• बुधबार ६-१३-२०७८/Wednesday 09-29-2021
विचार

अफगानिस्तानको पीडा

केही दिन अघि अफगानिस्तानमा त्यहाँको उग्र इस्लामिक राजनीतिक दल तालिवानले सरकारी फोजलाई परास्त गरेर सत्ता आफ्नो हातमा लिन सफल भयो। यो भन्दा पहिले यानी बीस वर्ष अघि पनि उनिहरुले करिव एक दशक अफगानिस्तानमा वर्वर शासन गरेका थिए । यसपाली शासन सत्ता आफ्नो हातमा लिएपछिको पहिलो प्रेस सम्मेलनमा उनिहरुले आफुहरु पहिले भन्दा निकै माझिएको, आफ्नो मुलुकका युवाहरु, शिक्षित तथा व्यापारिक वर्ग तथा अन्य सबै क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको मुलुकमा नै आवश्यकता भएकोले देश छोडेर बाहिन नजान आग्रह गरेका थिए भने विभिन्न देशका दूतावास र अन्तर्राष्ट्रिय निकायहरुका कार्यालयहरु बन्द नगर्न समेत आग्रह गरेका थिए। महिलाहरुको हक अधिकारको पनि हनन नहुने तर इस्लामिक सरिया अन्तर्गत उनिहरुलाई शिक्षा, काम तथा अन्य सबै व्यवसायमा सामेल हुन दिने कुरा बताएका थिए। सबै छिमेकी तथा मित्र राष्ट्रहरुसँगको सम्बन्ध सुमधुर रहने र मुलुकलाई कुनै पनि राष्ट्रको विरोधमा काम गर्ने अखडा बन्न नदिने प्रतिवद्धता पनि जनाएका थिए। यदी उनिहरु वास्तविक रूपमा नै बदलिएका हुन् र अब आउँदा दिनहरुमा आजसम्म ठूलो दुखमा फँसेको उनिहरुको सुन्दर मुलुक अफगानिस्तानले साँच्चि नै शान्ति र विकासको बाटोमा अघि बढ्न पाउने हो भने यो एउटा नितान्त स्वागतयोग्य कुरा हो र सम्पूर्ण विश्वले उनिहरुलाई यस कार्यको निम्ति सहयोग गर्नुपर्दछ ।  

 

तालिवानको अर्थ पस्तुन भाषामा विद्यार्थी हुन्छ र सन् १९९० तिर अफगानिस्तान र पाकिस्तानमा बसोवास गर्ने पस्तुन विद्यार्थीहरुले यो संस्थाको स्थापना गरेका हुन्। भन्ने नै हो भने यी भन्दा पहिलेका सोभियत संघसँग नौ वर्षसम्म लडेका मुजाहिद्दिनहरुकै अर्को संस्करण तालिवान हो ।सन् १९९४ मा तालिवानले धर्म तथा जनयुद्धको क्रममा सबैभन्दा पहिले पाकिस्तानबाट नजिकको ऐतिहासिक शहर कन्दहारमा जित हासिल गरेका थिए भने १९९६ मा उनिहरुले काबुल र सम्पुर्ण अफगानिस्तान नै आफ्नो हातमा पारेका थिए। अति नै कट्टर इस्लामिक समूह भएकाले यिनको शासनकालमा निकै जनधनको क्षति हुनुका साथै यिनले आतंकवादलाई अन्तर्राष्ट्रिय स्तरमा नै बढावा दिएका थिए। खासगरी महिलाहरुको सम्पूर्ण स्वतन्त्रताको हरण गर्नुका साथै यिनले ज्यादै नै क्रुर तरिकाले शासन गरे तथा मुलुकलाई निकै पछाडि धकेलिदिए । आखिर अमेरिकामा अल कायदाले सेप्टेम्वर ११, २००१ मा गरेको भयानक आतङ्कवादी कार्वाहीबाट करिव सत्ताइस सय मानिसको मृत्यु र निकै धेरै भौतिक नोक्सानी भयो । यो घटनाको एक महिना पछि नै अमेरिका र उसका सहयोगीहरुको एलाइड फोर्सले यो सब अफगानिस्तानमा बसेर ओसामा विन लादेनले गरेको ठहरका साथ अफगानिस्तानमा हमला गरेर तालिवान विरुद्धसमेत विशाल सैनिक कारवाही शुरु गरे पछि यिनीहरु तितर वितर भए भने त्यहाँ नयाँ संरचना सहितको प्रजातान्त्रिक सरकार बन्यो र यही एलाइड फोर्स र अमेरिकाको ठूलो सहयोगले गर्दा अफगानिस्तानले पछिल्लो बीस वर्षमा नयाँ तथा आधुनिक विकासको बाटो तिर लम्कन शुरु गर्‍यो। त्यतिबेला अफगानिस्तानका पूर्व राजा जाहिर शाहलाई मुलुकमा फर्केर सम्बैधानिक राजाको हैसियतले रहन पनि आग्रह भएको थियो तर वयोवृद्ध तथा भलाद्मी जाहिर शाहले सो प्रस्ताव अस्विकार गरेर अफगानिस्तानको उत्तरोत्तर प्रगतिमा कामना गरेका थिए। उता तालिवान पनि विस्तारै पुर्नसंरचना मार्पmत विशाल संगठनको रूपमा विकास हुँदै गयो र पछिल्ला केही वर्षदेखि त्यहाँ द्वन्द्व बढ्दै जान थाल्यो। अमेरिकाको सदाझैं आफ्नो मतलब सिद्ध भइसकेपछि हात छोड्दै जाने नीतिले गर्दा बिस्तारै सरकारी पक्ष कमजोर हुँदै गयो भने तालिवानहरु झन् झन् बलिया हुन थाले । त्यसैको फलस्वरुप केही दिन अघि उनिहरुले विश्वमा एउटा ठूलो सनसनी सहित अफगानिस्तानको बागडोर आफ्नो पोल्टोमा पुनः पार्न सफल भए ।

 

तर विगत केहीसमय अघिदेखिको अमेरिकाको मध्यस्थतामा अफगान सरकार र तालिवानहरु बीच कतारको दोहामा भएका विभिन्न शान्तिवार्ताहरु र हालको शान्तिपूर्ण सत्ता परिवर्तनलाई मध्यनजर गर्दा अमेरिकाले विगत बीस वर्षमा खर्बौँ डलर खनाएको तथा सयौँ अमेरिकीहरुले ज्यान गुमाएको भएर सँधै यस्तो परिस्थितिलाई थेगिरहन नसकिने हुनाले कहीँ अमेरिकीहरुले नै तालिवानीहरुलाई मुलुकमा शुशाषनका साथ परिमार्जित राजनीति गर्ने भए सत्ता साझेदारी गर्ने र उनीहरुलाई वैध भएको घोषणा गर्ने आश्वासन मुताविक नै यो सब विकासक्रमले ठाउँ पाएको त होइन ? भन्ने कुरा पनि मनमा आउन थालेको छ। हालै त्यहाँका राष्ट्रपति अस्रफ घानीले तालिवानीहरु काबुल पस्नु भन्दा केही समय अघि नै निकै सहज तवरले मुलुक छोड्नु, तालिवानीहरु शान्तिप्रिय तवरले राष्ट्रपति भवनमा पस्नु, पूर्व राष्ट्रपति हमिद कारजाई र उच्च स्तरीय राष्ट्रिय मेलमिलाप आयोगका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह तालिवानी शासनको पुनः शुरुवात भएपछि पनि ढुक्कसँग मुलुक भित्रै रहनु र पछि उनीहरुलाई भेट्नु, तालीवानीले पनि अमेरिका लगायन कसैलाई पनि गाली गलौज नगर्नुले पनि यो कुरालाई प्रमाणित गर्न सहयोग गरेको छ ।

 

वास्तवमा तत्कालीन सोभियत संघले अफगानिस्तानमा सन् १९७९ मा हमला गरेर झण्डै नौ वर्ष त्यहाँ रहन सफल भएता पनि त्यहीबेला देखि नै मुजाहिद्दिनको रूपमा आजका तालिवानहरु पैदा भएका हुन् र त्यतिबेलाका मुजाहिद्दिनले सोभियत सेनालाई फर्कन वाध्य बनाइदिएका हुन्। बन्दुक चलाउन र युद्धमा निपुण यी वीर लडाकु जातीसँग आजसम्म कसैको पनि केहि लागेको छैन। नब्बे वर्षसम्म तिन पटक युद्ध गरेर पनि अङ्ग्रेज सेना त्यहाँ टिकेर बस्न सकेको थिएन भने हालै बीस वर्षसम्म बसेर पनि अमेरिकी सेनाले न त त्यहाँ टिक्न नै सक्यो न नै त्यहाँका मानिसहरुको वाह–वाही पाउन सक्यो । हाल भारतलाई भने पाकिस्तानले यिनै तालिवानीहरुको मद्दतमा काश्मिरमा अनेक गडबड मच्चाउने हुन् कि भन्ने चिन्ताले सताएको जस्तो संकेत विभिन्न टेलिभिजनका समाचार च्यानलहरुबाट पाइन थालेको छ । 

 

सन् १९२३ मा आधुनिक अफगानिस्तानका प्रथम राजा अमानुल्लाह खानले मुलुकलाई आधुनिकिरणको बाटोमा लग्ने उद्देश्यले मुलुक कै पहिलो निकै उदारवादी सम्बिधान बनाए। यसो गर्नमा उनलाई युरोप र सोभियत संघको विकासबाट पनि निकै प्रभाव परेको थियो। यो त्यही समय थियो जुन बेला टर्कीमा मुस्तफा कमाल आतातुर्कको उदय भएर उनले टर्कीलाई धार्मिक–सांस्कृतिक स्वतन्त्रता सहित आधुनिकता तिर अघि बढाएका थिए। अमानुल्लाहको सम्बिधानमा धार्मिक सहिष्णुता र नारीहरुलाई पुरुष सरहको अधिकार दिने कुरामा जोड दिइएको थियो। यो कुरा त्यतिबेलाका अफगानिस्तानका कट्टरपन्थी तथा आदिवासी कविलाहरुलाई चित्त बुझेन त्यसैले अमानुल्लाहले छिटै पद त्याग्न कर लाग्यो। पछि उनका भतिजा मोहम्मद नादिर शाह १९२९ मा त्यहाँको राजा भए र उनले पनि सोभियत संघको विकास मोडेल अपनाए पनि धर्मको कुरामा भने कट्टरपन्थीहरुको नै समर्थन गरे। यसरी दोधारे नीति लिँदा उनको हत्या हुन गयो र उनका छोरा जाहिर शाह अफगानिस्तानका अन्तिम राजा हुन पुगे । दोश्रो विश्वयुद्धमा जित हासिल गरेको सोभियत संघको प्रभुत्व बढीरहेको समयमा जहिर शाहका प्रधानमन्त्रीहरुमध्ये शाह मोहम्मद र दाउद खान ज्यादा चर्चित हुन पुगे । शाह मोहम्मद पश्चिमा प्रजातन्त्र, प्रेस स्वतन्त्रता र उदार धार्मिक नीतिमा विश्वास गर्ने व्यक्ति भएकाले उनी कट्टरपन्थी इस्लामिस्टहरुको दवावले गर्दा हटाइएरदाउद खान प्रधानमन्त्री भए तर यिनको सोभियत संघसँगको अति घनिष्ट सम्बन्धले गर्दा त्यतिबेलादेखि सोभियत संघ अफगानिस्तानमा हावी हुँदै गयो। यसरी उनको विदेशीसँगको साँठगाँठ र चरम धार्मिक उदारवादबाट झस्किएका कट्टरपन्थीहरु उनि देखि पनि विकर्षित हुन थाले। सोभियत संघकै डिजाइन मुताविक सोझा राजा जाहिर शाहलाई नयाँ सम्बिधान बनाएर सम्बैधानिकराजा बनाइयो भने त्यहाँ प्रजातन्त्रको नाममा माक्र्सवादी पार्टीहरु र इस्लामिक कट्टरपन्थी पार्टीहरुको स्थापना भयो र अफगानिस्तान बिस्तारै विभिन्न चरम विचारधारा तथा वादहरु अंगाल्ने झुण्डहरुको रणभूमि बन्दै गयो जसरी आज नेपाल विभिन्न विदेशी शक्तिको पञ्जामा र विभिन्न थरीको आन्तरिक राजनीतिमा जकडिएको छ ।

 

पछि तिनै दाउद खानले सोभियत संघको आडमा सेनाभित्रका कम्युनिष्ट विचारधारा राख्ने खेमाको बलमा जाहिर शाहलाई सत्ताच्युत गरेर अफगानिस्तानलाई गण्तन्त्रात्मक राज्य घोषणा गरेर आपैm राष्ट्रपति बने। राजा नै देश छोडेर जानु परेपछि त्यहाँ अझ बढी अराजकता छाउन थाल्यो। त्यति नै बेला अफगानिस्तान र पाकिस्तानका पस्तुन क्षेत्र मिलाएर पस्तुनिस्थान बनाउने पुरानो मुद्दाले फेरि स्थान पाउन थाल्यो भने यसको कडा विरोधका साथ पाकिस्तानले पनि आफ्नो राजनैतिक भूमिकालाई बढाउन थाल्यो। अङ्ग्रेज र अफगान शाषकहरु बीचयुद्ध विराम र सन्धि भएर पस्तुनहरु बसोवास गर्ने विशाल क्षेत्रलाई दुई भागमा विभाजन गरी डुरान्डलाईन कोरेर सिमाना बनाइएको कटु इतिहास वास्तवमा अधिकांश अफगानहरुलाई पचेको थिएन । त्यसैले पनि तालिवानको जन्म अफगान र पाक पस्तुनहरुको संयुक्त तदारुकतामा भएको हो।

 

हत्या र हिंसा बढ्दै गएको अफगानिस्तानको राजनीतिमा दाउद पनि धेरै समयसम्म अड्न सकेनन् र उनको पनि १९७८ मा सपरिवार हत्या भयो। सोभियत संघको हस्तक्षेप र बोलवाला झनै बढ्न थाल्यो । नारी अधिकार र भूमिसुधारका कार्यक्रमहरु अघि बढाइए भने अफगान आदिवासीहरुको बोलवालामा कमी गरिँदै लगियो । अर्का राष्ट्रपति हफिजुल्लाह अमिनको पनि पार्टी महासचिव तराकीको हत्याको केही समय पछि र १९७९ मासोभियत संघ अफगानिस्तानमा भौतिक रूपमा नै पसे पछि हत्या भयो र बाब्रक कार्माल राष्ट्रपति भएपछि त्यहाँ साम्यवादी शासन नै लादिन शुरु भयो । विभिन्न खेमा बीचको सत्ता संघर्ष र षडयन्त्रको क्रममा त्यहाँ एक पछि अर्का नेताहरुको हत्या गरियो, झण्डै बीस लाख अफगान नागरिकको द्वन्द्वको कारण मृत्युहुन गयो भने साठी लाख शरणार्थी पाकिस्तानको बलुचिस्तान र उत्तर–पश्चिम प्रान्त एनडब्लु एफपीमा र इरानमा ओइरिए । झण्डै नौ वर्षसम्मको सोभियत सेना र मुजाहिद्दिनहरु बीचको लडाईँले अफगानिस्तान एकदमै जर्जर हुन पुग्यो। सोभियत संघलाई असफल बनाउन अमेरिकासहित पश्चिमा पूँजीवादी मुलुकहरु, पाकिस्तान, अरब मुलुकहरु र चीन समेत लागि परेका थिए भने यी सबैले अत्याधुनिक हतियार, सैनिक तालिम र ठूलो आर्थिक सहयोग सहित मुजाहिद्दिनहरुलाई निकै सघाए । तर सोभियत संघलाई धपाउन र उसले राष्ट्रपति बनाएको नजिबुल्लाहलाई मारेर झुण्डाइए पछि भने सरकारमा पुगेका मुजाहिद्दिनले पनि आफ्नो वास्तविक रूपको प्रदर्शन गर्न थाले । एक राक्षसी प्रवृत्तिको अन्त भएर त्यहाँ अर्को भयानक सैतानको राज चल्न शुरु भयो भने मुजाहिद्दिनहरु पनि एकापसमा विभिन्न खेमामा विभाजित भएर आफु आफुमा नै पनि लड्न र हत्या गर्न उद्वत भए भने तिनीहरुको अर्को संस्करणको रूपमा तालिवानको जन्म भयो ।

 

त्यतिबेला पाकिस्तानमा अफगान शरणार्थीहरुको अधिक चाप भएको बेलामा पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल जियाउल हकसँगको भेटमा शरणार्थी समस्या बारे कुरा उठेपछि उनले मेरा पिताजीलाई शरणार्थी क्याम्पहरुको भ्रमण गरेर उचित सल्लाहहरु दिन आग्रह गरेका थिए । सोही मुलाविक मेरा पिताजीले दुई दिन लगाएर विभिन्न ठाउँका क्याम्पहरुको भ्रमण गरेर एक व्यक्तिगत रिपोर्ट पनि उनलाई पेश गर्नुभएको थियो । मेरा पिताजी स्व. गोविन्दप्रसाद लोहनी त्यतिबेला पाकिस्तानको लागि नेपाली राजदूत हुनुहुन्थ्यो र भारतको जालन्धरमा जन्मेका तथा हुर्किएका राष्ट्रपति जियासँग उहाँको विशेष व्यक्तिगत सम्बन्ध थियो। पछि सोही साल (सन् १९८०) मा राजा वीरेन्द्रको पाकिस्तान भ्रमणको समयमा पिताजीले उहाँलाई पनि अफगान शरणार्थी शिविर र पाकिस्तानका विशाल जलविद्युत आयोजनाहरुको अवलोकन गर्ने कार्यक्रम राख्नु भएकोमा इस्लामावादमा नेपालका तत्कालीन परराष्ट्र मन्त्री र परराष्ट्र सचिव निकै रुष्ट भएका थिए। तर सोही भ्रमणमा सामेल दरवारका एक सचिवले उनिहरुको पर्वाह नगर्नुस् सरकारलाई यी ठाउँहरुको भ्रमणको कार्यक्रम निकै मन परको छ भनेपछि मेरा पिताजी बल्ल ढुक्क हुनुभएको थियो । पछि राजा वीरेन्द्र यी दुबै स्थलहरुको भ्रमणबाट निकै प्रसन्न भएका थिए ।

 

भुपरिवेष्ठित र नेपाल भन्दा करिव छ गुणा ठूलो देश अफगानिस्तानको कुल सवा तीन करोड जनसङ्ख्यामध्ये बयालिस प्रतिशत पस्तुन (पख्तुन) हरु यानी पस्तु भाषा बोल्ने पठानहरु छन् । पाकिस्तानको नर्थ वेस्ट फ्रन्टियर प्रोभिन्सको पनि अधिकांश जनसङ्ख्या पठानहरु कै छ। वास्तवमा अङ्ग्रेजहरु यो भेगमा आउनु भन्दा अघि पस्तुन भाषा बोलिने सबै नै क्षेत्र खोरासनको नामले एउटा नै राष्ट्र थियो। त्यसैले अफगानिस्तान र पाकिस्तानका यी पठानहरुको भेषभूषा, भाषा, संस्कृति र धर्म पुरै मिल्न जान्छ। यी दुबै देशका पठान समुदायहरु हाम्रा गोर्खालीहरु भने जस्तै निकै वीर लडाकु जातीहरु हुन्। बन्दुक, छुरी र तरवार जस्ता हतियारहरुलाई त उनिहरु गहना नै सम्झन्छन् र सक्कली हतियार पाएमा त्यसको हुबहु नक्कल पनि बनाईदिन माहिर छन् । पाकिस्तानमा पनि यिनीहरुलाई आफ्नो प्रान्त भित्र यस्ता हतियारहरु बोक्न मनाही छैन। यिनीहरु सिधासाधा, बलवान र केही हदसम्म मूर्ख जाती हुन्। इस्लाममा आफ्नो धर्म, जाती र सम्प्रदायको निम्ति जेहाद छेड्ने वा लडाईँ गर्ने व्यक्ति यस्ता पुण्य कार्यको सिलसिलामा मर्न परेमा जन्नत वा स्वर्ग पुगिन्छ भन्ने विश्वास गर्दा रहेछन्। त्यसैले नै यिनीहरु भित्रैदेखि बलिया हुन्छन् । आफ्नो ज्यानको पर्वाह नगर्ने व्यक्ति आम रूपमा मूर्खमा गनिन्छन् किनभने हामीले जति नै पुनर्जन्म हुन्छ वा इश्वर छ भनेर भने तापनि हाल प्राप्तमनुश्यको जुनी अनायास त्याग्न त्यति सजिलो छैन। तर आफ्नो ज्यानको बाजी लगाएर मुलुक र जनताको निम्ति प्राण आहुतीमा लगाउनेहरु चाहीँ पक्कै पनि मूर्ख होइनन्, बरु उनिहरु वीर शहिदमा गनिन्छन् र यस्ता व्यक्तिहरु हाम्रो मुलुकमा र अन्य मुलुकमा पनि जन्मिएका थिए र बेला बेलामा जन्मिन्छन् पनि ।

 

यसरी झण्डै आधा जनसङ्ख्या ओगटेका अफगानिस्तानका पस्तुनहरु नै तालिवानका मूख्य लडाकु र समर्थकहरु हुन्। त्यहाँका अन्य जातीहरु ताजिक, हजारा, उज्वेक, अज्मक तथा तुर्कमेनीहरु मध्य एशिया तिरबाट बसाईँ सरेका पुराना जातीहरु हुन् भने केही बलुचहरु पनि पाकिस्तान र इरानसँगको दक्षिणी सिमाक्षेत्रमा बसोबास गर्दछन्। अलेक्जेन्डर यानी सिकन्दरले अफगानिस्तान र हालको पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा हमला गरेर शासन गर्दा उनका सेनाका कैयन् लडाकाहरु त्यतै बिहेबारी गरेर बसेकाले धेरै पठानहरु युरोपियन जस्तै अग्ला, कुहिरो आँखा भएका र गोरा भेटिन्छन् । पाकिस्तानका हालका प्रधानमन्त्री र भारतका सिने जगतका खानहरु सबै पठान नै हुन् ।

 

यो तथ्याङ्कले पनि के देखाउँछ भने,अफगानिस्तानमा यी पस्तुन जातीहरुलाई नरिझाईकन त्यहाँ शासन गर्नु भनेको असम्भव कुरा नै हो। जेङ्गिज खान, अलेक्जेण्डर, अशोक, वावर, नादिर शाह तथा अन्य मुगल वादशाहहरु तथा कुशान साम्राज्य, पर्सियन साम्राज्य, अट्टोमन साम्राज्य, शिख साम्राज्य वा ब्रिटिश साम्राज्य कसैले पनि त्यहाँ दिगो रूपले टिकेर बस्न सकेनन् । त्यहाँका कविला र आदिवासीहरुको समर्थन विना त्यहाँ टिकेर बस्नु भनेको असम्भव नै कुरा हो ।

 

नेपालले अङ्ग्रेजसँग सुगौली सन्धि गरेर खुम्चिन वाध्य भएपछि विरक्त भएका वलभद्र कुँवर आफ्ना दलवल र समर्थकहरुसँगै हालको लाहोर स्थित शिख साम्राज्यमा राजा रञ्जित सिंहको फौजमा गोर्खा रेरिमेन्टको जर्नेलको रूपमा सामेल हुन गए । अफगानहरुसँग लडाईँ गर्ने क्रममा उनले हालको पेशावर नजिक नौसेरामा वीरगति प्राप्त गरे । यसरी नेपालको लाहुरे संस्कृतिको शुरुवात वलभद्रले नै गरेका थिए । त्यतिखेर रञ्जित सिंहको फौजमा भर्ती हुन लाहोर जानेहरु कालान्तरमा लाहुरे कहलिए भने मुगल फौजमा भर्ती हुन जानेलाई मुग्लान पसेका भनिन थाल्यो । पाकिस्तानको पेशावरदेखि अफगानिस्तानसँगको सिमाना तोर्खमसम्म जाँदा बाटोमा ठाउँ ठाउँमा गोर्खाली लडाकुहरुको स्मारकको रूपमा पहाडमा कुँदिएका खुकुरी क्रसहरु देख्न पाइन्छ । 

 

पहिलो शताव्दी तिरै सिल्क रोडको एक विशाल व्यापारिक केन्द्रको रूपमा हालको अफगानिस्तान रहेको थियो। चीन, मध्य–एशिया, फारस, दक्षिण एशिया जस्ता सबै क्षेत्रबाट अफगानिस्तान हुँदै वस्तुहरुको आदान प्रदान हुने भएकोले अफगानिस्तान त्यतिबेला देखि नै एक महत्वपूर्ण व्यापारिक र सांस्कृतिक केन्द्रको रूपमा गनिन्थ्यो भने यो यस क्षेत्रकै एक प्रमुख व्यापारिक नाका भएकोले यसका विभिन्न शहरहरु त्यतिबेला देखि नै गुल्जार र विकसित थिए।  पामिर नटबाट एक विशाल पहाडी श्रृङ्खला अफगानिस्ताको बीचै बीचबाट तल झर्ने भएकोले पनि मध्य एशियाबाट दक्षिण एशियामा हमला गर्न आउने राजा–महाराजाहरुलाई त्यतिबेला निकै धेरै समस्याको समाधान गर्नु पर्दथ्यो । कन्दहार, हेरात, जरानी, घज्नी, मजार–ए–शरिफ, जलालावाद, काबुल आदि निकै पुराना सभ्यता बोकेका शहरहरु हुन्। त्यतिबेला त्यहाँ विभिन्न ठाउँका सामानहरु मात्र आउने नभई यी सब मुलुकहरुका त्यतिबेलाका विचारहरु समेत आदान प्रदान गर्ने केन्द्र अफगानिस्तान बन्न पुगेको थियो। इशा पुर्व ३३० मा अलेक्जेण्डले जितेर शासन गरेको सम्पुर्ण क्षेत्र मौर्य साम्राज्यलाई सुम्पेर फर्केका थिए। अलेक्जेन्डरले स्थापना गरेको शहर कन्दहारलाई राजधानी बनाएर उनले र पछि चन्द्रगुप्त मौर्य र उनका नाती सम्राट अशोकले पनि राज्य गरेका थिए। पहिलो शताव्दीको मध्यतिर कुशान साम्राज्य छँदा देखि नै अफगानिस्तान वौद्ध धर्म र संस्कृतिको केन्द्र बन्न पुगेको थियो । पछि आठौँ शताव्दीमा हिन्दुशाहीहरुको साम्राज्य छँदा हिन्दु धर्मको पनि ठूलो प्रचार हुन पुग्यो। कालान्तरमा जेङ्गिज खानका हुँड भनिने सेनाहरु र कट्टरपन्थी मुसलमानहरुबाट अफगानिस्तान र दक्षिण एशियामा हमला हुन थालेपछि भने बामियान, तक्ष्यशिला, मोएन्जोदारो, हरप्पा तथा अन्य वौद्ध सभ्यताहरुको विकास भएका ठाउँहरुमा तोड फोड गरेर त्यहाँका मूर्तिहरु र शिक्षाका केन्द्रहरु ध्वस्त बनाएका थिए ।बाँकी रहेका बामियानका बुद्धका मुर्तिहरु र कलाकृति पनि तालिवालहरुले २००१ म ध्वस्त पारे । अहिले पनि अफगानिस्तानमा हिन्दू र शिखहरु अप्लसङ्ख्यामा बसोवास गर्दछन् । त्यहाँ केही हिन्दू मन्दिर र गुरुद्वारा पनि छन् । भारत सरकारले हालै त्यस्ता अल्पसङ्ख्यक हिन्दू, वौद्ध तथा शिख समुदायका मानिसहरुलाई त्यहाँ बस्न असहज भएको भए भारतमा शरण दिने कुराको घोषणा गरिसकेको छ ।

 

शिल्क रोडको समयदेखि नै अफगानिस्तान गलैँचा, हस्तकला र छालाका बस्तुहरु, फलपूmल र मसला (ड्राई फ्रुट), केसर, गाँजा तथा लागु औषधको उत्पादनमा निकै अगाडि थियो भनेयो देशमा हिंग (तरकारीमा हाल्ने मसला), नुन, युरेनियम, लिथियम, लिड, सल्फर, मार्वल, सुन, जिङ्क, तथा अन्य बहुमूल्य ढुङ्गाहरु र प्राकृतिक ग्यास तथा तेलका विशाल भण्डारहरु छन् तर यहाँको राजनैतिक द्वन्द्वले गर्दा वर्षेनी खर्बौँ रकम कमाउन सक्ने यो क्षेत्रको राम्रोसँग अन्वेषण र उत्खनन गर्न सकिएको छैन। विगत बीस वर्षमा त्यहाँ निर्माण कार्यले तीव्रता पाउनुका साथै पुर्वाधार विकास र शहरीकरणमा पनि महत्वपूर्ण विकास भइरहेकोमा यो क्रम रोकिन जाने होकी भन्ने कुरामा सबै क्षेत्रमा चिन्ता भइरहेको छ ।यस्ता विकास कार्यहरुमा पनि देश विदेशका हजारौँ कम्पनीहरु र जनशक्ति कार्यरत छन् भने तिनीहरुको भविश्य के हुने हो भन्ने कुरा पनि निकै महत्वपूर्ण रहेको छ ।

 

हाल अफगानिस्तानमा खासगरी अमेरिकी र एलिड सेनाको काममा र विभिन्न देशका दूतावासहरुमा सुरक्षा गार्डका रूपमा तथा संयुक्त राष्ट्र सङ्घ तथा अन्य गैह्र सरकारी संस्थाहरुका विकास, निर्माण तथा अन्य कार्यहरुका लागि अनुभवी तथा विशेषज्ञ जनशक्ति, नेपाली पूर्व सुरक्षाकर्मी, कामदार तथा अन्य सेवाका दक्ष र अदक्ष कर्मचारी र कामदारहरु कार्यरत छन् भने केही व्यक्तिहरु विभिन्न तवरले त्यहाँबाट बाहिरिन र ती मध्ये केही नेपालमा नै फर्किन समेत सफल भएका छन् ।

 

सँधै ढिलो मात्र सोच्ने र निर्णय लिने नेपालको बानी नै परेकोले अफगानिस्तानमा तालिवानले सत्ता लिइ सकेपछि मात्र नेपालको सरकारलाई त्यहाँबाट नेपालीहरुलाई फिर्ता ल्याउने कुरा सुझ्यो। जेहोस् ढिलै भएपनि सरकारले आफ्ना नागरिकहरुलाई के कसरी हुन्छ सुरक्षित तवरबाट मातृभूमि फर्काउन गरेको पहललाई सकारात्मक रूपमा नै लिनु पर्दछ । हुनत हालका तालिवानीहरुले कसैलाई कुनै प्रकारको बिगार नगर्ने भनेता पनि यस्तो परिस्थितिमा उसको कुरालाई विश्वास गर्न केही समय लाग्ने र अर्को कुरा अधिकांश व्यक्तिहरु अहिले बेरोजगार हुने अवस्था भएकोले हाललाई उनिहरु सुरक्षित तवरले फर्कनुमा नै कल्याण छ। पछि स्थिति सामान्य भएमा र त्यहाँ उनीहरुको जरुरत देखिएमा फेरि पनि जान सकिने ठाउँ छँदैछ ।

 

२००७ साल पछि नेपालमा प्रजातन्त्र आएर हामीले संयुक्त राष्ट्र संघ र विभिन्न राष्ट्रहरुसँग दौत्य सम्बन्ध स्थापना गर्न थालेदेखि नै भारतको निम्ति नेपालको आवासीय राजदूतले अफगानिस्तानको पनि राजदूतको रूपमा काम गर्ने परिपाटी बसेको हो। यसो हुनुमा सायद सन् १९७१ भन्दा अघि वङ्गलादेश पाकिस्तानकै हिस्सा भएकोले पाकिस्तानको लागि हाम्रो दूतावास पूर्वी पाकिस्तानको ढाकामा राखिएको वा दूतावासनै नभएकोले गर्दा अफगानिस्तान मामला हेर्न हाम्रो दिल्लीस्थित राजदूतावासलाई तोकिएको हुन सक्छ। तर पूर्वी पाकिस्तान टुक्रिएर वङ्गलादेश बनिसकेपछि नेपालले वङ्गलादेश र पाकिस्तान दुबै ठाउँमा दूतावास स्थापना गरिसकेको भएता पनि अफगानिस्तान मामिला हाम्रो दिल्ली राजदुतावासले नै हेर्ने गरेको छ। सन् १९८० को पुर्वार्धमा मेरा पिताजी स्व. गोविन्दप्रसाद लोहनी पाकिस्तानको लागि राजदूत छँदा भारतका लागि नेपाली राजदूत स्व. वेदानल्द झा आफ्नी पत्नी सहित मोटर बाटोबाट इस्लामावाद आएर हाम्रै दुतावासमा बसी तोर्खम हुँदै काबुल जानु भएको थियो र त्यहाँ आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुका साथै कुटनैतिक भेटघाट सकिएपछि फेरी सोही बाटो फर्किएर हामी कहाँ केहीदिन बसी आफ्नो ऐतिहासिक यात्राको वर्णन गरेर लाहोरबाट वागाहा सिमाना पुगेर अमृतसर हुँदै दिल्ली फर्कनु भएको थियो । पान खाननिकै शौखिन उहाँले पन्ध्र बीस दिनलाई पुग्ने पान भारतबाटै बनाएर ल्याउनु भएको रहेछ भने पछि पाकिस्तानको पान समेत ठूलै स्टकमा लिएर फर्कनुभयो। 

 

हाल भारतले आफ्ना सैनिक र नागरिक विमान काबुलमा पठाएर आफ्ना नागरिक र अफगानहरुलाई पनि ओसारिरहेको परिप्रेक्षमा हाम्रा दिल्लीस्थित राजदूतलाई प्रधानमन्त्री वा नेपालका उच्च अधिकारीको नयाँ तालिवान सरकारका अधिकारीहरुको नाममा पत्रसहित काबुल पठाएर नेपालीहरुको सुरक्षा र फिर्ता हुन चाहनेहरुलाई फिर्ता हुने वातावरण मिलाई दिन आग्रह गर्नु पर्ने हो र भारत सरकारसँग पनि यो बारे मद्दत माग्नु पर्ने हो न कि पुरातन कूटनीतिक मर्यादा र प्रोटोकल उल्लङ्घन हुन्छ कि हुँदैन भनेर मुकदर्शक भएर हेरेर मात्र बस्ने हो। के हाम्रा राजदूत काबुल पुगे भने तालिवानले एक्कासी कुनै नराम्रो कारवाही गर्लान् होला र ? आखिर उनीहरु पनि सार्क संगठन कै सदस्य राष्ट्र हुन्। पुरै दक्षिण एशियाली राष्ट्रहरुको यो साझा समस्या भएकोले सार्कका महासचिव र वर्तमान अध्यक्ष राष्ट्रले समेत सार्कको तर्फबाट तालिवान अधिकारीहरुलाई यस्ता आग्रह गर्नुपर्ने जस्तो देखिन्छ।

   

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार