• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

दुई किलो चामल 

         “ ओहो त्यो बालकलाई फेरी कहाँ भेटिन्छ ?”

 

– “ यही टोलको होला !”

‘होइन होला । त्यसपछि उसलाई कहिल्यै देखिएन । ”

 

–   “ नचिनेको पो हो की ।”

“त्यो पनि हुन सक्छ ।”

 

यो संवाद भएको चार वर्ष बित्यो । चार दशैंहरु बिते । यसपाली पनि श्यामजीको पसल अगाडि अभिने अनुहारहरुलाई बेला बखतमा उसले नियाल्ने गर्थी । उसले श्यामजीको पसल वरपरका छ सात वटा अरु पसल तिर पनि नजर नदौडाएकी होइन । 

 

  तर हात लाग्यो सुन्य । त्यो बालक यसपटक पनि देखा परेन । पसलामा चक्लेट, चाउचाउ, बिस्कुट किन्न आएका त्यही बालकका उमेरका धेरै बालबालिकाहरु देखेकी थिई । ती मध्ये कुनै पनि उसले खोजेको अनुहार थिएन । उसले खोजेकै अनुहार दुरुस्त देखा परेपनि उसले गर्न नै के सक्थी र सिवाय माफी माग्न । 

 

“अँ अरु थोक त त्यस्तै हो । एक–दुई किलो चामल किनेर दिन सक्छु ।”, नीतीले भनी

 

“ अँ...अनि माफी माग्ने कुरा त छँदैछ ।”, उसले थपी

 

मानिसहरु ओहोर दोहोर गरिरहेका थिए । कोही दशैंको किनमेल सकेर हिँड्दै थिए । मानिसहरुको घुईँचो कमिलाको ताँती झैं थियो । तैपनि नीतिले अनुहार खोज्ने काम जारी राखी । चार पाँच वर्ष भनेको त लामो अवधि हो । यस अवधिमा त्यो बालक केही परिपक्व भयो होला । जुँगाका रेखी बस्न थाले होलान् । केही अग्लो पनि देखिँदो हो । त्यस बालक सामान्य बालक झैं थियो त्यतिबेला । तर उसको अनुहार उज्यालो भएपनि लुगाहरु फाटेका र मैला थिए । झलक्क हेर्दा ऊ गरिबको छोरो प्रतित हुन्थ्यो । साँझ बत्तिको उज्यालोमा उसले यो भन्दा बढी याद गरेकी थिइन । अँ...गहुँगोरो अनुहारमा निधारको एक छेउमा भएको छोटो खत् चाहिँ याद थियो।...त्यो घाऊको खत् जस्तो डोब अब त बिस्तारी बिस्तारी पुरिईसक्यो होला । 

 

घाम लाग्छ । पानी पर्छ । बिहान हुन्छ मध्यदिन आउँछ  अनि रात पर्छ । प्रकृतिको नियम मिच्न खोजेर मिचिन्न । मान्छेको भिडमा मान्छेलाई चिन्न गाह्रो । यो टोल त्यति ठूलो छ जस्तो लाग्दैन । तैपनि नीतीले खोजेको अनुहार देखा पर्दैन । र त्यस अनुहारले नीतीलाई शायद खोजेको छैन । चौथो बर्ष पनि उपलब्धिहिन  बन्यो । दशैं सकियो ।

 

नीतिलाई चार वर्ष अघिको त्यो साँझको सम्झना भयो । ऊ घर फर्किँदै थिई । हिँड्न डुल्नको लागि बत्तिको उज्यालो काफी थियो । घर पुग्न साह्रै हतार थिएन । तैपनि छिटोछिटो गरेर हिँड्दै थिई । वरपर दशैंको माहोल थियो । किनमेल गर्न मानिसहरुको घुईँचो लाग्दै थियो । बिपरित दिशाबाट आईरहेको बालकसँग उसको कुहिनो ठोकियो । बालकले प्लाष्टिकको झोलामा बोकेर ल्याएको चामल आधा जति त भुईँमै पोखियो । शायद झोला पुरै च्यातिएको थिएन होला । उसले झोला थेग्यो । फनक्क फर्केर हे¥यो । त्यसबेला उसले निधारको खत याद गरी । लुगा मैलो र च्यातिएको थियो । कुनै गरिबको छोरो जस्तो देखिन्थ्यो ।

 

ऊ टक्क अडिई र भुईँमा पोखिएको चामल हेरी । पोखिएको चामल मध्ये फोहोर नलागेको चामल बालकले टिपेको भएपनि हुन्थ्यो होला, सोची । उसले टिपेर प्लाष्टिकमा हालिदिएको भएपनि हुन्थ्यो होला । केलाई कुलाई गरेर पकाउन मिल्ने थियो । उसले चामल किनेरै बालकलाई दिएको भएपनि हुन्थ्यो । तर त्यो सोझो बालक केही नबोली अलिकति बाँकी चामल मात्र बोकेर हिँड्यो । दशैं मनाउनकै लागि थियो होला चामल ।


 
कसरी बित्यो होला त्यसको परिवारको दशैं । के चामल किन्न आमाले उसलाई पठाएकी थिई ? त्यो गरिब जस्तो देखिने केटो फेरी किन त्यतातिर देखा परेन ?


 
दशैं आए पिच्छे नीतीलाई त्यहि दुई किलो चामले झस्काईरहन्छ । मस्तिष्कमा त्यही अपरिचित बालक देखा परिरहन्छ । घर जाने बाटोमा श्यामजीको ठूलो किराना पसल छ । वरपर छ सातवटा साना–साना किराना पसलहरु छन् । अलिपर लुगा पसल छ । त्यसको नजिकै मोबाईल मर्मत केन्द्र छ । नीति दशैं आएपिच्छे दिनकै जस्तो त्यही बाटो भएर हिँडिरहन्छे । कहिले उभिन्छे र त्यो बालक फेरी पनि देखा पर्छ की भनेर हेरिरहन्छे । तर त्यो बालक अहिलेसम्म पनि देखा परेके छैन । 

 

यसपटक पनि दशैं सकियो । बालकले ल्याएको चामल पोखिएको ठाउँमा अहिले बाटो सफा छ । चामलको दानाको नामोनिसाना छैन। निशाना यादहरुको छ। निधारको खतको छ । निशाना त्यो अबोध बाल अनुहारको छ । समयले धेरै कुरा पुरीदिन्छ । घाउ खत पुरिन सक्छ । तर घटनाहरु स्मृतिमै रहिरहन सक्छ ।


 साँच्चै यसपटकको दशैं पनि सकियो । 
      
 

sabinasindhu@gmail.com
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार