• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

छात्रवृत्तिको ८५ करोड रुपैयाँ फ्रिज

काठमाडौं । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपैयाँ फ्रिज भएको छ ।

 

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने छात्रवृत्ति रकम पाउने विद्यार्थीको प्रमाणीकरण हुन नसक्दा ती विद्यार्थीको भविष्य अन्योल भएको छ । सबै प्रक्रिया पूरा गरी छात्रवृत्ति वितरण गर्ने समयमा विद्यार्थीको खातामा रकम नपुगेपछि विश्व बैंकको निकायले उपलब्ध गराएको ८५ करोड रुपियाँ फ्रिज भएको हो ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठप्रसाद अर्यालले कक्षा ९ र १० मा १४ हजार ५ सय ५६ र कक्षा ११ र १२ मा ८ हजार ९ सय ९१ जना विद्यार्थी छनोट भएका थिए । सरकारले ९ देखि स्नातकसम्म करिब ८५ हजार विपन्न लक्षित विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य राखेको थियो ।

 

महानिर्देशक अर्यालका अनुसार छनोटमा परेका विद्यार्थीको स्थानीय तह र क्याम्पसले प्रमाणीकरण गरेर नपठाउँदा रकम निकासा दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले जेठ महिनामा रकम विनियोजन गर्न सूचना जारी गरेका थियौं, ३० हजारमध्ये करिब १ हजार जनाको मात्र सबै प्रक्रिया पूरा भएकाले अन्यको रकम फ्रिज भएको हो।’ गएको आर्थिक वर्षमा केन्द्रले १२ हजार ७ सय ८८ जनालाई मात्र छात्रवृत्ति उपलब्ध गराएको थियो ।

 

केन्द्रले कक्षा ९ र १० मा प्रतिविद्यार्थी ६ हजार रुपियाँ तथा कक्षा ११ र १२ मा विज्ञान विषय लिएकालाई प्रतिविद्यार्थी २४ हजार रुपैयाँ र अन्य विषय लिएकालाई प्रतिविद्यार्थी १८ हजार रुपियाँ छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था छ । ईश्वरराज ढकाल/नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार