• बुधबार ६-१३-२०७८/Wednesday 09-29-2021
डबली

पढिरहौँ अनि सिध्याइहालौँ लाग्ने ‘मेरो समय’

धेरै वर्षअघि बिपीका ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ पढ्दा मलाई निकै लोभ्याएको थियो, आहा! बिपीले कसरी समाज, परिवार र विदेशीजनलाई समेत आफू वरिपरि घुमाउन सकेको होला भनेर।

 

यसपटक ‘मेरो समय’ पढ्दा पनि मलाई त्यही अनुभूति भयो। आहा! किशोरले कसरी त्यतिका प्रसंग र प्रवृत्तिलाई आफूसँग जोड्दै तिनको सोच र प्रवृत्तिलाई पुस्तकमा उभ्याउन सकेको होला!  त्यो पनि पूर्ण निष्ठा र इमान्दारिताका साथ। अन्यथा, स्वयंलाई फजुल खर्ची, भर गर्न नसकिने, रक्सी खाने र अनुशासनहीनतालाई स्वयंका अवगुण भनी आत्मस्वीकृति दिन कहाँ सम्भव हुन्छ र सबै आत्मकथाकारलाई !

 

पहिलो पटक पढेको हैन मैले यो पुस्तक। प्रकाशन मिति उल्लेख नभएको किशोर नेपालको भीमकाय ग्रन्थ ‘मेरो समय’ दोस्रो पटक, लकडाउनको पनि दोस्रो चरणको अवकाशलाई मैले पुनः अधोपान्त पढें।

 

उनको समयका काठमाडौंका राजनीतिज्ञ, पत्रकार, साहित्यकार, गीत–संगीतकार अनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अधिकांश व्यक्ति, प्रतिष्ठित संघ–संस्था र व्यक्ति–व्यक्तित्वहरूको सूत्रात्मक अनुलेखन नै यस कृतिको सारांश देखिन्छ।

 

मलाई लाग्दैन, त्यस समयको कसैले पनि स्वयंलाई खोज्यो भने यस भीमकाय ग्रन्थमा आफूलाई फेला पार्ने छैन। चाहे त्यो बन्दी होस् वा जेलर अनि नेता होस् वा अभिनेता वा प्रहरी नै किन नहोस्। त्यसैगरी चलचित्र, विद्यार्थी होस् वा प्राध्यापक अनि कानुन व्यवसायी।

 

त्यसैगरी उद्यमी र कर्मचारीदेखि रासस होस् वा एएफपी र एपी अनि युपिआई। त्यसैगरी बिबिसी होस् वा भ्वाइस अफ अमेरिका अनि दी टेलिग्राफ र सन्डे अनि फार इस्टर्न इकोनोमिक्स रिभ्युदेखि दीनमान नै किन नहोस्।

 

कसैको पनि सन्दर्भ र प्रसंग छुट्दैन यसमा, जसको मियो चाहिँ निश्चय नै किशोर नेपाल नै छन्। त्यो प्रसंग राजबन्दीका रूपमा आए पनि वा पत्रकारका रूपमा। त्यसैगरी गोरखपत्रको जागिरेका रूपमा वा बिपीको सहायकका रूपमा। बीच–बीचमा उनको मृगतृष्णा सरहको प्रेम प्रसंग अनि कटु मावली प्रसंगदेखि परिवारभित्रका ज्यादै सीमित तर मार्मिक प्रसंगहरू समेत समेटिएका छन् ।

 

पिताजीको प्रसंग ज्यादै नगन्य आए पनि माताजीको जागिर प्रसंग आइनै रहन्छ। पत्रकारितालाई राजनीति अनि राजा र राजतन्त्रलाई नेता र प्रजातन्त्र प्राप्तिको लडाईंसँग जोडेर सँगसँगै आफ्नो जीवन संग्रामलाई पनि मैदानमा उतार्न सक्नु नै पुस्तकको वैशिष्ट्यता लाग्छ।

 

वास्तवमा यी विषयवस्तु पारेर आफू वरिपरि नेपालको कला, साहित्य, राजनीति एवं पत्रकारिता सन्दर्भमा देशी–विदेशी पात्र एवं प्रवृत्तिलाई समष्टिमा यसप्रकार उभ्याउन सक्ने कृति कुनै नेपालीले नेपाली भाषामा लेखिएको मैले आजसम्म पढेकै थिइनँ।

 

त्यसैले किशोरको ‘मेरो समय’ लाई पठनीय एवं संग्रहणीय कृति भनेर हालसम्म कम्तीमा ३ वटा प्रसंगमा मैले उल्लेख गरिसकेको छु। पुस्तक आफू, पत्रकारिता अनि कांग्रेसको मियोमा नै घुम्छ तर सबै वामहरूले यसमा यथोचित स्थान र उल्लेख पाएका छन्। चाहे त्यो नेता होस् वा पत्रकार अनि बौद्धिक होस् वा मानवअधिकारवादी।

 

तिनीहरू सबै भारतका होउन वा नेपालका। कहाँसम्म भने पेय पदार्थ र सिने जगतसम्मका समेत समेटिएका छन्। भारतको राजनीति, पत्रकारिता एवं साहित्यिक परिवेशलाई समेत सँगसँगै हिँडाउन सक्नु ग्रन्थको अर्को विशेषता देखिन्छ।

 

प्रत्येक कवि–कलाकार अनि साहित्यकार र तिनको जीवन संघर्षको पनि वृहद ज्ञान छ यसमा। ती सबैका रहनसहन, खानपिन एवं पहिरन–पोशाकको रुचि र हाउभाउ पनि यसमा समेटिएको छ। राष्ट्रिय प्रतिभाहरूको चित्रण यति व्यापक की गर्दागर्दै चिकित्सकहरू समेत त्यस दायराभित्र संगेटिन आइपुग्ने।

 

लेखकीय आकर्षक, परिमार्जित र यति शक्तिशाली छ की पढिरहँदा विश्राम दिनै मन नलाग्ने। झन् पढौँ, पढिरहौँ अनि सिध्याइहालौँ लाग्ने। घटना र प्रवृत्तिलाई संयोजन गर्ने अनुपम शैली छ यसमा।

 

अन्ततः त्यो क्षण आइपुग्यो जब यस किशोर नेपाललाई जन्म दिने माता ग्वालियरबाट दिल्ली हुँदै काठमाडौंबाट फेरि काशी पुगेको ५ दिनपछि नै कीर्तिशेष हुनुभयो। त्यहाँ मात्र मैले थाहा पाएँ, ती पीडित एवं संघर्षशील माताको नाम थियो– दिव्यावती नेपाल। वास्तवमा माताजीको निधनको यो क्षण पढ्दा मेरा आँसु पनि किशोरकै जस्तो नराम्रोसँग डबडबाएका थिए।

 

मलाई लाग्छ, यो नै कुनै स्रष्टाको वैशिष्ट्यता पनि हो जहाँ उसको सिर्जनाले पाठकलाई आफूसँगै रुवाउने वा हँसाउने र विस्मित वा आल्हादित गराउने खुबी राख्छ। जेहोस् अब किशोर नेपाल सही अर्थमा टुहुरा भए यस धरामा। २८ वर्षअघि ५ वर्षका किशोरलाई जुन पिताजीले उनलाई आफ्नी धर्मपत्नीका काखमा सुम्पेर गएका थिए, ती पनि त्यतै महाप्रस्थान भइन्।

 

राजनीतिको जमिनमा उभिएको यो पुञ्ज आफैंमा लेखकको आत्मकथा भए तापनि यसको प्रस्तुति भने पूर्णतः साहित्यिक एवं पत्रकारिक भावभंगीको छ। वाक्य विन्यास र संरचना एवं शाब्दिक छनोट विलक्षण छन्।

 

०००
त्यसपछि बिपीका अन्तिम दिनहरू आउन थाले। काठमाडौंका आमसभा, बैंककको स्वास्थ्योपचार अनि उनको दुःखद अवसानपछिको महाप्रस्थान..., यी सबै घटना–परिघटना किशोरका आँखै अघिल्तिर घटे। सबैको आँखो देखा तर त्योभन्दा पनि जीवन्त विवरण छ पुस्तकमा।

 

पढ्न निस्किएको एउटा कठिन पारिवारिक पृष्ठभूमिको किशोर कसरी राजनीतिको फन्दामा प¥यो अनि त्यसै फन्दाले एउटा जीवन गोरेटो दियो? पुस्तकले सजीव मात्र होइन, औपन्यासिक चित्रण नै गर्दछ।

 

साथै, त्यो किशोर कसरी एउटा खाँट्टी पत्रकारको रूपमा उभिन आयो र त्यसको क्रमवद्धता कस्तो सिँढी टेक्दै उक्लिएको थियो भन्ने रोमाञ्चक विवरण पनि दिन्छ पुस्तकले। यसै पत्रकारिता युद्धले उनलाई एक वर्षका लागि स्टान्ड फोर्ड युनिभर्सिटीको प्रोफेसनल जर्नालिज्म फेलोसम्म बनाइदिएपछि त अब उनको अन्तर्राष्ट्रिय छवि समेत कायम भयो।

 

उनले यो अवसर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट जितेका थिए। र, उनी पुगेका थिए स्यान फ्रान्सिस्को। स्वभावतः त्यहाँ पनि नेपालीवृत्त, कांग्रेसीवृत्त त्यत्तिकै भएकाले विदेशमा पनि उनलाई आफ्नो कांग्रेस र नेपाल जोड्न उति मुस्किल नपर्ने नै भयो। फलतः त्यसपछि पनि उनको लेखन कांग्रेसी राजनीति वरिपरि नै घुम्ने ग¥यो। त्यसपछि मात्र आफ्नो नयाँ गन्तव्यतर्फ।

 

उनको एक वर्षले नेपाली पत्रकारिता क्षेत्रलाई एउटा राम्रो विज्ञताको प्रमाणपत्र दिएर नेपाल पठाउनु गौरवको विषय भएको तथ्यलाई किशोरको आजसम्मको पत्रकारिताको सक्रियता स्वयंले पुष्टि गरिरहेकै छन्।

 

स्यान फ्रान्सिस्कोको पढाइपछि किशोरले आफ्नो करिअरमा कहिल्यै पछि फर्किनु परेन। एकपछि अर्को पारिवारिक सदस्यहरूको अवशानको पीडा व्यहोर्नु परे पनि आफ्नो व्यक्तित्व भने लगातार अघि बढ्यो। त्यसपछि उनी रोयटर्सको संवाददाता भए जसले उनको आर्थिक अवस्थामा सुधार ल्याइदियो। त्यस क्रमका उनको गोवा, दिल्ली जस्ता स्थानहरूका गोष्ठी र उठवसबारेको विवरण पढ्दा मलाई पनि उनको प्राप्तिमा रुमानीभाव पैदा भयो।

 

दुर्भाग्य! यहाँ पनि राजनीति भयो र उनलाई कांग्रेसीको आरोप लाग्यो। रोयटर्समा उनको स्थान धु्रवहरि अधिकारीले लिए। तर यस अवधिमा किशोर एक पत्रकारका रूपमा निकै माथि उक्लिइसकेका थिए।

 

०००
लेखकको अहं र आत्माभिमान विभिन्न मोड र घुम्तीहरूमा बारम्बार बोलेकै छन् तर उल्लेख्य के भने लेखकले आफ्नो त्यो प्रवृत्ति र आफ्नो आत्मकेन्द्री स्वभाव एवं रुढतालाई आफ्नो ‘स्वपहिचान’ का रूपमा चित्रित गर्न कुनै कञ्जुस्याइँ गरेका छैनन्।

 

आफ्नो बाल्यकाल, पढाइ र पारिवारिक विपन्नता, राजनीति, पत्रकारिता, जेल जीवन, अन्तर्राष्ट्रिय सम्बन्ध सँगसँगै राजनीतिको उपल्लो संरचनासँगको आवद्धता वरिपरि स्वयंलाई जोड्न र जोगाउन सक्ने यस्तो प्रतिभा नेपालमा मैले अर्को देखेको छैन।

 

सबैप्रति समव्यवहार हुँदाहुँदै पनि वाम विरुद्ध लाञ्छित आरोपहरू चाहिँ उग्र कम्युनिष्ट विरोधी कोणबाट नै आएका छन् पुस्तकमा। कांग्रेसजनको त यो इन्साइक्लोपेडिया नै हो यो पुस्तक। मलाई लाग्छ, कुनै पनि कांग्रेसले स्वयंलाई यस पुस्तकमा टटोल्न खोज्यो भने कहीँ न कहीँ उसले स्वयंलाई त्यहाँ अवश्यमेव फेला पार्ने छ।

 

वास्तवमा उनी आफैंले आफैंलाई ठाने जस्तो किशोर एक कठोर मुहार र व्यक्तित्वकै मान्छे हुन्। यो भन्दा पनि व्यावसायिक हिसाबले पत्रकारिता सुरु गरेको एकै दशकमा एक स्थापित पत्रकारका रूपमा स्थापित हुन सकेकोमा उनलाई ठूलो गौरव थियो जीवनमा।

 

प्रस्तुत भीमकाय ग्रन्थ वास्तवमा उनको यसै चुरो कुरोको वरिपरि घुमेको छ। पञ्च, दरबार अनि राजपरिवार भित्रका विकृति–विसंगति एवं भ्रष्टाचार र व्यभिचारलाई निकै मिहिन ढङ्गले भण्डाफोर गर्न पुस्तक सफल छ।

 

अरु कुनै पत्रकारले यी पक्षमा यति सघन ढङ्गले लेखेको मैले हालसम्म पढेकै छैन। त्यसमा पनि किशोरको लेखकीय गहिराइ र सनसनीजन्य भाषिक शक्तिको त फेरि उचाइ नै अर्कै।दरबार र दरबारिया अनि राजपरिवारका सदस्य र ती भित्रको अन्तर्कलह, प्रहरी प्रशासनलाई मोहोरा बनाएर राज्य लुट्ने पञ्चायतीकालको कुरूप मुहारको नाङ्गो प्रस्तुति पनि नाङ्गै देखिन्छ पुस्तक मेरो समयमा। व्यक्ति–व्यक्तित्व र पात्र–प्रवृत्तिको प्रस्तुतिमा पनि पुस्तक निकै नै वस्तुनिष्ठ छ।

 

भारतको परिवेश होस् वा नेपालको। त्यसैगरी राजीव गान्धीको चिन्तन होस् वा इन्दिरा गान्धी र वीरेन्द्र शाहबीचको कुटनीतिक व्यवहार। अनि ऐश्वर्य–धीरेन्द्रको द्वन्द्व होस् वा नेपाल–भारत कुटनीतिक गतिरोध।

 

मरिचमान र कमल थापाकै शैली र प्रवृत्तिको कुरा किन नहोस् सबैप्रति उनले ठूलो न्याय गरेका छन् तर आफ्नै जमिनको बन्धु थापा र उनका पिता विश्वबन्धुहरूको आकाङ्क्षा र महत्वाकाङ्क्षालाई पनि उनले कतै छोडेका छैनन्। बिपी, गणेशमान र भट्टराईहरूको त गाथा नै छ यसमा। एक–एकको कथा र पीडा चलचित्रको झाँकी भएर आइरहन्छ पुस्तकमा।

 

पढ्दा पनि रोमाञ्चित र स्वादिलोपन थपिइरहन्छ मानसपटलमा। सूचना र ज्ञानबद्र्धक पनि लाग्ने विषयवस्तुहरू प्रशस्त छन् यसमा। २०४६/०४७ सालमा राजनीतिक परिवर्तन आयो नेपालमा। यो किशोरका लागि निश्चय नै ठूलो प्राप्ति र सन्तोषको विषय थियो । तर त्यसले दिने परिणाममा आफ्नो स्थान? यो पनि कम महत्वको प्रश्न थिएन जो तिनीजस्तो स्वाभिमान र आदर्शमा हिँड्नेहरूका लागि कहिल्यै सम्भव भएन यहाँ। त्यसको विपरीत ठूलो आशा र मिहिनेतले आफ्नै बुतामा स्थापित देशान्तर साप्ताहिकबाट पनि बाहिरिनु पर्यो उनले।

 

त्यसपछि आयो २०४६/०४७ को परिवर्तनपछिको राजनीतिक दुष्चक्र जो प्रथम आमनिर्वाचनको कृष्णप्रसाद भट्टराई विरुद्धको अन्तर्घात एवं उनको पराजयबाट नै कोइराला वृत्तमा स्वयं आफ्नो स्थान र हैसियत के थियो भन्ने ज्ञान पनि यसै दुष्चक्रले दियो किशोर नेपाललाई।

 

म भन्छु– त्यस्तो किन भयो अनि कस्तोसम्मको अनुभूति रह्यो, त्यसका लागि त सबै नेपाली बौद्धिकहरूले अनिवार्यतः किशोर नेपाल पढ्नै पर्छ (पृ. ४२०)। त्यतिले मात्र नपुगेर देशान्तरपछि सुरुचिको सम्पादक रहिरहेका उनलाई त्यहाँबाट समेत रातारात निकाल्ने काम भयो।

 

यसको एउटै कारण थियो, उनी ‘कृष्णप्रसादका मान्छे’ थिए। उनलाई त्यसप्रकार निकालिएको दुर्दान्त कथा काठमाडौंका गल्लीमा त्यसैबखत हामीहरूले पनि नसुनेका होइनौँ। उनको यो ग्रन्थ छिचोल्दा मेरो मानसपटलमा ती दिनहरू पनि नउत्रिएका होइनन्। किनभने त्यसपछि पनि उनी त्यस समयमा ‘असफल’ नै भएका थिए । ‘स्वतन्त्रता’ म्यागजिनको संस्थापकका रूपमा। धन्य ! कान्तिपुर सुरु भयो, नेपाली पत्रकारिता जीवनमा जहाँ किशोरले पनि ‘समाचार संयोजक’ को सानो जिम्मेवारी हुँदै त्यसमा आफ्नो लेखै नछापिने नियतिसम्म पनि व्यहोर्नु पर्यो।

 

साप्ताहिकको सम्पादकले पनि नियतिमा थप उन्नति ल्याएन बरु एक समय उनी हिमालय टाइम्सका प्रधानसम्पादक अनि पत्रकार महासंघको सभापतिसम्ममा निर्वाचित हुने र दोस्रो पटक अल्पसमयलाई प्रधानमन्त्री भएका किसुनजीको प्रेस सल्लाहकार भए पनि यसका बीच उनले राजनीतिक चेपुवामा पर्दा व्यहोर्नु परेको टिठ र कपटसाध्य विवरणको प्रत्यक्ष भोक्ता उनको विवरण पढ्दा द्रविभूत मात्र भइनँ, नेपाली राजनीति त्यति पनि फोहोरी हुँदो रहेछ भन्ने कुरूप चित्रण फेरि आफैँले भोगेझेँ अनुभूत गरेँ।

 

धन्य किशोर! निकै राम्रो सामग्री दियौ तिमीले हामीलाई पनि! यो पढ्दा पो मैले राम्रो थाहा पाएँ– किन मेरा लेख–रचनाहरू कुनै पत्र–पत्रिकामा छापिँदा रहेनछन् भन्ने कुरा ! बाध्य भई उनले २०५७ असार १ गतेबाट अर्को नयाँ पत्रिका ‘नयाँ सडक’को प्रकाशन थाल्नु पर्यो तर नियतिले त्यसमा पनि उनलाई निष्फलता मात्र दिएन, त्यहाँ उनको टाउको माथि परेको २० लाख ऋणको ठूलो बोझ अझ अर्को चुनौती बन्न पुग्यो।

 

तैपनि, शेरबहादुर देउवाले उनलाई गोरखापत्रको प्रधानसम्पादक र महाप्रबन्धकको जिम्मेवारी दिई सानो टेको नदिएको होइन तर कांग्रेस विभाजनपछि त्यो बाटो पनि उनका लागि अन्ततः दुःखदायी नै सिद्ध भयो। फलतः उनी आफ्नै कनिष्ठ राजेन्द्र दाहाल सम्पादकत्वको हिमाल पाक्षिकको रिपोर्टर जागिर माग्नुपर्ने नियतिमा आइपुगे आफ्नो पत्रकारिता जीवनको चार दशकपछि।

 

जसको निष्कर्षमा उनी भन्छन्, ‘मेरो समयको यो कथा मेरो मात्र होइन, नेपाली जनताको संघर्षको कथा हो।’ र, यो नै यस पुस्तकको सार पनि हो। तर हामी २०६३ पछिका त्यस्ता कथाहरूका लागि उनीबाट थप आशावादी रहेका छौँ। फेरि, हाम्रो चाहिँ कुरा यो हो।

 

निष्कर्षमा किशोर नेपालले ‘मेरो समय’ लेखेर ‘हाम्रो समय’का पत्रकार, राजनीतिकर्मी, बौद्धिक, कुटनीतिक एवं समाजको जुन विहंगम फेहरिस्त प्रस्तुत गरेका छन्, त्यो आफैंमा एउटा अद्भूत प्रस्तुति बनेको छ नेपाली वाङ्मयमा।

 

किशोर आफैं एक सिद्धहस्त पत्रकार भए पनि त्यसै पत्रकारिता क्षेत्रमा उनले कति पीडा र अवहेलना व्यहोर्नुपर्यो भन्ने सूचना वास्तवमा उनको मात्र पीडा होइन, ती सबैको पीडा हो जो प्रतिभावान र क्षमतावान भइकन पनि आफ्ना सिर्जनाहरू जनसमक्ष ल्याउन सकिरहेका हुँदैनन्।

 

लामो समय ‘मुलप्रवाह’ का भनिएका टिभी र पत्रपत्रिकाहरूमा स्थान नपाइरहेको नियति भोगिरहेको मैले किशोरको ‘मेरो समय’ पढेपछि यो मेरो मात्र नियति होइन रहेछ, सबैको नै रहेछ भन्ने मात्र भएन स्वयं किशोर जतिका प्रतिभाको त यो हविगत हुन्छ भने लेखनमा हाम्रो त उनीसँग तुलनाको कुरै छैन।

 

तर, यो कृति त्यस्तै सबै उपेक्षित, संघर्षशील र लक्ष्यशील जमातहरूका लागि चाहिँ सन्दर्भ सामग्री, प्रेरणापुञ्ज र वृहद ज्ञानकोषकै रूपमा आएकोमा भने किञ्चित पनि दुविधा नहुनेमा म निश्चिन्त छु। अत : म शीघ्र नै यसको नयाँ संस्करणको कामना गर्दछु। र, त्यसको रसास्वादनको प्रतीक्षामा बस्छु। साभार : उकेरा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार