• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

बगर बन्यो मेलम्ची बजार

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

 

एउटा शव फेला परेको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वक्र्समाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

 

मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।

 

हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे,चनौटे,ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ,मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।

 

तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ, बगर बनाएको छ । मङ्गलबार राति अपूरणीय क्षति पुर्‍याएको इन्द्रावती नदीमा केही बहाव घटे पनि क्षति हुने क्रम घटेको छैन । “हिजोदेखि खोलाले कटान गरिरहेकै छ, आज बिहान बहाव केही घटे जस्तो भएको थियो तर दिउँसोबाट फेरि पानी पर्न सुरु भएको छ”, हेलम्बु ३ की सरस्वती पौडेलले भन्नुभयो ।बिदुर आचार्य/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार