वारी पारी
यात्रा चालु रहन सके
घुम्ने ठाउँ अनेक छन्
चञ्चल मनमा डुल्न सके
खुसीका मुकाम बाँकी छन्
आफू मात्र अटाउने छाती
तन्काएर कति तन्किने ?
कालो मुटुलाई लुकाएर
बोली मिठो कति पस्किने ?
सन्किएको भरमा यहाँ
रौँ हल्लिने अब कहाँ र ?
गम्किएर हिँड्दैमा अब
पछि लाग्ने को छ र ?
फुक्न सके अनि खुल्न सके
सबैको आहा अहा हुन्छ
भोटो बढी फटाउँदैमा
किन कसको सरोकार हुन्छ ?
बट्टाई लडाएको अमानवीय स्वाद
कति दिन बाँड्ने अझै ?
चिल्लो हात अनि पेडाको धाक
कसैको किन सहने अझै ?
न बाँड पण्डित्याइँ र्याखर्याख
बनिसकेका ती निशाका ख्याक
आत्मरतिको हावाले भरि
बलुनको सारथी बनेर
कहाँ कहाँ दूर जाने
पुग्ने ठाउँ नै कहाँ छ र ?
पण्डित्याइँ होइन बुद्धिले
मान्छे जनावर भन्दा माथी हो
नपत्याए सोध वृद्ध विष्णु शर्मालाई
देखे जसले चार मूर्ख पण्डितलाई
बुद्धि नाश भएको मान्छे
आकार भएको बेकार हुन्छ
इतिहास पारिको महिलारोप्य किन ?
वारीको आजको नेपालमा पनि
मूर्ख पण्डित, अङ्ग्रेजीमा 'लर्नेड फूल' को
अब कमी नै कहाँ छ र ?
प्रतिकृया दिनुहोस