• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

जे भने नी हुने    

सरकारको ठुलो दावी सफल सत्ता हाम्रो 
हामीले जस्तो आजसम्म कसले गर्‍यो राम्रो ?

 

विपक्षीले केहि भने बेमौसमी बाजा 
बेतुकको बिरोधमा मानिन्न रे लाज 

 

मतदाताको मनभित्र अनेकन चासो  
पोख्यो भने ओठेजवाफ अवुझको गुनासो

 

सरकार आफ्नो भएपछि जे भने नी हुने       
गुटैगुटका शक्तीशाली कसले कसलाई छुने ?

 

नियुक्तीमा मान्छे प्रायः बिवादले तान्या  
प्रश्न गरे राजनीतिको चलन हो मान्या    

 

हिजो तिम्रा दिनमा पनि यस्तै नै त थिए
जनता खुसी भईहाल्थे नी राम्रो गरिदिए

 

यही पाराले दिन कट्छ महिना, वर्ष पनि
अपेक्षाको असन्तुष्टी बल्दैछ दनदनी  

 

तै नी भाषण गरिगरि रमाएको खेती
बाहिरी नारा सुशासनको भित्री ध्यान भेटी 

 

काण्डैकाण्ड पचाईदिने चातुर्यको सत्ता 
नीतिनियम कैंची चाल्ने आसेपासे जत्था

  

विपक्षीलाई मुखमा बुझो नियुक्तिको भाग 
त्यसपछिको मस्त निन्द्रा बिरोधको राग

 

अनि किन नभन्नु त सफल सरकार हाम्रो 
अरु पार्टी कहाँ छन र गर्नसक्ने राम्रो ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार