• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘सत्यम्’मा पल र मलिका महत

काठमाडौं । अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन्। चलचित्रमा उनको जोडी उदयिमान सुपरस्टार पल शाहसँग बाँधिनेछ । गत वर्ष  ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेको हो ।

 

चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गरेकी थिइन् । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी उनको यतिबेला चलचित्र र म्यूजिक भिडियोमा ठूलो माग छ । ‘सत्यम्’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि राजी भएकी हुन् ।

 

उनी पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ। शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ ।

 

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह(निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह(संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् ।

 

चलचित्रको प्राविधिक पाटोमा नेपालको एकमात्र रेड क्यामेराको आधिकारिक कम्पनी ‘मल्टी म्याट’ जोडिएको छ। चलचित्रका प्राविधिक सल्लाहकार जीवन थापाका अनुसार ‘मल्टी म्याट’ले छायांकन सामग्रीहरु तथा सम्पादन, भिएफएक्स लगायत पोस्ट प्रडक्शनको सबै काम गर्नेछ।

 

चलचित्रको प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह(निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् भने रामजी लामिछाने कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् । चलचित्रको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।

 

यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन्। यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ। आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।

 

‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताईएको छ । निर्माता सापकोटाका अनुसार यो चलचित्रबाट सिजापतिले नेपाली चलचित्रमा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । उनले दक्षिण भारतिय सुपरस्टार अभिनेता गोपीचन्दको एक चलचित्रमा नेगेटिभ भुमिकामा अभिनय गरिसकेका छन् भने अन्य दक्षिण भारतिय चलचित्रहरुमा अभिनय गर्दैछन् ।

 

यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यी सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार