• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड

धनुषा । जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ ।

 

राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठहरुमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको हो ।

 

सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानीहरु खोँइँछ भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको ‘खोँइछ’ भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीहरूले ‘खोँइछ’ भर्ने गर्दछन् । यस वर्ष तिथिको हेरफेरले गर्दा सप्तमी, अष्टमी र कतिपयले अष्टमीको राति १२ बजेपछि ‘खोँइछ’ भर्ने पण्डितहरू बताउँछन् ।

 

मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोँइछ’ दिने गरिन्छ । ‘खोँइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । ‘खोँइछ’ भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानीहरु दुर्गामाताको खोँइछ भर्ने गर्दछन् । खोँइछ भर्नका लागि हजारौँको सङ्ख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार