• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

मध्यरातमा उठेर पनि गीत लेखेको छु

काठमाडौं । कविता ‘भाव’ र ‘अभिव्यक्ति’ ले गर्दा गहकिलो हुन्छ। म सकेसम्म सरल लेख्न नै प्रयास गर्छु यद्यपि कविता लेख्दा सामाजिक उत्तरदायित्व बोधले थिचेको हुन्छ । विश्लेषण, बिम्ब–प्रतीक र व्यंग्यले गर्दा कविता गहकिलो हुन्छ भन्ने म ठान्दछु ।

 

तर गीतचाहिँ जहिल्यै नीजत्वसँग बढी जोडिन्छ । यसैले यो हार्दिक हुने गर्छ । मलाई गाउँ, सहर, हिमाल, उपत्यका र भीरपाखासम्म आफ्ना गीत पुगोस् भन्ने लाग्छ । भरिया, खेताला सबैले मेरा गीत बुझुन्, भन्ने लाग्छ । यसैले सबैको जीवनलाई सम्बोभन गर्ने मर्म म गीतमा अभिव्यक्त गर्छु । 

 

धेरैलाई लाग्न सक्छ, सरकारी जागिरमा चार दशक बढी समय बिताएको मान्छे म । त्यस्तो चटारोमा कसरी लेख्यो होला ! नढाँटी भन्दा मैले जुनसुकै प्रहरमा गीत लेखेको छु । कार्यालय समयमै पनि लेखेको छु । कति गीत मध्यरातमा उठेर नोट गरेको छु । बिहान चिया खाँदा फेरि साफी गरेको छु । फेरि चित्त नबुझ्दा तत्काल च्यातेर फ्याँकेको छु । आफ्नै गीतको गला रेटेको छु । 

 

गीत मनमा आयो भने मनमै पाक्न दिन्छु । ठीक लागेपछि डायरीमा उतार्छु । हृदयमा गीत छ भने लेख्न त दश मिनेट पनि लाग्दैन ।  

 

फेरि,आफ्नो माटोसित जस्तो प्रेम अरु केहीमा हुँदैन। आफ्नो गाउँ, आफ्नो घर नै प्यारो हुन्छ। तर, एउटा संवेदनशील मान्छेले अरुको राष्ट्रप्रेम पनि बोध गर्न सक्नुपर्छ । अन्धराष्ट्रवाद ठीक होइन । यो त सहअस्तित्वको युग हो । आफूले पनि अरुकोमा हस्तक्षेप नगर्ने, अरुको हस्तक्षेप पनि प्रतिकार गर्न सक्ने सामथ्र्य हुनुपर्छ। राष्ट्रप्रेम त जोकोहीसँग हुनुपर्छ, त्यसको अस्तित्वमा नै आफ्नो अस्तित्व भेट्नुपर्छ ।   

 

साहित्य सृजनाको कारणले मलाई सदुभाव र सुभेच्छा राख्ने हजारौं छन्। तर अहिले नै फूलमाला लगाइदिएर इनाम दिए पनि मलाई प्रभाव पर्दैन । बाहिरबाट जतिसुकै बढाईं गरून् म फुर्कन्नँ । अरूको प्रशंसाले चुलिन मसक्दै सक्दिनँ । मेरो मनले सधैं भन्छ, ‘तैंले अझै पनि केही गर्न सकेको छैनस् !’

 

अझै मानिसको हृदयतलाई छुने गीत लेख्ने प्रयत्न मेरो जारी छ । यद्यपि स्रोताकै मायाले त म हाँस्न सकिरहेको छु । म नतमस्तक छु, उत्साही छु । त्यही उत्साहले गीत लेखिरहेको छु। आफूभित्र ‘म केके न भएछु’ भन्ने भाव आएको छैन भनेको मात्र हुँ । नेपालभित्र र बहिरका श्रोता नै मेरा सम्पत्ति हुन् । 

 

प्रेम, विछोड, झगडा, तृष्णा, छटपटी, सुखदुःख नै गीतको स्रोत हो । तर लेख्ने तरिकामा आफ्नो मौलिकता हुनुपर्छ । मेरा गीतमा निराशा बढी हुनु स्वभावजन्य कुरा हो । जीवनको पहिलो दुई गीत ‘आँखा छापी नरोऊ भनी’ र ‘झरेको पातझैं भयो’ निराशावादी धेरै देखिएकाले यसमा केही सत्यता छ ।

 

साहित्यमा मेरो लगाव 
सुन्दा अनौठो लागेपनि विद्यालय जानुभन्दा अगाडि नै मलाई साहित्यले मोहित पारिसकेको थियो। तर पत्तै नपाई। रामायण, महाभारत, लेखनाथ र लक्ष्मीप्रसादका कविता आमाकै मुखबाट सुन्ने सौभाग्य पाएँ । कविताको अन्तर्यले यति मोहित बनायो कि पछि त्यही प्रेरणाले कविहरू भेट्नकै लागि काठमाडौंसम्म आइपुगें । काठमाडौं आउँदा मलाई गीत लेख्ने, आफें गाउने अनि गायक बन्ने पनि ठूलो इरादा थियो।  तर काठमाडौं आएपछि त्यहाँ त कविताको यस्तो माहोल देखें, जतिबेला एकसेएक कविहरूको जगजगी थियो । 

 

देवकोटा, बालकृष्ण सम, सिद्धिचरण, भूपी शेरचन, वाशु शशीजस्ता स्वनामधन्य कवि देखें । अनि गीत लेख्ने, गाउने रहर छाडेर दुई दशकसम्म कवितामात्र लेख्न थालें ।

 

मैले धेरै मन पराउने, उहाँले पनि मलाई मनको कुरा पोख्ने साहित्यकार बालकृष्ण सम हुनुहुन्थ्यो। काठमाडौं आएको भोलिपल्टै म उहाँलाइै भेट्न ज्ञानेश्वर पुगेको थिएँ। यसपछि भटेको सिद्धिचरण श्रेष्ठ, जो काठमाडौं बाहिरबाट आउने मजस्तो केटोलाई पनि स्नेह दिने सच्चा कविहृदयको मानिस हुनुहुन्थ्यो। समकालीनमा वाशु शशी, विजयबहादुर मल्ल, गीतमा क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, कृष्णहरि बराल आदि मन पर्छन् ।  

 

(वरिष्ठ गीतकार एवं कवि कालीप्रसाद रिजालसँग फ्रेसन्युज नेपालले गरेको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार