• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

मधुमेहले बढ्दैछन् मिर्गौला रोगी

काठमाडौं । मधुमेहका रोगीको संख्या बर्सेनि बढ्दै जाँदा यसले मिर्गौला बिग्रने जोखिम थप्दै जाने जोखिम रहेको चिकित्सकहरूले बताएका छन।

 

समयमै नियन्त्रणमा ल्याउन नसके आगामी १० वर्षमै यसको असर ठूलो देखिने उनीहरूको भनाइ छ। मधुमेहका बिरामीले उचित तरिकाले यसकोे उपचार तथा नियन्त्रणमा ध्यान नदिँदा यसको असर थप हुने मिर्गौला रोगसम्बन्धी विज्ञको भनाइ छ।

 

विश्वभर नै बढ्दो क्रममा रहेको मधुमेहका बिरामी नेपालमा पनि बढ्दै गएका छन्। ‘अहिले सुरु भएका मधुमेहका रोगीको उचित उपचार नपुगेमा अबको १० वर्षमा धेरैको मिर्गौला बिग्रिने देखिन्छ,’ वीर अस्पतालका इण्डोक्राइनोलोजिष्ट डा। बुद्ध कार्कीले भने। नेपालमा सहरीकरण र आधुनिक जीवनशैलीले मधुमेहको समस्या बढ्दै गएको र यसले मिर्गौला र शरीरका अन्य अंगसमेत बिग्रिने स्थिति रहेको उनले बताए।

 

पहिला सहरमा सीमित यो रोग अहिले गाउँमा पनि गएको पाइएको छ। सहरीकरण र आधुनिक जीवनशैली अपनाउन थालिएका कारण टाइप टु (वंशाणुगत नभई पछि हुने) मधुमेहका बिरामी बर्सेनि बढेको अल्का अस्पतालका वरिष्ठ इण्डोक्राइनोलोजिष्ट डा।अंशुमाली जोशी बताउँछन्।

 

शारीरिरक व्यायमविनाका चिल्लो र गुलियो पदार्थ उत्पादन हुने खानेकुराको प्रयोग, तयारी अस्वस्थकर खानेकुराको बढ्दो प्रयोग, पेयपदार्थ, कार्बोहाइडेटजन्य खानेकुराको बढी प्रयोगले टाइप टु मधुमेहको समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

 

चिकित्सकका अनुसार हामीले खाएको खानेकुरालाई मेटाबोलिजममा रूपान्तरण गर्नको लागि हाम्रो शरीरमा इन्सुलिन नामक हर्मोनले काम गर्छ। शरीरमा ग्लुकोजको मात्रा बढी भएमा इन्सुलिन हर्मोनले काम गर्न सक्दैन। यो हर्मोनले काम नगरेमा मधुमेहको समस्या हुन्छ।

 

पहिलो प्रकारको मधुमेह वंशाणुगत कारणले हुन्छ भने दोस्रो प्रकारको मधुमेह खानेकुरा र अस्वस्थकर जीवनशैलीका कारण हुने गर्दछ। हाल नेपालमा दोस्रो प्रकारको मधुमेह तीव्र रूपमा वृद्धि हुँदै गइरहेको डा। जोशीले बताए।

 

शरीरमा मधुमेहको वृद्धि भएमा कतिपयलाई लक्षण देखिन्छ भने कतिपयमा लक्षण नदेखिने हुनाले हरेक व्यक्तिले रगतको परीक्षण नगरेसम्म आफूलाई मधुमेह भएको कुरा थाहा नपाउँदा पनि मधुमेहले मिर्गौला, मुटु, खुट्टाका नशा,तथा आँखालगायत अंगहरू बिगार्छ। तर समयमै पहिचान गरी उपचार गरेमा मधुमेह नियन्त्रणमा राख्न सकिन्छ। मधुमेहमा इन्सुलिनको धेरै कमी भएको अवस्थामा औषधिको प्रयोगले नियन्त्रणमा राख्न सकिन्छ।

 

नेपालमा एकपटक मधुमेह भएका बिरामीले लापरवाही गरी नियमित उपचारमा नबस्ने र औषधि बीचैमा छोडने कारण, कतिपयले ढिला गरी मात्र मधुमेह पहिचान गर्ने कारण नेपालमा मधुमेहको कारण पछिल्लोसमय मिर्गौलाले काम नगर्नेको संख्या बढिरहेको डा। कार्की बताउँछन्। ‘दुर्गमका बिरामी एकपटक औषधि लिएर गएपछि उपचार भएको ठानी समयमै उपचारमा पुग्दैनन, यो कारण मिर्गौला बिग्रिरहेको छ,’ डा। कार्कीले भने।‘अहिले पनि मधुमेह भएपछि नियमित उपचारमा नबस्ने बिरामी धेरै छन्, जसको पछि गएर मिर्गौला अन्य अंग बिग्रिसकेको हुन्छ,’ डा। जोशीले भने। टाइप टु को मधुमेहमा जीवनशैली परिवर्तन गरेर पनि मधुमेह बढनवाट रोक्न सकिन्छ। तर चिकित्सकको नियमित निगरानीमा उपचार गर्नुपर्छ।

 

नेपालमा कुल जनसंख्याको आठ दशमलव पाँच प्रतिशतमा मधुमेहको समस्या छ। अस्पतालमा आएका बिरामीमध्येमा ४० प्रतिशतमा मधुमेहको समस्या रहेको तथ्यांक छ। नेपालमा बर्सेनि कति संख्याको दरले मधुमेहका बिरामी बढिरहेका छन् भन्ने विषयमा यकिन तथ्यांक छैन।

 

विश्वभर ४४ करोड मानिसमा मधुमेहको समस्या छ। यो संख्या सन् २०२५ सम्ममा ७० करोड पुग्ने अनुमान छ। नेपालमा २० वर्षमाथिका पाँच लाख ५२ हजार मानिस यो समस्याबाट ग्रस्त छन्। केही वर्षअघिसम्म नेपालमा मधुमेह कुल जनसंख्याको तीन दशमलव आठ प्रतिशत थियो, अहिले आठ दशमलव चार प्रतिशत छ।

 

जुनसुकै कारणले मधुमेह भएको भए पनि चिकित्सकको नियमित निगरानीमा उपचार गरी स्वस्थ जीवनशैली अपनाएमा मधुमेहले मुटु, मिर्गौला, नशा, आँखालगायतका अंगलाई हानि गर्नबाट बचाउन सकिने चिकित्सकको सुझाव छ।

 

गलत जीवनशैलीको कारण दोस्रो प्रकारको मधुमेह हुने हुनाले पहिलोपटक मधुमेह भएको थाहा पाउनबित्तिकै हरेक व्यक्तिले पोषणविदको सुझावअनुसार दैनिक खानाको तालिका अनुसार भोजनको प्रयोग,दैनिक व्यायम र तनावरहित जीवनशैली, महिना या तीन महिनाको एकपटक मधुमेहको परीक्षण गर्ने जस्ता सावधानी अनपाएमा अन्य अगं बचाउन सकिन्छ।पवित्रा सुनार/नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार