• बिहीबार ७-११-२०७८/Thursday 10-28-2021
स्वास्थ्य

खानेकुराको महत्व

‘खाना फ्याँक्यो भने अन्नले सराप्छ’ भन्ने भनाई हामीले बचपन देखि नै सुन्दै आएका हौँ । सनातन चलन अनुसार अन्न खानुभन्दा पहिले देवदेवीलाई सम्झेर केही गेडा अन्न चढाएर मात्र खाने चलन छ । विश्वमा नै कैयन् जातीले खानु भन्दा पहिले इश्वरलाई आजपनि खाना खान पाएकोमा धन्यवाद दिँदै खाना खान शुरू गर्दछन्। बाँडेर खाँदा मनमा जुन आनन्द आउँछ, आफुले मात्र खाने भनेर खाना लुकाएर राख्दा एक प्रकारको ग्लानी हुन्छ भन्ने कथन पनि सबै प्रकारका दर्शनहरुमा पाइन्छ । मानिसले खाना बाँच्नको निम्ति खाने भएपनि खानाको माध्यमबाट चरम सन्तुष्टि र आनन्द लिने हेतुले खानाका विभिन्न परिकारहरु बनाएर खुशियालीपूर्ण जिन्दगीको आशामा पनि खान्छन् र यस्तो अवस्थामा भने खाना खेर फाल्ने प्रवृत्ति पनि बढिरहेको हुन्छ। मानिसले खानाको इज्जत गर्न नजानेर खाना खेर फाल्ने गर्नु एउटा सामान्य कुरा भइरहेको छ। भोज–भतेरमा आफुले खान सक्ने भन्दा बढी खाना प्लेटमा हालेर अधिकांश खाना खान नसकेर फ्याँक्ने, खुवाउनेले पनि खाना छेलोखेलो छ भनेर देखाउन र आतिथ्यमा केही कमी नआओस् भन्ने हेतुले जवर्जस्ती निम्तालुको प्लेटमा खाना थपिदिने जस्ता कार्यले खाना खेर जाने गरेको छ। त्यस्तै घर परिवारलाई केही दिनलाई आवश्यक पर्ने सागसब्जी, फलफुल तथा अन्य बिग्रन सक्ने खाद्य पदार्थ मात्र भए पुग्नेमा चाहिने भन्दा बढी खरिद गरेर उपभोग नै गर्न नसकी खेर जाने गरेको र त्यस्ता वस्तु कसैलाई दिनु भन्दा पनि फ्याँक्नुमा नै सन्तुष्टि हुने मनोविज्ञानले गर्दा हामी जस्ता गरिव मुलुकका मानिसहरु समेत धेरै परिमाणमा खाना खेर फ्याँक्ने भएका छौँ ।

 

संयुक्त राज्य अमेरिकामा मात्र औसत चारजनाको प्रत्येक परिवारले वार्षिक रूपमा १,८०० डलर बराबरको खाना उपभोग नै नगरी खेर फाल्दछन्। यस्तै समस्या युरोप र अन्य विकसित मुलुकहरुमा पनि छ। अल्पविकसित मुलुकका धनाढ्यहरु पनि विकसित मुलुकका मानिसहरुको सिको सिकेर खानपिनका वस्तुहरु खेर फाल्नु समृद्धिको लक्षण भनि ठान्दछन् ।

 

विश्व खाद्य संगठन (एफ.ए.ओ.) को एक अध्ययनले देखाए अनुसार विश्वमा उत्पादन हुने खाना मध्ये एक तिहाई खाना उपभोग नै नभई फ्याँकिन्छ र यस्तो अवस्था विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा हुने गर्दछ र त्यहाँ उत्पादन र आयात भएको खाद्य पदार्थको करिव चालिस प्रतिशत प्रत्येक वर्ष खेर गइरहेको हुन्छ। यसरी विश्वभर खेर गएर फ्याँकिएको खानालाई मात्र व्यवस्थापन गर्न सकिएको भए सो खानाले वर्षेनी करिव एक अर्ब असी करोड मानिसको पेट भर्न पुग्ने थियो। यतिका खाद्य वस्तु प्रत्येक वर्ष खेर जाँदा यसको कारण मात्र विश्वमा कूल हुने ग्रिनहाउस ग्याँस उत्सर्जनको आठ प्रतिशत हुन आउँछ र जुन चीन र अमेरिकाको कारण हुने उत्सर्जन पछिको तेस्रो स्थानमा आउँछ। अब हामी आफैं विचार गरौँ, मानवजातीको सानो लापरवाहीले गर्दा एकातिर वातावरणमा कति ठूलो नकारात्मक प्रभाव पारेको रहेछ र अर्को तिर विश्वभरका अधिकांश विपन्न वर्गलाई खान पुग्ने खाद्यान्न कसरी नास भइरहेको रहेछ। खाद्य वस्तुको प्रशोधनको बेला हुने उत्सर्जन र त्यसपछि खाद्य वस्तु कुहिएर फ्याँकिएपछि उत्पन्न हुने मिथेन र कार्वन डाइअक्साइड जस्ता विषालु ग्याँसहरुको कारण पृथ्वी कति प्रदुषित हुँदोरहेछ तथा यस्को कारण फोहरमैला व्यवस्थापनमा कति जटिलता आइरहेको छ भन्ने कुरा पनि हामीले बुझ्नु जरुरी छ। हामी सडकमा घुम्दा फोहर फ्याँकेको ठाउँमा गएर हेर्‍यौँ भने पनि हामीले थाहा पाउन सक्छौँ कित्यस्तो फोहरमा खाद्यवस्तुको कूल परिमाण कति धेरै हुन्छ भनेर।

 

खाद्य वस्तु उत्पादन हुने खेतमा नै विभिन्न खालका किटाणुहरुले सागसब्जी तथा फलफुल खाइदिएर किसानले बजारमा बेच्न लग्नु भन्दा पहिले बिग्रेका उपजहरु मिल्काएर खेर फाल्छन् भने सग्ला मात्र बजारमा पुर्‍याउँछन्। त्यसपछि खाद्य वस्तुको मूल्य र उपभोक्ताको आम्दानीले खरिद र विक्रीको प्रक्रियामा प्रभाव पार्ने भएकोले निकै ठूलो परिमाणमा सामान खेर जाने गर्छन् । विकसित राष्ट्र तथा विश्वका ठूला ठूला शहरहरुका खाद्य वस्तु विक्री गर्ने स्थलहरुमा ग्राहक आकर्षण गर्नेहेतुले छेलोखेलो गरि राखिएका खाद्य वस्तुहरु मध्ये आधा पनि बिक्न सक्दैनन्। व्यापारिक हिसाबले त्यस्ता वस्तु  थोरै बिके पनि व्यापारीलाई ठूलो फाइदा भएको हुन्छ भने नबिकेका सामान सड्न थालेर सबै फ्याँकिन्छन् र व्यापारिक दृष्टिले यसमा कुनै असर पर्दैन।अझ अचम्मको कुरा त के छ भने कैयन् विकसित राष्ट्रहरु खासगरी अमेरिकामा तयार भइसकेका फसलहरु काट्न र प्रशोधन गर्न समेत श्रमशक्तिको अभाव र अन्य कारणले गर्दा ठूलो धनराशी खर्च हुने र ती वस्तु बजारमा लगेर विक्री गर्दा खर्च समेत नउठ्ने समस्याले गर्दा पाकिसकेको फसल पनि खेतमा नै सुक्न र कुहिन छोडिन्छ । खाद्य पदार्थ उत्पादन र विक्रीको चरणमा भन्दा पनि बढी खेर जाने क्रम त होटेल, रेष्टुरेन्ट, र घर घरमा पुगे पछि हुन्छ।

 

आज भन्दा पाँच दशक अघिसम्म पनि दक्षिण एशियाका अधिकांश शहरहरु समेत गाउँ जस्ता थिए भने नेपालको त कुरै नगरौँ । वातानुकुलीत तवरले खाद्य तथा पेय पदार्थ भण्डारण गर्ने प्रथाको आम रूपमा शुरुवात भइसकेको थिएन त्यतिबेला। धेरैजसो गर्मी ठाउँ भएकोले तथा जनताको आयस्तर पनि ज्यादै न्यून भएकोले त्यतिबेला खानाको खास माग अनुसार नै खाद्यान्न खरिद र खानाका परिकार तयार गर्ने गरिन्थ्यो भने खाना बढी भएर फ्याँक्ने काम निकै कम मात्रामा हुने गर्दथ्यो। तर भोज भतेरमा भने त्यतिबेला पनि निकै धेरै खाना फ्याँक्नु पर्ने अवस्थाको सिर्जना हुने गर्दथ्यो। त्यस्तै खाद्य पदार्थ भण्डारण गर्ने वातानुकुलीत गोदामहरुको अभावले गर्दा आज जस्तो धेरै समयसम्म खाद्यान्न भण्डारण गरेर राख्न नसक्नाले पनि खानपिनका कच्चा पदार्थको नोक्सानी हुने गर्दथ्यो।

 

विगत केही समय अघि देखि निकै गरिव र जनसङख्याको ठूलो चाप भएको दक्षिण एशिया देखि लिएर अफ्रिका, ल्याटिन अमेरिका वा अन्य गरिव देशका जनताहरुको पनि जीवनस्तरमा केही बदलाव आएर सकारात्मक परिवर्तन आएको छ भने मिठो खान पाउने मानिसहरु पनि कूल जनसङ्ख्यामा निकै बढ्दै गएका छन्। यसो हुनुमा खेत, फार्म र कारखानामा प्रशोधन हुने खानाको व्यापक रूपमा उत्पादन हुनाले र विज्ञान तथा प्रविधिको विकासले गर्दा कृषि उत्पादनमा पनि निकै ज्यादा बृद्धि भएकोले उत्पादन खर्च घट्न गएर समाजका अधिकांश वर्गमा खानाको पहुँच बढ्दै गएको हो। तर जनसङ्ख्याको विशाल बृद्धिसँगै खानामा निकै न्यून पहुँच भएका विपन्न वर्गहरुको सङ्ख्या पनि झनझनै बढ्दै गएको छ। यस्ता विपन्न वर्गका खासगरी बालबालिकामा पौष्टिक आहारको कमीले गर्दा कुपोषण हुनुका साथै विभिन्न प्रकारका रोगहरु लाग्ने र अल्पायुमा नै ज्यान जाने समस्या पनि निकै बढेको छ। 

 

भारत, बङ्गलादेश, अफ्रिका र दक्षिण तथा ल्याटिन अमेरिकाका कैयन् गरिब देशहरुका ठूला शहरहरुमा फ्याँकिएका खानालाई लघु उद्यमीहरुले पुनः प्रशोधन गरेर अति विपन्न वर्गका मानिसहरुलाई सस्तोमा विक्री समेत गर्ने गरेका छन् भने यस्ता विशाल जनसङ्ख्या भएका ठूला शहरका घरबार विहिन सडकमा आश्रित गरिवहरुले फ्याँकिएका खानाबाट नै गुजारा चलाइ रहेका हुन्छन्। कोरोनाको महामारी पुर्वसम्म पनि काठमाडौँ कै दरवारमार्गका सडक छेउमा विभिन्न रेष्टुराँ र होटलहरुले दिनहुँ ग्राहकले फ्याँकेका खाना र रेष्टुरेन्टमा बढी भएका खानाहरु थुपारेको भेटिन्थे भने कैयन् सडक बालकहरु त्यस्ता फोहरबाट गहकिला खानाहरु जम्मा गरेर खाइ पनि रहेका देखिन्थे ।

 

एकजना होटल व्यवस्थापनका छात्रले भनेको कुरा म सम्झन्छु। उनले होटल तालिमको निम्ति काठमाडौँको एक पाँच तारे होटलमा केही महिना प्रशिक्षार्थीको रूपमा काम गर्दा त्यहाँ उभ्रेका बेकरी तथा अन्य खानाका परिकारहरु होटलले फोहरका कन्टेनरहरुमा दिनहुँ फ्याँकेको देखेछन्। पछि उनले त्यहाँ काम गर्ने स्थायी कर्मचारीहरुसँग त्यस्ता खाना कर्मचारीलाई घर लग वा सडकमा गरिव गुरूवालाई बाड भनेर व्यवस्थापनले दिँदैन ? भनेर सोध्दा त्यसो हुँदैन र त्यस्ता बढी भएका खानाहरु फ्याँक्ने नै गरिन्छन् र बरू कर्मचारीलाई आवश्यक खाना भने उनले ग्राहकले भन्दा केही सस्तोमा किनेर लग्नु पर्ने नियम भएको बताएछन्। यसरी नेपालमा मात्र होइन, संसारका जताततैका होटल र रेष्टुरेन्टले यसरी नै बढी भएको वा विग्रन लागेको खाना खेर फाल्दा रहेछन् । खेर जाने वस्तु जम्मा गरेर राख्ने, गरिबको लागि पुनःप्रशोधन गर्ने र वितरण गर्ने प्रणालीमा उनीहरुको ठूलो खर्च पर्ने भएर पनि होला, झन्झट गर्नु भन्दा फ्याँक्नु नै बेस भएको। तर नेपालमा यस्ता दातृ संस्था या सामाजिक संस्था नै देखिएका छैनन्, जसले यस्ता खाना फ्याँक्नु पर्ने व्यवसायबाट जुठो र सग्लो खाना जम्मा गरेर जुठो र अलिक सड्न लागेका खानालाई पुनःप्रशोधन गरेर छाडा कुकुर र अन्य जनावरलाई खुवाउने र सग्लो खानालाई पुनःप्रशोधन गरेर केही दिनको लागि नबिग्रने गरी प्याक गरेर विपन्न वर्गलाई वितरण गर्ने गरुन्। भारत जस्ता ठूला देशका महानगरहरुमा सायद यस्ता गैरसरकारी सामाजिक संस्थाहरु पक्कै होलान्। बंगुर पालन तथा विभिन्न प्रकारका पशुपंक्षीहरु व्यावसायिक रूपमा पालन गर्ने संस्थाहरुले भने निकै कम मात्रामा यस्ता फ्याँकिएका खाद्य वस्तुहरु सडकबाट संकलन गरेर लग्ने गरेका देख्न सकिन्छ।

 

हाम्रो घरमा कोठा बढी भयो भने हामीलाई त्यति चिन्ता हुँदैन तर फ्रिजमा र भान्साको भण्डार कोठामा खाली ठाउँ बढी भयो भने मनोवैज्ञानिक तवरले असुरक्षित महसुस भएर हामी तुरन्त सुपर मार्केट गएर फ्रिजका विभिन्न खण्डहरु मुताविक विविध प्रकारका खाद्य र पेय पदार्थहरु ल्याएर फ्रिज भर्दछौँ भने भण्डारको र्‍याकमा अन्य खाद्य सामग्री ल्याएर भरिहाल्छौँ। आम सञ्चारले ठूलो फड्को मारेकोले विभिन्न खाद्य वस्तुहरुको आकर्षक विज्ञापन तथा विभिन्न खाले अफरहरुले गर्दा पनि हामी चाहिने भन्दा पनि बढी खाद्य पदार्थ खरिद गर्ने गर्दछौँ । खाद्य वस्तुहरुको बजार व्यवस्थापनको लागि भनेर कुनै आधार विनै एक्पाइरी डेट छिटो मितिमा राखिनाले पनि मानिसहरु स्वास्थ्यको कारणले मनोवैज्ञानिक भय पैदा भएर खाद्य पदार्थ फ्याँक्ने गर्दछन्। त्यस्तै सन् १९६० तिर बजारमा पाइने खाना खाने प्लेटहरु भन्दा आजको दिनमा विक्री हुने गरेका प्लेटहरु ठूला आकारका हुँदा रहेछन्। त्यसैले जति ठूलो प्लेट, त्यति धेरै खानाको खपत । यो एक मनोवैज्ञानिक आदत हो मानवजातीको। यसबाट एकातिर अनावश्यक खपतले गर्दा परिवारका सबै सदस्य मोटा र रोगी हुँदै जान्छन् भने अर्कोतर्फ यसरी भण्डारण गरिएका खाना मध्ये ठूलो परिमाण वातानुकुलीत तवरले राखिएता पनि केही दिनमा नै उपभोग गर्न नहुने गरी सड्न थालेर हामी त्यस्ता खानालाई फ्याँँक्न वाध्य हुन्छौँ ।

 

खाद्य पदार्थ खेर जाने अवस्था उत्पादनको बेला, बजारमा विक्री हुन नसकेर र घर घरमा चाहिने भन्दा बढी भण्डारण गरेर र लापरवाही तथा अनुशासनहिनताका कारण पनि सिर्जना हुने गर्दछ। अमेरिका लगायत कैयन् विकसित मुलुकहरुका व्यापारीहरु आफुले उत्पादन गरेको अनाज विक्री हुन नसकेपछि यसको माग भन्दा उत्पादन बढी भएर मूल्य घट्ने भयले त्यस्तो अनाज लुकाएर यानी होर्डिङ गरेर राख्ने गर्दछन् र आखिर केही समय पछि सड्न थालेर फ्याँक्नु पर्ने नै स्थिति आउँछ। त्यस्तै ठूला ठूला सुपर मार्केटहरुमा खाद्य पदार्थ छेलो खेलो हुने भएकोले विक्री हुन नसकेर पनि खेर जान्छ। एकातिर विश्वका कैयन् ठाउँका मानिसहरु अनाज नपाएर तड्पिई रहेका हुन्छन् भने अरू ठाउँमा भाउ नपाएर अनाजलाई कुहिन दिने गरिन्छ। अमेरिका कै कुरा गर्दा त्यति धेरै खाद्य पदार्थ एकातिर खेर गइरहेको हुन्छ भने त्यति धेरै विकास गरेको मुलुकमा पनि झण्डै चार करोड भन्दा बढी जनसङ्ख्या आधारभूत खाद्य पदार्थको पहुँचबाट टाढा रहन वाध्य छ। त्यसमाथि पनि फलफुल र तरकारी जस्ता स्वस्थकर खाना खान नपाउने अमेरिकन पनि करोडौँको सङ्ख्यामा छन् भन्दा निकै अचम्म लाग्न सक्छ।

 

औद्योगिक विकास, यातायात सञ्जाल, विकास निर्माण, जनसङ्ख्या वृद्धि, वन फडानी आदिले हुने वातावरण विनासलाई सच्याउन ठूलो प्रयत्न र प्रतिबद्धताको जरुरत पर्छ र त्यसो गर्न त्यति सहज पनि छैन। आजसम्म कुनै पनि विकसित मुलुकले यो कुरामा कुनै सकारात्मक बदलाव ल्याउन सकेका छैनन्। तर उत्सर्जनको तेस्रो ठूलो कारण मानिएको खाद्य पदार्थ खेर फालेर हुने प्रदुषणलाई कम गर्न भने त्यति गाह्रो छैन। व्यक्तिगत, पारिवारिक, संस्थागत, व्यावसायिक र राज्यको आ-आफ्नो तर्फबाट खानाजन्य वस्तुको दुरुपयोग कसरी रोक्ने, चाहिने जति खाद्य पदार्थको मात्र उत्पादन गर्ने र खाद्य सुरक्षाको निम्ति चाहिने विभिन्न खालका भण्डारण सम्बन्धि व्यवस्थालाई सुनिश्चित गर्ने, खेर जाने जस्ता खाद्य पदार्थहरुको पुनःप्रशोधन गरेर अन्य प्रयोजनको निम्ति र भविष्यको खपतको लागि भण्डारण गर्ने, खाद्य वस्तुको मूल्य आफ्नो वशमा राख्न विकसित राष्ट्रहरुले खाद्य पदार्थ अनावश्यक रूपमा सञ्चित गरेर राख्ने परिपाटीको विश्वव्यापी रूपमा विरोध गरेर त्यस्ता बढी भएका खाद्यान्न संयुक्त राष्ट्र संघ र अन्य दातृ संस्थाको पहलमा विपन्न वर्गमा वितरण गर्ने व्यवस्था मिलाउने, विक्रीको नाममा नचाहिँदा आडम्बरहरु जस्तै छेलोखेलो गरेर खाद्य पदार्थको प्रदर्शन गर्ने र झुठा एक्सपायरी डेटहरु छाप्ने, राजनीतिक र अन्य हडताल गरेर खाद्य पदार्थको आपुर्तिमा प्रभाव पर्ने कुकार्यहरुलाई दुरुत्साहित गर्ने, होटेल, रेष्टुरेन्ट र अन्य व्यापारिक संस्थाहरुले फ्याँक्ने गरेका खाद्य पदार्थ फोहरमैला उठाउने संस्थाले समेत नउठाइ दिने र त्यस्ता संस्थाहरुलाई भारी जरिवाना तिराउने, सानैदेखि मानिसलाई खानाको महत्व दर्शाउने शिक्षा र संस्कार प्रदान गर्ने आदि कार्य गर्नाले हाल खेर गइरहेको खाद्य पदार्थमा निकै हदसम्म कमी ल्याउन सकिन्छ। आशा गरौँ विश्वका सबै राष्ट्र र जनताले यो महत्वपूर्ण विषयमा विशेष ध्यान पुर्‍याएर सबैको पेटमा अन्न पर्ने र स्वस्थ जीवन व्यतित गर्ने वातावरण सिर्जना गर्न सकुन् । 


-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार