• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

यस्ता छन् मदन पुरस्कार मनोनयनका ९ पुस्तक (विस्तृतमा)

काठमाडौं । शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि नौ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ। गुठीले गत वर्षभरि प्रकाशित भएका २ सय २२ पुस्तकबाट अन्तिम नौ पुस्तकलाई चयन गरेको हो ।

 

२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँ राशीको रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले यो पुरस्कार प्राप्त गरेको थियो । यस वर्षका नौ पुस्तक केके हुन् र कस्ता छन्, यहाँ चर्चा गरिएको छ :

 

१. एकलव्यको देव्रे हात
बुटवलका गिरि श्रीस मगरको कवितासंग्रह ‘एकलव्यको देब्रे हात’ विद्रोही कविताहरुको संगालो हो। संग्रहको शीर्षक नै प्रतीकात्मक रहेको यस कवितासंग्रहमा चलिरहेको राज्यसत्ता, जातसत्ता, धर्मसत्ता र रुढी परम्परालाई बिम्बात्मक शैलीले प्रहार गरिएको छ। श्रीसको कवितासंग्रह ‘बुकहिल पब्लिकेसन’ले प्रकाशन गरेको हो ।

 

२. करिया 
‘रक्तकुण्ड’ उपन्यासबाट चर्चामा आएका कृष्ण अविरलको उपन्यास करियामा दासमोचनको कथा उठाइएको छ। पुस्तक प्रकाशन संस्थासँग पनि आबद्ध अविरल दुई दशकदेखि साहित्यक लेखनमा सक्रिय छन्। उपन्यासमा करियाका दुःखदेखि करिया मोचनका लागि चन्द्रशमशेरलाई उत्प्रेरित गर्ने पृष्ठभूमिका चरित्रसम्म समेटिएको छ। लेखक अविरलले यसलाई खोज–अनुसन्धानमा आधारित ‘ऐतिहासिक उपन्यास’ दाबी गरेका छन् ।

 

३. कल्प–ग्रन्थ
आफूलाई फिक्सन डिजाइनर मान्ने कुमार नगरकोटीको वर्ष २०७७  मा सर्वाधिक चर्चामा रहेको पुस्तक हो, कल्प–ग्रन्थ । २ हजार २१ रुपैयाँ मूल्य राखेर अग्रिम बुकिङ गरी किन्नुपर्ने यो पुस्तकमा ६५ थान कथा समेटिएका छन् । प्रयोगशील लेखन रुचाउने कुमार नगरकोटीले संग्रहमा सामान्य कथादेखि, चित्रकथा, इन्स्टलेसन कथासम्म समावेश गरेका छन्। ‘बुकहिल’ले प्रकाशन गरेको कल्प–ग्रन्थ नगरकोटीको दशौं पुस्तक हो । पुस्तक गत असार महिनामा मात्र पाठकको हातमा पुर्याइएको थियो । 

 

४. नृत्याक्षर विज्ञान
उस्ताद भैरवबहादुर थापाले नृत्य विज्ञानमा केन्द्रमा राखेर लेखिएको पुस्तक हो, ‘नृत्याक्षर विज्ञान’। सात दशक कला तथा नृत्य क्षेत्रमा सक्रिय थापा अभिनेत्री भुवन चन्दकी पितासमेत हुन् । ८० वर्ष कटेका थापाको पुस्तकमा शास्त्रीयदेखि, लोक तथा आधुनिक नृत्यसम्म चर्चा गरिएको छ । 

 

५. फिलिङ्गो 
प्रभा बरालको उपन्यास फिलिङ्गोमा नारी पात्रलाई केन्द्रमा राखी विवाह संस्था, प्रेम, मातृत्व र महिला शक्तिको विषय सघन रुपले उठाएको छ। परिवार, समाज, धर्म, संस्कृतिलगायत अनेक नाममा महिलामाथि गरिने विभेदका यी शृंखला कहिलेसम्म भन्ने मूल प्रश्नमा उपन्यास लेखिएको छ । बरालको यसअघि गजल, कविता र बालकवितासंग्रह प्रकाशित छ ।

 

६. फुलाङ्गे
दार्जीलिङमा बसेर कविता, कथा र पत्रकारितामा सक्रिय युवा सर्जक लेखनाथ क्षेत्रीको फुलाङ्गे उपन्यासले विधवा विवाहको कुरा उठाएको छ। दार्जिलिङको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलन र त्यसबेलाको समाज उपन्यासमा चित्रित छ। क्षेत्रीका दुई कवितासंग्रह ‘बाउको पसिना’ र ‘अक्षर अनप्लग्ड’ तथा भारतीय पत्रकार रवीश कुमारको ‘द फ्री भ्वाइस’ को ‘मुक्त आवाज’ शीर्षकको नेपाली अनुवाद पुस्तक प्रकाशित छ । उपन्यास ‘सांग्रीला बुक्स’ले प्रकाशन गरेको हो ।

 

७.  मोक्षभूमि
केशव दाहालका पहिलो उपन्यास मोक्षभूमिका खस राज्यमा भएको दासमोचनको कथा उठाइएको छ। दास–दासीहरूलाई कसरी मुक्त गरियो र उनीहरूले स्वाधीन जीवनका लागि कसरी संघर्ष गरे भन्ने मूल विषयमा  उपन्यास केन्द्रीत छ । खस राजा क्राचल्लदेवको पालामा जुम्लाको सिञ्जामा भएको दास मोचनको घटना उपन्यासको मूल विषय हो । विवेकशील साझा पार्टीमा आबद्ध दाहालको उपन्यास  ‘किताब  पब्लिसर्स’  प्रकाशन गरेको हो।

 

८.रमिते
युवा लेखक एवं गायक जेसन कुँवरको ‘रमिते’ नेपाली साहित्यमा चलिरहेको उपन्यासभन्दा बिल्कुलै भिन्न शैली र कथामा लेखिएको उपन्यास हो। नाइट ब्यान्डका गायक रहेका कुँवरले रमितेमा काल्पनीक कथाको सहरामा  नेपाली माटोकै कथा भनेका छन् । ‘रेडपाण्डा’ले प्रकाशन गरेको पुस्तकको आवरणमा लेखकको नाम छैन। कथावस्तु, भाषा, चित्र र प्रस्तुतिले यो उपन्यासलाई प्रकाशनपछि चर्चा दिलाएको थियो ।

 

९. लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह
अनुसन्धानकर्ता भगिराज इङ्नामको इतिहासको पुस्तक हो,लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०)। पुस्तकमा लिम्बुवान क्षेत्रका राज्यव्यवस्था र जनजीवनका दस्तावेज (चिठीपत्र, कागजात, शिलालेख) लाई आधार मानेर लेखिएका  खोजमुलक लेखक समेटिएको छ । धरानका इङ्नामले यसअघि पनि लिम्बू जातिमाथि खोज–अनुसन्धान गरी पुस्तक लेखेका थिए ।   
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार