निर्भीकजंग रायमाझीका दुई कविता
१. खीर खाने दिन
कसले चलायो
साउन पन्ध्रमा खीर खाने दिन ?
जब कि असारमा मात्र धान रोपिएको छ
जब कि भर्खरैमात्र बाढी घरभित्र पसेको छ,
चुहिने छानोमा पालसम्म हाल्न पाएको छैन
एकमुठी चिउरासमेत चपाउन पाएको छैन
तर मानिसहरू भन्दैछन्–
आज खीर खाने दिन हो
हामीले त बिहानै खाइसक्यौं !
कसले चलाउँदैछ
कलेजी रेट्ने प्रश्नको तिर
उफ् ! कसले चलायो
साउन पन्ध्रमा खीर खाने दिन ?
२. चटारो
जब आकाश गर्जन थाल्छ
र बादलहरू लुकामारी खेल्छन्
तब जुरेलीलाई गुँड बनाउने चटारो पर्छ
हिउँदभरि
आकाशकै बर्को ओढेर सुत्छ
बिनाकुनै सन्ताप
वल्लो वन, पल्लो वन सुसेल्दै डुल्छ
हठात् आइपुग्छ जब
प्रत्येक वर्षको बर्खा
जुरेलीलाई गुँडको सम्झना आउँछ
जसरी बुढेसकाललाई बालखकालको सम्झना आउँछ
मृत्युशय्या मान्छेलाई जीवनको सम्झना आउँछ
कठै !
त्यतिन्जेलसम्म त
काललाई पनि बहुतै
चटारो परिसकेको हुन्छ !
जब आकाश गर्जन थाल्छ...
०००
(पत्रकारितामा सक्रिय रायमाझीका विभिन्न पत्रपत्रिका र अनलाइनमा फुटकर कविता प्रकाशित छन्)
प्रतिकृया दिनुहोस