• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।

 

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्‍याउने काम शुरु गरेको छ ।

 

तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । उहाँले आज मंगलबारसम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताउनुभयो ।

 

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं प्रवक्ता गणेशप्रसाद भट्टराईले चालू शैक्षिक सत्रको परीक्षण गरी आगामी शैक्षिक सत्र २०७९ देखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको नयाँ पाठ्यक्रममा आधारित पुस्तक प्रयोगमा ल्याउने बताउनुभयो । उहाँका अनुसार कक्षा ४ र ९ का लागि प्रदेश १ को सोलुखुम्बुको ३ विद्यालय, प्रदेश २ को सिराहाको ४ विद्यालय, वागमती प्रदेशको ललितपुर, भक्तपुर र सिन्धुलीको ३–३ विद्यालय, गण्डकीको नवलपरासी पूर्वको ३, लुम्बिनीको पाल्पाको ३, कर्णालीको सुर्खेतको ३ र सुदूरपश्चिमको बैतडीको ३ वटा विद्यालयमा परीक्षण हुनेछ । कक्षा ४ र ९ मा एउटै जिल्लाका फरक–फरक विद्यालयमा परीक्षण हुनेछ ।

 

कक्षा ७ मा प्रदेश १ को इलामका ३, प्रदेश २ को धनुषाको ३, वागमतीको दोलखाको ३, काठमाडौंको २ र भक्तपुरको २, गण्डकीको कास्कीको ४, लुम्बिनीको अर्घाखाँचीको ३, कर्णालीको जुम्लाको ३ र सुदूरपश्चिमको कञ्चनपुरको ४ विद्यालयमा परीक्षणका लागि नयाँ पुस्तक प्रयोग गरिनेछ ।ईश्वरराज ढकाल/समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार