• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

वातावरण संरक्षणमा संस्कृति र सम्पदाको महत्व

केही दिन अघि नेपालका एक वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गसँग भेट गर्ने मौका मिलेको थियो । कुनै समयमा संयुक्त राज्य अमेरिकाबाट सांस्कृतिक विकासमा नै स्नातकोत्तर गर्नुभएका उहाँले संस्कृतिको सम्वद्र्धन र विकासमा निकै धेरै काम गर्नुभएको रहेछ। कुराकानी कै क्रममा हामीले वातावरण सम्वद्र्धनमा संस्कृतिले खेल्ने भूमिकासम्म पनि छलफल गर्न भ्यायौँ । काठमाडौँ उपत्यकाभित्रकै कुरा गर्दा उहाँले यहाँका किराँत, लिच्छवी र मल्ल शासकहरूले उपत्यकाका टाढा टाढाका पहाडहरूमा रहेका पानीका मुहानहरूबाट कुलो खनेर त्यतिबेलाका वस्ती तथा शहरहरूसम्म ल्याएर जनतालाई पानी खुवाएको र खेतमा सिँचाई गरेका कुराहरू सुनाउनु भयो। हुनपनि त्यतिबेला पानीका मुहान जहाँ जहाँ पनि भेटिन्थे, त्यहाँबाट ससाना कुलाहरू बनाएर ठाउँ ठाउँमा पोखरी खनी पानी जम्मा गर्ने चलन पनि थियो । त्यस्ता पोखरीहरूमा वर्षातको समयमा पर्ने पानी पनि जम्मा गरिन्थ्यो।  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग केही समय अघि भेट्दा उहाँले त्यसरी टाढा टाढाबाट कुलो खनेर ल्याएको पानी अब सडकहरू र घरहरूको अव्यवस्थित निर्माणले गर्दा कुलो नै हराइसकेकोले त्यसको पुनर्निमाण पनि त्यति सम्भव छैन । तै पनि पुराना पोखरीहरूको संरक्षण, वर्षात्को पानीको भण्डारण र पानीका नयाँ मुहानहरूको पहिचान गरेर पुराना ढुङ्गेधाराहरूलाई पानी आउने बनाउने तथा पोखरीहरूमा पनि पानी जमाउने योजनाहरू अघि सारेको कुरा बताउनुहुन्थ्यो।

 

हालैको समयमा पनि धेरै मुलुकहरूले गरे जस्तै थाइल्याण्डले पनि डाँडाकाँडाका खोँचहरूमा साना साना बाँध बनाएर वर्षात्को पानी जम्मा गर्ने गरेको छ। यसो गर्नाले एकातर्फ पानीको अभाव हुनबाट निकै हदसम्म बच्न सकिन्छ भने अर्कोतर्फ खेती किसानीमा पनि यसले ठूलो मद्दत पुग्दछ र भूमिगत जल भण्डारण र हरियालीकरणमा पनि मद्दत पुग्दछ। त्यतिमात्र कहाँ हो र,थाइल्याण्डले वर्षेनी आफ्नो कूल ग्राहस्थ उत्पादनको बीस प्रतिशत हाराहारीको आम्दानी पर्यटनबाट गर्छ भने यस्तै झिना मसिना ताल, तलैया र पोखरीको सौन्दर्य हेर्न आउने विश्वभरका पर्यटकहरूबाट हुने आम्दानी पनि त्यसमा जोडिन पुगेको छ। नेपालले पनि यस्तो कुरा सिक्नुपर्ने हो तर हामी कहाँ कुना कन्दरा र भिरपाखाहरू पनि घरैघर बनेर अब त सकिन लागिसके ।तैपनि ढिलै भएपनि यस्ता राम्रा कुराहरूको अनुकरण गर्नु ज्यादै राम्रो कुरा हो ।

 

वनजङ्गल तथा रुखपातले सुख्खा हुनबाट बचाउने, चर्को घाम लाग्दा र पानी परेको बेलामा पनि ओतको काम गर्ने, स्वच्छ वायु प्रदान गर्ने, मानिसलाई आवश्यक धेरै प्रकारका घरायसी र खाद्य सामग्री उपलब्ध गराउने तथा पानीको स्रोतको पनि सम्वद्र्धन गर्ने काम गर्ने भएकोले वनजङ्गल विनास गर्नु हुँदैन बरु यसको संरक्षणमा जुट्नु पर्छ भन्ने कुरा हाम्रो भेगका मानिसले मात्र नभई विश्वका विभिन्न ठाउँहरूमा बस्ने मानिसहरूले पनि परापुर्वकालदेखि नै बुझेका थिए। ओखतीमुलो गर्न वनबाट नै जडिबुटीको जोहो गर्नुपर्ने, घर–टहरा र छेकबार बनाउन तथा खाना बनाउनको लागि वनबाट नै काठ, दाउरा र खर उपलब्ध हुने, कागज तथा मसलन्द बनाउन र वस्तुभाउलाई घाँस खुवाउन वनबाट नै स्याउला र वन तथा खोलानालाका नजिकमा हुने हरिया फाँटबाट पोसिला घाँस काटेर काम चल्ने र विभिन्न खालका फलफुल तथा कन्दमूल र बेला बेलामा मासु पनि वनबाट नै उपलब्ध हुने । त्यसैले नै विभिन्न जात तथा धर्मावलम्वीलहरूले विश्वभरी नै वनलाई पुज्ने चलन परापुर्वकालदेखि नै थियो। हिमालय क्षेत्रमा त वनदेवीको पुजा गर्ने नै चलन छ भने बटुवाहरूको लागि ठाउँ ठाउँमा कुवा खन्ने तथा पाटी पौवा बनाउने परिपाटी निकै पछिसम्म पनि थियो। वनदेवीको पुजा पनि मानव जातीको रक्षाको लागि मात्र नभई वनकै सुरक्षा, जीव–जन्तुको संरक्षण र सुरक्षा र सम्पुर्ण पारिस्थितिक प्रणाली (इकोसिस्टम) कै सम्वद्र्धनको निम्ति रहेछ। 

 

तेजेश्वरज्यूले नै काठमाडौँ उपत्यकाभित्रका मठमन्दिरहरूमा साना साना खोपाहरू बनाउने प्रचलनको बारेमा पनि निकै रोचक कुरा सुनाउनुभयो। त्यस्ता खोपाहरूमा चराचुरुङ्गीले बास पनि पाउने र तिनको शरीरमा हुने सुलसुलेहरूले मन्दिरको गारोमा गुँड बनाएर मन्दिरको संरचनानै कमजोर बनाईदिने धमिराहरूलाई पनि खाइदिने भएकोले त्यस्ता खोपा बनाइएका मन्दिरहरूमा धमिराको बासै हुँदैन रहेछ । पछि सर्वसाधारणको घरमा पनि त्यस्ता ठुलासाना खोपाहरू बनाइने गरिएको रहेछ। चराचुरुङ्गीले यसरी बास पाउने भएपछि शहर–वस्ती र खेतबारीका फोहर, किटाणु र किराहरू पनि चराहरूले खाई दिने तथा खेतबारीमा परागसेचन (पोलिनेशन) समेत गरिदिने भएकोले जनस्वास्थ्यमा बढोत्तरी हुनुका साथै कृषि उत्पादनमा पनि वृद्धि हुने रहेछ।

 

हेर्दा कुरुप देखिने कौवा (काग) ले नै पनि मुसा तथा अन्य मृत सिनाहरू खाइदिएर, कुनै किसिमको खतरा जस्तै घर–आँगनमा सर्प पस्यो भने वा कुनै अनौठो प्रकारको घुसपैठ नै भयो भने पनि निकै नमिठो श्वरले भएपनि चिच्याएर मानिसलाई सजग गराईदिन्छ । कागका यस्तै धेरै गुणहरू भएकोले नै वर्षको एकचोटी काग तिहार मनाएर उसलाई धन्यवाद दिने तथा उसको महत्व झल्काउने कामको थालनी हाम्रो संस्कृतिमा भएको होला । कुनै समय यस्तो पनि थियो, जुनबेला परेवाले चिठीपत्र आदान प्रदान गरेर हुलाकीको पनि काम गर्दथ्यो। वास्तवमा एक जीवले अर्कोको सुरक्षाको अनुभूति गराउन सक्यो भने पनि वातावरणीय संरक्षणमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ, भलै वेदले भने जस्तै एउटा जीवको अस्तित्वको निम्ति अर्को जीवको हत्या हुनु कुनै अस्वाभाविक घटना होइन । कुरा यतिमात्र हो कि सबै जीव र निर्जिवको अस्तित्वको ग्यारेन्टी पृथ्वीको सर्वश्रेष्ठ जीव मानवले गर्नुपर्ने हुन्छ ।

 

रुख, विरुवा र जीवजन्तुको महत्वले गर्दा नै ऋषिमुनिहरूले धर्मशास्त्रहरूमा विभिन्न देवदेवीका वाहनका रूपमा चराचुरुङ्गी तथा जनावरहरूको भूमिका दर्साएका होलान् र त्यस्तै पिपल, बर, बोधीवृक्ष, आँप, दुवो, तुलसी, कुश तथा अरु धेरै प्रकारका बोट विरुवाहरू रोप्न र हुर्काउन प्रोत्साहन दिएका होलान् ।

 

तेजेश्वरज्यूको एक जिज्ञासाले पनि खासै विचार नगरेको एउटा पाटोमा सोच्न वाध्य बनायो । हाम्रो भेगमा प्रकृतिलाई पुरुषको संज्ञा दिइन्छ भने पश्चिमा मुलुकहरूमा मदर नेचर भनेर महिला बनाईएको छ । त्यस्तै हामी धर्तीलाई पुरुषको रूपमा हेर्दछौँ भने नदीहरूलाई महिलाको रूपमा हेर्दछौँ । बागमती, विष्णुमती, रूद्रमती, सप्तकोशी, गण्डकी, कर्णाली, गङ्गा, यमुना आदि इत्यादि र ताल तलैयाहरू पनि । तर काठमाडौँ उपत्यकामा नै हनुमन्ते भनेर चिनिने पुरुषको नामको नदी पनि निरन्तर बगीरहेको छ भने भारतवर्षमा पनि रवि, व्यास आदी पुरुष नदीहरू पनि छन् । सूर्य, चन्द्र, शनी, वृहस्पती, मङ्गल,आगो (अग्नी), हावा (पवन) सबै पुरुष जस्ता ठान्छौँ हामी। वास्तवमा कसरी यस्तो सोच आएको होला मानवजातीको मन मस्तिश्कमा । के कवि र साहित्यकारहरूकै प्रभावले मात्र वा धर्म ग्रन्थहरूमा लोखिएकोले यस्तो छाप परेको होला त हामीमा ? खैर ।

 

मानव जातीले खेती गर्न जानेदेखि आजसम्मनै जैविक मलखादले विशेष स्थान ओगटेको छ। रसायनिक मलको विकास र उत्पादन हुन थालेको त आजभन्दा सयवर्ष जति अघिदेखि मात्र हो। जैविक मलबाट प्राप्त हुने मिथेन वा नाइट्रोजन जस्ता खेतीको लागि आवश्यक रसायनिक ग्याँसहरू अपुग हुँदै गएकोले हावाबाट त्यस्ता पदार्थहरूको संकलन गरेर रसायनिक मल बनाउन थाले पछि कृषि उत्पादनमा निकै वृद्धि हुन थालेको हो । तर यो उत्पादनको प्रकृयामा इन्धन भने प्रचुर मात्रामा खर्च हुने गर्दछ। पेट्रोलियम पदार्थ, ग्यास, बिजुली, कोइला, पारमाणुविक उर्जा आदि सबै प्रकोरका उर्जाका साधन निरन्तर बालेर तथा हावाबाट आवश्यक ग्यासहरु निरन्तर दोहन गर्नाले वायुमण्डलमा व्यापक नकारात्मक असर परिरहेको छ। एकातिर वायुमण्डल नै ध्वस्त हुने गरेर हामीले रसायनिक मलको उत्पादन गरिरहेका छौँ भने अर्कोतर्फ यसको उपयोगले कृषिमा ठूलो क्रान्ति त आयो, उत्पादन पनि बढ्यो, त्यसको साथ साथै खाद्य संटकको मोचन हुन थालेर समृद्धिको अनुभूति हुन थाले पछि विश्वमा जनसङ्ख्या पनि ह्वात्तै बढ्दै गयो । फेरि बढ्दो जनसङ्ख्यालाई खुवाउन झनै बढी प्रदुषण गरेर मल त बनाउनु नै प¥यो । उता खेतबारीमा रसायनिक मलको प्रयोग गरेर तात्कालीक रूपमा जमीनको उर्वराशक्ति बढेपनि दीर्घकालीन रूपमा वास्तवमा त्यस्ता जमीन खेतीको लागि अयोग्य हुँदै पनि गएका छन् भने त्यस्ता खेतहरूबाट बगेर गएका तथा जमीनले सोसेका रसायनहरूले भूमिगत तथा नदीनालामा बग्ने पानी पनि प्रदुषित गर्दै गएको छ। 

 

रसायनिक मल प्रयोग गर्न थालेपछि नै विश्वमा भयानक रोगव्याधीहरुबाट हुने मृत्यु बढ्न थालेको छ। हामी साना छँदा सम्म पनि क्यान्सर, ट्युमर, कलेजो र मृगौलाका रोगी निकै कम भेटिन्थे। कलेजो र मृगौलाको रोग त त्यतिबेला ज्यादा मद्यपान गर्नेहरूमा मात्र देखिन्थ्यो । तर अहिले आएर यस्ता भयानक रोगका सिकार सबै खालका मानिसहरू र जीव–जन्तुहरू हुँदै आएका छन् ।

 

यो त एउटा सानो उदाहरणमात्र हो वातावरणीय प्रदुषणको । बढ्दो कृषि र औद्योगिक उत्पादन, शहरीकरण, व्यस्त जीवनको लागि चाहिने यातायातका साधन, खानपिनका सामान तयार गर्ने आधुनिक चुला र उपकरणहरू, बढ्दो जनसङ्ख्या आदि इत्यादिले पृथ्वीको तापक्रम ह्वात्तै बढाउँदै लगेको छ भने पृथ्वीको सुरक्षा कवचको रूपमा रहेका वायुमण्डलका विभिन्न पत्रहरू पनि पातलिँदै र फाटिँदै गएका छन् । एक आंकडाको अनुसार वायुमण्डलको त्यस्तो ओजोन परतको करिव पाँच प्रतिशत जति नोक्सानी भइसकेको छ । फलस्वरूप पृथ्वी बाहिरी र भित्री दुवै प्रकारको उष्णताको शिकार हुँदै गएको छ। त्यसैले त हो नी विना मौषमको वर्षा हुने, बाढी पहिरोले वितण्डा मच्चाउने, एसिड वर्षा हुने र हिमाल तथा पहाड सबै सुख्खा हुँदै जाने । तर विगत एक डेढ दशकदेखि यस्ता कुराहरूमा खासगरी विश्वका औद्योगिक राष्ट्रहरूले निकै सजगता अपनाउन थालेकोले कमसेकम क्लोरोफ्लोरो कार्वन जस्तो वातावरणलाई ध्वस्त बनाउने ग्यासको उत्सर्जन भने निकै घटेको छ।

 

तेजेश्वरज्यूको संस्कृतिका कुराको सन्दर्भमा यति गहन र गम्भीर विषयलाई यहाँ समावेश गर्नुको मुख्य कारण के हो भने, विश्वका विभिन्न ठाउँका प्राचीन संस्कृतिले जोगाएर राखेको विश्व वातावरणलाई आधुनिकताले ध्वस्त बनाइ दिएको परिप्रेक्ष्यमा त्यस्ता प्राचीन सभ्यताहरूले भावी सन्ततीहरूका लागि छोडेर गएका हेर्दा साना र सरल देखिने संस्कारहरू नै आज विश्वको वातावरणको रक्षा गर्ने साधन हुन सक्दछन् । आधुनिक प्रविधिलाई पनि हामीले प्राचीन सम्पदा र संस्कार सुहाउँदो तवरले उपयोग गर्नु उत्तम हुन्छ भने सकेसम्म जता जता व्यावहारिक हुन सक्छ, हामीले प्राचीनकालदेखि चलिआएका हाम्रा सरल चालचलन, रितिथिति र संस्कारको उपयोग गरेर जीवनलाई जटिल र खतरनाक हुनबाट जोगाउनु पर्दछ। आज हामी चीन, भारत, कोरिया, जापान, अष्ट्रेलिया र युरोपका कैयन् मुलुकहरूको उदाहरण लिन सक्दछौँ कि यी मुलुकहरूले वातावरणीय संरक्षण र सरल जीवनशैलीको निम्ति कसरी प्राचीन र आधुनिक प्रविधि र सभ्यताको एक प्रकारको सम्मिश्रण गरेर समाजलाई अघि बढाउँदै छन् भनेर।

 

विश्वका विभिन्न ठाउँहरूमा कति तेजेश्वरबाबु ग्वङ्ग, सत्यमोहन जोशी, हुतराम वैद्य, सुन्दरलाल वहुगुणाहरू र तिनका अनुयायीहरू होलान् जसले अनवरत रूपमा वातावरण, संस्कृति, सभ्यता र संस्कारको सही सदुपयोगबाट समाज र विश्वलाई एक स्वच्छ स्थल बनाएर अघि बढाउनु पर्छ भनेर आवाज उठाइरहेका होलान् । तिनीहरूसँगै हातेमालो गरेर समाजको प्रत्येक अभियन्ताले, संघ–संस्थाले र सरकार तथा सबै राष्ट्रहरुले नै पृथ्वीलाई एक स्वर्गको रूपमा विकास गर्छौँ भनेर लागि परेमा आधुनिकता र विज्ञान प्रविधिको प्रचुर उपयोग गरेर पनि यो धर्तीलाई एक सुन्दर स्थल र भावी सन्ततीको लागि पनि स्वर्गीय आनन्दमै जीउने स्थल बनाउने सक्ने थियौँ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार