• सोमबार ७-८-२०७८/Monday 10-25-2021
विचार

राजनीतिमा ताण्डव नृत्य

सृष्टि कथनमा शिव ताण्डवबाट संगीत र नृत्यको उद्भव भएको स्वीकारिन्छ। ताण्डव त्यसैले कल्याणमयी छ। चिन्मयी छ। त्रिलोकमयी छ। शिवको अस्तित्व दिक् र कालसित जोडिनुपर्ने रहस्य स्वयं उनी, सत्य र सौन्दर्यले आभूषित भएका कारणले हो। देउताहरूमा शिव सर्वश्रेष्ठ छन्। शिवको श्रेष्ठतालाई अर्थ्याउने कार्य ‘कल्याणमयी’ तत्वले निर्वाह गर्छ। शिवको सर्वोच्चतामा सृष्टि र संहारको औचित्यले आश्वस्त हुनुपर्ने कारणहरू पनि छन् ।

 

राज्यसत्ता संचालनमा पनि वाद, सिद्धान्त, दर्शन, नीति, विचार आदिका दृष्टिकोणबाट हेर्दा ‘राजनीति’ ले अग्रपंक्तिको भूमिका निर्वाह गर्छ। सन्दर्भ कल्याणकारिता सित जोडिएको ‘राजनीति’ वाट प्रारम्भ भएको हुँदा ‘सत्यम शिवम् सुन्दरम्’ प्रति चासो राख्न खोजिएको हो । किनभने शिव मात्र एक विशिष्ट प्रतिकीय स्वरूप हुन्, जो सित सत्यम् शिवम् सुन्दरम् छ। पवित्र इस्लामले पनि शिवतत्वलाई अस्वीकार गर्न सकेको छैन । 

 

यी तीन तत्वहरू ‘राजनीति’ मा कहाँ छन् 
सिद्धान्तत : राजनीतिमा ‘सत्यम् शिवम् सुन्दरम्’ को योग हुनैपर्छ । नेपालमा प्रचलित राजनीतिमा यी योगहरूको अभाव भएकाले चिन्ता र चासो उत्पन्न हुनु अस्वाभाविक होइन। दुनियाँलाई चासोको विषय त्यसैले छ । अहिले सदाचारमा रहेन राजनीति । यो विल्कुल नकच्चरो भएर प्रस्तुत हुँदै आएकाले शिव ताण्डवको कल्याणदायी तत्वसित यसलाई जोडेर हेर्नु युक्तिसंगत नहोला पनि । ताण्डवभित्र उत्पन्न अघोरता चाँही यो राजनीतिले धारण गरेको हो कि ? 

 

बहस यहाँवाट प्रारम्भ हुन्छ 
नेपालका प्राय सबै राजनीतिक दलहरूले ‘अघोरपन’ लाई अँगाल्दै आइरहेका छन् । सबै अभिकर्ताले केन्द्रदेखि वडा तहसम्भ, सिंहदरबारदेखि स्थानीय तहसम्म सर्वत्र ताण्डव शैली मच्चाउँदै ‘अघोरपन’ को यात्रा तय गरेको देखिन्छ। सबै सुधिजनहरू प्रत्येकसित र प्रत्येक सुधिजनहरू सबैसित परस्पर यस्तो अराजकतामा उत्रिएका छन् । तिनमा दम्भको नशा छ। षडयन्त्रको नशा छ । पापाचरको नशा छ। यो नशाले कसैलाई कतै पुर्‍याउँदैन। क्षणिक सुखद भएपनि यस्तो नशालु यात्रा गन्तव्यहीन हुन्छ। निष्कर्षविहीन हुन्छ । दुर्घटनादायी हुन्छ। हामीले फलदायी गन्तव्यको यात्रा तय गरेकाले वर्तमान राजनीतिबाट फलिफाप प्राप्त गर्न खोज्नु हास्यास्पद भएको छ। भ्रष्टाचार, दुराचार, अनियमिता, अराजकता, हत्या हिंसा, बलात्कार– व्यभिचार जस्ता दुष्कर्महरू संरक्षित छन् राजनीतिमा। नातावाद, कृपावाद, कमिसनबाद, विचौलियावाद लगायतका विसंगतिहरू परिलक्षित छन्, राजनीतिका आवरणमा।

 

शब्द र अर्थको गरिमामा रहेन राजनीति  
भाव र अलंकारको ओजमा रहेन, यसको परिणति । लोकतन्त्र छैन, लुटतन्त्र छ, यो राजनीतिको अन्तर्वस्तुमा । निस्वार्थता छैन, स्वार्थतन्त्र छ, यो राजनीतिको संरचनामा। शास्त्र र सिद्धान्तले, नीति र आदर्शले यो राजनीतिक शब्दको अर्थ जति उच्च र पवित्र ठहय्राउन खोजे पनि यसको श्रेष्ठतामाथि आश्वस्त हुने ठाउँ देखिंदैन। स्मशानमय तुल्याइएको छ, राजनीतिको सांस्कृतिकतालाई । अघोरताको अँध्यारो गुफामा प्रवेश गराएर नीतिहरूको नीति राजनीति असंवेदनशील तुल्याइनुमा भष्मासुर प्रवृत्तिको प्रमुख भूमिका रहेको छ। गुट-उपगुट, तिकडम, छल–प्रपञ्च, चालवाजी, धु्रत्याइ सबै हथकण्डाले उग्र अघोरी मुद्रालाई व्याप्त बनाइएको छ । दवाई–दारू, मुद्रा र यौन कारोबारको पनि संचिति उत्तिकै प्रवलिकृत तुल्याइएको छ । देश र जनतालाई सुख समृद्धितर्फ लैजान राजनीतिको मार्ग उपयुक्त भएपनि राजनीतिक स्वरूप कुरूप तुल्याउने कार्यहरू भइरहेका छन् । नेपालका सम्पूर्ण राजनीतिक दलका नेताहरू स्वयं आर्थिक रूपबाट समृद्ध भएका छन् । दुई रङको चप्पल लगाएर राजनीतिमा प्रवेश भएका शतप्रतिशत यी पात्रहरू राजधानीमा अरबौं सम्पतिका स्वामी हुन पुगेका छन्। अकुत सम्पतिका स्वामी यी राजनीतिक ठेकेदारहरुले देश र जनतालाई कंगाल बनाएका छन् । यिनीहरुले देशभित्र पनि वौद्धिक वर्ग र स्वतन्त्र राष्ट्रवादी शक्तिहरूसित सकारात्मक सम्बन्ध स्थापित गरेका छैनन् । छिमेकी मित्रराष्ट्रहरुसित सम्बन्ध राम्रो राख्ने प्रयास गरेको देखिँदैन। स्वाभिमान, स्वाधिनता र मुलुकको अखण्डतामाथि आँच आउने कार्यमा लागेका, यी ‘अघोरीहरु’ ले कुनै विषय र क्षेत्रमा सन्तोषजनक कार्य गरेका छैनन् । 

 

राजनीतिको वस्त्रमा खलपात्रहरूको विगविगि छ। निषेध र नकारात्मकताको ‘बदनियतले’ कसलाई कहाँ पुर्‍याउँछ, निर्धा र निम्छरा जनताले केही बुझ्न सकेका छैनन् । सवैवर्ग र समुदाय राजनीतिबाट उदासिन छन् । कोही केही, बोल्दैनन्। चुपचाप सहेर बसेका छन्। ‘अघोरी राजनीति’ का विरुद्ध विद्रोह कबुल गर्न कोही तयार देखिदैनन् । सर्वत्र अराजकता छ। महँगी छ। बेरोजगारी छ। घुसखोरी छ। अनियमितता छ। हिंसा–बलात्कार जटिल हुँदै गइरहेको छ । कृषि क्षेत्र चौपट छ। किसानहरुले मूल्य पाउँदैनन् । राष्ट्रिय उद्योग धराशायी छन्। विदेशी ऋणको भार थपिँदो छ। समग्रमा देशको अर्थतन्त्र ध्वस्त छ । सर्वसाधारणका लागि जीवन सहज छैन, कष्टकर छ । मुठ्ठीभर धनाढ्यहरूका लागि विलासीपूर्ण जीवनको सजधज भएपनि सर्वसाधारणका लागि आवास, शिक्षा र स्वास्थ्यका आधारभूत विषयहरू तिनका क्रयशक्तिभित्र पर्न धेरै कठिन भएको छ ।

 

राजनीतिको ताण्डवमा अघोरपनको योग कस्तो हुन्छ  
शिवको ताण्डवमा कल्याणका प्रत्येष्टाहरु छन्। राजनीतिको ताण्डवमा दुष्कर्म र दुष्प्रवृत्तीहरूको हावी छ । नेपालमा ०७, ०१७, ०३६, ०४६ ०६१–०६२ हरुले पटकपटक उधुम मच्चाइरहैकै हो । यी ‘उधुम वर्षहरू’ ले राजनीतिक दल, शीर्षस्थ नेता, सत्तासिन सुकिला मुकिलाहरू तिनका पत्नी भाइबुहारी, छोरा–छोरी, साला–साली, भाज्जा–भतिजा, ज्वाई, कुटुम्ब, साली, सम्धि सम्धिनी, साडु, निकटवर्ती नाता गोता, भनसुन, लेनदेन र विशेष सम्पर्क सूत्रहरूका जीवनमा सुखद परिवर्तन ल्याएकै हो । बाँकी नेपाली जनतालाई सत्ता केन्द्रित राजनीतिले कुनै किसिमको परिवर्तनकारी प्रत्याभूति दिन सकेको छैन । आखिर यो ताण्डवको पर्दाफास किन हुन सक्तैन ! आफ्ना मौलिक हक–अधिकार, मूल्य र मान्यता हनन हुँदा पनि यी विषयमा हामी किन आवाज उठाउन सक्तैनौं । कतिपय सचेत समूह, अधिकारकर्मी अभियन्ताहरूले आवश्यक आवाज उठाउँदा पनि हामी किन ‘खिसिट्युरी’ गर्छौ ? राम्रा र उचित कुरामा हामी किन साथ दिन सक्तैनौं ।

 

के भएको छ हाम्रो चेतनालाई ! किन स्खलित भइरहेको छ हाम्रो ऊर्जा र विवेक ! के हामी गणेशमानजीले भने जस्तै घाँस खाने पशुमा परिणत भइसक्यौं त ! सत्तरीका आसपासमा रहेका, उमेरले नेटो काटिसकेका, अर्धचेतवाट गुज्रिरहेका भ्रष्ट चरित्रका ‘नेता भनाउँदाहरूका’ निर्देशन र इशारामा मात्र हामी संचालित भइरहने हो त ? लाखौंका संख्यामा रहेका विशाल युवा वर्गले किन अल्मलिइरहनु परेको हो । कतिसम्म मौन वसिरहने हामी ?

 

नेपाल यसवेला अत्यन्न जर्जर र आक्रान्त अवस्थावाट गुज्रिरहेको छ। अन्योल र असन्तोषले जरा गाडिसकेको छ। नेता र शासकका कुरा र काम प्रति विश्वास गर्ने ठाउँ छैन । एकपल्ट नेता सत्तामा पुगेपछि माथी परिभाषित ‘अघोरतन्त्र’ प्रारम्भ हुन्छ। यी सत्तासिनहरू ‘अघोर क्रिडा’ मा चल्न थालेपछि अन्धा र कामुक भएर तिनले आफ्ना ओजस्विता नष्ट गर्न थालेका हुन्छन् । राजाका पालामा भाइभारदार र राजपरिवारका सदस्यहरू नै शासन–सत्ता, शक्ति र लाभका पदहरूमा ‘हावी’ हुने चलन थियो । अहिले नेताका परिवार पनि त्यसरी नै ‘हावी’ हुन थालेका छन्। राजतन्त्र समाप्तिपछि एउटा राजाका स्थानमा ७४४ ले त्यो ‘स्थान र अवसर’ ओगटेका छन्। अहिले पनि वंशवाद जारी छ । 

 

कोही कसैसित सत्य वोल्दैनन्। कसैको कसैप्रति विश्वास छैन। निष्ठा र इमान्दारिता भन्ने कुराहरु धरापमा परेका छन्। आशंकाका घेरामा छन्, सबै । नेताका आश्वासनमा राजनीतिको ‘जलप’ लागेको हुन्छ। ‘जलप’ नक्कली छ, ‘आर्टिफिसियल’ छ ‘सर्फेसियल छ । राजनीति गर्छु भन्नेहरूको दर्शन कृत्रिम छ। तिनका जीवनशैली अस्वाभाविक छ, सोच र चिन्तन साँधुरो छ । तिनले समाजमा देखाउने प्रस्तुति भद्दा छ, कुरुप छ।

 

राजनीतिको वस्त्र बाहिरबाट हेर्दा पनि, धारण गरेर अनुभव गर्दा पनि गुनिलो र ओजपूर्ण भयो भने त्यो सबैका लागि उपयोगी हुन्छ। तर ‘अघोरतन्त्र’ को ‘ताण्डव’ मा परेको वर्तमान नेपालको राजनीति दिनानुदिन कुरूप र घिनलाग्दो हुँदै गइरहेको छ । यसको कारणचाहिं कुपात्रहरूको हालीमुहाली नै प्रमुख कारक तत्व हो। कागजमा नियम कानुन भएपनि व्यवहारमा ती सबै मृतप्राय छन् । नीति नियमको परिचालन छैन । दण्डहीनता छ । आचरण र अनुशासन छैन । जहाँ जसले जे गरे पनि त्यसको सुनवाई छैन ।

 

‘न्याय नपाए गोर्खा जानु’ भन्ने थियो इतिहासमा। अहिले तर, ‘गोर्खारहित’ भएका छौं हामी। कुन्नि यो किंम्कर्तव्यविमूढको स्थिति कहिलेसम्म रहने हो, केही भन्न सकिने स्थिति छैन। तथापी आशावादी हुनैपर्छ हामीले । आशा मर्‍यो भने सवैथोक मर्छ ।

 

राजनीतिको ‘अघोरतन्त्रीय ताण्डव’ ले मुक्ति दिन नसकेपनि शिव ताण्डवले अवश्य मुक्ति दिनेछ । किनभने हामी शिवको अधिनमा छौं ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार