• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
विचार

राजदूत पदको महत्व

परापूर्वकाल देखि नै त्यतिबेलाका राज्यहरुले छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध स्थापित गर्न परिआएको बेलामा विशेष दूतहरु पठाउने गर्दर्थे । त्यस्ता दूतहरुले आफ्नो मुलुकको लागि हित हुने कुरा छिमेकी मुलुकका राजा, मन्त्री र सेनापतीहरुसँग राख्नुपर्ने भएकाले त्यस्ता दूतहरुको छनौट निकै विद्वान र अनुभवी व्यक्तिहरु मध्येबाट गरिन्थ्यो। दूतहरुलाई आफ्नै ब्रह्मको उपयोग गरेर निर्णय गर्ने अधिकार पनि प्राप्त हुन्थ्यो। पछिल्लो दुईसय पचास वर्षदेखि विभिन्न मुलुकहरुमा आवासीय राजदूत वा प्रतिनिधि नै पठाउने चलन चल्न थाल्यो । यसरी कुनैपनि राज्यमा विभिन्न मुलुकका राजदूतहरु आएर बसोवास गर्ने तथा आफ्नो मुलुकको प्रतिनिधित्व मात्र गर्ने काम नभई विभिन्न मुलुकका राजदूतहरु बीच एकापसमा छलफल र विचारको आदान प्रदान पनि हुन थाल्यो। यस्तै राजदूतहरुको कुशल कूटनीतिले गर्दा लडाईमा होमिन लागेका मुलुकहरु बीच पनि पुन : सोहाद्रपूर्ण सम्बन्ध स्थापित हुन गएको कुरा हामी इतिहासबाट थाहा पाउँछौँ ।

 

नेपाल र ब्रिटिश भारतबीच सन् १८१६ साल मार्च ४ तारिखका दिन भएको सुगौली सन्धिमा इस्ट इण्डिया कम्पनीको तर्पmबाट ले.क. पेरिस ब्राड्श र नेपालको तर्फबाट चन्द्रशेखर उपाध्याय र पं. गजराज मिश्रले विशेष दूतको हैसियतले हस्ताक्षर गरेपछि वृटिश सरकारले आफ्नो पहिलो कूटनीतिक नियोग (रेजिडेन्सी) नेपालमा खोलेको हो। यसरी नेपाल र बेलायत बीच दौत्य सम्बन्ध स्थापना भएको २०७ वर्ष भइसकेको छ । नेपालले भने बेलायतमा आवासिय राजदूतावास सन् १९३४ मा स्थापना गरेको हो। बहादुर समशेर पहिलो राजदूतको रूपमा नियुक्त भएका थिए भने त्यसपछि आजसम्म बीस जना उच्च पदस्थ नेपाली अधिकारीहरु बेलायतमा राजदूत भइसकेका छन् ।

 

सामन्ती युगमा राजदूतहरुको चालचलन, रहनसहन र पहिरन विशेष प्रकारको यानी राजर्षी ठाँटको हुनु पर्दथ्यो भने उनीहरुको काम भन्दा पनि उनीहरुमा भएका राजदूतमा हुनुपर्ने त्यस्ता सामन्ती गुण र एक प्रकारको सामन्ती संस्कारले विशेष महत्व पाउँथ्यो । विश्वका अधिकांश राष्ट्रहरुमा त्यतिबेला सक्रिय राजतन्त्र थियो र सबै राज्यहरुमा यस्ता सामन्ती चाल चलनहरुले नै विशेष महत्व पाएका हुन्थे। त्यसैले राजदूत छनौट गर्दा पनि त्यस्तै सामन्ती चालचलन बारेको राम्रो ज्ञान भएको सामन्तीलाई नै चयन गरिन्थ्यो। यो क्रम निकै पछिसम्म यानी दोस्रो विश्वयुद्धसम्म पनि कायमै रह्यो। तत्पश्चात भने एक प्रकारले पुरै विश्व पुनर्निमाण र विकास कार्यमा व्यस्त हुन थाल्यो र कूटनीतिमा पनि सामन्ती चालचलनहरु कम हुँदै गए र आर्थिक तथा राजनैतिक कूटनीतिले ग्राह्यता पाउँदै गयो भने पढेलेखेका अनुभवी जनताका छोराछोरी पनि राजदूत हुन थाले । समय बित्दै जाने क्रममा कूटनीतिको गीता जस्तै मानिएको ‘डिप्लोमेटिक सेरेमोनियल्स एण्ड प्रोटोकल्स’ सम्बन्धी पुस्तकहरुमा किटिएका कूटनीतिक मर्यादाका आधारभूत नियमहरु पनि परिमार्जित हुँदै गए । 

 

आज विश्वका सबैजसा राष्ट्रहरुले खासगरी दुई प्रकारले आफ्ना आवाशीय राजदूतहरु विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरुमा पठाउँछन् । पहिलो प्रकारका राजदूत हुने व्यक्तिहरु आफ्नो मुलुकको परराष्ट्र मन्त्रालयमा लामो समयसम्म काम गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीति, सम्बन्ध र सन्धि–सम्झौताहरु र आफ्नो मुलुकको आर्थिक तथा राजनीतिक अवस्थाको राम्रो ज्ञान हासिल गरेका उच्च पदाधिकारीहरु जसले आफ्नो लामो कूटनीतिक सेवाको दौरान विभिन्न राष्ट्रहरुमा भएका कूटनीतिक नियोगहरुमा राजदूतको मातहतमा रहेर विभिन्न तहमा काम गरेको अनुभव बटुलेका छन्। त्यस्ता कूटनीतिज्ञहरुलाई क्यारियर डिप्लोम्याट पनि भनिन्छ। अर्काथरी राजदूतहरु भने राजनीतिक हिसाबले नियुक्त भएका व्यक्तिहरु जसले मुलुकका विभिन्न क्षेत्रमा लामो समयसम्म काम गरेर मुलुकको उत्थानमा विशेष भूमिका खेलेका हुन्छन्, त्यस्ता व्यक्तिहरु छानेर मित्र राष्ट्रहरुसँग गरिएको अपेक्षाको आधारमा त्यस्तै किसिमका विज्ञहरुलाई राजदूत नियुक्त गरेर पठाइन्छ । राजनीतिक नियुक्तिमा खासगरी अर्थविद्, राजनीतिज्ञ, वैदेशिक नीतिका ज्ञाता, संस्कृतिविद्, संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय निकायहरुका उच्चपदहरु सम्हालिसकेका नागरिकहरु, सम्बैधानिक अंगका पूर्व प्रमुखहरु, पूर्व मन्त्री, तथा प्रशासनका प्रमुखहरु, सेना तथा सुरक्षा निकायका प्रमुखहरु आदीलाई प्राथमिकता दिइन्छ। सार्क क्षेत्रका पनि अधिकांश मुलुकहरुमा यस्तै नै व्यक्तिहरुलाई राजदूत नियुक्त गर्ने परिपाटी छ ।

 

नेपालमा पनि राणा शासक, सक्रिय राजतन्त्र र प्रजातान्त्रिक सरकारहरुबाट प्रायःजसो यस्तै परिपाटीलाई अंगालेर राजदूत नियुक्त गर्ने गरिएको छ। नेपालका राजदूतहरुले आफ्नो मुलुकको प्रतिनिधित्व गरेर आफ्नो कार्यक्षेत्र तोकिएको मुलुकको राष्ट्राध्यक्ष, परराष्ट्र मन्त्रालय वा त्यहाँका विभिन्न अन्य सरकारी निकायसँग मात्र संयोजन गर्ने नभई त्यहाँका उद्योग–वाणिज्य,आर्थिक–सामाजिक, धार्मिक–सांस्कृतिक आदि अनेक क्षेत्रसँग नियमित रूपमा समन्वय कायम गरी दुई देशका विभिन्न क्षेत्रबीच सम्बन्ध बढाउन सक्नुपर्दछ भने त्यहाँ कार्यरत, अध्ययनरत र बसोबास गर्ने नेपाली समुदायको हितमा पनि काम गर्नुपर्दछ। त्यस्तै उक्त मुलुकमा रहेका अन्य देशका कुटनीतिक समुदायसँग पनि उच्च तथा नजिकको सम्बन्ध राखेर उनिहरु मार्फत उनका मुलुकहरुसँग समेत मैत्री सम्बन्ध कायम गर्न सक्नु पर्दछ। आफु राजदूत भएको मुलुक र त्यहाँ भेटेका अन्य व्यक्तित्वहरुबाट प्राप्त जानकारीको आधारमा नेपालमा आवधिक प्रतिवेदनहरु बनाएर पठाउनु पर्ने हुन्छ। यी वाहेक विभिन्न समारोह तथा गोष्ठीहरुमा सहभागी भएर विभिन्न विषयमा भाषण गर्न तथा प्रवचन दिन समेत सक्नुपर्छ। आफ्नो मुलुकको सरकारी तथा नीजि क्षेत्रका उत्पादन तथा व्यापारको प्रवद्र्धन गर्ने कला पनि राजदूतमा हुनु जरुरी छ। विदेशमा लामो समय देखि बसिरहेका नेपालीहरुलाई नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरुका बारेमा जानकारी दिने र त्यस्ता पर्वहरुमा सामेल भएर उनीहरुको हौसला उब्जाई गर्ने देखि लिएर त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुको अभिभावकको भूमिका पनि निर्वाह गर्न सक्नुपर्दछ भने सो मुलुकमा कार्यरत कामदारहरुका मर्का तथा समस्याहरुको समाधान पनि त्यत्तिकै सक्रियता र तदारुकताका साथ गर्न सक्नु पर्दछ। यस्ता जल्दाबल्दा राजदूत भए मात्र आफ्ना मातहतका कर्मचारी तथा सो मुलुकका सम्बन्धित अधिकारीहरुले खास कदर गर्दछन् । एक सफल राजदूतले उसको अधिकार क्षेत्र जति ठूलो वा सानो भएपनि आफ्नो मुलुकको सुप्रभाव र गरिमा निकै बढाउन सक्नुपर्दछ।

  

नेपालको आधुनिक इतिहासमा कैयन् महत्वपूर्ण हस्तीहरुले राजनीतिक नियुक्ति पाएर राजदूत भएका र आफ्नो कार्यकालमा कुशल क्षमताको प्रदर्शन गरेर मुलुकको छवि बढाउन उदाहरणीय काम गरेका थिए । त्यस्ता केही क्षमतावान व्यक्तिहरुमा ऋषिकेश शाह, यदुनाथ खनाल, सरदार भिमबहादुर पाँडे, क्षेत्रविक्रम राणा, प्रकाशचन्द्र ठाकुर, कृष्णबम मल्ल, डा.यादवप्रसाद पन्त, बेदानन्द झा, केशवराज झा,खड्गमान सिंह, शैलेन्द्रकुमार उपाध्याय, बालचन्द्र शर्मा, ज्ञानेन्द्रबहादुर कार्की, डा.भेषबहादुर थापा, गोविन्दप्रसाद लोहनी, डा.बदीप्रसाद श्रेष्ठ, डा.मोहनमान सैँजु, डा.जयराज आचार्य, अर्जुननरसिँह राणा, डा.मोहनप्रसाद लोहनी, डा.शम्भुराम सिम्खडा, लोकराज बराल, लोकबहादुर श्रेष्ठ, प्रवल शमशेर राणा, दिपकुमार उपाध्याय, निलाम्बर आचार्य, तुलसीलाल अमात्य, हिरण्यलाल श्रेष्ठ, कमल कोइराला, सूर्यप्रसाद श्रेष्ठ, केदारभक्त माथेमा, डा.शंकर शर्मा, नोवेल किशोर राई, भिमकृष्ण उदास, डा.विस्वम्भर प्याकुरेल आदी पर्दछन् ।

 

त्यस्तै परराष्ट्र सेवामा लामो अनुभव बटुलेका क्यारियर डिप्लोम्याटहरु मध्य पनि नरप्रताप शमशेर थापा, झरेन्द्रनारायण सिँह, बिन्देश्वरी शाह, नरेन्द्रविक्रम शाह, जगदिशशमशेर राणा, इश्वरीराज पाण्डे, जयप्रताप राणा, चुडाबहादुर हमाल, भगिरथ बस्न्यात, यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, मधुरमण आचार्य, मुरारीराज शर्मा, उद्धवदेव भट्ट, डा. मदनकुमार भट्टराई, प्रद्युम्न विक्रम शाह, डा.दुर्गाबहादुर सुवेदी, लोकदर्शन रेग्मी आदि अग्रपंक्तिमा आउँछन् ।

 

तर विभिन्न समय तथा व्यवस्था र सरकारका पालामा राजदूत पदको गरिमा नै खल्बलिने गरि विश्वमा स्थापित मान्यताहरु सबै कुल्चिएर नाम लिन समेत लाज लाग्दा बेकम्माहरुलाई पनि राजदूत बनाइएका वा प्रस्ताव गरिएका घटनाहरुले आम नेपाली, राजनीतिक तथा प्रशासनिक वृत्त, मित्र राष्ट्र र विदेशीहरुलाई पनि अचम्मित तुल्याएको छ। आफ्ना पार्टीका कार्यकर्ता भए भन्दैमा, लामो समय जेलमा बसेका भन्दैमा, कुनै शिक्षण संस्थामा प्राध्यापन गरेका भन्दैमा, कुनै मुलुकका भाषा जानेका भन्दैमा, आफ्ना पार्टीका कुनै प्रभावशाली नेताका छोरा–छोरी वा नातेदार भएका भन्दैमा, आफु र आफ्नो पार्टीको हितमा काम गरेका वा बोलेका उच्च अधिकारीहरुका आफन्त भन्दैमा वा अन्य यस्तै झिना मसिना वैयक्तिक र संकिर्ण कारणहरु देखाएर मुलुकको प्रतिनिधि बनाएर विभिन्न देशमा काम गर्ने गरी त्यस्ता व्यक्तिहरुलाई अति महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतमा चयन गर्नु निकै नै असोभनीय र गैरजिम्मेवार कार्य हुन् । यस्तै कैयन् व्यक्तिहरु राजदूतका रूपमा विभिन्न मुलुकहरुमा गएर शिक्षा, रोजगारी तथा अन्य वहानामा मानव ओसार–पसार गरेर कमाउ धन्दा गर्ने, दूतावासमा आफ्ना पार्टीसँग सम्बद्ध युवाहरुको दिनहुँ अनावश्यक भेला गर्ने, वजेट तथा दूतावासका भौतिक सामानहरुको हिनामिना गर्ने, दूतावासको सवारी साधन आदिको दुरुपयोग गर्ने, राजदूत र दूतावासले पाउने कर मुक्त खरिदको दुरुपयोग गर्ने, दूतावासका भिसा, पासपोर्ट तथा अन्य श्रोतका आम्दानीहरु हिनामिना गर्ने, परिवारका सदस्य तथा मोटो रकम बुझाउनेका आफन्तहरुलाई उतै बसोवास गर्ने प्रवन्ध मिलाउने, राजदूतले गर्नुपर्ने औपचारिक कर्तव्य समेत केही पनि ठीक तवरले निर्वाह गर्न नसक्नेभइ दिनाले नेपालको छबि बिग्रनुका साथै हाम्रा धेरै सक्षम र कुशल राजदूतहरुलाई समेत अरुले हेर्ने नजरिया नराम्रो हुन गएको छ। 

 

त्यसैले कुटनीतिक क्षेत्रमा काम गर्ने, त्यसमा पनि राजदूत जस्तो महत्वपूर्ण र जिम्मेवारीपूर्ण पदका लागि काम गर्ने व्यक्तिहरुको छनौट प्रकृयाका लागि कडा कानुन नै बनाएर एउटा आधारभूत मापदण्डको विकास गरिनुपर्दछ । राजदूत भएर विदेशमा काम गर्न जानु भन्दा अघि परराष्ट्र मन्त्रालयमा हाल दिइने गरेको केही दिनको जानकारीमूलक कार्यक्रम (ब्रिफिङ) लाई परिमार्जितगरेर एक पूर्ण प्रशिक्षण कार्यक्रमको आयोजना गरिनुपर्दछ । जसमा नेपाल राष्ट्रका आर्थिक, सामाजिक, ऐतिहासिक, राजनीतिक, सांस्कृतिक तथा अन्य आधारभूत तथ्यहरुको ज्ञान, कूटनैतिक इतिहास र तौर तरिका, विभिन्न देशमा भएका हाम्रा कुटनीतिक नियोग र त्यहाँ कार्यरत राजदूत तथा अन्य कर्मचारीहरु र उनका कार्यक्षेत्र बारेका ज्ञान, नेपाली नियोगका मुख्य मुख्य कामहरु र प्रशासनिक तथा लेखाका कामबारेका जानकारी, आफु राजदूत भएर जान लागेको मुलुक र त्यहाँस्थित हाम्रो दूतावासको ऐतिहासिक र वर्तमान पृष्ठभूमि आदि बारे विस्तृत जानकारी समेत उपलब्ध गराउनु पर्दछ । आफ्नो कार्यक्षेत्रमा पुगेपछि निवर्तमान राजदूतले नै नयाँ राजदूतलाई विभिन्न निकायका अधिकारीहरुसँग भेटाउने देखि लिएर त्यहाँस्थित विभिन्न मुलुकका राजदूतहरुसँग कर्टेशी कल गराउनुका साथै हाम्रो दुतावासका कर्मचारीहरुसँग उनका काम र कर्तव्य सहित परिचय गराई त्यहाँ हुने नियमित र विशेष कार्यहरुबारेको जानकारी दिएर सबै कागजातहरु हस्तान्तरण गर्नु राम्रो हुन्छ । यसो भएमा एउटा राजदूतको कार्यकाल सकिए पछि लामो समयसम्म दूतावास राजदूतविहिन पनि हुँदैन र भइरहेका कामहरुले पनि सहज रूपमा निरन्तरता पाउँछन् ।

 

राजदूतको पद र कामलाई त्यति साधारण र सरल रूपमा लिइनु हुँदैन । राजदूतको काम भनेको अति नै असाधारण र सम्वेदनशील काम हो । त्यसैले पनि राजदूत छनौट प्रकृयाका लागि आधारभूत मापदण्ड नै बनाइनु पर्छ भनिएको हो। यदि नेपाल सरकारको सचिव हुने मापदण्ड नभई दिएको भए हाम्रा कैयन् राजनैतिक पार्टीहरुले सचिवमा पनि आफ्नै पार्टीका बेकम्मा आसेपासे ल्याएर भर्ने थिए। मापदण्ड छँदा पनि लोकसेवा आयोगमा विज्ञहरुको सट्टा आफ्ना मान्छे नियुक्त गरेर सार्वजनिक सेवामा आफ्ना पार्टीका समर्थक भर्ने परिपाटी छ हामी कहाँ आजकल ।

 

अमेरिका तथा अन्य विकसित मुलुकहरुले राजदूत भएर जाने व्यक्तिहरुलाई पार्टीगत नजरले मात्र हेर्दैनन् । त्यस्ता व्यक्तिहरुको छनौट उनीहरुको कार्यकुशलताको आधारमा नै गरिन्छ। झनै विशेष दूत भएर मुलुकका अहम् विषयहरुबारे कुटनीतिक पहल गर्नु पर्ने व्यक्तिहरु त असाधारण तथा अति नै सक्षम र वरिष्ठ व्यक्तिहरु मध्येबाट नै छानिन्छन्। तर कतिपय विकसित मुलुकहरुमा पार्टीलाई गोप्य चन्दा उपलब्ध गराएको भरमा समेत राजदूत नियुक्त गरिनेपरिपाटी भएको भन्ने सुन्नमा आएको भएता पनि त्यस्ता राजदूत हुने व्यक्तिहरु स्वच्छ छवीका र सक्षम तथा असाधारण प्रकृतिका नै हुन्छन् । कैयन् त्यस्ता विशेष दूतहरुको कार्यभार पूर्व राष्ट्रपतिहरुलाई पनि दिइन्छ । रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपतिमा चुनिएपछि पूर्व राष्ट्रपति रिचर्ड निक्सनले आफुलाई चीनमा अमेरिकी राजदूतको रूपमा पठाउ भनेर निकै नै आग्रह गरेका थिए। किनकी निक्सनकै कार्यकालमा सन् १९७२ मा उनले चीनको ऐतिहासिक भ्रमण गरेर चीनसँग दौत्य सम्बन्ध स्थापित गरेका थिए। तर त्यस्ता व्यक्तिलाई पनि वाटरगेट काण्डले गर्दा महाभियोग लाग्ने निश्चित जस्तो भएकोले राष्ट्रपतिको पद त्याग्न परेको कारण विवादित हुन पुगेकाले राजदूतको पद दिन मिलेन ।

 

दक्षिण एशिया कै कुरा गर्दा भारत, पाकिस्तान, श्रीलङ्का जस्ता मुलुकहरुले राजदूत नियुक्त गर्दा निकै कुराहरुलाई मध्यनजर गरेर मात्र गर्दछन् । ती मुलुकहरुले राजदूत बनाएर पठाउनु पर्ने मुलुकहरुको महत्व हेरेर पूर्व परराष्ट्र तथा अन्य महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका मन्त्रीहरुलाई समेत पठाउँछन् । तर नेपालमा आजकल अर्थ, जलश्रोत, उद्योग, वाणिज्य तथा शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्रीहरु समेत अल्प शिक्षाका व्यक्ति नै हुने गर्दछन् । क्यारियर डिप्लोम्याटहरु मध्य पनि परराष्ट्र मन्त्रालयका सबै सहसचिव वा सचिव राजदूत हुन लायकका हुँदैनन्। कुटनीतिका अधिकांश कुरा जानेकाअनुभवी भए पनि सबै जना डाइनामिक हुँदैनन्। त्यसैले तिनीहरु मध्ये केही मात्र राजदूत हुन पुग्छन् भने केही राजनैतिक दाउपेचको सिकार हुन पुगेर क्षमता हुँदा पनि राजदूत बन्न पाउँदैनन् । विगत केही समयदेखि परराष्ट्र सेवामा महिलाहरुको संख्या पनि बढ्दै गएको छ भने यो सेवामा कार्यरत कर्मचारीहरुमा कुटनीतिक क्षमताको निकै अभिबृद्धि भएको छ । यो हिसाबले हाम्रो परराष्ट्र सेवा र यसको गुणस्तर तथा सक्षमतामा निकै बृद्धि हुँदै आएको छ । तर यस्ता सक्षम व्यक्तिहरुलाई परिचालन गर्ने र हतोत्साही हुनबाट बचाउने निकायहरुको नेतृत्व पनि सक्षम व्यक्तिहरुबाट नै हुनुपर्दछ ।

 

आशा गरौँ, नेपालको इज्जत र अस्मिता जोगाउन तथा हाम्रो मुलुकको विकासमा सहयोग बटुल्ने तथा विभिन्न कारणले गर्दा विदेशमा बसिरहेका नेपालीहरुको हितमा काम गर्ने हेतुले पठाइने नेपाली राजदूतहरु स्वच्छ छबिका, विद्वान, शिक्षित, ज्ञानी, अनुभवी र कुटनीतिक चातुर्य राम्ररी जानेका असल व्यक्तिहरुमध्येबाट पक्षपात विना नै चयन होउन् ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार