• शुक्रबार १०-१४-२०७८/Friday 01-28-2022
विचार

जनगणना २०७८ मा मेरो अनुभव : अनुत्तरित प्रश्नहरूले मलाई झस्काइरहेको छ !

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना, २०७८  पहिलो र दोस्रो चरण गरेर सम्पन्न भएको छ । यसअन्तर्गत पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण फारम मार्फत प्रत्येक घर घर पुगेर घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य संख्या ,लिङ्ग परिवारको कृषि सम्बन्धी विवरण, बैङ्क खाता भए नभएको विवरण, कुनै बैङ्क वा बित्तिय संस्थाबाट ऋण लिए वा नलिएको जस्ता विविध विधामा प्रश्नहरुको जवाफ संकलन कार्य गरिएको थियो ।

 

नेपालको जनगणनाले ११० वर्ष पूरा गरे पनि देशमा नयाँ संविधान निर्माण र संघीय गणतान्त्रिक संरचना पछिको यो पहिलो जनगणना हो ।यसपटकको जनगणनाले विशेष महत्व बोकेको छ। यसपटकको जनगणना तीन बिधि प्रयोग भएको थियो । 

 

यसैगरी दोस्रो चरणमा कात्तिक २५ देखि मंसीर ९ गतेसम्म गणकहरूद्वारा प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली फारम मार्फत घरपरिवार तथा व्यक्तिको लिङ्ग, उमेर, जाति, भाषा, धर्म, वैवाहिक स्थिति, बसाइँसराइ, शिक्षा, आर्थिक क्रियाकलाप लगायतका विवरण संकलन गरिएको छ।


दोस्रो चरण अन्तर्गत सुपरीवेक्षकद्वारा प्रत्येक स्थानीय तहका सबै वडामा वडास्तरीय सामुदायिक प्रश्नावली फारम मार्फत आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधार सम्बन्धी विवरण पनि लिइएको छ । यस पटकको जनगणनामा गणकहरूले हरेक घरमा पुगेर करीब ८० वटा प्रश्नहरुको उत्तर संकलन गरिएको छ ।


जनगणनाबाट संकलन भएका तथ्याङ्कहरुको आधारमा  देशको सामाजिक, आर्थिक विकास, योजना तर्जुमा, अध्ययन, अनुसन्धान कार्य र देश विकासका लागि मार्गनिर्देश गर्नेहुँदा जनगणनाको महाअभियानमा प्रत्येक व्यक्तिको सहभागिता र स्वामित्वको ठुलो भुमिका रहेको हुन्छ ।

 

राष्ट्रिय जनगणनाकै सन्दर्भमा सुपरीवेक्षक देखि गणक सहजिकरण तालिम र गणकको कार्यमा सहजिकरण गर्ने भुमिकामा रहि मैले झन्डै साँडे दुई महिनाको अबधिसम्म कार्य क्षेत्रमा भोगेका तीता–मीठा अनुभवलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरेकी छु ।

 

जनगणना र मेरो अनुभव

जनगणना देशका लागि एउटा महाउत्सव हो । प्रत्येक १० वर्षमा आयोजना हुने भएकाले पनि यसको सान्दर्भिकता उत्तिकै छ। सामान्यतया,  बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूकोजनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरू संकलन, प्रशोधनएवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । जनगणनाले एक निश्चित समयमा देशभित्र रहेका घर, घरपरिवार तथा व्यक्तिहरूको बारेमा महत्वपूर्ण विवरण उपलब्ध गराउँछ ।

 

देश संघीय संरचनामा प्रवेश पश्चात् नागरिकको जीवनस्तर उकास्न संघीय, प्रदेश र स्थानीयस्तरमा लैङ्गिक समानता र समावेशिताका तथ्याङ्कको ठूलो आवश्यकता छ । त्यसैगरी, संविधानमा व्यवस्था भएको मौलिक हकहरू जस्तै-महिलाको हक, दलितको हक, सामाजिक न्यायको हक, आवासको हक, बालबालिकाको हक  कार्यान्वयन गर्न र त्यसको मूल्यांकन गर्न, आम नागरिकको सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, तीनै तहको सरकारलाई वित्तीय स्रोत बाँडफाँड लगायतका आवश्यक तथ्याङ्क जनगणनाबाट उपलब्ध हुन्छ ।

 

संघीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन जस्तै– बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, प्राज्ञिक वर्ग, योजनाकार, अर्थविज्ञ, शिक्षक, विद्यार्थी लगायत सबै नागरिकलाई जनगणनाबाट प्राप्त तथ्याङ्क आवश्यक पर्दछ । तसर्थ, देश विकासको योजना तयार गर्ने प्रमुख आधार निर्माण गर्ने जनगणनाको महाअभियानले प्रत्येक व्यक्तिको सहभागिता र स्वामित्वको महत्व रहेको छ ।

 

जनगणनाको यही महाअभियानमा मलाई पनि सुपरीवेक्षकको लागि अवसर प्राप्त भयो । सुपरिवेक्षकका रूपमा काठमाडौं महानगर पालिका वडा नं १२ को भ्ब् १, २, ३ ,४ ,६ र १५ अन्तरगत कार्यक्षेत्रको जिम्मेवारी लिई भदौ ३० गतेबाट कार्यक्षेत्र पुगियो । 


काठमाडौंको मुटु मानिने उक्त ठाउँ भित्र गएर कामगर्दा लाग्यो कुनै बिकट गाँउमा छु ।जहाका मानिसले कुनै पनि सन्चार माध्यमको प्रयोगै गर्दैनन् । उनीहरुलाई जनगणना के हो केही जानकारी नै छैन यो भन्दा अघि कहिले यो बिषयमा सुनेकै छैन । 


घर सुचिकरण गर्न जाने क्रममा होस् या जनगणना गर्न जाने क्रममा 

जनगणना को लागि आएको हो भन्दा अक्सर आउने प्रश्नहरु :

 

जनगणना  किन गर्नुपर्‍यो ?

सबै बिबरण किन चाइयो ?

विवरण दिएर  के पाइन्छ र ?

सरकारले हामिलाइ के सुबिधा दिन्छ र ?

ऋण सरकारले तिरिदिन्छ र ?

बैङ्क खाता किन चाहियो ?

जागिर दिन्छ र ?

चुनाव आउन लाग्यो त्यसैले होला हैन ?

हाम्रो सबै डिटेल्स वडामै छ वडाबाटै लैजानु होस् ।

 

के का लागि हो ? किन हो ? के महत्व छ यसको ? भन्ने प्रश्नहरु सोधिन्छन् जसको उत्तर दिन हामीलाई पनि गाह्रो परेको थियो। नागरिकमा जनगणनाको वारेमा अझै चेतना र चासो छैन । त्यसका बारेमा सम्बन्धित निकाय पनि मौन छ प्राय । म ग्रामीण परिवेश, रहनसहनमा हुर्केकी भएर होला मैले खोजे जस्तो परिवेस महसुस नभएको । कतिपय अनुभवहरू मेरा लागि नौला थिए ।


जस्तो कि घरको वेल बजाएर बाटो पारि बाट चार पाँच तला माथि हेर्नु पर्ने । बल्ल चार पाँच तलाको झ्यालबाट हेरेर किन के राम्रोसंग आफ्नो कुरा राख्न नपाउदै मान्छे छैन,भोलि आउनु, अस्ति पनि आउनुभएको थियो भनेर तल ओर्लनै गारो मान्नेहरु बल्ल धेरै अनुरोध पछिओर्ले पनि प्रश्को उत्तर दिन रुचि नराख्ने धेरै भेटियो । 


सय बर्ष भन्दा पुराना घर पनि भेटयो । ७२ सालको भुकम्पले चर्किएका घरहरुमा काठको टेकोले अडाएर घरहरुमा बसोबास गरेको  भेटियो। कतिपय ठाउँहरु खुला आकाश हेर्न घरको छतै चड्नु पर्ने त कतै घरभित्र घर। ब्यस्तताले हो या सामाजिक वातावरण नभएर हो एक परिवारले अर्को परिवारको जानकारीनै छैन भन्नेहरु पनि भेटियो। 

 

कतिपय घरमा घरपरिवारको सूचीकरण र अवस्था बुझ्न घरमूलीलाई सोधिने प्रश्न र उनीहरूले दिएको भावनात्मक उत्तरले भावुक पनि बनायो । नसोधिएका कतिपय प्रश्नहरूको उत्तर उनीहरूबाटै आउने गरेको छ । वर्षौंदेखि मनमा भएका उकुसमुकुस र पीडा उनीहरूले पोख्ने अवसर पनि पाएर हो कि गुम्सेका पिडा खनिन थाल्छन् । कतिपय घरहरुमा बुढाबुढि मात्र रहेको भेटियो ।

 

घर सूचिकरण कै क्रममा राम्रोसंग बोल्न नसक्के व्यक्ति भेटियो जो व्यक्तिलाई पनि थाहाछैन जनगणना केहो भनेर, तरपनि उनले उत्साहका साथ परिवारलाई बोलाएर बिवरण दिन लगाए । त्यतिमात्र हैन छेउछाउका  छिमेकलाईसम्म बोलाएर सहयोग गरिदिए । छेउमै रहेको कुकुरले टोक्ला भनेर धपाइ दिए । उनीमा सहयोगी भावना छ तर केही गर्न सक्दैनन् । उनीसँगको केही समयको बसाइमा भावनात्मक सम्बन्ध रह्यो ।

 

कतिपयले मोबाइलको रिङटोन मार्फत जानकारी पाएको पनि बताउनुभयो। बैंक खाताहरूका बारेमा प्रश्न सोध्दा उहाँहरूमा एक प्रकारको आशा जागेको देखिन्छ । किन र रु पैसा आउँछ, राखिदिनुहुन्छ ? गरीबले केही पाइन्छ कि ? भन्ने प्रश्नहरूले मुटुमा च्वास्स घोच्छ । हुन पनि किन नहोस्। भुकम्पले भत्किएका चर्किएका घरहरु अझै बनेका छैनन् पिउने पानीको त्यस्तै अभाव छ। विभिन्न कारणले गर्दा शहरमा बस्नपर्ने वाध्यता त छदैछ ।


प्रथम चरणको घर सूचिकरणको १५ दिनको अवधिमा ती बस्तीमा घरदैलोमा पुग्दा कैयौं अनुत्तरित प्रश्नहरूले मलाई झस्काइरहेको छ । नागरिकका दुःख, पीडा, गुनासोसंग गहिरो नाता गासिन पुगेको थियो ।

 

केही सजिलो केही अप्ठ्यारो जेजस्तो गरी भए पनि आफ्नो कार्यक्षेत्रको काम म र मेरो कार्यक्षेत्रमा खटिएका गणक मिलेर सम्पन्न भएको छ। त्यस क्षेत्रका वडा अध्यक्ष, वडा सदस्य, स्थानीय वासिन्दा लगायत त्यस क्षेत्रमा अक्सर बसोवास गर्ने वासिन्दाहरु प्रति हार्दिक कृतज्ञता व्यक्त्त गर्दछु । तपाईंहरुको सहयोगले गर्दा नै त्यस क्षेत्रको जनजगणना लिन सफल भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार