• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

पिङपङ कूटनीतिको पचास वर्ष

सन् १९७२ को फेब्रुअरी महिनाको तेस्रो साता । बेइजिङस्थित ग्रेट हल अफ द पिपलको भव्य सजावट सहितको वातावरणमा पहिलो चोटी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनी कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङ एउटै टेबुलमा बसेर रात्रीभोजको आनन्द लिँदै थिए । उनीहरूको साथमा चीनका प्रधानमन्त्री चाउ एनलाई र अमेरिकी विदेशमन्त्री हेन्री किसिन्जर तथा दुवै देशका अन्य उच्च पदस्थ व्यक्तिहरु पनि ठूलै संख्यामा उपस्थित थिए । निकै सौहाद्रपूर्ण र रमाइलो वातावरणमा आयोजित त्यो रात्रीभोजको रौनक र खुशहाली देख्दा यस्तो लाग्दथ्यो कि यी दुई देशहरूबीच निकै लामो र निकट सम्बन्ध छ । तर वास्तवमा लामो समयसम्म पानी बाराबार गरेर बसेका दुई विशाल राष्ट्रका राष्ट्राध्यक्षहरू थिए यी ।

 

रात्रीभोजमा चीनीया खानासँग आफु ज्यादै परिचित भएको प्रमाण दिन र आफ्ना समकक्षीहरूलाई खुशी पार्न भनेर राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमणभन्दा दुई महिना अघिदेखि नै चीनीया परिकारहरूबारे राम्रो जानकारी राख्न थालेको र चपस्टिक चलाउन पनि सिकेका रहेछन् । भातका साना साना सीता पनि चपस्टिकले खान सक्ने चीनीयाहरु उनले चपस्टिकको मद्दतले खाना खाएको देखेर निकै अचम्मित र खुशी पनि भएका थिए रे । त्यस्तै अध्यक्ष माओले टाढाको अर्को राउण्ड टेबलमा बसेर खानाको साथमा अलिक शालिन तवरले गफिँदै गरेका उनका प्रतिद्वन्दीमा गनिएका तेङ सियावो पिङलाई इङ्गित गर्दै निक्सनलाई टुटे फुटेको अङ्ग्रेजीमा ‘डु यु सि द्याट लिटल म्यान ? भेरी इन्टेलिजेन्ट !’ भनेका थिए रे । आफुसँग कुरा नमिलेकोले मर्यादाक्रम र जिम्मेवारीमा पछाडि पारिएका तथा दर्जनौँ उपप्रधानमन्त्रीहरू मध्येका एक व्यक्ति तेङको खुबीको बारेमा पनि माओ ज्यादै नै परिचित रहेछन् र वास्तवमा उनको कदर पनि गर्दा रहेछन् । आखिर माओको निधन भएको केही अवधि पछि तिनै तेङको नेतृत्वमा चीनले मुलुकको सर्वाङ्गिण विकासमा ठूलो फड्को मारेर अद्भुत विकास गर्न सक्यो र आजको अवस्थामा पुग्यो पनि । भयानक गरिवीबाट गुज्रिएको घना जनसङ्ख्या भएको विशाल चीनले सानो अवधिमा पत्यारै नलाग्ने गरी गरेको यति धेरै विकास विश्वका आठ आश्चर्य भन्दा पनि आश्चर्यजनक हुन गएको छ ।

 

सोही रात्रीभोजको अन्ततिर खाना खाने काम सकिएपछि हात धुन भनेर ल्याइएका बाउलमा भएको तातो पानी र कागतीका टुक्राहरु निक्सन र किसिन्जर वाहेकका उच्च अमेरिकी पदाधिकारीहरूले थाहा नपाएर कुनै परिकार नै सम्झेर पिएको घटना पनि त्यतिबेला ठूलो समाचार बन्न पुगेको थियो ।

 

सन् १९४९ मा चीन जनगणतन्त्र घोषित हुँदासम्म त्यहाँ गरिवीले पराकाष्ठा नै नाघेको अवस्था थियो । धनीहरूसँग अथाह धन थियो भने गरिवहरू ज्यादै नै गरिव थिए । गरिवहरूको जीवन दासहरू समानकै थियो । त्यो बेला चीनलाई एक कम्युनिष्ट राष्ट्रमा परिणत गरेर चाउ एनलाई तथा अन्य अति विद्वान व्यक्तिहरूको सल्लाह वमोजिम माओले करिव दुई दशकको समयमा त्यहाँबाट गरिवी र भोकमरी हटाउन सफल भएकै हुन् । त्यस्तै प्राकृतिक प्रकोप, सुख्खा, बाढी, पहिरो आदिबाट प्रत्येक वर्ष मर्नेहरुको संख्या पनि विभिन्न विशाल आयोजनाको मद्दतले कम गर्दै लग्न सफल भएको हो भने मुलुकको आधारभूत विकास र पुर्वाधारहरूको विकासमा पनि माओको समयमा निकै धेरै कामहरू भएका हुन् । तर उनको जीवनको पछिल्लो समयमा उनले गरेका भुलहरू जस्तै सांस्कृतिक क्रान्ति, शत्रुहरूको सफाया र आर्थिक विकासका गलत तरिकाहरूको अवलम्बन आदिले गर्दा चीन केही वर्ष पछाडि पर्न गयो । यस्तो अवधिमा पनि चाउ एनलाई जस्ता समझदार र विद्वान व्यक्ति मुलुकका प्रधानमन्त्री रहेकाले उनले माओलाई मनाएर ठीक बाटोमा चल्न निकै मद्दत गरे। 

 

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त भएपछि सो युद्धका मुख्य विजयीहरू संयुक्त राज्य अमेरिका र सोभियत रूसबीच बिस्तारै शितयुद्ध शुरू हुन थाल्यो । यी दुई राष्ट्रमध्ये कसले विश्वको नेतृत्व लिने, कुन देशले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने भन्ने जस्ता कुरामा दुई देशबीच ठूलो प्रतिष्पर्धा हुन थाल्यो । अमेरिका पूँजीवादी राष्ट्रहरूको नेता हुन पुग्यो भने सोभियत संघ माक्र्सवादी र समाजवादी सिद्धान्तको प्रचारमा जुट्यो र विश्वमा कम्युनिष्ट क्रान्तिलाई बढावा दिन खुला रूपमा लाग्यो । फलस्वरूप पूर्वी युरोपमा बलजफ्ती नै कम्युनिष्ट शासन प्रणालीको शुरूवात भयो भने जर्मनी दुई भागमा विभाजित भयो । त्यस्तै मध्यपूर्व, अफ्रिका,ल्याटिन र दक्षिण अमेरिका तथा दक्षिणपुर्वी एशियासम्म पनि कम्युनिष्ट शासन व्यवस्था फैलिन थाल्यो ।दक्षिण एशियामा पनि विभिन्न किसिमका कम्युनिष्ट पार्टीहरू खुल्न र क्रान्तिहरू हुन थाले । कम्युनिष्ट व्यवस्थानै ल्याउन नसकेका धेरै मुलुकहरूबा राजा–महाराजाहरू चाहिँ विस्थापित भए ।

 

सन् १९१२ मा चीन एशियाको पहिलो गण्तन्त्रात्मक राष्ट्र हुन पुग्यो । सन् १९२९ ताका नै सबै प्रकारका औपनिवेशिक शासन प्रणालीबाट मुक्त भएको चीन जापानको हैकमबाट पनि १९४५ देखि पूर्ण रूपले मुक्त भएको हो । माओत्से तुङको नेतृत्वमा चीनीया कम्युनिष्ट पार्टीले जनक्रान्तिको क्रममा सबैभन्दा पहिला आफ्नो मुलुकमा आक्रमण र हस्तक्षेप गर्ने विदेशी शत्रुसँग लड्नु पर्ने रणनीति बनाएर जापानलाई खदेडेपछि च्याङकाई शेकको फौजसँग लड्ने बेलासम्म चीनका गाउँ गाउँमा चीनी जनसेना निकै लोकप्रिय भइसकेका थिए भने तिनको संख्या पनि ज्यादै बढिसकेको थियो । आखिर केही नलागेर १९४९ अक्टोबरमा च्याङकाई शेक आफ्ना समर्थकहरूलाई लिएर चीनको मूख्य भूमि सदाका लागि छोडेर दक्षिणी तटमा अवस्थित नेपालको पनि एक चौथाई भन्दा कम मात्र क्षेत्रफल भएको फर्मोसा टापुमा गएर ताइवान भन्ने नयाँ राष्ट्र बनाएर शासन गर्न थाले । चीनमा उनको शासन रहेदेखि नै उनलाई सहयोग गर्दै आएको अमेरिकाले पनि ताइवानलाई तत्कालै समर्थन गरेर चीनले ताइवानमा हमला गरेमा अमेरिका चुप लागेर नबस्ने कुराको घोषणा ग¥यो भने चीनमाथि त आर्थिक नाकाबन्दी नै लगायो । आर्थिक विकासकै कुरा गर्दा ताइवान आज एक विकसित राष्ट्र बनिसकेको छ तर पनि चीनले आजसम्म उक्त भूमिमाथिको आफ्नो अधिकार त्यागेको छैन ।

 

सन् साठीको दशकमा सोभियत संघको मद्दतले विश्वका धेरै राष्ट्रहरूमा क्रान्ति र सैनिक विद्रोहको रूपमा समेत समाजवादी सरकारहरू गठन हुन थालेपछि अमेरिका लगायत उसका हिमायती पुँजीवादी राष्ट्रहरूमा आतङ्क र चरम हतोत्साह नै छाएको थियो । क्युवाको कारण त झण्डै झण्डै अमेरिका र सोभियत संघबीच ठूलै भिडन्त हुन लागेको थियो । परमाणु बमले सुसज्जित यी दुवै शक्ति राष्ट्रहरूको पंक्तिमा बिस्तारै चीन पनि आउन थालेपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरू झनै झस्किन थालेका थिए । त्यतिबेला जर्मनी, कोरिया, यमन, भियतनाम आदि मुलुकहरू कम्युनिष्ट र पूँजीवादी दुई राष्ट्रमा विभाजित भएका थिए । चीनलाई घेरा हाल्ने प्रयत्न स्वरुप अमेरिकाले दक्षिण कोरिया, जापान, ताइवान, दक्षिण भियतनाम, थाइल्याण्ड, फिलिपिन्स आदि राष्ट्रमा आफ्ना सैनिक नै तैनाथ गरेको थियो र दक्षिण कोरिया, जापान र ताइवानमा त उनिहरूको सेनाको तैनाथी अझसम्म पनि छँदैछ ।

 

यता सोभियत संघ र चीन दुवै कम्युनिष्ट राष्ट्र भएका भए पनि चीनले आफु सोभियतहरू भन्दा भिन्दै खालको कम्युनिष्ट भएको कुराको पुष्टि गर्न चाहन्थ्यो र सबैजसा कम्युनिष्ट विचारधारा राख्ने मुलुकहरुमा सोभियत र चीनी खेमाहरू पनि बन्न थाले र यसरी उनिहरू विभाजित पनि भए । दक्षिण एशियामा भारत सोभियत संघसँग नजिक थियो र १९६२ मा उसले चीनसँग लडाईँसमेत गरेर पराजय भोग्नु परेको थियो भने पाकिस्तान चीनसँग त्यतिबेलादेखि आजको दिनसम्म पनि ज्यादै नजिक छ भने त्यतिबेला उसको अमेरिकासँगको सम्बन्ध पनि ज्यादै प्रगाढ थियो । यही कारणले गर्दा अमेरिका र चीनको सम्बन्ध सुधार गर्न पाकिस्तानले मध्यस्थकर्ता र सूचना तथा सन्देश आदान प्रदान गर्ने काममा पनि त्यतिबेला निकै अहम् भूमिका निर्वाह गरेको थियो ।

 

वाटरगेट काण्डमा परेर राष्ट्रपति जस्तो गरिमामय पदसमेत छोड्न वाध्य बनाइएका अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन वास्तवमा निकै दुरदर्शी र कुशल राजनेता थिए । विश्वका दुवै विशाल कम्युनिष्ट राष्ट्रहरूसँग एक साथ शत्रुता मोलेर बस्नु भन्दा एकापसमा चिसो सम्बन्ध बोकेर बसेका सोभियत संघ र चीन मध्ये चीनसँग सुमधुर सम्बन्ध कायम गर्न सके सोभियत संघ केही हदसम्म कमजोर पनि हुन जाने थियो भन्ने विचार बनाएका निक्सनले विभिन्न तवरले चीनसँग सम्बन्ध सुधार्न कोशिशहरू गरे र ‘जनवादी गणतन्त्र चीन’ भनेर चीनको आधिकारिक कम्युनिष्ट पहिचानको नाम एक अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलो पटक लिएका पनि थिए । उनी राष्ट्रपतिको चुनावको निम्ति छानिने बित्तिकै नै आफु अमेरिकी राष्ट्रपति भएको खण्डमा चीनसँग राम्रो सम्बन्ध बनाउने कुरा उनले बताएका थिए । चीनका प्रधानमन्त्री चाउ एनलाईले त सन् १९५५ को बाङडुङ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नै चीनीया जनताले अमेरिकासँग लडाई गर्न नचाहेको र दक्षिणपूर्वी एशिया र ताइवानबारे वार्तामा बस्न सधैँ तयार रहेको कुरा बताएका थिए ।

 

निक्सन र चीनका उच्च पदाधिकारीहरूले एक अर्कासँग भेट गर्न गरेका इच्छाहरूको शुरुवात सन् १९७१ को अप्रिल महिनामा जापानको नागोयामा भएको अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामाभाग लिन दुवै मुलुक तयार रहेबाट भएको थियो । सो प्रतियोगितामा चीनीया खेलाडिहरू सहभागी गराउने कुराको टुङ्गो प्रधानमन्त्री चाउ एनलाई स्वयम्ले गरेका थिए । दुई देशका खेलाडी र खेल पदाधिकारीहरूबीच हुने सौहाद्र्रताबाट नै दुई देशका उच्च पदाधिकारीबीच भेटघाट हुन सक्ने विश्वास लिइएको थियो । त्यतिबेला चाउ एनलाईले ‘जब चीनका खेलाडीहरू पश्चिम जर्मनीमा गएर टेबुल टेनिस प्रतियोगितामा भाग लिन सक्छन र सम्बन्ध पुनस्थापना गर्नुभन्दा पहिले नै जापानमा खेल्न जान सक्छन् भने अमेरिकामा गएर खेल्न जान किन सक्दैनन् वा अमेरिकी खेलाडी चीनमा आउन किन सक्दैनन् र’ भनेका थिए त्यतिबेला ।

 

नागोयाको सो पिङपङ प्रतियोगिता पश्चात चीनियाँ टोली नेतालाई अमेरिकी टोली नेताले अमेरिकनहरूलाई चीन भ्रमण गर्न त्यहाँको सरकारले गरेको निशेधाज्ञा फिर्ता लिएको कुरा बताएछन् र सो कुरा तत्कालै जापानस्थित चीनीया राजदूतावास मार्पmत चीन पठाइएछ । इन्डोचाइनाको युद्ध र अशान्तिको यस्तै समय  तिर अध्यक्ष माओका अमेरिकी मित्र एड्गर स्नोसँगको भेटमा पनि उनले आफु निक्सनलाई स्वागत गर्न इच्छुक रहेको र सो भेटमा अमेरिकासँग चित्त नबुझेका सबै कुरा खुलस्तसँग गर्ने कुरा बताएका रहेछन् । नागोयामा अमेरिकी र चीनीया पिङपङ खेलाडीहरू बीच भएका खेलहरू पश्चात यस्ता खेल र मायाका चिनो साटासाट गर्ने कार्यक्रम बरोबर हुन थालेछ । एक पटक अध्यक्ष माओले अमेरिकी खेल टोलीले चीन भ्रमण गरेर पिङपङ खेल्ने इच्छा गरेको कुरा थाहा पाएर उनिहरूलाई अमेरिकी नेताहरू सहित छिटै निम्तो गर्ने निधो गरेछन् । यही सिलसिलामा एक अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको आयोजना गरेर अन्य मुलुकहरूका खेलाडिहरू सहित चाउ एनलाई आपैmले अमेरिकी खेल टोलीको पनि स्वागत गरे ।

 

यसरी विकसित हुँदै गएको अमेरिका र चीनको सम्बन्धलाई सुधार गर्दै लग्न अमेरिका र चीन दुवै देशहरूले त्यतिबेला आफ्नो मुलुकसँग निकै राम्रो सम्बन्ध भएको पाकिस्तानको मद्दत लिएका थिए भने पाकिस्तानले पनि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको निम्ति धेरै पटक पहल गरिदिएको थियो । आखिर सन् १९७२ को फेब्रुअरी २१ देखि २८ तारिखसम्म अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले विदेश मन्त्री हेन्री किसिन्जर सहित चीनको ऐतिहासिक भ्रमण गरे । अमेरिका र चीनको सम्बन्धलाई सुधार गरेर नयाँ आयाममा पु¥याउन यी दुई महान् हस्तीहरू र पिङपङ डिप्लोम्यासीको ठूलो भूमिका रहेको छ । रिचर्ड निक्सनले रोनाल्ड रेगन राष्ट्रपति भएको बेलामा आफु चीनको राजदूत हुन इच्छुक भएको कुरा व्यक्त गरेका थिए तर उनको यो सपना साकार हुन सकेन ।

 

पिङपङ डिप्लोम्यासीले दुई दशकसम्म जमेर बसेको अमेरिका र चीनबीचको चिसो सम्बन्धमा सुधार ल्याउन ठूलो मद्दत पु¥याएको थियो । यसैको कारण चीनको अन्य पुँजीवादी मुलुकहरूसँगको सम्बन्ध समेत सुध्रिन थाल्यो भने संयुक्त राष्ट्र संघमा उ फेरी एक महत्वपूर्ण मुलुकको रूपमा गनिन थाल्यो । सन् १९९१ मा जापानको सिवामा आयोजित अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा उत्तर र दक्षिण कोरियाले संयुक्त रूपमा भाग लिएर महिला तर्पmको खेलमा विजयी भए पश्चात दुवै कोरियाका गरी सातकरोड कोरियालीहरूले सामुहिक रूपमा विजयको खुशियाली मनाएका थिए । दुई कोरिया बीचको एकिकरणको निम्ति भएका त्यसपछिका पहलहरूलाई प्रोत्साहित गर्न सो पिङपङ कूटनीतिले पनि ठूलो भूमिका खेलेको थियो ।

 

यो वर्ष पिङपङ कूटनीतिले सफलता पाएको ५० वर्ष पुगेको छ । हाल आएर अमेरिका र चीनबीच पुनः त्यसपछिको सबैभन्दा ठूलो शीतयुद्ध शुरू भएको छ । शङ्का, उपशङ्का र इष्र्याले पैदा गरेको अमेरिका र चीनको हालको वाकयुद्धमा अमेरिकाले पुनः दक्षिण कोरिया, जापान, र ताइवानको सक्रिय सहभागितामा चीनलाई घेर्ने रणनीति लिएको छ भने उसलाई यसपाली भारत र अष्ट्रेलियाले पनि खुलेआम समर्थन र साथ दिएका छन् । तर आजको चीनले यति धेरै प्रगति गरिसकेको छ र उ भौतिक रूपले पनि यति विशाल क्षेत्रफल र जनसङ्ख्या भएको मुलुक छ कि उसलाई सजिलैसँग पराजित गर्न अब सजिलो छैन । भारतले पनि सोच्नु पर्ने कुरा के छ भने उ आपैm पनि एकाध दशकमा चीनले जस्तै विकासमा फड्को मार्न सक्ने विशाल मुलुक हो र त्यतिबेला आजका विकशित र शक्तिशाली मुलुकहरूले उसको पनि यसैगरी इश्र्या गर्ने छन् ।  बरू भारत वा अरू कुनै महत्वपूर्ण मुलुकले नै अमेरिका र चीनबीच चलिरहेको आजको द्वन्द्वलाई पिङपङ डिप्लोम्यासीकै अर्को संस्करण मार्पmत समाधान गरिदिन सके सुनमा सुगन्ध रहने  थियो ।

 

आज पिङपङ डिप्लोम्यासीका महान् नायकहरू माओत्से तुङ, चाउ एनलाई र रिचर्ड निक्सन यस धर्तीमा नभए पनि हेन्री किसिन्जर भने अभैm पनि ९८ वर्षको उमेरमा सक्रिय नै छन् । हालैमात्र उनले विभिन्न सञ्चार माध्यमहरूमा आफुले त्यतिबेला दुई देशहरुबीचको द्वन्द्व समाधानमा केही भूमिका खेल्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यी सबै हस्तीहरूको नाम इतिहासमा सुनौलो अक्षरले लेखिइरहने छ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार