति धेरै पैसा हुँदो रहेछ भनेर। त्यसमाथि सोही पार्टीका एकजना नेता गोकुल बाँस्कोटाले एउटा टेलिभिजन अन्तर्वार्तामा निकै निर्लज्ज तवरले ‘हामीले कार्यकर्ताबाट उठाएको रकमको खोलो बगायौँ त कसैको टाउको किन दुख्ने’भन्ने जस्ता अभिव्यक्तिदिँदा पार्टी कार्यकर्ताबाट उठेको पैसाको दुरुपयोग यसै गरी गर्ने हो त ? भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कोतर्फ भर्खरै मात्र सरकारबाट बाहिरिएको पार्टीले कार्यकर्ताबाट उठेको रकमले मात्र यसरी धनको खोलो बगाएको हो त ? भन्ने प्रश्न पनि उठेको छ । त्यस्तै महाधिवेशन सकिएको यत्तिका दिन बितिसक्दा पनि उसले आफुले गरेका फोहरहरू जस्तै ध्वजा–पताका देखि पोस्टर र गेटहरू निकालेर शहर सफा गर्ने काममा मद्दत पुर्‍याएको पनि देखिएको छैन । जे होस् सो पार्टीले यसपालीको पार्टी महाधिवेशनको मौसमको शुरुवात भने गरेर देखायो ।

 

अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हालै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ। उसले पनि इलेक्ट्रोनिक भोटिङ प्रणालीको प्रयोग गरेर चुनावी प्रक्रियालाई निकै सहज बनायो भने उसको नेतृत्वमा नयाँ पिँढीले निर्वाचित भएर आफ्नो कार्यको समेत थालनी गरिसक्यो। पञ्चायती व्यवस्थाको अन्त पश्चात स्थापना भएको पुर्वपञ्चहरूको यो पार्टीमा पुराना व्यक्तिहरूकै मात्र हाली मुहाली भइरहेकोमा यसपाली नयाँ पिँढीले नेतृत्व सम्हालेकोमा आउँदा दिनहरूमा यो पार्टीले केही बढी उपलब्धि हासिल गर्ने आशा लिइएको छ । तर त्यतिका वर्ष पार्टीमा बसेर आधिपत्य जमाएका पार्टीका वरिष्ठ व्यक्तित्वहरूलाई राजतन्त्र र हिन्दू राष्ट्रको नारा सहित लाखापाखा लगाउने नेता कमल थापाले आफ्नो पराजयको आरोप पूर्वराजा ज्ञानेन्द्र र राजपरिवारमा लगाइ रहँदा पतनको बाटो समाएका र संस्कार नपाएका व्यक्ति र समूहले उपयोगिता सकिए पछि आफ्नो जरासमेत कसरी उखेल्दा रहेछन् र नाङ्गो नाच नाच्दा रहेछन् भन्ने कुराको चरितार्थ पनि गरी दिए । खैर, उनको हारसँगै निर्वाचित भएर आएको नयाँ नेतृत्वले सो पार्टीलाई क्रमिक रूपमा सही बाटो पहिल्याएर अगाडि बढाउने कुराको आशा विभिन्न क्षेत्रले लिएको छ ।

 

यही हप्ता नेपाली कांग्रेसले पनि आफ्नो चौधौँ महाधिवेशन निकै प्रजातान्त्रिक तवरले सम्पन्न गरेको छ। पार्टीको प्रारम्भिक तहदेखि नै शुरू भएको निर्वाचन प्रकृया पार्टी सभापति तहसम्मको निर्वाचन पश्चात टुंगिएको छ । पार्टीका सबै तहहरूमा युवा प्रतिनिधित्व बढेको छ भने महिलाहरूको सहभागिता पनि ज्यादै धेरै भएको छ। केन्द्रिय तहको निर्वाचनमा ज्यादै प्रतिष्पर्धाको वातावरण पनि बनेको थियो, जुन प्रजातान्त्रिक प्रक्रियालाई मजबुत बनाउने एउटा राम्रो कदम हो । इलेक्ट्रोनिक भोटिङ प्रणालीलाई भने नेपाली काङ्ग्रेसले त्यति पचाउन नसकेको देखियो। गत आम निर्वाचनमा नै करिव करिव तयारी अवस्थामा पुगिसकेको इलेक्ट्रोनिक भोटिङ प्रणालीलाई अब पनि विश्वास नगर्ने हो भने आउँदा स्थानीय र आम निर्वाचनमा पनि यिनको उपभोग नगर्ने हुन सक्दछ । दक्षिण एशियाका मुलुकहरूमा नेपालले आफु प्रजातान्त्रिक प्रकृयामा निकै अग्रणी रहेको प्रमाण देखाउन पनि हामीले यस्ता प्रणालीहरूको अवलम्वन गर्नु जरुरी छ । ठीक तवरले यो प्रणालीको अवलम्वन गर्न सकेमा चुनावमा निष्पक्षताको आभास मिल्नुका साथै चुनावी खर्च र भोट गन्न लाग्ने समयमा पनि व्यापन कमी ल्याउन सकिन्छ ।

 

नेपालमा राणाशासनको बेलामा वि.सं. १९९३ सालमा निकै गोप्य तवरले नेपालको पहिलो पार्टी नेपाल प्रजापरिषद्को गठन भएको हो । त्यतिबेलाको ज्यादै नै विषम परिस्थिति र कडा र निरङ्कुश शासन भएको बेलामा भित्ताको पनि कान हुन्छ भनेर मानिसहरू घरमा समेत राणा विरोधी वा अन्य आधुनिक ज्ञानका कुरा गर्न डराउँथे । सडकतिर फर्काएर झ्याल हाल्नु, आफ्नो घर सजाएर राम्रो बनाउनु, राम्रो लुगा लगाएर हिँड्नु, मिठो खानु समेत अपराध मानिने त्यो समयमा प्रजातन्त्र, पार्टी, निर्वाचन जस्ता कुराको त नाम मात्र पनि लिनु हुँदैनथ्यो । त्यस्तो समयमा पनि टङ्कप्रसाद आचार्य, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, रामहरि शर्मा, चुडाप्रसाद ढुंगाना, गोविन्दप्रसाद उपाध्याय, पूर्णबहादुर एमए, मुकुन्दनाथ रिमाल, हरिकृष्ण श्रेष्ठ, पुष्करनाथ उप्रेती आदि लगायत पचास साठीजना मानिसले भित्र भित्रै राणा विरोधी क्रान्तिको निम्ति संगठनको निर्माण गरिरहेका थिए भने माधवराज जोशी जस्ता विद्धान तथा सामाजिक अभियन्ताका छोरा शुक्रराज शास्त्री (जोशी) ले धार्मिक प्रवचनहरूमा राणा विरोधी कुराहरू घुसाएर जनता भड्काउन लागे भनेर १९९५ सालमा नै पक्राउ परेर कठोर कारावासमा परिसकेका थिए । राणाहरूको दरवारमा महत्वपूर्ण पदमा रहेका व्यक्तिको छोरा भएर पनि गणेशमान सिंह प्रजापरिषदमा लागेका थिए भने कैयन् साहित्यकारहरू जस्तै केदारमान व्यथित,सिद्धिचरण श्रेष्ठ, चित्तधर हृदय आदि पनि यस संस्थाका सकृय सदस्य थिए । आखिर संगठनलाई गोप्य रूपमा अगाडि बढाइरहेको तथा राणा विरोधी पर्चाहरू छर्न थालेको केही समय पछि नै क्रान्तिमा होमिएका रैतीहरूमध्येबाटै शहिद शुक्रराज शास्त्रीका सहोदर भाई रामजी जोशी र पण्डित मुरलीधर जस्ता गद्दारहरू पैदा भएर राणाशासकले सुराक पाएपछि प्रजापरिषद्का सदस्यहरू धरपकडमा परेर तीनजना सहित कारावासमा भएका शुक्रराजलाई मृत्यु दण्ड र बाँकीलाई कठोर कारावास र देश निकालाको सजाय दिइयो र सो पार्टीलाई त्यसै दबाइयो । नेपाल प्रजापरिषदले आफ्नो संगठनलाई जनस्तरमा पैmलाउने वा पार्टीको साधारण विधान र भावी योजना बनाउने समय र अवसर समेत नपाउँदा यो पार्टी राणाहरूको कोपभाजनमा पर्न गयो । तर पनि आफ्नो चार वर्षको समयमा यसले नेपालमा राणा विरोधी कृयाकलाप गर्न पढेलेखेका युवाहरूलाई प्रोत्साहन दियो, ओझेलमा पारिएका राजासमेत प्रजातान्त्रिक आन्दोलनका समर्थक छन् भन्ने सन्देश दियो र केही हदसम्म भारतमा पनि संगठन विस्तारको निम्ति जग बसाल्न सफल भयो ।

 

आखिर शहिदहरूको बलिदान लगत्तै नेपाली युवाहरू झनै आँटिला हुन पुगे, प्रजातन्त्रको निमित्त प्रतिवद्ध भए र भित्र भित्रै राणाशासन फाल्ने प्रकृयामा सक्रिय हुन थाले। उता भारतमा अध्ययनको निम्ति बसेका, उतै बसोबास गरेका र निर्वासित जिवन बिताइरहेका नेपाली र उनका सन्तानहरूले पनि त्यहाँको बदलिँदो परिस्थितिमा नेपालमा राणा शासनको अन्त गरेर प्रजातन्त्रको स्थापना गर्ने प्रतिवद्धताका साथ संगठित हुन थाले । भारतमा त्यतिबेला चलिरहेको स्वतन्त्रता संग्रामले पनि नेपालीहरूमा जागरण ल्याउन ठूलो भूमिका खेलेको थियो ।

 

भारतीय स्वतन्त्रता संग्राममा होमिएका कैयन् नेपाली युवाहरू जस्तै विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, गोपालप्रसाद भट्टराई, सी.के. प्रसाई, कृष्णप्रसाद भट्टराई, शैलेन्द्रकुमार उपाध्याय आदिले त्यतिबेलाका भारतका स्वतन्त्रता सेनानी, समाजवादी र प्रख्यात नेताहरूको संगत गर्ने मौका पाए । त्यस्तै भारतको दार्जिलिङ, देहरादुन, कलकत्ता, पटना, बनारस र अन्य सिमा क्षेत्रमा बस्ने नेपालीहरू र नेपालबाट अध्ययनको निम्ति उता गएका विद्यार्थीहरूका छुट्टा छुट्टै संगठनहरूको एकआपसमा भेटघाट बढ्दै गएपछि नेपालमा प्रजातन्त्र ल्याउन सबैको साझा संगठन हुनुपर्ने कुरामा सबै एकमत भए । राणाहरूले जेलमा नै सडाएर मारेका वीर कृष्णप्रसाद कोइरालाका सुपुत्र विश्वेश्वरप्रसाद कोइरालाको प्रखर विद्धता, युवाजोश, संगठन गर्ने खुबी र विभिन्न पक्षसँग सम्बन्ध राख्न सक्ने खुबीले गर्दा उहाँकै नेतृत्वमा नेपालमा राणा शासनको अन्त र प्रजातन्त्रको निम्ति संयुक्त मोर्चा बन्दै गयो। वनारसमा शुरुमा वनारस हिन्दू विश्वविद्यालयका विद्यार्थीहरू मात्र राजनीतिमा सक्रिय भएकोमा पछि त्यहाँ भएका अन्य सबै शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थी पनि संगठित हुँदै गए । 

 

आखिर २००३ साल माघ १२ र १३ मा भारतको कलकत्तामा भएको वृहत् सभाबाट नेपाली राष्ट्रिय काङ्ग्रेसको जन्म भयो । यसै भेलालाई नै उसको प्रथम महाधिवेशनको रूपमा लिइन थालियो । सो महाधिवेशनको पक्षमा पूर्व प्रजापरिषद्सँग नजिक व्यक्तिहरूदेखि नेपालमा राणा शासनको अन्त गरेर प्रजातन्त्र ल्याउनु पर्छ भन्ने मान्यता राख्ने अधिकांश व्यक्तिहरूको समर्थन थियो भने त्यहाँ त्यस्ता व्यक्तिहरूको करिव ५०० को संख्यामा उपस्थिति थियो । नेपालको जेलबाट भागेर भारत पुगेका र त्यहाँ प्रधानजी भनेर चिनिने युवा जोशले भरिपूर्ण गणेशमान सिंहको पनि सो भेलामा ठूलो भूमिका सहितको उपस्थिति थियो । उनले त पार्टीको नाम नेपाल प्रजा परिषद नै राख्नुपर्छ भन्ने कुरा समेत राखेका थिए तर सो भेलामा पार्टीको नाम नेपाली राष्ट्रिय काङ्ग्रेस राख्ने कुरामा अधिकांश सहभागीहरूको सहमति भएपछि पार्टीको अध्यक्ष पदमा नेपालको कारागारमा आजिवन कारावासको सजाय भोगिरहेका जिउँदा शहिद टङ्कप्रसाद आचार्यको नाम गणेशमानले नै प्रस्ताव गरेपछि विश्वेश्वरप्रसाद कोइरालाले गणेशमानको कुराको समेत कदर स्वरुप यो कुरामा आफ्नो सहर्ष समर्थन रहेको कुरा बताए । आजको झिना मसिना पद र मुद्दाहरूमा रुमल्लिर झैं-झगडा गर्ने नेताहरूले वी.पी.को त्यतिबेलाको सो उदारवादीताबाट धेरै कुराहरू सिक्नु पर्ने हो तर आज त वी.पी. भन्ने महान् नेताथिए भन्ने कुरा पनि बिर्सन थालिसके भने उनको प्रजातान्त्रिक समाजवादको नारा काङ्ग्रेसको त कुरै छोडौँ कम्युनिष्ट भन्ने नाममात्र बाँकीरहेका पार्टीहरूले पनि बिर्र्सेर पुरै सामन्ती पूँजीवादतिर ढल्किसके । बरु आजका पूँजीवादी विकसित मुलुकहरू वास्तविक रूपमा समाजवादी भएका छन् । आखिर २००३ साल माघको सो भेलाले टङ्कप्रसाद आचार्यलाई सभापतिमा चयन गर्ने प्रस्तावको अनुमोदन ग¥यो भने विश्वेश्वरप्रसाद कोइराला पार्टीको कार्यवाहक सभापतिमा छानिए । २००७ साल अघिसम्म नेपाली राष्ट्रिय काङ्ग्रेस, प्रजातान्त्रिक काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीले समेत आफ्ना भेला र महाधिवेशनहरू भारतमा नै गर्नुपरेको थियो ।

 

नेपाली काङ्ग्रेसले आफ्नो प्रथम देखि चौथो महाधिवेशननेपालमा निरङ्कुश राणाशासन भएकाले भारतमा गरेको थियो। २००७ सालमा नेपालमा राणाशासनको अन्त भएर प्रजातन्त्रको शुरूवात भएपछि भने राजनैतिक पार्टीहरूको संख्या पनि बढ्दै गयो र पार्टी महाधिवेशन र विभिन्न भेलाहरू पनि नेपालमा नै हुन थाले । तर नेपालमा प्रजातन्त्र आएको दश वर्षमा नै राजा महेन्द्रले वी.पी. कोइरालाको निर्वाचित सरकारलाई अपदस्त गरेर केही समय पश्चात पञ्चायती व्यवस्था ल्याएपछि २०४६ सालसम्म नेपालका राजनीतिक पार्टीहरू प्रतिवन्धित हुन पुगे भने उनीहरूको महाधिवेशनको त के कुरा साधारण भेलाहरू समेत हुुुन मुस्किल भयो । त्यसैले पनि २०१७ सालमा सातौँ महाधिवेशन गरेको नेपाली काङ्ग्रेसको आठौँ महाधिवेशन २०४८ सालमा मात्र सम्पन्न हुन गयो। तर महाधिवेशन नभएको बेलामा पनि नेपाली काङ्ग्रेस लगायत तत्कालिन सबै पार्टीहरूले आफ्ना महासमिति र अन्य वैठक÷सभाहरू भूमिगत रूपमा पनि गरिरहेका थिए ।

 

पञ्चायतको कालरात्रीमा पनि खासगरी वामपन्थी पार्टीहरू फुट्ने र नयाँ नयाँ स्वरूप र गुटमा देखा पर्ने कार्य भइ नै रह्यो भने वास्तवमा यो रोगले सबै नै पार्टीहरू आजसम्म पनि ग्रसित नै छन् । निकै त्याग र वलिदानले आजको दिनसम्म आइपुगेका पार्टीहरूका अधिकांश नेताहरू आज भ्रष्टाचारको कुण्डमा चुर्लुम्म डुबेका छन् र उनीहरूले जनतालाई रणभुल्लमा पारेका छन् । आजको युगमा मुलुक र जनताको सर्वाङ्गिण विकासमा प्रजातन्त्र नै सबैभन्दा उम्दा राजनैतिक व्यवस्था भएकोले यसको विकल्प खोजेर हिँड्नु पनि ठीक छैन । आजको यो विषम अवस्थामा हामीले आशा गर्ने भनेकै हाम्रा सबै राजनैतिक पार्टीहरूमा अब स्वच्छ, शुशिक्षित, इमान्दार, राष्ट्रवादी र महत्वाकांक्षी नयाँ पिँढीको आगमन होस् र तीनको समूहले नै यो देशलाई खुशहाली तिर लम्काउन सकोस् । तर हालका महाधिवेशन र भेलाहरूमा केही नयाँ पिँढीका युवाहरू नयाँ जोश जाँगरका साथ नेतृत्व तहमा आएका देखिएपनि पनि निकट भविष्यमा नै नेपालमा कायापलट हुने सम्भावना भने निकै कम रहेको संकेत दिइरहेको छ र नेपाल अभैm एकाध दशक नारकीय अवस्थामा नै रहिरहने छ भनेर सूचित गरिरहेको छ । तैपनि आशा नमारी अभैm पनि सकारात्मक सोच कायमै राखेर नेपालमा प्रजातन्त्र र दिगो विकासले दिनानुदिन सही बाटो पक्डने छ भन्ने कुरामा आशा गरी नै रहनुपर्दछ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार