• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

मनसुनपछिको वर्षाले महँगी बढाउने

मनसुनपछिको वर्षाका कारण सडक, पुलपुलेसा तथा कृषिमा पारेको असरले चालू आर्थिक वर्षमा महँगी बढ्ने अर्थविद्हरूको भनाइ छ ।


कात्तिक महिनाको पहिलो साता परेको अविरल वर्षाले सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा मात्र नभई धान खेती डुबाउँदा खाद्य संकट निम्तिने खतरा तथा आयात उच्च हुने कारण तत्काल र दीर्घकालीन रूपमा नै वस्तु तथा सेवाको मूल्यवृद्धि भई सरकारले राखेको मुद्रास्फीतिको लक्ष्यभन्दा बढी हुने देखिएको उनीहरूको भनाइ छ ।

 

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालू आर्थिक वर्षमा ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य राखेको छ । तर, मनसुनपछि अचानक आएको वर्षाले सरकारले मुद्रास्फीति आफ्नो लक्ष्यभित्र राख्न कठिन हुने अर्थविद्हरूको भनाइ छ ।


यसै पनि महँंगी बढिरहेको समयमा बाढी पहिरोको प्रकोपले मूल्य वृद्धिमा थप असर गर्ने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । “अहिले पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायातदेखि खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ,” उनी भन्छन्, “यस्तो अवस्थामा बाढी पहिरोको प्रकोपले ढुवानीमा असर गर्दा महँगी झनै बढ्ने देखिएको छ ।”


बाटोघाटो बिग्रिँदा आपूर्ति व्यवस्थामा ठूलो नोक्सान गर्ने र यसले सरकारको राजस्वदेखि निजी क्षेत्रको लगानी समेतलाई असर गर्ने पनि खनालको तर्क छ । यसले आमजनताकै क्रयशक्ति र जीवनस्तरमा नै प्रभाव पार्ने उनी बताउँछन् । “अहिलेको प्रकोपले अर्थतन्त्रका विभिन्न क्षेत्र जस्तै कृषि, उद्योग पूर्वाधारदेखि विभिन्न पेशा व्यवसायलाई नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो प्रतिकूल असर पर्छ,” उनले भने ।


अहिले विश्वव्यापी रूपमा नै उत्पादन घट्ने मूल्य बढ्ने चक्रले चुनौती थपेको समयमा यो प्रकोपले नेपालमा झनै बढी प्रभाव पर्ने उनको तर्क छ । “बाढी पहिरोको प्रकोपले उत्पादन घट्ने, आपूर्ति व्यवस्थालाई खलबलाउने र त्यसले मूल्य वृद्धि बढ्ने र थप जीवनयापन मर्कामा पर्ने स्थिति आउँछ,” उनले भने ।


अर्थविद् डा. गोविन्द नेपाल पनि अहिलेको बाढी पहिरोले तत्काल र दीर्घकालमा नै असर पर्ने बताउँछन् । “तत्कालीन रूपमा ढुवानी हुन नसक्दा तरकारी फलफूलहरूको मूल्य बढ्ने र नबढे पनि व्यापारीहरूले त्यसको बहानामा मूल्य वृद्धि गर्ने गर्छन्,” उनी भन्छन्, “दीर्घकालीन रूपमा हेर्ने हो भने बाढीले यस वर्षको धानबाली सखाप पारेकाले धानको अभाव हुनसक्ने र त्यसले मूल्य वृद्धि हुने देखिन्छ ।”
तर, यसले मुद्रास्फीतिको ‘फिगर’लाई भने खासै असर नगर्ने उनको तर्क छ । “केन्द्रीय बंैकको मुद्रास्फीतिको तथ्यांक र उपभोक्ताले अनुभव गरेको मुद्रास्फीतिको तथ्यांक नमिल्ने भएका कारण अंकमा खासै असर पर्छ जस्तो लाग्दैन ।”


त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारी पनि यसले मूल्य वृद्धिमा खासै असर नगर्ने बताउँछन् । “व्यापारीले बाटो अवरुद्ध भएको छ भनेर मूल्य बढाउनु फरक कुरा हो । तर पहिलेकै स्टक रहने भएकाले ढुवानीमा तत्काल परेको असरले मूल्य वृद्धि हुँदैन,” उनले भने । बरु धान डुबाउँदा खाद्यान्नको गुणस्तर र उत्पादन पनि घट्ने भएका कारण चामलको उत्पादन महंँगो हुनसक्ने उनको तर्क छ ।

 


नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा मुद्रास्फीति ३.६० थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ६.०५ रहेको थियो । वर्तमान सरकारले चालू आर्थिक वर्षका लागि ६.५ प्रतिशतभन्दा बढी मुद्रास्फीति नबढ्ने लक्ष्य राखे पनि महँगीले केही न केही प्रभाव पार्ने देखिन्छ ।सुमित सुवेदी / कारोबार 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार