• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

नीनाको कलामा फूलैफूलको संसार

नीना बैद्य

०००

 

फूल प्रकृतिले दिएको एक सुन्दर उपहार र वरदान हो । यो संसारमा फूल मनपराउने मान्छे विरलै होलान् । फूल, प्रेम, सद्भाव, शान्ति, ज्ञान, सुन्दरता, शुद्धता, आत्म पुनर्जन्म र वफादारीताको प्रतिक हो । कुनैपनि जात , भाषा,धर्म, संस्कृति र पर्वमा फूलको विशेष महत्व हुन्छ । जन्म देखि मृत्युसम्म बेग्लै स्थान हुन्छ । र मैले यिनै महत्वको स्पर्श गर्दै विभिन्न फूलहरुलाई आफ्नो पेन्टिङमा उतार्ने कोशिश गरेकी हुँ ।

 

मैले लालीगुँरास फूललाई हाम्रो राष्ट्रिय फूलमात्र नभएर वसन्त ऋतुलाई स्वागत गर्ने प्रतिकको रुपमा लिएकी छु । जसरी वसन्त ऋतु सुरु भएपछि नयाँ उमंग, उत्साह अनि वातावरणमा हरियाली छाउँछ त्यसरी नै हाम्रो जीवनमा शरद् ऋतुपछि वसन्त ऋतुले आगमन गर्छ । मैले यस पेन्टिङमा मेरो मात्र नभई सम्पूर्ण जनजीवनमा हरियाली, उत्साह, उमंग र खुशीयालीले स्वागत गरोस् भन्दै लालीगुँरास फूललाई क्यानभासमा उतारेकी हुँ । लालीगुँरासको महत्व फूलमा मात्र सीमित नरही यसको आफ्नो छुट्टै प्राकृतिक औषधीय स्थान छ ।

 

 

क्याकटस, नाम सुन्दैमा काँडै काँडा तर काँडामा पनि सुन्दर फूल फुल्न सक्छ भन्ने एक उदाहरण हो । यसै कुरालाई मनन् गर्दै काँडा जतिसुकै तिखो भएपनि त्यसमा फुल्ने फूलले कसको मन नलोभ्याउला र ? जीवन काँडा बीचको फूल हो भन्दै एउटी आमाको माया,  ममता, सर्मपण र त्यागको भावले भरिपूर्ण हुन्छ भन्ने कुरा दर्शाउन खोजेकी छु । आफ्नो जीवनमा जतिसुकै वेदनाभएपनि आफ्नो सन्तानको भविष्य उज्जवलहोस्, सुख, समृद्धि, उन्नति, प्रगति र सफलताले उसको पाईला चुमोस् भन्ने भाव यस क्याकटसमा व्यक्त गर्न खोजेकी छु । कुनै पनि बाधा अद्चनले सन्तानलाई नछोउन् भन्ने भाव पनि उतार्न खोजेकी छु ।

 

सुर्यमुखी फूल जसको नाम नै आध्यात्मीक छ । यस फूलको सुन्दर गोल आकारले सुर्यको वोध गराउँदछ । हामीले जहिलेपनि विहान उठ्ने वित्तिकै जलले सुर्य भगवानको नमन र स्पर्श गर्छौ र त्यसैको नमन र स्पर्शमा सुर्यमुखी फूललाई मैले आफ्नो पेन्टिङमा समावेश गर्दै यसको नाम Spiritual Affection राखेंको हुँ । जसरी सुर्यको किरण सँगै नयाँ विहानी सुरु हुन्छ त्यसरीनै यस फूलले हरेक दिन नयाँ उर्जा दिओस् र दिन शुभ होस् भन्ने भावना प्रतिविम्वित गर्न खोजेकी छु । त्यसकारण,फूलनै एक त्यस्तो प्राकृतिक वस्तु हो जसले सबैको मनलाई शान्त र आनन्द दिनुको साथै सबैको जीवनमा सुवास छर्ने काम गर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार