• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

प्रेमिल चिठ्ठी

सम्बोधनका शब्द जति शब्दकोशमा खोजे पनि भेटिन खै के ले सम्बोधन गरुँ ! भन्छु ल प्रिय चाहे जे होस हुन्छ।

 

प्रिय फेसबुकमा धेरै समय भयो साथी भएको खासै बोलचाल हुदैन तर एकदिन संयोगले भेट भयो हाम्रो त्यो भेट त्यो नाता धेरै बर्षको जस्तो थियो न संकोच न लाज। 

 

परिस्थिती तिम्रो बेक्लै तर मेरो फरक मनले मन पराएपछि  परिस्थितीले के गर्दो रहेछ र म सोच्छु एक्लै एकान्तमा कहिले भीडमा । तिमीलाई त के भनौ र मैले, परिस्थितीले गाँजिए कि बिचरी प्रेमचरी तिमी तर मनपर्छ यति धेरै एकोहोरो माया बनेर लाग्छ म पागल हुँ। 

 

यो दुनियाँ यति ठुलो छ यति ठुलो संसारमा धेरै प्रकारका मान्छे छन हजारौसंग जोडिन्छ नाता कतिसंग जोडेर पनि तोडिन्छ नाता तिमीलाई थाहै होला सायद। 

 

तिमी आफै सोच त मैले तिम्रो बर्णन गर्दैछु तिमी कति मन परेको रहेछ मेरो मनलाई, बाहिरी आकर्षणले मात्र होईन भित्री मनले प्रभावित भएँ। हुनत तिमीलाई अति धेरै मन पर्‍यो भनेर भन्न पनि कहाँ सक्छु र हाम्रो दुनियाँ नै फरक छ । हल्का भएर आफ्नो अस्तित्व गुमाएर अरु जस्तो सस्तो भएर मेसेन्जरमा कुरा गर्न पनि सक्दिन। बोलाउन त मन लाग्छ तर आफैलाई अड लाग्छ सायद म सर्माइलो भएर होला हगी।


 तिम्रो मधुर, मीठो र सुरिलो आवाज मेरो कानमा हरपल गुन्जिरहन्छ। अति मिठो आवाज र मायालु मनलाई छुने आवाज हृदयमा गाढिएर बसेको छ। 

 

मलाई लाग्छ हाम्रो सम्बन्ध रोमियो र जुलियटको जस्तै एन्टोनी र क्लियोपेट्रा जस्तै मलाई लाग्छ हाम्रो नाता पेरिश र हेलेनाको जस्तै।अनि सुन त अर्फियस युरीडीस जस्तै माया जुन युरीडीसलाई सर्पले खुट्टामा टोकेर मृत्यु भए पनि अर्फियस पताल लोकमा गएर बियोगान्तको गीत गाउँदा भगवान समेत रोएका थिए रे ! नेपोलियन पनि म जस्तै एकोहोरो बिधवा जोसेफीन प्रति मायामा डुबेका थिए रे ! त्यसैगरी थाहा छ तिमीलाई बिहे गरेर छुट्टिएर बीस बर्ष पछि पनि फेरी बिबाह गरे नि ओडीसियस र पेनेलपले । माघको जाडो पनि जान आट्यो के गर्नु ! मिले त तिमीलाई एउटा कफि पसलमा कफि पिउदै दिल खोलेर रानी भिक्टोरिया र राजकुमार अल्वर्टको प्रेम कहानी सुनाउँथे त्यति मात्र होईन डाईना र डोदी फायदसँगको पिरतीको कुरा गर्ने थिएँ तर के गर्नु कस्तो अप्ठ्यारो माया कस्तो पृथक प्रेम बरै । 

 

यदि म बिवश भई टाढा जानु परे एउटा कलम र डायरी तिमीलाई उपहार दिन्छु। थाहा छ मलाई तिमी सृजनाकी धनि छ्यौ जे मन लाग्छ लेख्नु चाहे मायाका कुरा, चाहे छाँयाका कुरा, चाहे दयाका कुरा, चाहे उपहासका कुरा,चाहे घृणाका कुरा, मलाई नै गिज्याएर गजल लेख मलाई नै बिम्ब बनाउ खुशीले दुस्खले त्यही डायरीमा तर डायरी लिन बोलाउछु भेट्न चाँहि आउनु एउटा साथी सम्झेर हुन्छ ! 

 

साँचो र सत्य मायामा स्पर्श नै नचाहिदो रहेछ कुनै तिष्णा मेट्नु नै नपर्दोरहेछ बल्ल थाहा हुदैछ मलाई - जीवनको धेरै यात्रा पछिको चौतारीमा। थाहा छ भावनामा पक्कै म बगेको होईन यथार्थको धरातलमा छु प्रिय कल्पनालाई कल्पेर पनि होईन वास्तविकतामा नै छु प्रिय !

 

यदि तिमीलाई शंका लागे आउ बसेर कुरा गरौ अनि तिम्रा मिठा कुराले मेरो मनको चाहनालाई भर्न सकौ। थाहा छ ? तिम्रो मुटु सबै माग्दिन म,तिम्रो मन सबै माग्दिन मलाई तिम्रो सानो मुटुको धमनीमा लुकाई दिए पुग्छ ।

 

प्रिय जति सक्छ्यौ त्यति देउ यदि सक्दिनौ नदेउ केही फरक पर्दैन तर कहिलेकाही सम्झना पठाई देउ म सम्हालेर राख्छु प्रिय तिमीलाई युग युगसम्म । 

 

अब त कलम बन्द गर्नु पर्‍यो धेरै सम्झेर लेख्दा धेरै समय सकियो अझै मनको कुरा खिपेर लेख्दा समयले नेटो काट्ला त्यसैले तिमीलाई यो मुटुमा सधैभरी राख्ने बाचाका साथ आजलाई ओझेल पर्छु है प्रिय !

 

तिमीलाई अदृश्य रुपमा धेरै माया गर्ने म ! 

 

बिदा माग्छु सपनीमा आउनु ल मनको रहर त मेटिन्छ नि है हवस !!!
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार