• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

सुडानमा 'सैन्य कू' को विरोधमा भएका प्रदर्शनमा सातको मृत्यु, कैयौँ घाइते

काठमाडौं । सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ।

 

सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए।

 

सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ। सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ।

 

'कू' को नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन्। सुडानमा लामो समय शासन गरेका ओमार अल-बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ।

 

सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेको बीबीसी अरेबिकका मोहम्मद ओस्मानले बताए।

 

एक जना घाइतेले बीबीसी संवाददातालाई सैन्य मुख्यालयबाहिर सेनाले आफ्नो खुट्टामा गोली हानेको बताए। अर्का एक मानिसले सेनाले पहिला स्टन ग्रिनेडहरूको प्रयोग गरेको र त्यसपछि गोली चलाएको भन्दै घटनाको व्याख्या गरे।

 

'दुई जना मरेको मेरै आँखाले देखेँ,' अल-ताएब मोहमद अहमदले भने। सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन्।

 

घाइतेहरू रगत पच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन्। बीबीसी संवाददाताले हिंसा भए पनि प्रदर्शनकारीहरूले पछि हट्ने सङ्केत नदेखाएको बताए।

 

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पुर्‍याएका छन् र टायर बालेका छन्। थुप्रै महिलाहरू पनि 'सैन्य शासन चाहिँदैन' भन्दै नारा लगाइरहेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार