• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

दशैँमा सिनेमा हल खुल्ने

काठमाडौं । चलचित्रकर्मीले दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।


नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भन्नुभयो, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

 

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गर्नुभएको बताउनुभयो ।


दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उहाँले थप्नुभयो, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ”
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले दशैँसम्ममा नेपालभरका चलचित्र घर खुल्ने आशामा रहेको बताउँदै दर्शकलाई नयाँ चलचित्र प्रदर्शन गर्ने पक्का भएको बताउनुभयो । अहिलेसम्म हलिउडको बहुप्रतिक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौँ शृङ्खला मात्र प्रदर्शनीका लागि निश्चित भएको छ ।यलु जोशी/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार