• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

जीन्स लगाएको निहुँमा उत्तर प्रदेशमा १७ वर्षे किशोरीको 'हत्या'

नेहा पासवान

काठमाडौं । भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका साथ समाचारमा आएका छन्। ती घटनाले बालिका र महिला आफ्नै घरभित्र पनि कति असुरक्षित छन् भन्ने उजागर गरेका छन्। गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ।

 

उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताए अनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेका थिए।उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो। त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्र मध्ये पर्छ। शकुन्तलादेवीले भनिन्, 'ऊ दिनभरि व्रत बसेकी थिई। साँझमा उसले जीन्स र टप लगाएर पूजा गरी। उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए। नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताईन।'

 

शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए। उनले भनिन्, 'उनीहरूले मलाई सँगै जान दिएनन्। त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ। उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन्।' भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन्। त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो।

 

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभर सहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ। आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन्।

 

वरिष्ठ प्रहरी अधिकृत श्रीयश त्रिपाठीले बीबीसी हिन्दीसँग कुरा गर्दै हजुरबा-हजुआमा, एकजना काका र अटो ड्राइभरसहित हालसम्म चार जना पक्राउ परेको र उनीहरूसँग बयान लिइएको बताएका छन्। प्रहरीले बाँकी आरोपितको पनि खोजतलास गरिरहेको उनले बताए।

 

पञ्जावको सहर लुधिआनामा निर्माण मजदुरको काम गर्ने नेहाका पिता अमरनाथ पासवान पनि उक्त घटनापछि घर फर्किएका छन्।उनले नेहा र अरू छोराछोरीलाई विद्यालय पठाउन आफूले कडा मेहनत गर्ने गरेको बताए। शकुन्तलादेवीका भनाइमा उनकी छोरी प्रहरी अधिकृत बन्न चाहन्थिन् तर अब त्यो कहिल्यै पूरा नहुने भएको छ।

 

उनी आफ्ना सासू-ससुराले नेहालाई स्थानीय विद्यालयबाट पढाइ छाड्न र परम्परागत पहिरनबाहेक अन्य पहिरन नलगाउन दबाव दिने गरेको बताउँछिन्। नेहाको परिवारले बीबीसीलाई उपलब्ध गराएका उनका दुई तस्बिरमा उनले आधुनिक कपडा लगाएको देखिन्छ। अभियानकर्मीहरू पितृसत्तात्मक सोचका कारण घरभित्रै महिलामाथि हुने हिंसा गहिरोसँग जरा गाडेको र त्यस्ता हिंसालाई घरका वरिष्ठ सदस्यद्वारा अनुमति दिइने गरेको बताउँछन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार