• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

'म अभिभावकलाई सन्तानसँग यौनबारे कुरा गर्न सिकाउँछुु'

PALLAVI BARNWAL

काठमाडौं । भारतका धेरै विद्यालयले यौन शिक्षा दिँदैनन्। आफ्ना बालबालिकाहरूलाई यौन र सम्बन्धका कुरा गर्ने जिम्मा अभिभावककै हुन्छ।

 

तर धेरैजसो अभिभावकलाई सन्तानसँग के कुरा गर्ने भन्ने थाहा नहुने बताउँछिन् यौन परामर्शदाता पल्लभी बर्नवाल। धेरै अभिभावकहरू सुझावका लागि पल्लभी सामु पुग्छन्। भारतमा यौनका कुरा र आफ्नो अनुभवबारे पल्लभीले बीबीसीका लैङ्गिक तथा पहिचान संवाददाता मेघा मोहनसँग कुरा गरेकी छन्।

 

फर्केर हेर्दा पुरातन भारतीय शैलीमा भएको मेरो हुर्काइ नै खासमा यौन परामर्शदाता बन्नका लागि सबैभन्दा उपयुक्त धरातल थियो। त्यसबेला मलाई थाहा नभए पनि यस कामका लागि ममा परेको सबैभन्दा सुरुवाती प्रभाव आफ्नै अभिभावकको सम्बन्ध थियो। वर्षौँसम्म मेरा अभिभावकको विवाहबारे अनेकौँ अफवाह चले। जब म आठ वर्ष थिएँ मैले समेत त्यसबारे प्रश्नहरू सामना गर्न थालेँ।

 

भोजहरूमा मलाई मेरा अभिभावकहरूबाट छुट्टाएर काकीहरूले एकोहोरो सोधपुछ गर्थे। 'के तिम्रा आमाबुवा अझै एउटै कोठामा बस्छन्र'  'के उनीहरूबीच झगडा सुनेकी छौ'?  'के त्यहाँ अन्य पुरुष आएको देखेकी छौ?'

 

वर्षौँपछि मेरो आफ्नै पारपाचुके भएपछि मेरी आमाले मलाई पूरा कथा बताउनुभयो। मेरो अभिभावकको विवाहपछिको सुरुवाती दिनमा अर्थात् म र मेरो दाइ जन्मनुअघि नै मेरी आमा एक जना पुरुषसँग शारीरिक सम्बन्धमा परिणत हुने गरी गहिरो सम्बन्धमा पर्नुभयो।

 

केही सातामै वहाँलाई ग्लानि महसुस भयो र त्यो सम्बन्धलाई अन्त्य गर्नुभयो। तर भारतीय समुदायमा जताततै त्यसबारे कुरा काट्न थालिएपछि त्यो मेरो बुवासम्म पुग्यो। जसबारे सोध्न नै मेरो बुवालाई १० वर्ष र दुई सन्तान जन्मनु पर्‍यो।

 

बुवाले आमाको जुन कुनै जवाफले आफूहरूको सम्बन्धमा असर नपर्ने कसम खानुभयो। उनले भनिन्, 'आमाले सबै कुरा भन्नुभयो। त्यो खासमा यौनबारे कम र आत्मीय सम्बन्धबारे बढ्ता थियो।'

 

बुवाले आफ्ना वाचा फिर्ता लिनुभयो। बुवाले वर्षौँदेखि शङ्का गरेको कुरा आमाले पुष्टि गरेपछि बाबुआमाको सम्बन्ध बिग्रन थाल्यो। त्यसले मलाई के कुरा राम्ररी स्पष्ट पार्‍यो भन्यो हाम्रो यौन र घनिष्ठताबारे राम्ररी कुरा हुन नसक्दा परिवारहरू भत्कन थालेका छन्। मेरो परिवारको मूलघर पूर्वी विहार राज्यमा छ।

 

जहाँ हाम्रो बाल्यकाल पुरातन खालको थियो। धेरै परिवारका लागि यौन खुला रूपमा छलफल हुने विषय थिएन। मेरा अभिभावकले एकअर्काको हात समात्ने वा अङ्कमाल गर्ने गरेनन्। तर त्यसबेला हाम्रो समुदायमा कुनै जोडीहरू शारीरिक रूपमा घनिष्ठ भएको देखेको मलाई सम्झना छैन।

 

यौनकै विषयमा मेरो पहिलो अनुभूति १४ वर्षको उमेरमा थियो। एक दिन दिक्क लागेपछि मैले बुवाको दराजमा रहेका किताबका थुप्रो केलाउने क्रममा वहाँका उपन्यास र इतिहासका किताबका बिचमा एउटा पातलो पम्पेट भेटाएँ।

 

जसमा कयौँ विस्तृत छोटा कथाहरू थिए- महिला र पुरुषले एकर्काका शरीरबारे नयाँ नयाँ कुरा बुझ्ने एउटा गोप्य संसारका कथा। एउटा कथामा एक जना जिज्ञासु युवती थिइन् जसले भित्तामा प्वाल पारेर आफूले चिनेको वैवाहिक दम्पतीलाई हेर्न चाहन्थिन्।

 

मैले कति कुराहरू बुझ्न त शब्दकोशकै सहारा लिनुपर्थ्यो। ममा थुप्रै प्रश्नहरू उब्जिएका थिए तर कुरा गर्ने कोही थिएनन्। मेरा साथीहरू र मैले यौनसँग नजिकको सम्बन्ध हुने अन्य कुराहरू पनि कहिल्यै गरेनौँ। सन् १९९० को अन्त्यतिरको समयमा मैले केही गल्ती गरेकी छैन भन्ने मलाई थाहा हुँदैनथ्यो।

 

किनकि त्यही उमेर संसारमा अन्यत्र बालबालिकाहरू घनिष्ठताबारे ज्ञान पाउन सुरु गरिसकेका हुन्थे। बेल्जियममा सात वर्षको उमेरदेखि नै बालबालिकालाई यौनका बारेमा पढाउन थालिन्छ। तर यौन पाठ्यक्रममा अनिवार्य राखिने ठाउँ होइन।

 

सन् २०१८ सम्ममा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्कुलहरूका लागि यौन शिक्षा निर्देशिका ल्यायो। त्योभन्दा अघिसम्म २९ मध्ये एक दर्जनभन्दा धेरै राज्यले त्यो कार्यान्वयन नगर्ने विकल्पमा गएका थिए।

 

२५ वर्षकी हुँदा मैले कुमारीत्व गुमाएँ र पनि त्यसको दुई वर्षपछि मेरो मागी विवाह हुँदा मसँग अझै अनुभव थिएनन्।मेरो विवाह भएको दिन भद्रगोल थियो। हाम्रो बिस्तारामा फूलका पत्ताहरू बिछ्याइएका थिए र अवस्था ठट्यौलो थियो।

 

कोठाको पातलो भित्ताबाट मैले पाहुनाहरूको आवाज सुनिरहेकी थिए। विवाहका लागि टाढा टाढाबाट आएका आफन्तहरू अन्यत्र कतै ठाउँ नपाएर हाम्रै ढोकाबाहिर सुतेका थिए।

 

मेरी आमाले त्यस बेलाका मेरा श्रीमानलाई आफू कुमारी रहेको थाहा दिन जोड दिइरहनुभएको थियो। जसको लागि मैले आफूलाई लजालु र के कसो गर्ने थाहा नभएको रूपमा प्रस्तुत हुनुपर्थ्यो।

 

म कुमारी त थिइनँ तर म त्यसबेलाका लागि तयार थिइनँ। आजका दिनसम्म पनि मलाई मानिसहरूले विवाहको रात के गर्ने भनेर सोध्छन्। शारीरिक रूपमा मात्र होइन कि लज्जा र धेरै अनुभवी नभएको थाहा कसरी दिने भनेर पनि। 

 

हाम्रो विवाह पाँच वर्षमा टुङ्गियो। सुरुमै मैले गलत मानिससँग विवाह गरेँ भन्ने थाहा पाएकी थिएँ। त्यसैले उनीसँगको यौन सम्पर्क सधैँ भयानक र डरलाग्दो विषय बन्यो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार