• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

जागिरे जीवनको उल्झन र अवकाश

बाल्यावस्थाको घरको सुसंस्कार, गुरुहरुको व्यावहारिक शिक्षा र विद्यालयमा अध्ययन गर्ने राम्रो व्यवस्था तथा मुलुकमा अमनचैन तथा अनुशासनको वातावरण भएमा देशले कुशल नेतृत्व पंक्ति तथा राष्ट्र सेवकहरु पाउँदै जाँदोरहेछ । हाम्रो अर्थात् मेरो पीँढीको बाल्यकाल पनि यस्तै परिवेशबाट शुरु भएको थियो। त्यतिबेलाको नेपालमा निकै शान्ति थियो । आजको जस्तो प्रजातान्त्रिक व्यवस्था नभएपनि त्यतिबेलाको मुलुकको माहौल राम्रो थियो । घरमा आमा बुवाको राम्रो लालन पालन तथा शिक्षा पाएर हुर्किएका हामीले विद्यालयमा पनि निकै सुसंस्कृत एंव मेहनती शिक्षकहरुबाट शिक्षा प्राप्त गर्ने मौका पायौँ । हाम्रो कलेज जीवनदेखि भने मुलुकको वातावरणमा फेरबदल आउन थाल्यो । मुलुकमा प्रजातन्त्रको लागि सत्याग्रह तथा आन्दोलनहरु हुन थाले। हामी विद्यार्थीहरुले पनि त्यस्ता आन्दोलनहरुको समर्थन गर्‍यौँ परिवर्तनको आशामा। हाम्रा महाविद्यालय र विश्वविद्यालयका प्राध्यापकहरु पनि निकै मेहनती, अनुभवी र विद्वत थिए । त्यतिबेलाको त्रिभुवन विश्वविद्यालय दक्षिण एशिया कै उत्कृष्ठ शिक्षण तथा अनुसन्धान संस्थाहरु मध्येको मानिन्थ्यो । तर दिनहुँको हडताल र जुलुसले गर्दा हामीले उच्च शिक्षा सक्काउन झण्डै दोब्बर नै समय व्यतित गर्नुपर्‍यो । तैपनि हाम्रो बाल्यकालको सुसंस्कृत र सभ्य आचरणले गर्दा हामीमा अनुशासन र लगनशीलता कायमै रह्यो। बिस्तारै हामी साथीहरु मध्ये कसैले डाक्टरी, कसैले इन्जिनियरिङ,अर्थशास्त्र, व्यवस्थापन, भूगर्भशास्त्र, वकालत आदिका डिग्रीहरु हासिल गर्‍यौँ भने सोही वमोजिमका पेशाहरुमा समेत लाग्न थालियो । कैयन्ले सरकारी सेवा रोजे अनि कतिजना सुरक्षा सेवामा पनि गए । त्यस्तै शिक्षक, प्राध्यापक, पत्रकार, विमान चालक, संगीतकार, उद्योगी, व्यवसायी जस्ता थरी थरीका पेशामा काम गर्नेहरु पनि निकै जना भए। केही साथीहरु शुरुकै दिनबाट विदेशमा काम गर्न गए । अलिक पढाईमा कमजोर तथा राजनीतिमा टाठा बाठा साथीहरुले त्यही क्षेत्रमा निकै ठूलो फड्को पनि मारे ।

 

दिन बित्न कति समय लाग्दो रहेछ र । विद्यार्थीकालका सबै साथीहरु एक साथ बसेर विभिन्न प्रकारका रमाइलाहरु गथ्र्यौँ भने बिस्तारै बिहेबारी गरेर घरजम तथा इलम गर्न थाले पछि हामी सबै जना करिव करिव लाखा पाखा नै लाग्यौँ र हाम्रो भेट निकै पातलिँदै गयो । काममा व्यस्त भएपछि सारा संसार नै कर्मथलोमा नै केन्द्रित हुँदोरहेछ । नयाँ साथीहरु त्यहीँ बन्दा रहेछन् भने सरुवा, बढुवा, तालिम, तलव–भत्ताजस्ता अफिमहरुको दैनिक सेवनले मानिस बिस्तारै यन्त्र–मानवमा परिणत हुँदै जाने रहेछ । त्यस्तै बिहान बेलुका घर, परिवार र बाल–बच्चा तथा तिनको लालन पालन र वृत्ती विकासमा नै व्यस्त होइँदोरहेछ । यस्तो किसिमको एकांगी दिनचर्याले गर्दा मानिसले समय बित्दै गएको भेव नै पाउँदैन रहेछ । उसको होस् त्यतिबेला मात्र खुल्न थाल्दो रहेछ, जब उसको केश फुल्न थालेर उ विस्तारै कमजोर हुँदै गएको पनि थाहा नपाउँदैमा उसले अवकास पाउने बेला हुन लागिसकेको हुँदोरहेछ ।

 

हामी त्यतिबेलाका साथीहरु मध्ये पनि कैयन्ले आफ्नो जागीरे जीवनबाट अवकाश पाइसकेका छौँ भने कतिले अबका केही वर्ष भित्रमा पाउने छन् । तर एउटा महत्वपूर्ण कुरा चाहिँ के छ भने, हाम्रो पीँढीले वाल्यावस्थादेखि नै राम्रो लालन–पालन, शिक्षा र संस्कार पाएकाले हामी साथीहरु मध्ये लगभग कोही पनि खराब वा कुकार्यमा तथा भ्रष्ट आचरणमा लागेनौँ भने चाकडी, चुक्ली र चाप्लुसी पनि हामीले कहिल्यै गरेनौ। आफ्नो मान, काम र कर्तव्यबाट बिचलित भएर कतै पर नजाने हामीहरु कैयन् पटक अप्ठ्यारो स्थितिमा पनि परेका छौँ । तर हामीमा दृढता, काम गर्ने भावना र क्षमता समेत भएकाले अवकास पश्चात पनि हामी मध्ये धेरै साथीहरुले कैयन् रचनात्मक कामहरु गर्न थालेर जीवनको अर्को पाटो शुरु गरेका छौँ ।


हालै हाम्रा एक मित्र गोपी मैनालीले अवकाश प्राप्त गरेका छन् । विगत केही वर्षदेखि उनी विभिन्न मन्त्रालयका सचिवको रुपमा काम गरिरहेका थिए। दाजुभाईहरु अधिकांश नेपाल सरकारका सचिव र सम्बैधानिक निकायका प्रमुख हुन पुगेको तर साधारण परिवारबाट आएका उनि निकै सरल, मेहनती र अनुभवी छन् । काम र कर्तव्यलाई मूलमन्त्र सम्झेर हिँड्ने तथा कार्यक्षेत्रका नचाहिँदा टिकडमबाट टाढा रहने व्यक्ति भएकाले हाम्रो नजरमा उनि हुनाहारका व्यक्ति भएतापनि आजको नेपाल राज्य सञ्चालन व्यवस्थामा उनले खासै राम्रो अवसर पाएनन् र घरि घरि सरुवामा परिरहे । तैपनि उनी कहिल्यै विचलित नभएर दिएको कार्य निकै तदारुकताका साथ गरि नै रहे । अब भने उनी स्वतन्त्र भएका छन् । उनमा साहित्य र कैयन् अन्य व्यावसायिक विधाहरुको पनि राम्रो ज्ञान र अनुभव भएकोले उनको जीवनको अर्को पाटो छिटै शुरु हुने कुरामा कुनै शंका नै छैन ।

 

हाम्रा कैयन् साथीहरुले प्रहरी र सेनाका निकै उच्च पदहरु धारण गरेर मुलुकको सेवा गरि अवकाश प्राप्त गरेका छन् भने ती मध्ये सशस्त्र प्रहरी बलको सबैभन्दा उच्चतम पद सम्हालेर केही समय अघि अवकास प्राप्त गरेका साथी सिंहबहादुर श्रेष्ठ पनि एक हुन् । उनले आफ्नो पदको मर्यादामा बसेर निकै राम्रो काम गरे पश्चात निश्कलङ्कीत भएर आज अवकाशप्राप्त तथा निकै सामान्य जीवन व्यतित गरिरहेका छन् । साइकल चढेर विभिन्न मनमोहक गन्तव्यहरुको भ्रमण गर्ने र पुस्तकहरु पढ्ने उनको शौक छ । त्यस्तै अर्का इमानदार साथी रमेश खरेललाई नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने बेलामा कुठाराघातपूर्ण कार्य भएकोले उनले आफ्नो पदबाट राजिनामा दिनुपर्‍यो । तर आज उनी भ्रष्टाचार र कुशासनको विरोधीको रुपमा अभियान नै चलाएर मोर्चा सम्हालिरहेका छन् । एकजना साथी सुबोध घिमिरे प्रहरी संगठन भित्र निकै आशा लाग्दा व्यक्ति थिए । तर नेपालको कर्मचारीतन्त्रमा राजनीति हावी हुँदै गएपछि उनले आफ्नो शान्त स्वभाव अनुसार नै कुनै प्रतिकारी कदम नचालेर ठिकै समयमा स्वेच्छिक अवकाश लिए । उनी चित्रकारिताका पनि एक कुशल कलाकार भएकाले आज अमेरिकामा यही पेशा अङ्गालेर लोकप्रिय बनिरहेका छन् ।

 

कलेजमा अध्ययन गर्दा देखि नै निकै शान्त, सौम्य र अनुसाशित देखिने साथी विमल भौकाजी कालान्तरमा नेपालका नाम कमाएका साहित्यकारहरुको पंंक्तिमा नै पुग्न सफल भए । जागीरे जिवनको उल्झनदेखि सँधै टाढा रहेका उनी सँधै नै अध्ययन र लेखनमा नै मग्न भएका हुन्छन् । द्रव्य नै कमाउने मेलो रचेका भए धेरै खाले अवसर प्राप्त गर्न सक्ने उनि नेपालको निकै जेठो साहित्यिक पत्रिका “शारदा” लाई जीवन दिएर जोगाइरहनमा नै व्यस्त छन् र यस्तै पावन कार्य गर्न पाएकोमा सन्तोष पनि गर्छन् । उनी जस्तै साहित्यका अनुरागी मिरा गजुरेल र पवन बुढाथोकी पनि छिन् ।

 

अर्का साथी राजिव उपाध्यायले लामो समय नेपाल टेलिभिजन र विश्व बैंकको नेपालस्थित कार्यालयको उच्च पदमा रहेर निकै सह्राहनीय काम पश्चात अवकाश प्राप्त गरेर आज आफ्नो दोश्रो इनिंस्को रुपमा एक सफल लेखक भएर समाजलाई एक निकै उत्कृष्ट पुस्तक उपहारको रुपमा दिइसकेका छन् भने अन्य रचनात्मक कार्यहरु बारे पनि योजना बनाइरहेका छन् । पच्चिस वर्ष अघि उनीसँग कै सक्रिय सहकार्यमा हामीले नेपाल टेलिभिजिनमा “अर्थको अर्थ” भन्ने कार्यक्रम शुरु गरेका थियौँ, जुन अहिलेसम्म पनि चलिनै रहेको छ । 

 

रविन्द्र मिश्रले त स्वेच्छिक अवकाश पश्चात आफ्नो नाम एक नयाँ पार्टीको नेताको रुपमा नै दर्ज गरिसकेका छन् । निकै लामो समयसम्म पत्रकारितामा लागेर बीबीसी नेपाली सेवाका प्रमुख समेत रहेका रविन्द्र निकै स्वच्छ छविका सकारात्मक नेता हुन् । उनको बथाईँ गर्नेहरुले उनीमाथि अनेकन कपोलकल्पित लान्छनाहरु लगाउने गरेता पनि उनी कस्ता व्यक्ति हुन् भन्ने कुरा युवावस्थादेखिका हामी साथीहरुलाई बढी थाहा छ । ती लान्छनाहरु सबै उनको बढ्दो लोकप्रियतासँग जल्नेहरुले बुनेका झुठा कथाहरु मात्र हुन् । रविन्द्रको लेखनशैली पनि त्यतिकै सवल छ र धेरै पुस्तकहरु प्रकाशित पनि भएका छन् ।

 

कैयन् साथीहरु हाम्रो देशको प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप निकै हावी हुने गरेकोले नै यहाँको नोकरी छोडेर वा शुरु देखि नै संयुक्त राष्ट्र संघ तथा अन्य विदेशी संस्थाहरुमा काम गर्न वा आफ्नै व्यवसाय सञ्चालन गर्ने गरि विदेश गए र आज ती संस्थाहरुका उच्च पदहरुमा निकै सफलतापूर्वक काम गरिरहेका छन् । तर नेपालमा नै बसिरहेका भए उनीहरु आज निकै दिक्दारीका साथ अवकाश लिन वाध्य बनाइ सकिएका हुने थिए । हालैको अष्ट्रेलिया र न्युजिल्याण्ड भ्रमणमा पनि मैले हाम्रा धेरै साथीहरुले त्यहाँ गरेको निकै सह्राहनीय प्रगति देख्न पाएँ । अष्ट्रेलियाको मेलबोर्नमा केही हप्ता रहँदा युवावस्थादेखिका अनन्य मित्र ऋषि भट्टराईसँग निकै चोटी कुराकानी गर्ने अवसर पाएँ र नेपालमा झन् झन् खस्कँदो राजनैतिक र प्रशासनिक अवस्थाले गर्दा हाल उतै बसेर व्यावसायिक काम गरिरहेको र एउटा पुस्तक लेखनमा पनि व्यस्त रहेको कुरा बताएका थिए। कुनै बेला नेपालको सरकारी तथा नीजि क्षेत्रमा काम गर्दा विभिन्न प्रकारका षडयन्त्रहरुका कारण पिल्सिन पुगेका यस्ता साथीहरु विभिन्न मुलुकमा गएर निकै सफल भएका छन् । नेपालमा आफ्नै व्यापार व्यवसाय चलाएर बसेका गणेश थापालाई राजश्व तथा अन्य सरकारी निकायले दुख दिने गरेको तथा बजारमा उधारो लग्ने खुद्रा दुकानदारहरुले समयमा उधारो नतिर्ने गरेपछि दिक्क भएर अमेरिकामा लामो समय बसेर आफ्नो व्यवसाय चलाएर बसे । पछि आफ्नै मातृभूमिको मायाले तानेर हाल अवकाशको समयमा उनी समाजसेवामा लागेका छन् भने हालको महामारीमा पनि विदेशमा बस्ने नेपालीहरु र आफ्नो तर्पmबाट पनि रकम संकलन गरेर विभिन्न संस्थाहरुलाई सहयोग पुर्‍याइरहेका छन् ।

 

गीत–संगीत, कलाकारिता तथा खेलकुदमा नाम कमाएका साथीहरु समेत स्वदेशमा तथा विभिन्न मुलुकहरुमा बसोबास गर्दै नेपाली संगीत र कलाको प्रचार प्रसारमा जुटि नै रहेका छन् भने खेलकुदका विभिन्न खाले बिधाका प्रशिक्षक भएर पनि काम गरिरहेका छन् । प्रायजसो धनी व्यापारी वा उद्यमीको लागिमात्र बनेको महावाणिज्यदूत जस्तो पद पाउन अमेरिकाको एउटा राज्यमा हाम्रा संगीतकार साथी प्रेमराजा महत सफल भएका छन् र निकै सक्रिय रुपले आफ्नो जिम्मेवारी वहन पनि गरिरहेका छन् ।

 

काठमाडौँ विश्वविद्यालयमा एकजना डा.पन्ना थापा छन्, जो मेरा विद्यालयका साथी हुन् । निकै विकट क्षेत्रबाट आएर अध्ययन शुरु गरेका उनी आज विज्ञान संकायका एक निकै महत्वपूर्ण प्राध्यापक हुन् । उनको विद्वताबाट प्रभावित भएर बेलायतका प्राध्यापकहरुले उनलाई उतै काम गर्न प्रस्ताव गरेका थिए, तर उनी आफ्नै मातृभूमिमा काम गर्न हौसिए । सोझा तथा निडर उनलाई पाखा लगाउन विश्वविद्यालयमा पनि विभिन्न खेमाका प्राज्ञहरुले अथक प्रयास गरे तर उनको मेहनत, दृढता र इमान्दारिताको अगाडि कसैको केही लागेन र उनि आज पनि लड्दै पड्दै लागिपरि नै रहेका छन् ।

 

पन्ना जस्तै बाल्यवस्थाका अर्का साथी अभय पाण्डे आज विज्ञापन तथा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्ति बन्न पुगेका छन् । उनलाई पनि अध्ययनको शिलशिलामा अष्ट्रेलियामा नै काम मिल्नसक्ने भएता पनि उनी नेपाल आए तर यहाँको खराव नोकर शाहीदेखि दिक्क भएर उनी एक स्वतन्त्र व्यावसायिक व्यक्तित्व भएर बस्न नै रुचाए । यसरी पनि उनले आफ्नो उत्कृष्ट कार्य मार्फत आफ्नो नाम उच्च राख्न सफल भएका छन् । लेखाईमा पनि उनी उम्दा छन् ।

 

पत्रकारिताको क्षेत्रमा निकै धेरै काम गरेका मित्र प्रकाश रिमालले लामो समयसम्म विकासे आयोजनाहरुदेखि लिएर द काठमाडौँ पोष्ट हुँदैद हिमालयन टाइम्सका प्रधान सम्पादक भएर हालै स्वेच्छिक अवकास लिएका छन् । तर उनी पनि चुप लागेर बस्ने वाला छैनन् । आफ्ना सन्ततीहरुलाई तयार गरेर उनी पत्रकारितासँग नै सम्बन्धित एक नयाँ उद्यम सञ्चालन गर्ने सुरमा छन् ।

 

मित्र प्रकाश सायमीले यस्तो पेशा रोजे कि उनले सायद अवकाश लिनु नै नपर्ला । फिल्मको स्क्रिप्ट लेख्नेदेखि लिएर निर्देशन दिनेसम्मका काम गरिसकेका उनी एक अध्ययनशील, सफल र लोकप्रिय रेडियो कार्यक्रम सञ्चालक र लेखक पनि हुन् । उनको काम निकै स्वतन्त्र प्रकारको भएकोले उनले आफुले सके र चाहेसम्म अवकाश लिनु नै पर्दैन ।

 

एकजना अर्का बहुप्रतिभाशाली मित्र छन्, विजय लामा । हाल वरिष्ठ विमान चालक रहेका उनी कलाकारिता, गीत–संगीत, टिभी कार्यक्रम सञ्चालक देखि समाजसेवी सम्म भएर काम गर्छन्। विदेशी वा निजी विमानसेवामा काम गरेर राम्रो कमाई गर्न सकिने भएपनि उनलाई राष्ट्रिय ध्वजावाहकको नै माया छ । केही वर्षमा उनले पनि विमान चालकको हैसियतबाट अवकाश पाउने छन् तर उनका अन्य कामहरुबाट भने उनी जिवनभर नै उम्कन पाउने छैनन् र त्यसैमा उनी रमाउँछन् पनि ।

 

मेरा अन्य कैयन् साथीसङ्गीहरु प्राध्यापन, नागरिक उड्डयन, सरकारी, विकासे तथा नीजि क्षेत्रका विभिन्न संस्थाहरु तथा आफ्ना नीजि पेशाहरुमा संलग्न छन् । तर बेला बेलामा हाम्रो भेटघाट हुँदा ती सबै नै निकै बौद्धिक कुराहरु र आफ्ना इमान्दारीका नमुनाहरु नै पेश गर्दछन् । उनीहरुको कुरा गराईबाट नै उनीहरु कति अध्ययनशील, इमान्दार र सरल छन् भन्ने कुरा भल्कन्छ ।  तर सबैजसो साथीहरु नेपालमा विश्वकै राम्रा सम्बिधान बनेका, उत्कृष्ट प्रजातान्त्रिक व्यवस्था भएको भएता पनि यो सम्पूर्ण संरचनालाई चलायमान गर्ने व्यक्तिहरु खासगरी विभिन्न राजनैतिक पार्टी र तिनका नेताहरुका ज्यादै गलत क्रियाकलापहरुले गर्दा नेपालीहरुले कहिल्यै शिर ठाडो पारेर हिँड्न र माथि उठ्न नपाएको बिलौना गर्छन् ।

 

मेरो आफ्नै कुरा गर्दा मेरो अवकाशको बेला भइनसकेको भएता पनि नातावाद–कृपावाद र खुराफात जस्ता कुरामा आफु कहिल्यै पोख्त हुन नसकेको र त्यस्तो वातावरणमा आफु फिट पनि नभएकोले हुन गएका विवादहरुका कारण म वास्तवमा फ्याँकिन पुगेँ । तर पनि जति समय सकृय रुपमा बिताउन सक्छु, त्यतिञ्जेलसम्म प्रगतीशील लेखन र आफ्नो क्षमताले भ्याउने खालका गौरवशाली जनमुखी कामहरु नै गरेर समय खर्चिने विचार बोकेको छु ।

 

नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि विस्तारै मुलुकमा विकासको गतिले अझ ठूलो फड्को मार्छ भन्ने जनधारणा थियो । शुरुमा त्यस्तै लक्षण देखिए पनि बिस्तारै देश पहिलेको भन्दा पनि नराम्रो अवस्थामा धकेलिँदै गयो । राजनैतिक पार्टी र नेताहरुले कर्मचारीतन्त्रमा यति बिघ्न हस्तक्षेप गर्न थाले कि कर्मचारीहरुले आफ्नो खुबीको प्रदर्शनले भन्दा पनि नेता र पार्टीमा आफ्नो पहुँच बढाएर पद जोगाउन र फाइदा लिन शुरु भयो। पहुँच नभएका वा स्वाभिमानी कर्मचारीहरु लाखा पाखा लगाइन थाले । हाम्रो जस्तो गरीब र निकै सिमित दक्ष मानव संशाधन भएको मुलुकमा पनि कर्मचारीहरु विभिन्न पार्टीमा विभाजित हुन वाध्य भए । त्यसमाथि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा उनले कर्मचारी नियमावलीमा ठूलो फेरबदल गरेर मुलुकमा औषत आयु बढ्दै गएको अवस्थामा कर्मचारीहरुको अवकास प्राप्त गर्ने उमेरलाई पनि बढाउनुको सट्टा घटाईदिए । यस्तो हुँदा त्यतिबेलाका निकै अनुभवी र घगडान कर्मचारीहरु अवकासमा परे । त्यस्तै उनकै पालामा केही निकै वरिष्ठ र अनुभवी प्रशासकहरुलाई लाखा पाखा लगाएर उनीहरु भन्दा कनिष्ट व्यक्तिहरुलाई सचिव र मुख्यसचिव बनाइयो । त्यस्तै विभिन्न सरकारी संस्थान तथा नेपाल राष्ट्र बैंक जस्ता स्वायत्त संस्थामा पनि वरिष्ठताको ख्याल नै नराखी आफन्तहरुलाई बढुवा गरिने परिपाटि बस्यो । त्यहीबेलादेखि संवैधानिक निकायहरुमा पनि यस्तै हस्तक्षेप हुन थाल्यो भने जो कोही पनि नेपालका राजदूत भएर विदेशस्थित नियोगहरुको नेतृत्व गर्ने वा अर्थमन्त्री समेत हुने हैसियतमा पुगे । हाल आएर त यस्तो क्रमले पराकाष्टा नै नाघ्न थालेको छ । 

 

हाम्रो पीँढीले देखेका विभिन्न पार्टीका नेता–नेतृहरु आज देखिएका भन्दा निकै हदसम्म सिद्धान्तमा अडिग र केही राम्रो काम गर्छु भन्ने खालका थिए । टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, किर्तिनिधि विष्ट, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता नेताहरु अब कहाँ छन् र । तिनको अवसान पश्चात अब नेपालमा प्रजातन्त्रवादी, समाजवादी वा माक्र्सवादी सिद्धान्तमा विश्वास गर्ने स्वच्छ नेताहरु एकाध मात्र बाँकी छन् भने उनिहरु पनि विस्तारै ओझेलमा पर्दै गएका छन् । माक्र्सवादी सिद्धान्तको प्रतिपादन पछि नै क्रमशः पूँजीवादी सिद्धान्तमा उदार, समाजवादी र लोक कल्याणकारीखुराकहरु थपिँदै गएका हुन् । आज कम्युनिष्ट मुलुकहरु धराशायी हुँदै गएका भनिए पनि त्यस्ता मुलुकहरुले वास्तवमा खाँटी कम्युनिष्ट राष्ट्र हुँदा नै विकासका पुर्वाधारहरुको विकास गरेका हुन् । रुस, चीन जस्ता राष्ट्रले कम्युनिज्ममै रहेर विज्ञान तथा प्रविधिको त्यत्रो विकास गरेका हुन् । आजका पूँजीवादी भनिने राष्ट्र जस्तै अमेरिका वा यूरोप पनि पहिलेका जस्ता पुरातन राष्ट्र होइनन् बरु समाजवाद र लोक कल्याणकारी व्यवस्था भएका मुलुक हुन् र यसो हुनुमा कम्युनिज्मको डर पनि प्रमुख कारण थियो । तर नेपालमा आज आफुलाई कम्युनिष्ट भन्नेहरु अधिकांशले कम्युनिष्ट मेनिफेस्टो वा दास क्यापिटल समेत पढेका नै छैनन् र पढ्ने कोशिश गरे पनि बुझ्न कठिन छ । संसारका कुनै पनि ठाउँका कम्युनिष्टहरुले नेपालका हालका कम्युनिष्ट भनाउँदाहरुले जस्तो भ्रष्टाचार, देशद्रोह र भाँडभैलो गरेका छैनन् । त्यस अर्थमा पनि नेपालका हालका कम्युनिष्टरुपी मुकुण्डो भिरेकाहरुले विश्व कम्युनिष्ट आन्दोलनको नै खिल्ली उडाउने काम गरेका छन् । तर अब यो क्रमले निरन्तरता पाउने कुनै सम्भावना नै छैन, किनकी यिनीहरु आफ्नै कामले गर्दापतनको बाटोमा धस्सिँदै गइरहेका छन् । यिनीहरुको अराजक कामहरुले गर्दा यिनका पार्टीमा भएका कैयन् राम्रा र असल कम्युनिष्टहरु पनि ओझेलमा पारिँदैछन् । नेपालमा रोहित जस्ता निष्ठावान र इमान्दार कम्युनिष्ट अझ पनि छन् तर उनीहरु राष्ट्रिय स्तरमा निकै कम मात्र छन् ।

 

हाम्रा पीँढीका हामी धेरै साथीहरु आफ्नो इमान्दारी, शिक्षा, संस्कार र अनुभवले गर्दा आज अवकाश प्राप्त गरेका भएपनि वा नोकरीको दौरान कैयन् अनावश्यक मानसिक प्रताडनाका पाएका भएता पनि निकै क्रियाशील छौँ भने हामी जस्तै अरु कति असल व्यक्तिहरुका हजारौँ साथीहरु पनिहामी जस्तै प्रकृतिका होलान् । हामीले बिस्तारै हातेमालो गर्दै नेपाललाई बदल्ने प्रणका साथ विभिन्न माध्यमबाट नयाँ पीँढीका युवाहरुलाई प्रशिक्षित गराउँदै नयाँ जिम्मेवारीको लागि प्रेरणा दिन सक्यौँ भने नेपाल फेरि उक्सिन केही बेर लाग्दैन । तर हाम्रो पीँढीले भने नयाँ पीँढीको अभिभावकका रुपमा मात्र आफुलाई सिमित राखेर बस्नु पर्दछ र देशको जिम्मा तिनै नयाँ पीँढीलाई दिनु पर्दछ ।

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार