• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

रोमान्टिक–कमेडी नाटक ‘एज यु लाइक इट’ र सेक्सपियरका कृतिहरु

हालै काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नेपाल व्रिटेन सोसाइटी र न्यू सेक्सपियरवालाज्को आयोजनामा विलियम सेक्सपियरद्वारा लेखिएको ‘एज यु लाइक इट’ भन्ने रोमान्टिक–कमेडी नाटक सेक्सपियरकै पालाको अङग्रेजी भाषामा मञ्चन भयो। प्रसिद्ध साहित्यकार तथा विदुषी ग्रेटा राणाद्वारा निर्देशित र अशान्त शर्मा र दिभ्यादेश द्वारा सह-निर्देशित सो नाटकको व्यवस्थापन सुश्री सयुना शाहले गर्नुभएको थियो भने सो नाटकको सेटदेखि लिएर हुन आउने ठूलो धनराशीको सहयोग तथा जोहो नेपाल व्रिटेन सोसाइटीकी अध्यक्ष श्रीमती प्रतिमा पाँडेले गर्नुभएको थियो। करिव छ महिना अघिदेखि मञ्चन गर्न तयार राखिएको सो नाटक कोरोनाको महामारी ज्यादै बढेकोले बल्लतल्ल हालको अलिक खुकुलो समयको फाइदा उठाएर मञ्चन गरिएको थियो।

 

दुईजना चचेरा दिदी–बहिनीले भेष बदलेर शहरबाट खदेडिएका ड्युक पितासँग जङ्गलमा बस्न जाँदा भेट भएका युवाहरुसँग प्रेम गाँसिन गएको र आखिर सम्बन्ध जोडेका तीन जाडीको आपसी प्रेम र एक जोडीको एक अर्कालाई मन नपराएको भएपनि वैवाहिक सुत्रमा गाँसिन गएको र ड्युक पिता पनि पुनःशहरमा इज्जत साथ फर्कने वातावरण मिलेकोले नाटकको रमाइलो अन्त (हेप्पी एन्डिङ) ले शुरु देखि दुई घण्टासम्म सो नाटक निरन्तर हेरिरहँदा पनि पट्यार नलाग्ने गरि हँसाउँदा र रोमाञ्चित बनाइ रहँदाको क्षण निकै सुन्दर थियो भने नेपाली कलाकारहरुले पनि एक प्रकारको ज्वलन्त कलाको प्रस्तुती गरे ।

 

सेक्सपियरका नाटकहरु विश्वका अधिकांश भाषाहरुमा उल्था भएका छन् भने विश्वका सबैजसो मुलुकहरुमा विगत चार सय भन्दा ज्यादा वर्ष अघि देखि सेक्सपियरकालीन वा आधुनिक अङ्ग्रेजी र स्थानीय भाषाहरुमा समेत मञ्चन भइरहेका छन्। श्रीमती ग्रेटा राणाद्वारा स्थापित न्यू सेक्सपियरवालाजले यो भन्दा पहिले पनि सेक्सपियरका धेरै नाटकहरु विभिन्न ठाउँमा मञ्चन गरिसेकेको छ। नेपाल व्रिटेन सोसाइटीसँगको सहकार्यमा मञ्चन भएका नाटकहरु मध्ये ‘दि इम्पोर्टेन्स अफ बिइङ्ग अर्नेष्ट’,‘न्वाइजेज अफ्’, ‘अ मिड सम्मर नाइट्स ड्रिम’ आदि सबैभन्दा उत्कृष्ट भएका थिए। 

 

सन् १५६४ को अप्रिल २६ मा बेलायतमा अङ्ग्रेजी साहित्यका एक विशाल नक्षत्रको जन्मभयो । उनको नाम विलियम सेक्सपियर राखियो भने त्यसपछिको आफ्नो बाउन्न वर्षे उमेरसम्म उनले करिव ३९ वटा विश्व प्रसिद्ध नाटकहरु र कैयन् ग्रन्थ र कविताहरु लेखे तथा आफैंले पनि लण्डनका रङ्गमञ्चहरुमा एक सफल कलाकारका रूपमा अभिनय गरे। लण्डनमा उनले समेत केही पुँजी लगाएर खोलिएको ‘लर्ड चेम्बलिन्स मेन’ भन्ने नाटक कम्पनी रानी एलिजावेथको निधन पश्चात ‘द किङ्ग्स् मेन’ भनेर नामाकरण भयो ।सेक्सपियरले २५ वर्षको उमेर (सन् १५८९) देखि अभिनय र लेखनमा लागेर ४९ वर्षको उमेर (सन् १६१३) सम्म निकै सक्रिय रहेर काम गरे भने तत्पश्चात केही विरामी परेर त्यसको तीनवर्ष पछि अर्थात् २३ अप्रिल १६१६ मा ५२ वर्षको उमेरमा उनको निधन भयो । संयोग पनि कस्तो भने २६ अप्रिलमा जन्मेका उनको २३ अप्रिलमा मृत्यु भयो । उनको जन्मदिनको खासै यकिन हुन नसके पनि २६ अप्रिललाई नै मान्ने गरिएको छ । उनले आफु १८ वर्षका हुँदा सन् १५८२ मा आफुभन्दा आठ वर्ष जेठी २६ वर्षकी एनह्याथवेसँग विहे गरेको थिए र त्यसको एकवर्ष पछि एक छोरी र तीनवर्ष पछि जुम्ल्याहाहरु एक छोरा र एक छोरीको जन्म भएको थियो । तर उनका छोराको ११ वर्षको उमेरमा निधन भयो । एउटा कानूनी मुद्दामा फँसेकाले उनी सन् १५८५ देखि १५९२ सम्म साहित्यिक फाँटबाट हराएका नै थिए । त्यसैले उनीमाथि अध्ययन गर्ने विद्वानहरु यो अवधिलाई ‘हराएको समय’ यानी (लस्ट यर्स) भनेर उल्लेख गर्दथे।

 

विलियम सेक्सपियरका शुरुका कृतिहरु हाँस्य (कमेडी) र ऐतिहासिक विधाका भएपनि पछि पछि उनले ट्रेजेडीमा आधारित नाटकहरु धेरै लेखे । उनका करिव ३९ कृतिहरु मध्ये सबै नै अत्यधिक लोकप्रिय हुनपुगे । आफ्नो लेखन यात्राका अन्तिम दिनहरुमा उनले रोमान्टिक–कमेडी र ट्रेजिक–कमेडीमा आधारित रोमाञ्चक (रोमान्टिक) नाटकहरुको पनि सिर्जना गरे । सेक्सपियरका उत्कृष्ट कृतिहरुमा ‘ह्याम्लेट, रोमियो एण्ड जुलिएट, किङ्ग लियर, ओथेलो, म्याकवेथ’ अग्र पंक्तिमा आउँछन् । यसरी उनी आफ्नो युगको मात्र नभई आजसम्मकै नाट्य विधाका महापुरुषमा दरिन पुगे। आजका हलिउड, बलिउड र कलिउड जस्तै आफ्नो समयका शेक्सपियर र उनको नाटक कम्पनी निकै शसक्त र प्रख्यात थिए। हिजो–आजका बलिउडका राजकपुर,सलिम–जावेद, गुल्जार, अमिताभ बच्चन, नसिरुद्धिन शाह, शाहरुख खान आदि सबै शेक्सपियरियन कमेडी, ट्राजेडी र रोमान्सबाटै प्रभावित भएका लेखक, निर्देशक र अभिनेताहरु हुन्। ‘जिन्दगी एक नाटक है, इस नाटक मे हम काम करते हैँ’ जस्ता भारतका कैयौँ सुप्रसिद्ध गीतहरु सेक्सपियरका ‘जिन्दगी एक रङ्गमञ्च हो र हामी सबै त्यहाँ काकलाकार हौँ’ भन्ने जस्ता वाणीहरुबाटै प्रभावित भएर बनेका हुन्। उनका ‘रोमियो जुलिएट’, ‘एन्टोनी एण्ड क्लियोपेट्रा’ आदि जस्ता ट्राजिक–रोमान्सयुक्त नाटकहरुको प्रभावबाट नै भारत वर्षमा हिर–राँझा, लैला–मजनु, अनारकली जस्ता कहानीहरुको फिल्माङ्क नगरिएको हो भने ‘किङ्ग हेन्द्री, किङ्ग जोह्न, किङ्ग लियर, रिचर्ड’आदि ऐतिहासिक नाटकहरुबाट नेपाल र भारतमा पनि विभिन्न ऐतिहासिक नाटकहरुको लेखन र मञ्चन भएको हो। ‘जुलियस सिजर’ तथा ‘मर्चेन्ट अफ भेनिस’ जस्ता राजनीतिक र षडयन्त्रपुर्ण लेनदेनका मामलाहरुलाई कथावस्तु बनाइएका सेक्सपियरका नाटकहरुबाट प्रभावित भएर पनि विभिन्न भाषाका धेरै नाटक र सिनेमाहरु बनेका छन् ।

 

नेपालका ख्याती प्राप्त नाटककार बालकृष्ण समलाई त नेपालका सेक्सपियर नै भनिन्छ। बालकृष्ण समका कैयन् नाटकहरु सेक्सपियरका कमेडी, ट्राजेडी, रोमान्स र ऐतिहासिक शैलीबाट निकै प्रभावित भएको पाइन्छ। त्यस्ता नाटकहरुमा मुकुन्द–इन्दिरा, मुटुको व्यथा, प्रेमपिण्ड, अमरसिंह, भिमसेनको अन्त्यआदि प्रमुख छन्। उनका एकजना अनुयायी प्रचण्ड मल्लले सेक्सपियरका कैयौँ नेपालीमा अनुवादित नाटकहरु जस्तै ‘राजा इडिपस’, ‘ह्यामलेट’, ‘म्याकवेथ’ आदिलाई नेपाली रङ्गमञ्चमा मञ्चन गरेका थिए। वास्तवमा भन्नै पर्दा नेपालका अधिकांश रङ्गमञ्चका कलाकारहरु बालकृष्ण सम र विलियम सेक्सपियरबाट प्रभावित भएकै हुन्छन् भने उनीहरु मात्र नभई विश्वका सबै देशका यस्ता कलाकारहरु सेक्सपियरबाट त प्रभावित भएकै हुन्छन्। नेपालमा चालीस–पचास वर्षयता मञ्चन भएका विभिन्न नाटक तथा नाट्य समूहहरुकै देन स्वरुप हाम्रो फिल्म उद्योगले पनि आज यती ठूला फड्को मार्न सफल भएको हो भने अभिनय क्षेत्रका अधिकांश हस्तीहरुलाई शेक्सपियरका कृतिहरुले ज्यादै नै प्रभाव पारेका छन्।

 

महाकवि लक्ष्मीप्रसाद देवकोटा कविता लेखनमा खासगरी पर्सी व्यासी शेलीबाट प्रभावित भएको भएतापनि उनी समेत सेक्सपियरका कृतिबाट धेरै प्रभावित थिए र त्यहि भएर ‘मुना–मदन’ र ‘शकुन्तला’ जस्ता महाकाव्य लेख्न पनि हौसिएका थिए भनिन्छ । पछि पछि त उनले दक्षिण एशियाका नै नामुद लेखक तथा कविहरुलाई समेत उछिनेर एक अन्तर्राष्ट्रिय सर्जकको रूपमा नाम कमाई सकेका थिए । उनी अलि धेरै बाँचेका भए नेपालमा मात्र नभएर विश्व साहित्य जगतमा नै अहिले भन्दा बढी ख्याती कमाउन समर्थ हुने थिए जस्तो लाग्छ।

 

युरोपमा महिलाले आम–निर्वाचनमा सबैभन्दा पहिला भोट हाल्न पाएको फिनल्याण्डमा सन् १९०६ माहो भने संयुक्त राज्य अमेरिकाका एकाध राज्यमा सन् १८७० देखि महिलाहरुलाई चुनावमा भोट हाल्ने अधिकार दिइएको हो। यो हिसाबले शेक्सपियरको जमानामा यानी पन्ध्रौँ शताव्दिमा साहित्य, कला तथा शिक्षामा पनि महिलाहरु निकै पछाडि नै थिएर घर गृहस्थी सम्हाल्ने काम नै उनीहरुको मूख्य दिनचर्या हुने गर्दथ्यो। सेक्सपियरकै अधिकांश नाटकहरु पुरुष प्रधान छन्। तर उनका ‘एन्टोनी एण्ड क्लियोप्याट्रा’, ‘एज यु लाइक इट’, ‘म्याकवेथ’ आदि कृतिहरुमा भने महिलाहरुको भूमिका निकै महत्वपूर्ण छ । यसरी शेक्सपियरले आफ्नो नाटक मार्फत समाजमा महिलाहरुको हक, अधिकार र आवाज बुलन्द गर्न पनि निकै मद्दत गरेको देखिन्छ।

 

टेलिभिजन र सिनेमाको विकास, सामाजिक सञ्जाल र बढ्दो शहरीकरण र व्यस्तताले गर्दा केही दशक पहिले जस्तो विभिन्न हलहरुमा गएर प्रत्यक्ष रूपमा नाटकहरु हेर्ने बानीमा कमी आउँदै गएको भएतापनि हिजोआज विभिन्न नाट्य समूहहरुले साना साना थिएटरहरुको स्थापना गरेर नाटक तथा रङ्गमञ्चका अन्य कार्यक्रमहरुलाई बढावा दिन निकै धेरै प्रयत्न गरिरहेका छन्। विभिन्न संस्थाहरुले गर्ने गरेका सडक नाटक र नृत्य तथा गायन मार्फत जनजागृतिमा अभिवृद्धि गर्ने कार्यक्रमहरु र अभिनयको प्रशिक्षण दिने निकायहरुको पनि स्थापना भइरहेकोले नेपाली नाट्य क्षेत्र फेरी बिस्तारै बौरिँदै गएको छ। हिजोआज यो विधामा रूची राख्ने नयाँ कलाकारहरुको शैक्षिक योग्यतामा पनि बढोत्तरी हुँदै गएको र शिक्षा, सञ्चार र ज्ञानको दायरा र पहुँच बढ्दै गएकोले नेपाली युवायुवतीहरुको वौद्धिक क्षमता पनि बढ्दै गएको छ र यसको फलस्वरुप अभिनयमा निखार आउन थालेको छ। समाजलाई ठीक दिशामा लग्न पनि विभिन्न विषय र मुद्दाका नाटकहरुले निकै सशक्त रूपमा योगदान दिने भएकोले नाटक र अभिनय विधाको विकास दिनानुदिन हुँदै जाओस् भन्ने कामना छ ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार