• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

अनिश्चितताको भुमरीमा सार्क

सन् १९८० मा नै बङ्गलादेशका राष्ट्रपति जिया उर रहमान र नेपालका राजा वीरेन्द्रले बनाएका अवधारणा मुताविक अस्तित्वमा आएर पहिलो शिखर सम्मेलन सन् १९८५ मा बङ्गलादेशको ढाकामा सम्पन्न गर्न सफल भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का यी दुवै प्रतिपादकहरु हत्याका शिकार हुन पुगे । जियाउर रहमानको सन् १९८१ मा बङ्गलादेशकै दक्षिणी तटीय शहर चिट्टगोङमा सैनिक विद्रोहको दौरान हत्या भयो भने राजा वीरेन्द्रको आफ्नै दरवारभित्र सन् २००१ मा सपरिवार रहस्यमय हत्या भयो। त्यसबेलाको छानविनको प्रतिवेदनमा युवराज दीपेन्द्रले हत्या गरेको जनाइएको छ । यतिमात्र होइन, सार्कको प्रारम्भिक चरणमा महत्वपुर्ण भूमिका निभाएका पाकिस्तानका राष्ट्रपति जियाउल हक, प्रधानमन्त्री बेनजिर भुट्टो, भारतका प्रधानमन्त्री राजिव गान्धि र श्रीलङ्काका राष्ट्रपति रणसिङ्घे प्रेमदाशा पनि राजनैतिक हत्याकै शिकार हुन पुगे । भन्नै पर्दा दक्षिण एशियाले लामो समयसम्म राजनैतिक प्रतिशोध र आतङ्कवादको सामना गर्नु परेको छ ।

 

पाकिस्तानबाट अलग भएर सन् १९७१ मा छुट्टै राष्ट्र बन्ने बित्तिकै बङ्गलादेशका राष्ट्रपिताको खिताब पाउनुका साथै त्यहाँका प्रथम सरकार प्रमुख बन्न सफल भएका शेख मुजिबुर रहमानको सन् १९७५ मा सैनिक विद्रोहको दौरान दुई जना विदेशमा रहेका छोरीहरु बाहेक सम्पुर्ण परिवारको रक्तपातपूर्ण हत्याभएको थियो ।

 

त्यस्तै पाकिस्तानका प्रथम प्रधानमन्त्री नवावजादा लियाकत अलि खानको सन् १९५१ मा रावलपिण्डीमा आमसभामा गोली प्रहार गरी हत्या गरिएको थियो भने सन् २००७ सालमा अर्की प्रधानमन्त्री बेनजिर भुट्टोको पनि रावलपिण्डीमा लियाकत अलि खान मारिएकै पार्कमा एक चुनावी आमसभामा गोली र बम प्रहार गरी हत्या गरिएको थियो । उनका पिता तथा प्रधानमन्त्री जुल्फीकार अली भुट्टोलाई भने जनरल जियाउल हकद्वारा पदबाट अपदस्त गरेर मुद्दा चलाई सन् १९७९ मा फाँसी दिएर मारियो । तीनै जियाउल हकको सन् १९८८ मा बम राखिएको सैनिक विमान विस्फोट हुँदा बहवलपुर माथिको आकाशमा अन्य धेरै सैनिक अधिकृतहरुको साथमा मृत्यु भयो ।

 

श्रीलङ्का कै कुरा गर्दा त्यहाँ लामो समयसम्म चलेको तामिल विद्रोहीहरुको आतङ्ककारी गृहयुद्धको कारणत्यहाँका तेसा्रे राष्ट्रपति रणसिङ्घे प्रेमदाशाको सन् १९९३ मा मजदूर दिवसको जुलुसमा भाग लिँदा आत्मघाती बम विस्फोटमा परि हत्या भएको थियो भने त्यो घटना भन्दा पहिले पनि त्यहाँका चौथो प्रधानमन्त्री सोलोमन बन्दरानायकेको सन् १९५९ मा एकजना वौद्ध भिक्षुको गाली प्रहारबाट मृत्यु भएको थियो । त्यस्तै उनकै पुत्री तथा श्रीलङ्काकी पाँचौँ राष्ट्रपति श्रीमती चन्द्रिका कुमारातुङ्गाका चलचित्र अभिनेता तथा राजनीतिज्ञ समेत रहेका पति विजय कुमारातुङ्गाको पनि सन् १९७८ मा आफ्नै परिवारका सदस्यहरुको उपस्थितिमा नै विभत्स हत्या भएको थियो ।

 

भारतको प्रसंगमा कुरा गर्दा सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतका राष्ट्रपिता महात्मा गान्धीलाई नै भारत स्वतन्त्र भएको छ महिना पनि नपुग्दै सन् १९४८ मा नयाँ दिल्लीमा नाथुराम गोड्सेले गोली प्रहार गरेर हत्या गरिदिए । भारतका दोश्रो प्रधानमन्त्री तथा राजनेता लालबहादुर शास्त्रीको पुर्व सोभियत संघको उज्वेकिस्तान राज्यको ताश्कन्द शहरमा रहस्यमय तवरले १९६६ मा निधन भयो । त्यस्तै भारतको तेश्रो प्रधानमन्त्रीको खिताब पाएकी श्रीमती इन्दिरा गान्धीको हत्या उनि अर्को पटक प्रधानमन्त्री भएको बेलामा सन् १९८४ मा सरकारी निवासमा बेलायती चलचित्र निर्माता पिटर उस्टिनोभलाई अन्तरवार्ता दिन कार्यालयतर्पm जान लाग्दा आफ्नै सिख अङ्गरक्षकहरुले अन्धाधुन्द गोली चलाएर विभत्स हत्या गरिदिए भने उनका पुत्र राजिव गान्धिको चुनाव प्रचारका क्रममा तामिलनाडुको सिरिपेरुम्बुदुरमा आत्मघाती बम विष्फोट गराएर सन् १९९१ मा हत्या गरियो।

 

सार्क राष्ट्रको सबैभन्दा कान्छो सदस्य अफगानिस्तानको यो विषयमा कुरा गर्ने हो भने त हत्याको एउटा निकै ठूलो फेहरिस्त नै तयार हुन जान्छ। अफगानिस्तानका राजा जाहिर शाहलाई सन् १९७२ मा पदच्युत गरेर त्यो मुलुकमा गणतन्त्र घोषणा भएदेखि आजसम्म त्यहाँधेरै सरकार तथा राष्ट्र प्रमुखहरुको हत्या भइसकेको छ । राजालाई पदच्युत गरेर सत्ता आफ्नो हातमा लिने मोहम्मद दावुद समेत पुरै परिवारको सन् १९७८ मा हत्या भएको थियो भने सन् १९७९ मा हफिजुल्ला अमिनले सत्ता हत्याएको लगत्तै पुर्व शासक नुर मोहम्मद तराकी पनि मारिए । सन् १९७९ मा सोभियत फौज अफगानिस्तानमा पसेपछि हफिजुल्ला अमिन पनि मारिएर बाब्रक कर्माल राष्ट्रपति बन्न पुगे। सन् १९८९ मा सोभियत फौज अफगानिस्तानबाट फर्केपछि राष्ट्रपति बनेका मोहम्मद नजिबुल्लाह तालिवानहरुबाट सन् १९९६ मा काबुलको सडक बत्तीको लठ्ठामा झुण्डाएर निकै वर्वरतापुर्वक मारिए।

 

यसरी दक्षिण एशियामा सरकार प्रमुख र राष्ट्र प्रमुखदेखि लिएर नेतृत्व पङ्क्तिका महत्वपुर्ण व्यक्तिहरु र विभिन्न क्षेत्रका ज्ञाताहरु र आम जनताहरुको विभिन्न समयमा ठूलो नरसंहार भएको इतिहास छ । यस्ता अधिकांश हत्या हिँसा र रक्तपातपूर्ण राजनीतिमा मुख्य हात विभिन्न शक्ति राष्ट्रहरुको नै हुने गरेको छ भने आतङ्ककारीहरुलाई प्रश्रय दिनाले र तिनलाई दमन गर्ने सिलसिलामा पनि केही नेताहरु तिनैको सिकर हुन पुगेका छन् । अफगानिस्तानको अलि पहिलेको राजनीतिमा बेलायतीहरुको हस्तक्षेप र पछिल्ला समयमा खासगरी रूस र अमेरिकाको हस्तक्षेप रहँदै आएको छ । त्यस्तै भारत र पाकिस्तान पनि चाहँदा नचाहँदै पनि अन्य दक्षिण एशियाली मुलुकहरुको राजनीतिमा मुछिने गरेका छन् भने यिनीहरु दुई छिमेकीहरु बिच कटाक्ष बढ्दै गइरहेको छ । हाल अफगानिस्तानमा कसको प्रभाव बढी हुनु पर्ने भन्ने बारे पनि यी दुई मुलुकहरु बीच आपसी वैमनश्यता बढीरहेको छ ।

 

हजारौँ वर्षसम्मको अति नै सम्पन्न धार्मिक र सांस्कृतिक इतिहास बोकेको दक्षिण एशिया त्यतिबेलादेखि नै विश्वको आँखामा अति नै महत्वपूर्ण क्षेत्रको रूपमा रहेको थियो । फारसी र तुर्क मुसलमान वादशाहहरुदेखि लिएर युरोपियन शासकहरु जस्तै अलेक्जेण्डर, पोर्चुगिज र बेलायतीहरु र मध्य एशियाका चेङ्गििज खान र बाबर तथा चीन र तिव्वतका बादशाहहरु समेतले आँखा गाढेको यो क्षेत्र कृषिको लागि उर्वर भूमि र वनजङ्गलले भरिएको विविध प्रकारको भूवनोट र मौषम सहितको अति नै सून्दर क्षेत्र थियो । त्यसैले नै यो हिमालय पर्वतमालाको काखमा विराजमान भारतवर्षले (अफगानिस्तानदेखि वर्मासम्म) परापुर्वकालदेखि नै निकै महत्व पाएको हो । यसको यही सोहरतले गर्दा नै यो विगत ७५ वर्ष भन्दा पहिलेसम्म पटक पटक माथि उल्लेखित विभिन्न थरीका समुदायहरुबाट शाषित र पराधिन अवस्थामा रहन वाध्य भयो । वास्तवमा दोश्रो विश्वयुद्ध पश्चात नै यो क्षेत्रले आजको जस्तो स्वतन्त्रता पाएको हो । भन्नै पर्दा यो क्षेत्रमा आजको नेपाल मात्र कहिल्यै पनि कसैको अधिनमा बस्नु पर्ने अवस्था आएन । 

 

तर आजको स्थिति बेग्लै भएको छ। यही दक्षिण एशियामा भारत, पाकिस्तान, अफगानिस्तान र वर्मा क्षेत्रफलको हिसाबले निकै ठूला मुलुक बनेका छन् भने भारत र पाकिस्तान फौजी हिसाबले सबैभन्दा शक्तिशाली र अफगानिस्तान र वर्मा सबै प्रकारको श्रोत र साधन भएर पनि सबैभन्दा अस्तव्यस्त र राजनीतिक र मानव अधिकारको हिसाबले गए–गुज्रेकोको स्थितिमा छन् ।

 

विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरु भारत र चीनको आपसी झैंझगडा, भारतसँगको खुला सिमाना भएकोले वर्षेनी लाखौँको सङ्ख्यामा खुलेआम आप्रवाशन, दक्षिण एशियादेखि विश्वभरका विभिन्न ठाउँका अतिवादी, तस्कर, अपराधी, कानुन उल्लङ्गनकर्ताहरु र शरणार्थीहरुको लागि नेपाल भूमि अति नै उर्वर हुँदै गएकोले र राजनीतिक रूपले दक्षिण एशियाकै सबैभन्दा भाँडभैलो स्थिति यहाँ विद्यमान भएकोले यो भूमिमा परापुर्वकालदेखिबस्दै आएका असली बासिन्दा दुखी र अल्पसङ्ख्यक हुँदै गइरहेका छन् । प्रत्येक डेढ दुई दशकमा यहाँ चलिआएका धर्म र संस्कृतिमा नै ठूलो आँच र परिवर्तन आउँदै गएको छ । अबको पाँच दशक जतिमा नेपाल राष्ट्र त रहला तर आजको जस्तो नेपालीपन भने पक्कै हुने छैन । यो भिन्नै प्रकारको नेपाल हुने छ र यहाँका खास नेपाली अल्पसङ्यकको दर्जामा पुग्ने छन् । चीनलाई थचार्ने मेलोमा अमेरिका र भारतको हालको साँठगाँठको भासमा परेर यो मुलुक अर्को अफगानिस्तान बन्न पनि बेर छैन । 

 

सन् १९८० को दशकमा अफगानिस्तानको राजनीतिमा मुछिएर त्यहाँ सैनिक समेत पठाएर हमला गरेको रूस एक दशक पनि त्यहाँ टिकेर बस्न नसककेका कारणहरु मध्ये अमेरिका र उसका सहयोगी राष्ट्रहरु जस्तै नेटो सदस्य राष्ट्रहरु, साउदी अरेविया र पाकिस्तानले समेतले आजका तिनै तालिवालहरुलाई रूसको विरोधमा लड्नको निम्ति बेहिसाब हतियार र द्रव्यको सहयोग पुर्‍याउनुका साथै सैनिक तालिम दिएकाले पनि हो । तर केही समय पछि तिनै तालिवानहरु आफ्ना सहयोगीहरुकै चरम दुश्मन हुन पुगे । इन्दिरा गान्धिको प्रश्रयले निकै चम्कन सकेका भिण्डराँवाले नै आखिर उनको हत्याका कारण बन्न गएका थिए भने भारतबाट कुनै समयमा प्रश्रय पाएका तामिल विद्रोहीहरु र उनका नेताप्रभाकरण नै राजिव गान्धिका काल भएर निस्के । यसै प्रसंगमा हालै भारतका प्रधानमन्त्री श्री नरेन्द मोदीले संयुक्त राष्ट्र संघमा पाकिस्तानलाई इङिगत गर्दै ‘आतङ्कवादलाई बढावा र प्रश्रय दिनाले एकदिन त्यसले आपैmलाई खान्छ’ भन्नु भएको कुरा निकै घत लाग्दो छ । तर उहाँ जस्ता दिग्गज राजनेताले त्यति ठूलो मञ्चबाट आफ्नो छिमेकी राष्ट्रलाई आतङ्कवादी कै दर्जामा राख्नु भने त्यति राम्रो होइन । कुटनीतिमा जस्तो सरकारसँग पनि वार्ता र सम्बन्ध स्थापित गर्ने ठाउँ राखिरहनु पर्ने हुन्छ । तालिवानलाई आतङ्कवादी भनेर अमेरिकाले बीस वर्षसम्म तिनको मुलुक नै कब्जा गरेर लाखौँ मानिस मर्ने गरि लड्दा पनि केही नलागेर आखिर तिनै आतङ्ककारीहरुसँग एक वर्षसम्म दोहामा पटक पटक वार्ता गरेर तिनको मुलुकबाट लुसुक्क फर्कन कर लाग्यो भने टाउकाको विशाल मोल लिएर बसेका तिनै आतङ्ककारीहरु आज अफगानिस्तानका शासक हुन पुगेका छन् । अब तिनीहरुलाई सफाया गर्न पनि नसक्ने र तिनीहरुको सरकारसँग कहिल्यै पनि वार्ता नै नगर्ने जस्ता कुटनीतिको कुनै सार्थकता हुन्छ होला त ? के तिनीहरुलाई अब उप्रान्त आतङ्ककारी क्रियाकलाप नगरेर विगतका कमी कमजोरीबाट पाठ सिकेर आफ्नो मुलुकमा शुशासन ल्याउने बाटो पक्रन दवाव दिने वाहेक अन्य केही उपाय छ त?

 

कुनैबेला रूस र भारत निकै नजिकका मित्र राष्ट्र थिए भने पाकिस्तान र अमेरिका पनि अभिन्न मित्र थिए । तर आज आएर अमेरिकाले पाकिस्तानसँग भन्दा निकै प्रगाढ मित्रता भारतसँग कायम गरेको छ । सोभियत संघको पतन र विखण्डन पश्चात सन् १९८० को उत्तरार्धदेखि करिव तीस वर्ष विश्वमा एकछत्र राज गर्न सफल भएको अमेरिकालाई औद्योगिक, व्यापारिक, वैज्ञानिक, प्राविधिक र सामरिक विकासमा समेत चीनले ठूलो छलाङ मारेर भेट्टाउन लागेकोर केही समयमा नै उ अमेरिकाको मुख्य प्रतिद्वन्दी हुने र उसको क्याम्पमा रूस, उत्तर कोरिया, दक्षिण एशियाका अधिकांश मुलुक, दक्षिण–पुर्वी एशियाका केही मुलुक, धेरै अफ्रिकी र दक्षिण तथा ल्याटिन अमेरिकी मुलुक भएको यथार्थको भयले आक्रान्त अमेरिका चीनलाई चारै तिरबाट घेरेर त्यहाँ राजनीतिक गडबडी मच्चाउन निकै नै लागिपरेको छ । यसै खेलामा उसले शुरुमा दक्षिण कोरिया, ताइवान,जापान, फिलिपिन्स, थाइल्याण्ड आदिलाई उसको विरोधमा लाग्न सुर्‍याएको थियो भने हाल अष्ट्रेलिया सँगसँगै भारतको साथ पनि चाहेको छ । यस अघि पनि अमेरिका र रूस जस्ता विश्व शक्ति राष्ट्रहरुले आफ्ना स्वार्थका निम्ति कैयन् राष्ट्र र त्यहाँका उच्च पदमा पदासिन व्यक्तिहरुलाई उचाल्ने र थचार्ने गरि नै रहेका थिए भने आफ्नो स्वार्थ पुर्ति हुनासाथ ती मुलुकहरुलाई चटक्कै बिर्सेका इतिहास पनि ताजै छन् । 

 

भारतले के पनि बुझ्नु जरुरी छ भने आजको चीन जस्तै निकट भविश्यमा सबै क्षेत्रमा निकै विकास गर्न सक्ने मुलुक उ आफैं पनि हो र केही समय पश्चात उसको तिव्र प्रगति र शक्तिको आँकलन गरेर अमेरिका, बेलायत, रूस र अन्य शक्ति राष्ट्रहरुको बक्र दृष्टिमा भारत पनि पर्न सक्ने छ । वास्तवमा चीन र भारतको बीचको वैमनश्यता त्यति धेरै छैन । सिमा क्षेत्रमा हुने गरेका विवादहरु सुल्झाउन यी दुवै मुलुकहरुले एकापसमा स्वस्थ वार्ता शुरु गर्नु नै पर्छ । यी दुई विशाल राष्ट्रहरुलाई मिल्न नदिनु पनि आजका विश्व शक्तिहरुको ग्राण्ड डिजाइन भित्रै पर्दछ ।

 

कुनैपनि संस्थाका सबै ठुला–साना सदस्यहरु बराबर दर्जामा नै गनिने भएता पनि सार्क मुलुकहरुको सबैभन्दा ठूलो देश, विशाल जनसङ्ख्या भएको देश, सबैभन्दा बढी आर्थिक विकास र उन्नति गरेको देश, विज्ञान, प्रविधि र कृषि तथा औद्योगिकरणमा विश्वकै अग्रणी मध्येको देश र दक्षिण एशियाको बीच भागमा अवस्थित र सबै राष्ट्रहरुको विशाल बजार हुन सक्ने देशको हैसियतले भारतले सार्कको नेतृत्व र अभिभावकत्व ग्रहण गर्न सक्नु पर्छ र सार्क राष्ट्रहरुको सर्वाङ्गीण विकासमा सक्रिय रूपले लाग्नु पर्ने हुन्छ । 

 

आज भारत र पाकिस्तान वृटिशराजबाट स्वतन्त्र भएको ७५ वर्ष हुन लागिसक्यो । तर त्यतिबेला यिनीहरु कहिल्यै मिलेर नबसुन् र लडिराखुन् भनेर बेलायतले छोडेका केही हथकण्डाहरु आजसम्म पनि लागु भइरहन सक्नु र यस्तै भुलभुलैयामा रुमल्लिएर एकापसमा पाखुरा सुर्की रहनु भारत र पाकिस्तान दुवै देशको निम्ति लज्जाका विषय हुन् । सन् १९४७ अघिसम्म यी एकै भूभाग, अर्थतन्त्र, राजनीति र संस्कृति बोकेका राष्ट्रहरु आजसम्म जानी दुश्मन किन भएर बसिरहेका छन् यो कुरा हामी जस्ता टुक्रे लेखक र चिन्तकले भन्दा पनि त्यहीँका दिग्गज विज्ञहरुले सोच्नु पर्ने हो । जनस्तरमा सबै सार्क मुलुकका नागरिकहरुको एकअर्कामा निकै सौहार्द्रताको वातावरण कायम छ भने सरकारीस्तरमा किन यस्ता वैमनश्यता ? यदि काश्मिर नै झगडाको एउटा त्यस्तो कारण हो भने अब पुरै काश्मिर एउटा देशको मात्र हिस्सा बनाउने सपना भारत र पाकिस्तान दुवैले नदेख्दा राम्रो हुन्छ र काश्मिर बेग्दै स्वतन्त्र राष्ट्र हुन सक्ने सम्भावना त झनै छैन । आज काश्मिरका जे जति भाग भारत र पाकिस्तानमा परेका छन्, ती सन् १९४७ देखि नै त्यस्तै छन् । सन् १९७१ मा भएको भारत–पाक युद्ध पश्चात कोरिएको लाइन अफ कन्ट्रोलले नै आजसम्म दुई देश बीचको सिमाको काम गरेको छ । आजको एक्काइसौँ शताव्दिमा पनि यी दुई देशका नेतृत्व तहले हालको लागि पुरै काश्मिरका बासिन्दा आआफ्ना क्षेत्रका आधिकारिक कागजात लिएर दुवै देशमा नातेदार भेट्न, घुम्न, व्यापार गर्न आदिका लागि आवत जावत गर्न पाउने तर विखण्डनकारी र आतङ्ककारी त्रृmयाकलाप अब आइन्दा गर्न नपाउने तथा हालकै लाइन अफ कन्ट्रोल मुताविक भारत र पाकिस्तानले शान्तिपुर्वक एक अर्कासँगको सम्बन्धलाई सुधार गर्दै लग्ने बारेको वृहत योजनाको खाका बनाएर त्यसको कार्यान्वयन गर्न आआफ्ना मुलुकमा वृहत राष्टिय सहमति जुटाएरअमनचैन र मैत्रीपुर्ण सम्बन्धको वातावरणको श्रृजना गर्ने आँट गर्न सकेनन् भने यो समस्याको समाधान कहिल्यै पनि हुन सक्दैन । उनीहरुलाई लडाएर सैन्य गतिविधिमा सम्पूर्ण वजेट र शक्ति खर्च गराउन र आफ्ना हतियार विक्री गरेर तथा अन्य तवरले विश्व शक्ति राष्ट्रहरुले खेलिरहने मौका पाउने छन् । यी दुइ बीचको झैंगडाले पुरै दक्षिण एशियाको शान्ति, अमनचैन र खुशहालीमा असर परिरहने पक्का छ ।

 

वास्तवमा भारत र पाकिस्तानको बीचमा भइरहने शीतयुद्धलाई कमगर्न सार्कले ठूलो भूमिका खेलिरहेको थियो र भविष्यमा पनि खेलिनै रहने छ। भारत र पाकिस्तानका राष्ट्राध्यक्षहरु र उच्च पदाधिकारीहरुको बेला बेलामा हुने भेटघाट र भलाकुसारीलाई जुराउन सार्कले ठूलो भूमिका खेलेको छ । सात वटा मुलुकहरुको एकापसमा विभिन्न पक्षमा साझेदारी र समन्वय गर्ने हेतुले स्थापना भएको सार्कमा अफगानिस्तानको प्रवेश र केही समय पछि वर्माको पनि सम्भावित प्रवेशले यो एउटा निकै महत्वपुर्ण संस्था हुन सक्छ । सार्क राष्ट्रहरुको सामुहिक प्रयासले खडा भएका कृषि, वन, मौषम, शिक्षा, स्वास्थ्य, उर्जा, मानव संशाधन आदि क्षेत्रमा अनुसन्धान गर्ने केन्द्रहरु र खाद्य, विकास, दैवीप्रकोप आदि बारेका कोषहरु र अनुसन्धानशालाहरुले पुरै सार्क क्षेत्रको चौतर्फी विकासमा ठूलो मद्दत पुर्‍याउन सक्दछन् । वास्तवमा यस्ता निकायहरुको विकासको कारण सार्क राष्ट्रहरु बीचको व्यापार व्यवसायले यी सबै राष्ट्रहरुका उत्पादनहरुलाई टेवा पुर्‍याउनुका साथै बजारको पनि उचित व्यवस्थापन हुने र तेसा्रे राष्ट्रमा चिया, कफी लगायत कैयन् महत्वपुर्ण नगदेबाली र औद्योगिक उत्पादनहरु समेत संयुक्त रूपमा निर्यात गर्ने र सबै सदस्य राष्ट्रहरुलाई आआफ्ना मौलिक उत्पादनहरुको अझ बढी विकास गर्नेकुरामा ठूलो मद्दत पुग्न जान्छ। तर सार्कको कारणयसरी आठ नौ वटा मुलुकहरुको एउटा साझा मञ्चखडा भएर यिनको सामुहिक प्रयास र व्यापार तथा आर्थिक क्रियाकलापले यी मुलुकहरुलाई आत्म निर्भरता र समृद्धिको पथमा डोर्‍याएर कसैको पनि अधिनमा वा छायामा बस्न नपर्ने अवस्थाको सिर्जना गर्ने भएकोले विश्वका धेरै खेलाडी राष्ट्रहरुलाई यो संस्थाको क्रियाकलाप त्यति पचेको छैन जस्तो देखिन्छ । त्यसैले पनि सार्कलाई एक ढिक्का भएर अघि बढाउन अब भारतले नै पहल गर्नु जरुरी देखिन्छ ।

 

आज दक्षिण एशियामा करिव एक अर्ब असी करोड यानी विश्वको कुल जनसङ्ख्याको २२ प्रतिशत मानिसको बसोवास छ, जुन पुरै अफ्रिका महादेशको भन्दा पनि बढी हो र एशिया महादेशको कुल जनसङ्ख्याको ३८ प्रतिशत जति हो । यो हिसाबले पनि यस क्षेत्रको आर्थिक विकास र राजनीतिले विश्वमा निकै ठूलो माने राख्दछ । यस्तो महत्व बोकेको दक्षिण एशियालाई एक सु्त्रमा बाँध्ने सार्क विगत पाँच छ वर्षदेखि निकै नै सुस्ताएको छ र यसको शिखर सम्मेलन पनि हुन सकेको छैन। बरु बिम्स्टेकको सक्रियताले गर्दा माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान बाहेकका सार्क मुलुकहरु र वर्मा तथा थाइल्याण्ड पो एक सुत्रमा बाँधिँदै गएका छन्। वङ्गालको खाडीसँग सम्वद्ध मुलुकहरुको यस्तो मितेरीपूर्ण सम्बन्ध गाँसिनु राम्रो भएपनि सार्कको आफ्नै महत्व रहेकोले भारतकै सक्रियतामा सार्कलाई पुनः व्युँताउनु अति नै जरुरी देखिन्छ । दक्षिण एशियाको एउटा विशाल राष्ट्र भएको नाताले भारतले यस क्षेत्रमा नेतृत्वदायी र अभिभावकको भूमिका खेल्नु पर्ने आजको वास्तविकतामा उसले सबै छिमेकी मुलुकहरुसँग वैरभावपुर्ण व्यवहार गरेर हिँड्नु अति नै अशोभनीय देखिइ रहेको छ । हालै संयुक्त राष्ट्र सङ्घको महासभामा भारतका प्रधानमन्त्रीश्री नरेन्द्र मोदीले भारत विशाल प्रजातान्त्रिक मुलुक भएको र यहाँ परापुर्व काल देखिनै प्रजातन्त्र फलेफुलेको भन्नु भए पनि वास्तविकतामा भारतमा उ स्वतन्त्र भएको पचहत्तर वर्षको इतिहासमा पण्डित जवाहरलाल नेहरु र लालबहादुर शास्त्रीको शासनकालमा मात्र वास्तविक रूपमा प्रजातन्त्रले मुर्तरूप लिएकोे र उनिहरुकै शासनकालमा मात्र मुलुक भित्रका जनता र छिमेकी राष्ट्रहरुले सुखको सास फेर्न पाएको इतिहास छ। नत्र अन्य शासकहरुको शासनकालमा भने आफ्नो पार्टीका कार्यकर्ताहरु वाहेक अन्य पार्टीसँग सम्वद्ध कार्यकर्ता र जनता तथा छिमेकी राष्ट्रहरुले निकै नै कष्ट भोग्नु परेको छ। भारतले अबका दिनहरुमा आफुलाई वास्तविक रूपमा प्रजातन्त्र र आर्थिक विकासको मशिहा र छिमेकी राष्ट्रहरुको सच्चा साथि र अभिभावक बनेर देखाउन सकेमा मात्र उसको छबि आकाशिँदै जाने छ । त्यस्तै उसले पाकिस्तान र चीनसँग पनि राम्रो सम्बन्ध बनाउने कोशिशका साथ अफगानिस्तानका जनताहरुले अबका दिनहरुमा दुख नपाउन् भन्नका लागि त्यहाँको सरकारलाई असल बाटोमा लाग्न सचेत गराउने र दवाव दिने तथा आफ्नो तर्पmबाट गर्न सकिने सबै खालको आर्थिक तथा नैतिक सहयोग पुर्‍याउनेबारे भारतले निकै गहिरिएर सोच्नु पर्ने अवस्था आएको छ ।वास्तवमा अफगानिस्तानमा भारतले विगतमा समेत ठूलो आर्थिक लगानी गरेको तथा त्यहाँको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिको लागि उसले धेरै नै सघाएको थियो ।

 

चीन र भारत दुवै मुलुकहरु विशाल जनसङ्ख्या भएर पनि विश्वमा आर्थिक उन्नती गर्न र विपन्न जनताहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्षम मुलुकका रूपमा परिचित हुँदै गइरहेकाले यी दुवै मुलुकहरुले साना तिना बैरभावलाई पन्छाएर हातेमालोका साथ अघि बढ्न सकेमा मात्र विश्वका विपन्न र गरिव मुलुकका जनतामा आशाको लहर र समृद्धि आउन सक्नेछ भने नेपालको विकासमा पनि त्यो लगन गाँठोले ठूलो मद्दत पुर्‍याउने छ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार