• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

कोरोनाबीच तीज : कसलाई के थाहा ? कतिबेला  स्वास्थ्यमा कस्तो समस्या देखिने हो !

तीज सुरु भयो, दर खाने चटारो छ । सामाजिक र धार्मिक महत्व बोकेको यो पर्वलाई महिला दिदिबहिनीले आफ्नो सुखदुख बाड्ने पर्वको रुपमा मनाउने गर्छन। हिजो आज यो पर्व महिलाहरुको विचार, भावना र जागरण ल्याउने पर्वको रुपमा अघि बढेको छ । तीजको धार्मिक सांस्कृतिक महत्व जती छ, त्यती नै तीजको अवसरमा गाइने गीतहरुको महत्व छ।

 

बदलिँदो परिवेशमा तीज मनाउने तौर तरिकामा बदलाव आएको छ। विश्वलाई आक्रान्त पारिरहेको कोरोना नेपालमा पनि कायम छ। सरकारले लकडाउन हटाए पनि संक्रमितको संख्या उस्तै छ। कोरोनाका कारण हामीले धेरै आफन्त, छिमेकीहरु गुमायौं । कति उपचाररत छन । यी सबै घटनाले सबैलाई आहत तुल्यायो । यस्तो जटिल परिस्थीति देख्दै र भोग्दै गर्दा मन खोलेर रमाउने बातावरण छैन। यसो भन्दै गर्दा निराश भएर बस्नु पनि सकिदैंन । परिस्थीतिलाई मध्यनजर गर्दै आपसमा खुसी साटेर चाडपर्व मनाउँनुपर्ने जिम्मेवारी हामी माझ छ । 

 

रमाइलोको नाममा भिडभाड नगरौं । गत बर्षको तीज जस्तै यस पटकको तीजमा पनि जहाँ जस्तो अवस्थामा छौं त्यहि रमाईलो मान्नुपर्ने अबस्था छ। पछिल्ला दिनमा सार्वजनिक भएका तीजका केहि गीतमा कोरोनाको विषयवस्तु थपिएका छन । यी गीत संगीतले कोरोना अझै पनि हाम्रो वरपर छ भन्ने सम्झना दिलाएका छन । गीत संगीत कै कुरा गर्ने हो भने मौलिकता हराएर भडकिला गीत संगितले ठाँउ बनाउने क्रम रोकिएको छैन । सामाजिक संजालमा फोटो भिडियो अप्लोड गर्न होडबाजीले तीज  थप खर्चिलो बनेको भान हुन्छ ।

 

 देखासिकी र भड्किलोपन नदेखाउ। मिठो मसिनो खाने रमाइलो गर्ने यो चाडको विशेषता नै हो तर हिजोआज सामाजिक सञ्जालका भित्ताहरुमा तडकभडक धेरै देखिन्छ । एकतर्फ कोरोना महामारीको त्रास अर्कोतर्फ उपभोग्य बस्तुको आकाशिँदो मूल्य अबका चाडपर्व महिला दिदिबहिनीका लागि पक्कै पनि सहज छैन। एकै व्यक्तिलाई कोरोना पटकपटक संक्रमण देखिँदा एकतर्फ स्वास्थ्यमा थप जोखिम अर्कोतर्फ खर्च कसरी जुटाउने भन्ने तनाव छ। अनावश्यक खर्च गर्नुको साटो बरु केहि पैसा सम्भव भए जम्मा गरेर राखौं कसलाई के थाहा कतिबेला कसको स्वास्थ्यमा कस्तो समस्या देखिने हो !

 

सिमीत बजेटबाट घर व्यवहार चलाउनुपर्ने बाध्यता श्रृजना भएको छ भने अर्कोतर्फ वर्त अनि घरका काम धन्दा मै समय दिनुपर्दा चाडवाडको रमाइलो अनुभुती गर्न नै नपाउने अवस्था छ । वर्षमा एकपटक परिवारका सबै सदस्यले चाडपर्वमा एकसाथ बसेर रमाइलो बनाउने बातावरण निर्माण गरौं। कसैलाई कामको बोझ त कसैलाई चाहिने भन्दा बढी रमाइलो गर्न पर्ने भयो भने त्यसको के अर्थ हुन्छ र ! 

 

मुख्य कुरा स्वास्थ्य हो। कोरोनाको संक्रमणबाट बचौं सके वर्त बसौं नसके पोसिलो खानेकुरा खाउँ। शरीर स्वस्थ्य भयो भने चाडपर्व अर्कोवर्ष पनि आउँछन। वर्त अनि नाचगान र रमाइलो अर्कोवर्ष पनि गर्न सकिन्छ । सबै दिदिबहिनीमा हरितालिका तीजको शुभकामना ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार