• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
डबली

यो वर्षको दसैँमा 

विजय पराजयको गाथा
मर्यादाको सर्वोच्च माथा
समय-श्रुति यो प्रवाहले
हामीलाई छुन आएको छ
खुसी साट्न आएको छ
यो वर्षको दसैँमा

 

खुसीको असङ्ख्य किरणबाट 
उज्यालो भएको घर-आँगनमा
सपना पोतिएका आखाँहरू
सञ्चित सपनाबाट होइन
आफ्नै आँखाले हेर्न चाहन्छन्
सत्य विजय भएको 
खुसी खाने बनमारा हारेको
हाम्रो आफ्नै घर आँगनमा
यो वर्षको दसैँमा

 

पुर्खाको सङ्घर्ष कुँदिएका गराहरू
धानको बालाले हरिया छन्
ढकमक्क फुलेको सयपत्रीले
दसैँको घर आँगन सजिएका छन् 
पर्खिरहेका छन् विजय मर्यादाको
मुलुकलाई माया गर्नेहरू
यो हाम्रो साझा चोकमा
यो हाम्रो ओत लाग्ने थलोमा 
यो वर्षको दसैँमा
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार