• सोमबार ७-८-२०७८/Monday 10-25-2021
विचार

विभूषणको रहस्य

पात्रले सामाजिक, सांस्कृतिक जीवनमा,राष्ट्रका बहुआयामिक फाँटमा, रचनात्मक कार्यक्षेत्रमा उल्लेखनीय योगदान गरेबापत उसलाई कदरस्वरुप सम्मान गरिन्छ, पुरस्कृत गरिन्छ, विभूषित गरिन्छ। यो अस्वाभाविक होइन पनि। पात्र जुन क्षेत्रमा रहेको छ, उसले आफू संलग्न वर्ग र समुदायको उत्थानमा गरेको उदाहरणीय र अनुकरणीय कार्य गरेबापत उ सम्मानित हुन्छ। यो सम्मानले उसलाई उत्प्रेरणा प्रदान गर्छ, हौसला र ऊर्जा प्रदान गर्दछ । फलस्वरुप ऊ उत्साहित भएर भविष्यमा अझै उत्कृष्ट कार्य गर्न प्रेरित भइरहन्छ।

 

नेपालमा केही अपवाद संघ संस्थाहरुलाई छाडेर भन्ने हो भने सम्मान, पुरस्कार र विभूषण प्रदान गर्ने निकाय र केन्द्रहरु पारदर्शी छैनन्। ती सधै आशंका र विसंगतिका घेरामा रहेका छन् । अझ कतिपय संस्थाहरु ‘बार्टर सिस्टम’ बाट संचालित छन्। कुनै एउटा संस्थाको पदाधिकारीले अर्को संस्थाको पदाधिकारीलाई पुरस्कृत गर्छ। फलस्वरुप उसलाई पनि त्यो अर्को संस्थाले सम्मान–पुरस्कार प्रदान गर्छ। अर्थात संस्था–संस्थाकाबीच सम्मान र पुरस्कार साटासाट गरिन्छ। यस्ता प्रत्यक्ष उदाहरणहरु छन्। नेपालमा नाम चलेका मदन पुरस्कार होस्, भुपालमानसिंह पुरस्कार होस् या रामबावुजस्ता धनाढ्यले प्रदान गर्ने पुरस्कार, त्यहाँ संलग्न पदाधिकारीहरुले आफना पाप र दुष्कर्मलाई धोइपखाली गर्न नाम चलेका ‘पात्र’ लाई ‘महरा’ बनाउने गरेका अनेकौं दृष्टान्त छन्। कुनैबेला मदन पुरस्कारका कुनै मठाधिशको साल्ट ट्रेडिङ्गका वीच मुद्दा मामिलाको बिषय बनेको थियो। त्यसबाट निवृत्त हुन कुनै सरकारी वकिललाई पुरस्कृत गरेर आफनो अनियमितता पखाल्ने काम गरिएको थियो। त्यसबापत ती वकिललाई मदन पुरस्कार प्रदान गरियो। राष्ट्रपतिकै सन्र्दभमा जाने हो भने उनका सन्तानलाई गृहमन्त्रालयबाट बाँडिने बिभूषण प्रदान गरेर शक्तिको दुरुपयोग गरिएको थियो। केही समय अघि सोमनाथ जस्ता नेपाल सरकारका मुख्य सचिव स्वयं पदक विभूषण प्रदान गर्ने समितिमा थिए । मुख्य सचिवले विभूषण प्राप्त गर्न आफैलाई सिफारिस गरेको घटना ताजै छ ।

 

राजनीतिक दलका शक्ति केन्द्रहरुले पनि आफू सत्तामा पुगेपछि आफना नातेदार र चाकरीदारहरुलाई सम्मान र विभूषणले झकिझकाउ गर्दै आएका छन्। मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि पनि ‘राष्ट्रिय प्रतिभा पुस्कार’लाई ‘हरिबिजोग’ गरिएका प्रसंगहरु पुरस्कार प्राप्त व्यक्तिका अनुहार र क्षमतालाई हेरेपछि प्रस्ट हुन्छ। प्रदेशस्तरीय होस् वा केन्द्रियस्तरीय होस्, राष्ट्रिय प्रतिभा पुरस्कार केही अपवाद पात्र बाहेक अधिकांश पात्र दया र आशिर्वादबाट प्रदान गरिएका छन् । कुनै व्यक्ति संघसंस्था र पदाधिकारीलाई आक्षेप गरिएको होइन । प्रवृत्ति र प्रचलनलाई प्रस्ट्याउन खोजिएको मात्र हो।

 

पुरस्कारले स्रष्टा, सर्जक, समुदाय र सुपात्रमाथि न्याय गर्न सक्नुपर्छ। न्याय गर्न नसक्नेले, पारदर्शिता कायम गर्न नसक्नेले पुरस्कार, सम्मान र बिभूषणहरुको खिल्ली उडाउनु उचित होइन । दोसल्लाको कथा पनि यस्तै छ। तामपत्रको रहस्य पनि यस्तै छ। यी साटासाटमा चलेका छन्। गृह मन्त्रालयमा आवेदन भरेर, ट्रष्टीहरुको चाकरी गरेर पुरस्कार लिने र दिने प्रथाले नराम्रो विकृति ल्याइरहेको छ। वर्तमान नेपालमा दुईवटा विषय धेरै अवमूल्यन भएका छन् । राजनीतिमा ‘मन्त्रीपद’ बिक्रीमा छ भने साहित्य, संस्कृति, कलाजस्ता सिर्जनाका क्षेत्रमा प्रदान गरिने पुरस्कारहरु पनि लिलामीमा रहेका छन् । 

 

राजनीतिमा भएका भ्रष्टाचार र अनियमितता जस्ता विसंगति विकृतिहरुबाट नेपाली जनता वाक्कदिक्क भईसकेका छन् । मन्त्री हुनेहरु प्रति जनताको दृष्टिकोण राम्रो रहेको छैन। यस्तै साहित्य, संगीत कला संस्कृतिका क्षेत्रमा प्रदान गरिने सम्मान, पुरस्कार र विभूषणमा हुने गरेका उपरोक्त विकृतिहरुबाट अधिकांश स्रष्टा संस्कृतिकर्मी उदासीन छन्। नेपालमा जस्तो पुरस्कारको दोहन, विश्वका कुनै राष्ट्रमा हुँदैन । प्रतिभाशाली पात्रहरु ओझेलमा छन् । कहिल्यै ‘उचित व्यक्ति उचित स्थान’ मा पुग्न पाउँदैन ।

 

भ्रष्ट शासक र शक्तिकेन्द्रले स्वेच्छाचारिता र मनपरीतन्त्रबाट कार्य गर्ने परिपाटीको विकास भएको हुँदा यस्ता दुष्कर्महरु भइरहेका छन्। लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्दछ, प्रतिभाको कदर गर्न सक्नुपर्दछ। तर यस्तो भइरहेको छैन। पुरस्कार र पदकहरु लिलामीमा छन्, बिक्रीमा छन्। यसबेला वदनियतपूर्ण ढंगबाट प्रदान गरिने यी सम्मान पुरस्कारप्रति अधिकांशको आकर्षण घटेको छ। पुरस्कार सबै कुरा होइन। किनभने नेपाली राजनीतिको विकृति र साहित्य, कला, संस्कृतिमा देखा परेको पुरस्कार प्रचलनको विकृति पूर्णतया स्खलनतिर उन्मुख छ। पुरस्कार भन्दा माथि सर्जक स्रष्टा हुन्छन् । 

 

सन्दुक रुइत हुन् वा महावीर पुन वा डा.गेविन्द केसी, भूपी शेरचन हुन् वा वैरागी काइँला, यी सबै पुरस्कार भन्दा माथि छन्, महान् छन्। यस्ता विशिष्ट प्रतिभालाई मदन पुरस्कारले, भुपालमानसिंह पुरस्कार र रामबाबुका रकम र सम्मानले किन्न सकेन । पुरस्कारले स्रष्टा सर्जकको मोलभाउ गर्नु कति युक्तिसंगत हुन्छ, त्यो विषय एकदमै विचारणीय छ। ट्रष्टी र ट्रष्टीका भान्सेहरुले सम्मान, पुरस्कार र विभूषणलाई लेनदेन र व्यापारको सामग्री बनाएका हुँदा यसतर्फ बहिष्कार गर्ने स्थिति नबनोस् ।

 

स्मरणरहोस् यसबेला नेपालमा कालो धन र कालो करतुतबाट स्थापित पुरस्कारबाट आफू र आफ्नो परिवारको छविलाई चोख्याउन नाम चलेका स्रष्टा र संस्कृतिकर्मीलाई सम्मान पुरस्कार र विभूषण प्रदान गर्ने आडम्बरको विकास भएको छ, जुनकुरा उनीहरुको आत्मरति मात्र हो । यसले पाप र दुष्कर्मलाई छोपेर छोप्न नसकिने निश्चित छ। सम्मान, पुरस्कार र विभूषणलाई गलत प्रयोग गरेर ‘धोवीका कुत्ता घरका न घाटका नबनोस् ।’ 

 

यसबेला सरकारद्वारा प्रदान गरिने पदक–विभूषणको मौसम छ । भर्खरै ९०३ जना व्यक्तिहरुलाई पदक विभूषणले सम्मानित गर्ने घोषणा गरिएको छ। प्रहरी, सेना, प्रशासन लगायत ‘पहुँच’ र ‘शक्तिकेन्द्र’ का व्यक्तिहरु विभूषित हुने भएका छन् । तल्लो तह र मध्यम तहमा रहेका प्रतिभाशाली व्यक्ति र पहुँच नभएका प्रतिभाशाली व्यक्तिहरुलाई पाखा लगाउने काम भएको छ ।

 

चारजना पत्रकारहरुले त यो अनियमितता र भेदभावका विरुद्ध विभूषण नै बहिष्कार गर्ने घोषणा गरेका छन् । विभूषणको ‘हरिबिजोग’ भएको देख्दा खुसी हुने अवस्था छैन। यस किसिमको बेथितिबाट प्रतिभाको कदर हुन सक्तैन । लोकतन्त्रको सौन्दर्य पारदर्शिता हो । सरकारको पारदर्शितामाथि आशंका गर्ने ठाउँहरु प्रशस्त छन् । 

 

सबैलाई चेतना भया !
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार