• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

गुटबन्दीमा रमाएकाहरुलाई कालिकोट कांग्रेसले दियो सहमतिको सन्देश

कालिकोट,फ्रेसन्युज संवाददाता। नेपाली कांग्रेसको १४औं महाअधिवेशनको दौरानमा कांग्रेस चिराचिरा भएको देखिन्छ। केन्द्रदेखि वडासम्म नेतृत्व चयन तथा क्रियाशील सदस्यतामा विवाद देखिएको छ। 

 

कांग्रेस कालिकोटले भने जिल्लाका सबै तहमा सर्बसम्मत नेत्तृव चयन गरेको छ। देशभरमै एउटा नमुना अधिवेशन गरेर सबैलाई नयाँ सन्देश दिएको भन्दै प्रशंसा भइरहेको छ। गुटबन्दीले चिराचिरा परेको कांग्रेसलाई सबै तहमा सर्बसम्मत गरेर कालिकोट कांग्रेसले पार्टीलाई एकताको सुत्रमा बाध्ने उदाहरणीय कार्य गरेकोमा सवैले धन्यवाद दिए । कालिकोट कांग्रेसका नेताहरुबाट अरु जिल्लाका नेताहरुले पनि सिक्नुपर्ने भन्दै प्रशंसा भइरहेको छ।

 

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार कालिकोट कांग्रेसको जिल्ला अधिवेशनबाट अम्मबहादुर शाही सर्वसम्मत सभापति चयन भएका छन्। कालिकोटमा जिल्ला सभापति सहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

 

कालिकोटका ८२ वटा वडा, ९ वटा पालिका, २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको नेता शाहीले जानकारी दिए। सहमतिमै महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भएको कालिकोट कांग्रेसले जनाएको छ । यसरी वडा देखि जिल्लासम्म सबै तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कालिकोट नमुना जिल्ला बनेको छ।

 

‘पार्टीलाई बलियो र एकतावद्ध बनाएपछि मात्रै हामीले अरुसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने निष्कर्षकका साथ सहमतिमा जोड दियौं,’उनले भने, हाम्रो प्रतिस्पर्धा पार्टीभित्र होइन,अरु पार्टीसँग हो । हामी एक भएपछि मात्रै आउने चुनाव जित्न सक्छौं ध्येयका साथ कालिकोट कांग्रेस एक ढिक्का भएको हो ।’

 

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष शाही २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार थिए।‘कालिकोटमा पनि देउवा र पौडेल समूह छ, तर हामी दुबै पक्ष एकै ठाउँमा बसेर देशभर कांग्रेसलाई एकतावद्ध बनाउन सन्देश दिन सफल भयौं,’ उनले भने, ‘जिल्लामा गुटगत राजनीति अन्त्य गर्दै पार्टीभित्र सबैतहमा सहमतिका लागि पहल गर्‍यौं । टीमको कुरा होइन, कांग्रेस बलियो बनाउने कुरा सबै एकमत हुनुभयो ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार